भर्खरै :

नमेटिएको मगन्ते मनोवृत्ति

चीनका विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणको क्रममा दुई देशबीच तीन वटा सहायता सम्झौता भएका छन् । विदेशी नेताहरू नेपालमा आउँदा केही माग्नैपर्ने मनोवृत्तिबाट नेपाली शासकहरू अझै मुक्त हुनसकेका छैनन् । चीनसँग केही हजार थान त्रिपाल लिनु मगन्ते प्रवृत्तिकै द्योतक हो । छिमेकी देशको नाताले चीनले नेपाललाई सहयोगको हात बढाउनु र नेपालले पनि आवश्यक पर्दा सहयोग लिनु छिमेकी देशबीच स्वाभाविक हो । तर, सहयोग लिने नाममा केही थान त्रिपालसमेत माग्नुले देशको छवि धमिलो बनाएको छ । नेपाली जनतालाई आकस्मिक अवस्थामा आवश्यक पर्ने त्रिपालजस्ता सामान नेपाल सरकार आफैले जोहो गर्न नसक्ने होइन । नेपाल सरकारले आफ्नै बजेटबाट त्यस्ता सामानको बन्दोबस्त गर्नुपथ्र्यो । तर, लामो समयदेखि नेपाली शासक वर्गमा गहिरो जरा फैलिएर बसेको मगन्ते प्रवृत्तिले नेपाललाई ‘मगन्ते देश’ को छविबाट माथि उठाउन सकेको छैन ।
कुनै पनि देश आर्थिकरूपमा गरिब हुनुभन्दा पनि खतरनाक विषय भनेको सांस्कृतिकरूपमा हुने गरिबी हो । आफूलाई समस्या नै परेको बेला र आफ्नो क्षमताभन्दा बाहिरका वस्तुको लागि छिमेकीसँग सहयोग माग्नु असल छिमेकी देशबीचको सौहार्द सम्बन्धको द्योत्तक हुनसक्छ । तर, आफ्नो क्षमताले भ्याउने वस्तुको लागि विदेशीसँग हात फैलाउनु मगन्ते मनोवृत्तिकै निरन्तरता हो । मित्र देशका पाहुना नेपाल आउँदा उनीहरूबाट सकेसम्म बढी माग्ने र जसले धेरै माग्न सक्यो, ऊ नै असल छानिने सांस्कृतिक समस्या हामी अझै भोगिरहेका छौँ ।
अक्टोबरमा राष्ट्रपति सी चिनफिङ नेपाल आउने चर्चा छ । छिमेकी देश चीनको राष्ट्रप्रमुख नेपाल भ्रमणमा आउनु नेपाली जनताको लागि खुसीको कुरा हो । तर, सीको नेपाल भ्रमण हुँदा पनि मागेरैमात्र भ्रमणको सार्थकताको नापो हुने अवस्था भने विडम्बनापूर्ण हुनेछ । केही सञ्चारमाध्यमले प्रकाशमा ल्याएको समाचारअनुसार चीनसँग नेपालले यतिबेला सबभन्दा प्राथमिकतामा राखेर माग्न खोजेको कुरा मदन भण्डारी विश्वविद्यालय हो । देशका अधिकांश विश्वविद्यालय लथालिङ अवस्थामा रहेको बेला छिमेकी देशसमक्ष एउटा नयाँविश्वविद्यालयको लागि भिक्षापात्र तेर्साउनुले सत्तारूढहरूको सङ्कीर्णता प्रस्ट्याउँछ । यतिबेला देशकै सबभन्दा पुरानो र धेरै विद्यार्थी पढ्ने त्रिभुवन विश्वविद्यालयदेखि काठमाडौँ विश्वविद्यालयले अनेकन समस्या सामना गरिरहेका छन् । ती विश्वविद्यालयलाई कसरी उकास्ने भन्ने विषयमा सरकारको ध्यान छैन । बरू मदन भण्डारी विश्वविद्यालयलाई बेल्ट एन्ड रोड परियोजनाअन्तर्गत संसारभर चीनले बनाइदिने विश्वविद्यालयभित्र समावेश गर्न गरेको अनुनय भने अशोभनीय छ । सरकारले विश्वविद्यालयबीच भेदभावको अवस्था अन्त्य हुुनुपर्छ ।
छिमेकी देशका नेताहरूको नेपाल भ्रमणलाई दुई देशबीचको आपसी सम्बन्ध विकाससँग जोड्नुपर्छ । विश्वस्तर र क्षेत्रीयरूपमा भइरहेका चुनौतीको सामना गर्न नै यस्ता भ्रमणको उपयोग गरिनुपर्छ । जलवायु परिवर्तनका कारण नेपाल र चीनको सिमानामा अवस्थित हिमालयमा आइरहेका नयाँनयाँ समस्या समाधानका लागि अध्ययन–अनुसन्धान र समाधानको बाटो खोजिनुपर्छ । भिक्षापात्र फैलाइने भ्रमणले देशको छविलाई उचाइमा लान सक्दैन । चीनले छोटो समयमा गरेको आर्थिक एवम् भौतिक विकास केही हजार थान त्रिपाल लिएर सिक्न सकिन्न । कुनै समय एसियाको बिरामी देश भनिएको चीनले छोटो समयमा कसरी संसारको महाशक्ति देशहरूलाई चुनौती दिने तहको विकास गर्न सम्भव भयो भन्ने विषयमा नेपालले सिक्न जरूरी छ । नेपालले चिनियाँ समाजलाई दिन सहयोगको बाटा पनि पहिल्याउँदै दुवै देशको सम्बन्ध दुवै पक्षको हित हुने सिद्धान्तमा आधारित हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *