नेपालीहरू भारतविरोधी होइनन् – २
- कार्तिक १२, २०८३
– माया श्रेष्ठ, भक्तपुर
वीरगञ्ज महा–नगरपालिकामा विद्यालय जाँदै गरेकी एक छात्रामाथि शुक्रबार बिहानै एसिड प्रहार भएको खबर आयो । प्रत्यक्षदर्शीका अनुसार घरबाट विद्यालय जान लागेकी ती छात्रामाथि गणेशमान चोकनजिकै दुई युवकले आक्रमण गरेका थिए । प्रेम प्रस्ताव अस्वीकार गरेको रिसमा १६–१७ वर्षका किशोरहरूले एसिड आक्रमण गरेको खुलेको छ । केही समयसम्म एसिड आक्रमणका घटना नभएको भनी शान्तिको श्वास लिन थालिएको थियो तर शुक्रबारको घटनाले समाजमा एसिड आक्रमणको आपराधिक मानसिकता नहटेको पुष्टि गरेको छ ।
अनुहार र जीउमा एसिड आक्रमणपछि पनि बाँचेका मानिसले कति शारीरिक र मानसिक कष्ट भोगिरहेका छन् भने कुरा भोग्नेले मात्र होइन दैनदिन हेरिरहेकाहरूले समेत अनुभूति गर्न सक्छन् । त्यसरी आक्रमणमा परेर अनुहार र शरीर कुरूप भएकाहरूको जीवन सोच्दै नसोचेको दुःखको भुमरीमा पस्ने गरेको पाउँछौं भने घरपरिवार र आफन्तले समेत ठूलो मूल्य चुक्ता गर्नु परिरहेको देख्छौँ । कतिपय पीडित मानसिक रूपमा विक्षिप्त बनेको पनि देखेका सुनेका छौँ । तर, त्यसरी एसिड आक्रमणको जघन्य अपराध गर्नेहरू भने प्रमाणको अभावमा वा झूठो प्रमाणको आधारमा छुट्ने र खुला रूपमा घुमिरहेको वा प्रमाणित भएकाहरू पनि केही वर्षको जेलजीवनपछि गर्वसाथ समाजमा छाती फुलाउँदै हिँडेको देख्छौँ । एसिड आक्रमणपछि व्यक्तिको विशेषतः महिलाको जीवन नारकीय बन्न पुग्दछ, समाज जत्ति नै उदार र सहानुभूतिशील भनिए तापनि एसिड आक्रमणमा परी कुरूप बनेका महिलासित हम्मेसी कसैले विवाह गर्न र जीवनमा साथ दिन मान्दैनन् । आमा, बुबा वा परिवारका संरक्षकको अवसानपछि त्यस्ता पीडित महिलाहरूलाई दाजु–भाइ र भाउजु–बुहारीहरूले स्याहार नगरेका र घरबाटै निकालेका घटना पनि हाम्रै समाजमा देखेका छौँ । एसिड आक्रमण सामान्य अपराध होइन बरू व्यक्तिहत्या भन्दा पनि जघन्य अपराध हो । त्यस्ता अपराधीमाथि जघन्य हत्या बराबर वा त्यसभन्दा बढी कैद र सर्वश्वहरणसहितको सजाय हुनुपर्छ ताकि दोहो¥याएर त्यस्तो अपराध गर्ने वा अरू आपराधिक मानसिकता राख्नेहरूले समेत साहस गर्न नसकोस् ।
Leave a Reply