भर्खरै :

विषय मिसमास

प्रधानमन्त्री केपी शर्मा ओली सिङ्गापुरको विश्वविद्यालय कलेजमा उपचार गरी गएको शुक्रबार स्वदेश फर्कनुभयो । उहाँ यही भदौको ५ गते श्रीमती राधिकासँग त्यता जानुभएको थियो । त्यसअघि पनि पहिलो चरणको उपचारार्थ त्यही उपचार केन्द्र जानुभई ओखती गराई फर्कनुभएको थियो । ओलीको १२ वर्ष जति अघि मृगौला प्रत्यारोपण गरिएको थियो । अब फेरि मृगौलामा समस्या आयो क्यारे ! चिकित्सा शिक्षाशास्त्रमा उहाँले खेपिरहेको रोगको र ती रोगको निवारण अनेक चरणका अनेक भए पनि सर्वसाधारण पाठकका लागि ती रोगका विदेशी नाम कण्ठाग्र गर्न जरूरी नठानी त्यता लागिन । समग्रमा भन्दा प्रधानमन्त्री ओलीको स्वास्थ्य सामान्य छैन । तर कार्यकारी प्रधानमन्त्रीको जिम्मेवारी बहन गर्नु भएकोले कार्यबोझ हलुका छैन । संविधान नयाँ छ । संविधानअनुरूप कानुनहरू बल्ल बल्ल बनेका छन् । कानुनअनुसारका कार्यकारी निकायहरू बनिसकेका छैनन् । बनेकामा पनि सबैमा पदपूर्ति हुनसकेको छैन । फेरि दुई पार्टी–एमाले र माओवादी–एक भएको असजिलो परस्थिति टुङ्गिइसकेको छैन । अहिले पनि पार्टी एक, अध्यक्ष दुई जना छन् । पार्टीको महाधिवेशन नगरी दुई पार्टी एकीकृत नभएको प्रक्रिया पूर्ण हुँदैन । यो वस्तुस्थिति सजिलो छैन केपी शर्मा ओलीलाई ।
बल नगर्नोस् स्वास्थ्य हेर्नोस्
अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि कम महत्वाकाङ्क्षी छैनन् । दुई वटा पार्टी एक हुँदा ओली र प्रचण्डबीच के केमा भद्र सहमति भएको थियो त्यो पनि सार्वजनिक भएको छैन । यसको मतलब गोप्य नै छ । यो पछिल्लो पल्ट सिङ्गापुर जाँदामात्र बल्ल प्रचण्डलाई पार्टीमा काम गर्ने अधिकार दिएका हुन् ओलीले । सिङ्गो माओवादी पार्टी हाँकेर आएका प्रचण्ड अर्का अध्यक्षबाट काम गर्ने अधिकार नपाएको अवस्थामा कुन धैर्यमा बसे होलान् । सासू भएर बसेकी एउटी गृहिणी बुहारी भएर बस्दा के–कस्तो अनुभव भयो होला अनुमान गर्न पनि सजिलो छैन । बडो धैर्यसँग बसे १५ महिना । यो वेदना उनले मात्र अनुभूत गर्ने विषय भयो । यो पल्ट भने ओलीले पार्टीका एकीकरणका यावत् कामसमेत गर्न अधिकार दिएर सिङ्गापुर गएकोले प्रचण्ड सक्रिय हुन पाए र दुई–चार वटा काम पनि भ्याए । अलि अघिदेखि नै यति गर्ने अधिकार दिएका भए ओलीले प्रचण्डलाई केही त पक्कै हुन्थ्यो होला नेपाल कम्युनिस्ट पार्टीमा । अब के हुन्छ भन्न सकिँदैन । केपी ओलीलाई सल्लाह दिइएको छ सरकारी कामको दायित्वमात्र लिने, पार्टी कामको दायित्व र अधिकार अर्का अध्यक्ष पुष्पकमल दाहाललाई दिने । हामी बाहिरबाट हेर्नेहरूलाई त यो कार्य र दायित्व विभाजनको प्रश्नको यो उपयुक्त उपचार हो, समाधान हो । तर निर्णायक त ओली नै हुन् ।
अर्को निर्धा भएर टिकेका
प्रमुख प्रतिपक्षी पार्टी नेपाली काङ्ग्रेस साँच्चै प्रतिपक्षीजस्तै बलियो भएको भए र पार्टीभित्रको गुट–उपगुटमा नबाँडिएको भए यस्तो सुस्त राज्य गर्न कहाँ पाउनु । अरू प्रतिपक्षी पार्टीहरू पनि कमजोर भएर न हो यस्तो शिथिल राजपाठ गर्न पाएको ! साँच्चै बरू राजनीतिक दलहरू अरू प्रतिपक्षी पार्टीहरू बलिया नभएकोले नै आफू बलियो नहुँदा नहुँदै पनि पार्टीको नेतृत्व गर्न पाइरहेको ! हाम्रा राजनीतिक दल आफू बलियो भएर हैन टिकेको अरू बलिया नभएर टिकेका ! यो स्थिति सधैँ रहँदैन । तसर्थ हरेक दलले आफै बलियो बन्नेतिर लाग्नुप¥यो । अर्को निर्धो हुँदा आफू बलियो हुने सोच प्रगतिसूचक होइन । केपी ओलीज्यू अब यी कुरामा पनि यसो सोच्ने कि ? तपाईँ पार्टीको अध्यक्ष निर्वाचित हुँदा पनि ‘अब मेरो कति हो र’ भन्ने प्रश्न गर्नुभएजस्तो लाग्छ । त्यस्तो ‘रियलाइजेसन’ सार्वजनिक गर्नुभएको पनि निकै भइसक्यो । साँच्चै औपचारिकरूपमा तपाइँ बलियै हुनुहुन्छ भने पनि शरीरले दिएजस्तो लागेन । हो, मान्छे जन्मेपछि मर्छ । यसो भनेर हात–खुट्टा छोडिहाल्नु पनि भएन । कामना गरौँ तपाईँ बलियो भएर स्वस्थ भएर लामो समय बाँच्नोस् ! तर यसका लागि पनि पहिला त स्वास्थ्य नै हेर्नुप¥यो । अनिमात्र अरू । होइन र ?
खोइ आत्मनिर्भरतातर्फ ध्यान ?
तपाईँलाई बढी थाहा छ, राज्य ठीकसँग चलेको छैन । राज्य ठीकसँग नचलेपछि के हुन्छ ? सबैलाई थाहा छ कमजोर हुन्छ । कमजोर राज्यले के पो गर्नसक्छ र ! अनि कहाँको समृद्ध नेपाल ! कहाँको सुखी नेपाली ! अलि वर्ष अघिसम्म खाद्यान्न र अन्य कतिपय वस्तु चीन निर्यात गथ्र्यो नेपाल, भारततर्फ खाद्यान्न निर्यात गर्न तराईका सात ठाउँमा हो जस्तो लाग्छ धान–चामल निर्माण कम्पनीहरू नै गठन गरेर निकासी गरेको थियो टनका टन धान–चामल । वर्तमानमा डेढ अर्ब रूपियाँ जतिको चामलमात्र आयात गर्छ नेपाल भारतबाट । यसरी कसरी समृद्ध नेपाल बन्छ र ? कृषि र पशु विकासमन्त्री स्वयं थला परेका छन् डँेगुबाट । प्रधानमन्त्री महोदय ! तपाईंको मनोबल उच्च छ जो प्रशंसायोग्य छ तर रगत–मासुको जीउ नै ठीक रहेन भने मनोबलले मात्र काम गर्दैन । तात्पर्य मनोबल चाहिँदैन भनेको कदापि होइन । राष्ट्र हिजो र अस्ति आत्मनिर्भर भएका वस्तुमा पनि अहिले परनिर्भर हुँदै छ । वैदेशिक रोजगारी समग्रमा राम्रो होइन । तर विद्यमानमा यो नेपाल धान्ने मुख्य माध्यम भएको छ । यो रोजगारी नभए विदेशी मुद्राको सङ्कट पर्छ । यो वैदेशिक रोजगारीको उत्तम विकल्प आफ्नै देशमा रोजगारी हो, उत्पादन र उत्पादक वृद्धि हो । सरकारको गुरूगम्भीर ध्यान यसतर्फ आकृष्ट भएकै छैन । यसकारण पनि सरकारको ध्यान देशलाई आत्मनिर्भर हुने दिशातिर गएको देखापर्नुप¥यो ।
त्यो शक्ति कुन शक्ति हो ?
भ्रष्टाचारले राज्यलाई गाँजेको छ । मान्छेहरू रूष्ट छन् । भ्रष्टाचार आफै भयावह रोग हो । यो सबैलाई थाहा छ । तर, नेपालमा मैलो भ्रष्टाचारलाई सुकिला र मूल्यवान परिधान र भावुक भाषणहरूले अन्तर्घात गराएका छन् । सिपालु भ्रष्टाचारी अधिकारवालाहरूलाई आफ्नो गुप्त कब्जामा पार्दोरहेछ । नेपालमै यस्ता भक्त क्याविनेट मन्त्रीसम्म भए र प्रधानमन्त्रीसम्मलाई प्रभाव पार्नेसम्मका काम भए । होली वाइनको कथा र प्रधानमन्त्री ओलीको सोल्टी होटेल प्रवास भएकै हो । कुन शक्तिको शक्ति हो प्रधानमन्त्रीलाई सोल्टी होटेलमा बसाउने ? प्रधानमन्त्री आफूलाई यस्ता मामलामा निकै चतुर ठान्नुहुन्छ । तर, उहाँभन्दा पनि महाचतुर को निस्क्यो ? स्वास्थ्यमा सारै ध्यान दिनुपर्ने प्रधानमन्त्री निवास छोडी दुई कि तीन रात किन सोल्टी प्रवास ? यो मुद्दा देख्दा सानो भए पनि तारतम्य सानौ छैन । सिंहदरबारका सम्मेलनमा भाग लिन जान सोल्टी होटेलबाट भन्दा प्रधानमन्त्री निवास बालुवाटारबाट लगभग उत्तिकै समय लाग्ला । के त सोल्टी प्रवासको गूढार्थ वा निहितार्थ ? त्यो होली वाइनप्रधान सम्मेलनमा अरू धेरै सहभागीहरूलाई सहज भेट एउटामात्र कारण अनुमान गर्न सकिन्छ । धेरैसँग भेट भो रे लौ । त्यसको प्रतिफल के त प्रधानमन्त्री ओलीलाई र नेपाल सरकारलाई ? यस्तोमा पनि त्यस्तो गर्न सक्ने कस्तो शक्ति, के शक्ति ?
नत्र भविष्य अनिश्चित
ढिला भो सा¥है ढिला भो पार्टी एकीकरणको काम । तपाईँ दुई जना अध्यक्ष आफै गम्नोस्, पार्टी एकीकरण प्रक्रिया ढिला भएको हो होइन ? विनाकारण कराएको हो त ढिला भो भनी । दुवै अध्यक्ष एक्ला–एक्लै बसेर सोच्नोस् त ढीला भएको हो होइन ? तपाईँको पार्टीका कति लाख सदस्य रे ? ती सबैको १५ महिना ४५५ दिन– विनाकाम खेर गयो । अब ती गएका दिन कहिल्यै आउने होइनन् । अझै कतिपय एकता प्रक्रियाका काम बाँकी नै छन् । काम सकिएका ठाउँको असन्तुष्टि त छँदै छ । तर कामै नसकिएका ठाउँका कार्यकर्ता वा नेताहरू अमूल्य समय खेर त गयो गयो । किन मिलेन यो प्रक्रिया ? साँच्चै दुई पार्टीबीचको सिङ्गो एकता भनेको त सानु घटना कदापि होइन । तर, कहिले कता के–के नमिलेको हो त्यो समस्या तत्कालै हल गर्नुपर्छ र गर्न खोजे गर्न नसकिने पनि होइन । यहाँ त प्रश्न उपस्थित भयो गर्न खोजेकै होइन रहेछ अनि किन हुन्थ्यो त ! साँच्चै अन्तर्हृदयदेखि नै गर्न खोजेमा के काम रोकिएको छ र ! यसर्थ के प्रश्न उठिसक्यो पार्टी एकीकरण गर्नै खोजिएको थिएन कि भन्ने । तर, राजनीति यसरी उपस्थित भयो अब एक्लै भइयो भने भविष्य अनिश्चित छ ।
फौजदारी तारेखवाला मन्त्री
राजनीतिलाई चोखो कसरी पार्न सकिन्छ भन्ने एउटा डरलाग्दो प्रश्नले आजको समसामयिक राजनीतिको घाँटी अठ्याएको छ । छिमेकी भारतमा फौजदारी मुद्दा बोकेका अभियुक्तहरू मोदी सरकारका मन्त्री छन् । त्यो पनि सानु सङ्ख्यामा हो र ३१ प्रतिशत रे ! केन्द्रीय सरकारका ७८ जना मन्त्रीमध्ये २४ जना हत्या, हत्या प्रयास, अपहरण र महिलाउपर गरिएका अपराधजस्ता फौजदारी मुद्दा नै रहेछन् । प्रधानमन्त्री हुनेलाई त्यस्ता फौजदारी मुद्दामा तारेख खेपिरहेकाहरू नै किन मन्त्री बनाउनैपर्ने हुन्छ । त्यो स्पष्ट छ, राजनीतिक मामिलामा सहयोग ! मोदी अघिल्लोपल्ट प्रधानमन्त्री बन्दा पनि भारतको सर्वोच्च अदालतले परामर्श दिएको थियो कम्तीमा पनि फौजदारी मुद्दामा तारेख खेपिरहेका सांसदलाई मन्त्री नबनाऊ । तर टेरेनन् मोदीले र ३७ प्रतिशत मन्त्री फौजदारी मुद्दाका अभियोगीहरूलाई मन्त्री बनाएका थिए । यसपल्ट पनि यो काम रोकिएन छ । अब सरकार कसरी चोखो काममात्र गर्नसक्छ । नेपालमा त्यसरी प्रतिशत नै तोक्ने गरी विश्लेषण त भएजस्तो लाग्दैन तर होली वाइनजस्ता प्रकरण त्यस्तै चरित्रका मन्त्रीबाट रचिने रहेछन् । यो फौजदारी मुद्दा खेपिरहेकाहरू मन्त्री, प्रधानमन्त्री बन्ने रोग अरू राष्ट्रमा पनि रहेछ ।
वाङ यी भ्रमण कार्यान्वयनमुखी
निकटतम मित्र राष्ट्र चीनका विदेशमन्त्री वाङ यी तीनदिने नेपाल भ्रमणमा अस्ति नेपालआउनु भएको छ । यो भ्रमण चिनियाँ राष्ट्रपति सि जिन पिङको राजकीय भ्रमणको बन्दोबस्त मिलाउने क्रममा हो र राष्ट्रपतिको पूर्वभ्रमण हो भन्दा पनि फरक नपर्ला सोझो भाषामा । राजनीतिक र कूटनीतिक भाषामा पूर्वभ्रमण भन्नु कति मिल्छ थाहा छैन । चीनसँग ठूलठूला कुरामा समझदारी भएका छन् । सम्झौता पनि भएका छन् । तर कार्यान्वयन पक्ष निकै पातलो छ । अबको अवधि कार्यान्वयनतर्फ जाने हो कि ? समझदारी र सम्झौताले मात्र हुने रहेनछ । प्लाष्टिकको शोभायमान फूलले बास्ना दिन नसक्ने कुरा स्पष्टै छ । नेपाललाई दक्षिणी निकटतम छिमेकी मित्र राष्ट्र भारतले नाकाबन्दी लगाउँदा अर्को उत्तरतर्फको निकटतम छिमेकी मित्र मुलुक चीनले असल मित्रताको हात बढाएर हामी छौँ जुन भन्यो त्यो बेला त्यति नै ठूलो कुरो थियो । तर अब तिनको कार्यान्वयन जरूरी हो । मित्र वाङ यीको यही भ्रमणमा त के कति होला भनिहाल्नु हतार होला तर सी जिन पिङको सम्भावित निकट भविष्यको भ्रमणमा कार्यान्वयन गर्नेतर्फ पहिलो प्राथमिकता हुनैपर्छ ।
अन्यथा, अन्यथा नै हुनसक्छ । तसर्थ वाङ यीको यो भ्रमणलाई भइसकेका समझदारी र सम्झौताहरूको कार्यान्वयन, नयाँ कुराको प्रतिबद्धता र त्यो पनि कार्यान्वयनलाई जोड दिन उत्तम होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *