भर्खरै :

चिकित्सक अभावले थला पर्दै भक्तपुर अस्पताल

भक्तपुर, २१ भदौ । चिकित्सकहरूको उपस्थितिसँगै दुई तीन वर्षअघिबाट केही सुधार हुँदै आएको भक्तपुर अस्पताल चिकित्सक अभावले पुनः थला पर्न लागेको छ । स्वास्थ्य मन्त्रालयको कर्मचारी संयोजनको नतिजा र सरुवाको प्रक्रियासँगै अधिकांश चिकित्सकहरू सङ्घअन्तर्गतका अस्पतालहरूमा सरुवा हुँदै गएपछि चिकित्सक अभावमा उपचार सेवा प्रभावित भएको हो ।
१९ जना विशेषज्ञ चिकित्सकको दरबन्दी भएको अस्पतालमा समायोजनअघि १४ जनासम्म चिकित्सक पुगेको अस्पतालबाट एकैपटक ८ जना चिकित्सक सरुवा भएर गएका छन् । अस्पतालबाट प्याथोलोजिष्ट डा. लिशा गौचन, बालरोग विशेषज्ञ डा. सरिता श्रेष्ठ, छाला रोगका डा. उमा गिरी, नाक, कान, घाँटी विशेषज्ञ डा. रविभुषण सुवाल, हाडजोर्नी र नशा विशेषज्ञ डा. सुदिप खनाल, रेडियोलोजिस्ट डा. हरिओम जोशी, जनरल फिजिसियन डा. अतीत पौडेल र एनेस्थेसिस्ट डा. सरिता श्रेष्ठ सरुवा भएका छन् । हाल त्यहाँ सरुवाको पत्र नआइसकेका केही र प्रदेश सरकारबाट पदस्थापना भइआएका दुई चिकित्सकले मात्र सेवा दिंदै आएका छन् ।
त्यस्तै स्टाफ नर्स १९ जना, अनमी ६ जना, नर्सिङ अधिकृत २ जना र मेट्रोन १जनाको दरबन्दी रहेकोमा ७ जनामात्र नर्स र १ जना नर्सिङ अधिकृत र १ मेट्रोनको मात्र पदस्थापना भएको छ । समायोजनमा प्रदेश रोजेका ३५ वर्ष सेवा गरिसकेका नर्सलाई पनि पूर्वाग्रहका कारण दुर्गम जिल्ला सरुवा गरी पठाएको छ ।
प्रदेश रोजेका भक्तपुर अस्पताल इमर्जेन्सी विभागमा कार्यरत पारामेडिक्सहरूलाई समेत प्रदेश नं. ३ का विभिन्न जिल्लामा सरुवा गरी पठाउँदा र त्यहाँ कार्यरतहरूको स्थानमा अरू नपठाउँदा भक्तपुर अस्पतालमा सञ्चालनमा रहँदै आएको इमर्जेन्सी सेवा पनि बन्द हुने अवस्थामा पुगेको अस्पताल प्रशासनले जानकारी दिएको छ ।
अस्पताल प्रशासनका अनुसार हाल अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट पनि छैन । मेडिकल सुपरिटेन्डेन्टका रूपमा रहनुभएका डा. सुधा देवकोटाको सरुवापछि केही समय खाली रहेको पदमा भक्तपुरमा काज सरुवा भई आउनुभएका नाक, कान, घाँटी विशेषज्ञ डा. रविभुषण सुवाल साउनमा मात्र कामु मेडिकल सुपरिटेन्डेन्ट नियुक्त हुनुभएको थियो । समायोजनसँगै उहाँ सङ्घअन्तर्गतको वीर अस्पताल सरुवा हुनुभएपछि निमित्त मेडिकल सुपरिटेन्डेन्टसमेत छैन । हाल मेट्रोन सावित्रीकुमारी पौडेलले दैनिक प्रशासन हेर्दै आउनुभएको छ । मेडिकल सुपरिटेन्डेन्ट नहुँदा त्यहाँ कार्यरुत चिकित्सक, नर्स र कर्मचारीहरूले साउन महिनाको तलब खान नपाएको अस्पतालको लेखा शाखाले जनाएको छ ।
त्यस सम्बन्धमा मेट्रोन पौडेलले भन्नुभयो, “प्रदेश स्तरको अस्पतालमा लामो समयसम्म मेसु पदसमेत खाली राख्नु उचित होइन । हामीले समस्याका बारेमा प्रदेश स्वास्थ्य मन्त्रालयमा पत्राचार गरिसकेका छाँैं । प्रदेश सरकारबाट छिट्टै चिकित्सकहरू र मेडिकल सुपरिटेन्डेन्ट पठाउने आश्वासन पाएका छौँ । कन्सलटेन्ट डाक्टर नहुने हो भने भक्तपुर अस्पताल पुनः एउटा रेफर अस्पताल वा रेफर सेन्टरको रूपमा परिणत हुनेछ ।”
विगतमा नेपाल सरकारको क्षेत्रीय स्तरको अस्पतालको रुपमा रहेको भक्तपुर अस्पताल प्रदेश सरकारअन्तर्गत पुगेपछि विगतमा भन्दा कम दरबन्दी र बजेटको स्थितिमिा पुगेको बताइन्छ । कुल ७५ शय्याको अस्पताल भनिए तापनि भवन अभाव र विभिन्न कारणले ५० –५५ शय्यामा मात्र उपचार भइरहेको छ ।
अस्पतालमा हाल अस्पताल विकास समितिले करारमा ४ जना चिकित्सकसहित ६४ जना कर्मचारीलाई तलब खुवाउँदै आएको र अस्पतालको आम्दानी र प्रदेश सरकारको अनुदानबाट त्यसको पूर्ति हुँदै आएको लेखा शाखाका लेखा अधिकृत बालकृष्ण अधिकारीले जानकारी दिनुभयो । विकास समितिले करारमा नियुक्त गरेका चिकित्सक, नर्स, कर्मचारी र सहयोगीले समेत नेपाल सरकारका कर्मचारीसरह सेवा सुविधा माग गर्दा अस्पताललाई अप्थ्यारो भएको उहाँले बताउनुभयो ।
उहाँले प्रदेश सरकारले नै बजेट कम गरी पठाउँदा अस्पताल विकासका लागि हुनुपर्ने जति काम हुन नसकेको स्वीकार्नुभयो ।
दलीय भागबन्डाका आधारमा नियुक्त भएर आएका अस्पताल विकास समितिका पदाधिकारीहरूले भत्ता र अन्य फाइदा लिनुभन्दा केही काम नगरेको अस्पतालकै कर्मचारी र बिरामी कुरुवाहरूले बताए ।
अस्पतालमा खानेपानी र शौचालयमा प्रयोग गर्ने पानीसमेत नभएको भुक्तभोगीले बताए । खानेपानी त किनेर भए पनि ल्याउन सकिने तर शौचालयमा पानीको अभाव हुँदा शौचालय फोहोर र अत्यन्त दुर्गन्धित भएको उनीहरूको कठन छ ।
अस्पतालमा सरकारले घोषणा गरेका निःशुल्क पाइने औषधिसमेत जरुरी भएका बिरामीले पाउने नगरेको र सबै औषधि किन्नैपरेको बिरामी कुरुवाहरूले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *