भर्खरै :

पुँजीवादविरुद्ध लड्न मजदुर एकता आवश्यक

भक्तपुर, २१ भदौ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले यातायात मजदुरहरू सभ्य र सुसंस्कृत बन्नुपर्ने कुरामा जोड दिनुभयो ।
नेपाल क्रान्तिकारी मजदुर सङ्घको पेशागत सङ्गठन नेपाल क्रान्तिकारी यातायात मजदुर सङ्घको पाँचाँै भक्तपुर जिल्ला सम्मेलन उद्घाटन गर्दै उहाँले मजदुर सङ्गठनले नेपाली भाषा प्रशिक्षण कक्षाहरू सञ्चालन गर्नुपर्ने, समय–समयमा स्वास्थ्य परीक्षण तथा ट्राफिक नियमसम्बन्धी कक्षाहरू सञ्चालन गर्न सुझाव दिनुभयो ।
उहाँले मजदुरहरूले आफ्नो पेशामा निपुणता हासिल गर्दै जनताको सेवा गर्ने भावनाले काम गर्नुपर्ने बताउनुभयो । चालकहरूले सवारी साधनको पार्टपुर्जाको विषयमा पनि ज्ञान हासिल गर्नुपर्नेमा जोड दिंदै उहाँले काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीमात्र नियमित सक्रिय भए सवारी जामको समस्या हल हुने बताउनुभयो ।
पढेलेखेको हुँदैमा सामाजिक व्यवहार र चालचलन सबै थाहा नहुने भन्दै अध्यक्ष बिजुक्छेँले मजदुर सङ्गठनको आयोजनामा चालचलन र व्यवहारको तालिम पनि चलाउन सके चालकहरू व्यवहारकुशल हुने बताउनुभयो ।
संसारका मजदुरहरूको अवस्थाबारे चर्चा गर्दै उहाँले समाजवादी देशमा मजदुरहरू पनि बुद्धिजीवी हुने र मजदुरहरूको विद्यालयको बन्दोबस्त हुने बताउनुभयो ।
पैसाकै लागि मात्र काम गर्ने प्रवृत्ति सही नभएको भन्दै उहाँले समाजवादी देशहरूका मजदुरहरूले देश निर्माणमा आफ्नो योगदान दिन अतिरिक्त श्रम गर्ने भावनाको विकास गरिने बताउनुभयो ।
सामन्तवादी व्यवस्थामा किसानहरू नै पुँजीवादी व्यवस्थामा मजदुर वर्गमा परिणत हुने बताउँदै उहाँले पुँजीवादी व्यवस्थाविरुद्ध लड्न मजदुर सङ्गठनको आवश्यक पर्ने धारणा राख्नुभयो ।
यातायात मजदुरहरूले स्वास्थ्य जीवन शैली अपनाउनुपर्नेमा जोड दिँदै उहाँले काम सँगसँगै पत्रपत्रिका अध्ययन तथा स्वस्थ रहन खानामा ध्यान दिनुपर्ने सल्लाह दिनुभयो ।
नेक्रामजदुर सङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र चवालले नेपाल क्रान्तिकारी यातायात मजदुर सङ्गठन र अन्य यातायात मजदुर सङ्गठनको भिन्नताबारे प्रस्ट पार्दै मजदुर आन्दोलनको नाममा पुँजीपति र शासक पार्टीहरूले दलाली गर्ने मजदुर सङ्गठनबारे सचेत हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा उपेन्द्र सुवाल, ज्ञानेन्द्र महर्जन, गणेशप्रसाद लोहला, लक्ष्मीप्रसाद गोरा, शिवराम त्वानाबासू, विक्रम ढुकुछू, विक्रम खायमली, राजाराम बासुकला र विश्वनाथ प्रधानाङ्गलगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा उत्कृष्ट चालक र पूर्वअध्यक्षहरूलाई सम्मान गरिएको थियो ।
सम्मेलनको बन्द सत्रले शिव सितिखूको अध्यक्षतामा १९ सदस्यीय नेक्रामजदुर सङ्घ भक्तपुर जिल्ला समिति गठन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *