भर्खरै :

मोदीको भाजपा सरकारको दक्षिणपन्थी अनुहार

प्रधान
मुुसोलिनी इटालीका एक कामीका छोरा थिए भने हिटलर जर्मनीका रङ्ग लगाउने कामदार र सिपाहीं थिए । भारतका मोदी एक चायवाला थिए जसले घर–घरमा चिया पु¥याउँथे ।
मुसोलिनी रोमन राज्यको गौरवको पुनःस्थापना गर्न चाहन्थे भने हिटलर जर्मनीहरू शुद्ध आर्य रगतका बताउँथे र जर्मनीहरूले संसारलाई शासन गर्ने नैतिक अधिकार भएको बताउँथे । मोदी हिन्दुस्तानका सबै नागरिक हिन्दू हुने दाबा गर्छन् ।
मुसोलिनी व्यक्तिलाई राज्यको अधीनमा रहनुपर्ने बताउँथे भने हिटलर राज्य र राष्ट्र एउटै हो र व्यक्ति गौण सम्झन्थे । मोदी भारत एउटा राष्ट्र मान्छन् र विदेशमा रहेका हरेक भारतीयहरू एउटा राष्ट्र मान्छन् ।
मुसोलिनी भन्थे, “नेताले मार्गनिर्देशन गर्छ, जनताले नेतालाई होइन ।” हिटलर भन्थे, “जनता मूर्ख हुन्छन्, जनतालाई राज्यले अनुशासित गर्नुपर्छ ।” मोदी भन्छन्, “सबै हिन्दुस्तानी भारतीय राष्ट्रका अधीनमा रहनुपर्छ ।”
मुसोलिनीले ८० हजार अर्धसैनिक युवाहरू तयार गरे तथा हिटलरले हजारौं अर्धसैनिक युवा दस्ता तयार गरे, जसलाई SS र SA भनियो र पछि पाँचौं कलम भनी सशस्त्र गुप्तचर विभाग सङ्गठन गरे । मोदीको जनसङ्घ अर्थात् पछि भाजपाको युवा दस्ता शिवसेना अर्ध–सैनिक ढङ्गको छ र सरकारमा गएपछि भारतीय गुप्तचर संस्था RAW लाई आक्रमक ढङ्गले सञ्चालन गर्दै छन् ।
मुसोलिनीले मजदुर वर्ग र कम्युनिस्ट आन्दोलनलाई दबाउन पुँजीपति वर्गसँग सम्झौता गरे, जर्मनीमा हिटलरले साम्यवादी र यहुदीहरूलाई दमन गर्न जर्मनीका पुँजीपति वर्गसँग सहयोग लिए । भारतीय जनता पार्टीलाई सत्तामा ल्याउन कर्पोरेट अथवा पुँजीपति वर्गले सहयोग ग¥यो र मोदीले मुसलमान र अरु धर्म तथा जातिमाथि दमनको नीति लिंदै छन्, जवाहरलाल नेहरू विश्वविद्यालयमा जातिवादी गतिविधि भाजपा र शिवसेनाले गरेको उपद्रवमा मोदी खुदै साक्षी छन् ।
इटालियाली राष्ट्रवादी फासीवादलाई कम्युनिस्ट र मजदुर आन्दोलन दबाउन दिन संरा अमेरिका, बेलायत र फ्रान्सेली पुँजीपति वर्गले पुँजी निर्यात गरेर इटालियाली एकाधिकार पुँजीलाई अगाडि बढ्न दियो । त्यस्तै काम संरा अमेरिका र फ्रान्सले जर्मनीको पुँजीपति वर्गलाई गरी जर्मनियाली एकाधिकार पुँजीलाई बढावा दिए र सोभियत सङ्घमाथि हमला गर्न सहयोग गरे । मोदीले नेपालको नयाँ संविधानको विरोधमा युरोपेली सङ्घ र बेलायतसँग समझदारी बनाए, संरा अमेरिकाले आणविक र जलसेना भारतीय जलक्षेत्रमा राख्न भारतसँग सम्झौता ग¥यो ।
इटालीले क्याथोलिक धर्म मान्ने देश अविसियामा हमला ग¥यो, जर्मनीले जर्मनी जाति भएको अष्ट्रिया, चेकोस्लोभाकिया र पोल्यान्डलाई कब्जा ग¥यो र सोभियत सङ्घमा हमला ग¥यो । मोदी सरकारले नेपालको तराईमा भारतीय मूलका जनतालाई भड्काई नेपालमाथि आर्थिक नाकाबन्दी गर्न सहयोग गर्यो, चीनको पृथकतावादी दलाई लामा गुरुलाई तथाकथित प्रवास सरकारको गतिविधि गर्न दियो र श्रीलङ्का, बङ्गलादेश, नेपाल आदि दक्षिण एसियाली देशहरूमा हस्तक्षेप बढाउँदै छ ।
मुसोलिनी, हिटलर र मोदी
Bernito Mussolini (१८८३–१९४३)
बर्नितो मुसोलिनी एक कामीका छोरा थिए । आर्थिकरूपले मध्यम वर्ग परिवार थियो । आमा एक शिक्षिका थिइन् । सुरुमा मुसोलिनी मजदुर थिए र समाजवादी विचारबाट प्रभावित भए । सन् १९०९ मा उनी शिक्षक बने । ११ पटक जेल परेपछि अध्यापन छोडेर उनी राजनीतिमा लागे ।
केही दिन उनले स्वीट्जरल्यान्ड र अष्ट्रियामा बिताए तथा अष्ट्रियाको समाजवादी दलको नगर सचिव भए । सन् १९१० मा उनी फोर्ली नगरको समाजवादी दलको पूर्णकालीन सचिव भए । ९ डिसेम्बर १९१२ मा उनी चर्चित भए र त्यसै वर्ष डिसेम्बरमा अभन्ति (The Avanti)भन्ने एक उग्रवादी समाजवादी पक्षको सम्पादक बने । त्यसबेला उनी २९ वर्षका युवा थिए ।
सन् १९१४ मा पहिलो विश्वयुद्ध भयो । मुसोलिनीले युद्धविरोधी आन्दोलनको नेतृत्व गरे । तर, एकै वर्षमा उनी युद्धका पक्षपाती बने तथा समाजवादी सिद्धान्तलाई परित्याग गरे तथा ‘इटालीका जनता’ भन्ने पत्रिका प्रकाशित गरी समाजवादीहरूलाई विश्वासघाती भनेर निन्दा गर्नथाले । त्यसबेला व्यापक चर्चा चल्यो, मुसोलिनीले आफूलाई फ्रान्सेली पुँजीको हातमा बेच्यो । त्यस पत्रिकाबाट उनले बेलायत, फ्रान्स र रुसको हाकाहाकी पक्ष लिए तथा केही समय उनी सेनामा पनि सामेल भए । युद्धले इटालीलाई केही फाइदा भएन र सन् १९१७ मै उनले ‘फासीवादी दल’ को स्थापना गरे । सन् १९१८ मा पहिलो विश्वयुद्ध अन्त भयो । पहिलो विश्वयुद्धमा जर्मनी र अष्ट्रियाको विरोधमा इटालीले बेलायत र फ्रान्सको पक्ष लियो तर युद्धपछि बेलायत र फ्रान्सले इटालीलाई उसको क्षतिअनुसार विजयको भाग दिएनन् । यसकारण बेलायत र फ्रान्सप्रति इटालियाली जनतामा ठूलो असन्तोष देखा प¥यो । युद्धको कारण इटालीमा उत्पादन घट्यो, आर्थिक स्थिति खराब हुँदै गयो, कृषि र उद्योगधन्दा चौपट भयो, मजदुर आन्दोलन बढ्न थाल्यो र कम्युनिस्ट पार्टीको प्रभाव बढ्यो । सोभियत सङ्घको स्थापनाले युरोपेली पुँजीपति वर्गमा एक प्रकारको आतङ्क फैलियो ।
इटालियाली खानदानी सामन्त वर्ग र पुँजीपति वर्ग देशको त्यस स्थितिबाट तर्सिन थाले र एक बलियो गैरकम्युनिस्ट दल वा शासकको खाँचो अनुभव गरे ।
सन् १९१९ मा मुसोलिनीले पुँजीपति वर्ग र सामन्त वर्गको गुप्त सहयोगमा जीवनको हरेक क्षेत्र राज्यकेन्द्रित सिद्धान्तको आधारमा एक राजनैतिक दलको स्थापना गरे । राज्यको र राष्ट्रियताको प्रतीकको रूपमा फासीवादको सिद्धान्तलाई अगाडि बढाए । त्यसबेला मुसोलिनी ३६ वर्षका थिए । उनले समाजवाद वा कम्युनिस्ट सिद्धान्तको विरोध गरे तथा इटालीको गौरवको पुनःस्थापनाको नारा दिएर पहिलो विश्वयुद्धको परिणामबाट हेला गरिएको परिस्थितिबाट देश र राष्ट्रलाई अगाडि बढाउने प्रचारमा सक्रियता देखाए ।
सन् १९१९ मा बर्सांइमा भएको सन्धिले इटालीले आफू ठगिएको र अपमानित भएको अनुभव गरे ।
सन् १९२२ मा इटालीको नेपल्स भन्ने सहरमा मुसोलिनीले फासीवादी दलको पहिलो महाअधिवेशन गरे । त्यस महाधिवेशनमा ८० हजार युवाहरूको एक अर्धसैनिक सङ्गठनका सदस्य र समर्थकहरूले भाग लिएका थिए । उनले घोषणा गरे, “आफ्नो हातमा शासन सुम्पेन भने आफूहरू राजधानी रोममा बढ्ने छौँ ।” नभन्दै रोममा फासीवादी पार्टीको ठूलो प्रदर्शन भयो ।
प्रधानमन्त्री निग्रोलितिले राजीनामा दिए र २७ अगष्ट १९२२ मा मुसोलिनी प्रधानमन्त्री भए । उनकै सल्लाहमा राजाले मन्त्रिपरिषद्को घोषणा गरे, वास्तवमा राजा एक कठपुतलीमात्रै सावित भयो ।
प्रजातन्त्रविरोधी सिद्धान्त
फ्रान्सेली क्रान्तिमा स्वतन्त्रता, समानता र भ्रातृत्वको सिद्धान्त अगाडि बढेको थियो । मुसोलिनीले स्वतन्त्रता जनताको होइन बरु राज्यको अधीनमा रहने बतायो, प्रकृतिले नै सबै वस्तु असमान बनाएको हुँदा सबै मानिस र वर्ग समान हुननसक्ने बताए र सबै वर्ग र राज्यहरूमा पनि बन्धुत्वको सम्भावना नहुने बतायो ।
मुसोलिनीको दृष्टिकोणमा राज्यहरूको आ–आफ्नो स्वार्थ हुने भएकोले एक राज्यले अरु राज्यमाथि विजय पाउन खोज्ने हुँदा युद्ध अवश्यम्भावी हुन्छ र राज्यको चरित्र नै साम्राज्य विस्तार हो । यसकारण हरेक राज्य साम्राज्यवादी हुन्छ । राज्य ईश्वरजस्तै हो भन्ने प्रचार गरे । सार्वभौमिकता विकेन्द्रित हुने हुँदा उनी सङ्घ राज्यका विरोधी थिए ।
एक अवसरवादी
मुसोलिनी सुरुमा नास्तिक थिए, आफू सत्तामा पुगेपछि सन् १९२९ मा रोमन क्याथोलिक धर्मको सर्वोच्च नेता पोपसँग सम्झौता गरे । इसाई धर्मको रोमेली क्याथोलिकका पोपले फासीवादको समर्थन गरे र त्यसप्रति कर्तव्यपरायण र निष्ठा प्रकट गर्न शिक्षा दिए ।
सन् १९३५–३६ मा इटालीले अफ्रिकी देश अविसिनियामा आक्रमण गर्दा धार्मिक नेताहरूले त्यस धर्म युद्धको नाम दिएर समर्थन गरे । अविसिनियाली जनता त्यसबेला क्याथोलिक इसाई धर्मावलम्बी थिए ।
सन् १९४० मा इटालीले ग्रीसमाथि आक्रमण गर्दा पोपले आक्रमणकारी सेनालाई आशीर्वाद दियो ।
मुसोलिनीको नेता र दलप्रतिको दृष्टिकोण
मुसोलिनीको सिद्धान्तअनुसार हरेक देशमा एकजना नेता हुन्छ, उसकै निर्देशनमा देश चल्नुपर्छ र जनताले नेतालाई मार्गनिर्देशन गर्ने होइन । नेता निःस्वार्थी हुने हुँदा जनता नेताको अनुशासनमा बस्नुपर्छ र आज्ञापालन गर्नुपर्छ ।
व्यक्तिले आफूलाई राज्यमा समर्पित गर्नुपर्छ र फासीवादी पार्टीबाहेक अरु दलहरू प्रतिबन्धित हुनुपर्छ । देशको सामाजिक, आर्थिक, राजनैतिक, शिक्षा, साहित्य र संस्कृतिमा समेत राज्यकै उपस्थिति हुने हुँदा अन्य राजनैतिक दलको आवश्यकता पर्दैन ।
युद्ध र शान्तिबारे
स्वास्नीमानिसको निम्ति जसरी मातृत्व स्वाभाविक हुन्छ, त्यसरी नै पुरुषको निम्ति युद्ध, हिंसा र साम्राज्य विस्तार स्वाभाविक हो । यसकारण शान्तिपूर्णढङ्गले अन्तर्राष्ट्रिय समस्या समाधान हुँदैन, युद्ध नै सबै समस्याको समाधानको उपाय हो ।
अन्तर्राष्ट्रिय दृष्टिकोण
मुसोलिनी कम्युनिस्टहरूको सर्वहारा अन्तर्राष्ट्रवादका कट्टर दुश्मन बने र उनी सबै व्यावसायिक उद्योग र व्यापारका सङ्घ–संस्था राज्यको अधीनमा हुनुपर्छ । सेनासँग सम्बन्धित उद्योगबाहेक सबै उद्योग, कृषि र आर्थिक गतिविधि राष्ट्रको हितमा निजी स्वामित्वमा दिनुपर्छ र मजदुर वर्गका समस्याहरू पुँजीपति वर्ग र औद्योगिक संस्थाहरूबाट समाधान गर्नेछन् । उनी सत्तामा पुगेपछि ‘राष्ट्र सङ्घ’ (League of Nation) बाट फिर्ता भइ सैनिक सम्झौतामा पुगे ।
राजनैतिक दल र मजदुर आन्दोलनलाई दमन गरेपछि इटालीको औद्योगिक र अन्य आर्थिक क्षेत्रमा प्रगति देखाप¥यो, कम्युनिस्ट आन्दोलनलाई दबाउन बेलायत र फ्रान्सको पुँजीपति वर्गले इटालीमा पुँजी लगानी ग¥यो । तिनीहरूको मुख्य उद्देश्य इटालीको मजदुर र कम्युनिस्ट आन्दोलनमा फुट ल्याउने र सोभियत सङ्घको विरोधमा मुसोलिनीलाई उभ्याउनु थियो ।
एडोल्फ हिटलर (१८८९–१९४५)
हिटलर अष्ट्रियाली एक गरिब जर्मन परिवारमा जन्मेका थिए । सुरुमा उनी एक रङ्गरोगन लगाउने ज्यामी थिए । पहिले विश्वयुद्धमा उनी सेनामा भर्ती भए र एक साधारण नायकसम्म बने । युद्धपछि उनी सेना छोडी म्युनिख सहरमा बस्न थाले । त्यहाँ उनी ‘जर्मन श्रमिक दल’ मा सामेल भई एक सैनिक गुप्तचर भई काम गरे । स–साना समूहको त्यस दलमा उनी सक्रिय भएर ४ हजार सदस्य सङ्ख्या पु¥याए । अप्रिलमा सन् १९२० हिटलरकै प्रस्तावमा त्यस दलको नाम ‘राष्ट्रिय समाजवादी जर्मन श्रमिक दल’ (National Socialist German Worker’s Party  NSDAP) राखियो । छोटकरीमा त्यस दलको नाम ‘नात्सी दल’ भनियो ।
नात्सी पार्टीमा केही बुद्धिजीवी र पूर्वसैनिकहरू सदस्य थिए । उनी एक प्रखर वक्ता भएका कारण कम पढे लेखेका भए पनि अगाडि बढे । सन् १९२२ मा उनी एक महिला कारावासमा थुनिए र सन् १९२४ मा एक षड्यन्त्रमार्फत म्युनिखमा सत्ता कब्जा गर्न खोज्दा ५ वर्षको जेल सजाय पायो । तर, विभिन्न कारणले उनी ८ महिनामै छोडिए । जेलमै उनले आफ्नो जीवनी, पार्टी नीति र कार्यक्रम लेखे तथा हिंसात्मक र गैरकानुनी उपाय छोडी उनले वैधानिक बाटो रोजे । त्यसबेला उनी ३६ वर्षका थिए ।
एक अन्तर्राष्ट्रवादी जार्ज डिमिट्रोभलाई मुख्य अभियुक्त बनाइएको थियो र त्यो मुद्दा ‘राइखस्टाग आगलागी’ को नामले प्रसिद्ध छ । अन्तमा त्यो मुद्दा झूटा ठहरियो ।
हिटलरले मई १९२४ को संसदीय निर्वाचनमा भाग लिए र नाजी दलले ३२ स्थान हासिल ग¥यो । डिसेम्बर १९२४ मा १४, मई १९२८ मा १२, सेप्टेम्बर १९३० मा १०७, जुलाई १९३२ मा २३० र नोभेम्बर १९३२ मा १९६ स्थान प्राप्त ग¥यो ।
जर्मेनियाली पुँजीपति वर्गले साम्यवादी र मजदुर आन्दोलनलाई दबाउन हिटलरलाई र उनको नाजी पार्टीलाई सहयोग गर्दै गयो । ३१ जनवरी १९३३ मा एक षड्यन्त्रबाट उनी चान्सलरका प्रधानमन्त्री नियुक्ति भए ।
त्यस षड्यन्त्रमा प्रतिक्रियावादी राजनीतिज्ञहरू सक्रिय थिए । नयाँ मन्त्रिमण्डलमा १२ जनामध्ये ३ जनामात्रै नाजी दलका थिए । साम्यवादी दलमाथि प्रतिबन्ध लगाउन, कम्युनिस्ट नेताहरूलाई पक्राउ गर्न हिटलर आफैले एक गुप्तचरमार्फत संसद भवनमा आगो लगाउन दियो र त्यही बहानामा सबै कम्युनिस्ट नेताहरू पक्राउ परे । पहिलो विश्वयुद्धमा जर्मनीमाथि बेलायत, फ्रान्स र संरा अमेरिकाले ठूलो क्षतिपूर्ति, जर्मनीको मुद्दा मार्कको अवमूल्यन, जर्मनीको सेनालाई सानो बनाउन दियो । यस्ता सर्तले धेरै जर्मनीका धनाढ्यहरू टाटपल्यो, तर पोलिवाली र चेकोलीहरूलाई भने पुनः सशस्त्रीकरण गर्न दियो, यस्तो बेला जर्मनीलाई कुनै एक संरक्षकको खोजी थियो । त्यस्तो निराशाको बेला जर्मेनियाली पुँजीपति वर्ग र प्रतिगामी बुद्धिजीवीहरूले हिटलरको दललाई अगाडि सार्न दिएका थिए । तर, त्यहाँको आर्थिक स्थिति सुधार्न संरा अमेरिका, बेलायत र फ्रान्सले पनि आर्थिक सहयोग गरे ।
यसको अर्थ हो– कम्युनिस्ट र समाजवादीहरूलाई दबाउन पुँजीपति वर्गको पैसाले पूर्व समाजवादी हिटलरलाई प्रयोग ग¥यो ।
जर्मनीको मजदुर र कम्युनिस्ट आन्दोलनमा फुट ल्याउन हिटलरले ‘राष्ट्रिय समाजवाद’ को नारा दिए । समाजवाद भन्नाले त्यसबेला बोल्शेविक वा रुसी समाजवाद र सर्वहारा अन्तर्राष्ट्रिवादको अर्थ लाग्थ्यो । ‘राष्ट्रिय समाजवाद’ को नाराले जर्मनीका मजदुर आन्दोलनमा मतभेद सुरु भयो र आन्दोलन कमजोर भयो । साथै जर्मेनियाली जनता शुद्ध आर्य हुन् । शुद्ध रगतले संसारको शासन गर्ने नैतिक अधिकार राख्छ भन्ने नाराबाट सङ्कीर्ण र उग्र जातिवादलाई भड्कायो र ठूलो राष्ट्र अहङ्कारवादको प्रचार गरियो ।
५–७ वर्षको आत्मनिर्भर अर्थतन्त्रको अन्ध राष्ट्रवाद र बडा राष्ट्र अहङ्कारको परिणाम छिमेकी देशहरूको आन्तरिक मामिलामा थिचोमिचो गर्ने सुरु गरियो । प्राग र अष्ट्रियामा जर्मनी सेना पठाई त्यहाँको ७० लाख जर्मनी जातिलाई आफूमा मिलाइयो ।
अर्धसैनिक सङ्गठनहरू (S.A./SS) द्वारा श्रमिकहरूको जनसभा र प्रदर्शनहरूमाथि आक्रमण गराइयो र मध्यम वर्गलाई अगाडि सारियो । कार्ल माक्र्सको परिवार पनि यहुदी थिए । यहुदीहरूमाथि बौद्धिक क्षेत्र, व्यापार र आर्थिक क्षेत्रमा पनि तिनीहरूको पहुँच हुनाले कम्युनिस्ट र यहुदीहरूमाथि अत्याचार गरियो, तिनीहरूको ठाउँमा जर्मन जातिका मध्यम वर्गलाई ठाउँ दिइयो । यहुदीहरू कर्मचारी, स–साना व्यापार र कालीगढ आदि क्षेत्रमा पनि थिए । तिनीहरूलाई लखेटेपछि हुलहुज्जत गर्ने तल्लो स्तरका मानिसलाई पाले, कुचिकार, पिउन आदि पदमा भर्ना गरिए ।
हिटलर सुरुमा भौतिकवादी र समाजवादी थिए । आफू सत्तामा आएपछि उनी चर्चसँग र पुँजीपति वर्गसँग घाँटी जोडे । जनतालाई मूर्ख सम्झेर अन्धभक्त बनाउन चाहे । उनी सहरमा भाषण दिंदा सामानका मूल्य घटाउने आश्वासन दिन्थे र गाउँले किसानहरूको माझमा भाषण दिंदा कृषि उत्पादनको मूल्य बढाउने आश्वासन दिन्थे । (उनको पाखण्डी र अवसरवादी प्रवृत्ति नेपालका केही समाजवादी कम्युनिस्ट नेताहरूसँग दाँज्नु उपयुक्त हुन्छ । नेपालका केही नेताहरू पहिले प्रजातन्त्रवादी र नास्तिक थिए । धार्मिक पण्डित र पुजारीहरूलाई हातपात गरे र मालोमोसो दले तर निवार्चनको बेला ती पुजारीहरूबाट आशीर्वाद लिए, कालो बोका काटे र भैँसी पूजा गरे आदि । तिनीहरूले पछि प्रजातन्त्र र कामदार जनताको नामसमेत लिएनन् ।
अष्ट्रिया, चेकोस्लोभाकिया, पोल्यान्डका जर्मन जातिका जनतालाई ‘जर्मन राष्ट्र’ नाम दिएर नाजी दलले हस्तक्षेपहरू गर्यो । जर्मन जातिका महिलाहरूले यहुदी र अरु जातिसँग विवाह नगर्ने उर्दी जारी गरे । नाजी प्रचारमन्त्री गोयवल्स (Goebbles) ले पर्यायवाची शब्दको रूपमा प्रयोग गरे । नाजी दलको आर्थिक नीतिले पुँजीपति वर्ग मस्त निद्राले सुत्न पाए । पाँचौँ दस्ता (Fifth Column) नामको गुप्तचर विभाग र गोस्टापो (सशस्त्र) प्रयोग गर्दै २२ जून १९४१ मा रुसमाथि हमला भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *