भर्खरै :

काम गर्ने तरिकाबारे

नारायणमान बिजुक्छेँ (रोहित)
(विसं २०३३ साल भदौ १६ गते तद्नुसार सन् १९७६ सेप्टेम्बर अर्थात् आजभन्दा ४३ वर्षअघि प्रकाशित नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)ले लेख्नुभएको पुस्तक ‘नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेका खोटा विचारको खण्डन’ नेपालको कम्युनिस्ट आन्दोलनमा गहन महत्व बोकेको कृति हो । नेपाल कम्युनिस्ट आन्दोलनमा देखापरेका विभिन्न खोटा विचारसँग सैद्धान्तिक बहसको क्रममा लेखिएको यो पुस्तक नेपाल मजदुर किसान पार्टी स्थापनाको सैद्धान्तिक आधार पनि हो । तत्कालीन राजनीतिक परिस्थितिमा लेखिएको यो कृतिको सैद्धान्तिक मार्गदर्शन आजको परिस्थितिमा पनि सान्दर्भिक छ । आजको बदलिँदो परिस्थितिको सापेक्षमा यो कृतिमा उल्लेखित विचारको अध्ययन जरुरी छ ।
आगामी असोज ३–५ सम्म हुने नेपाल मजदुर किसान पार्टीको सातौं महाधिवेशनको क्रममा अध्ययन र छलफलको निम्ति पुस्तकमा सामेल प्रस्तुत लेख प्रकाशित गरेका छौँ–सम्पादक)
ज्याला बढाउने, कामको समय घटाउने, काम गर्ने ठाउँको वातावरणमा सुधार गर्ने, स्वास्थ्य उपचार र बासको राम्रो प्रबन्ध, कामको ग्यारेन्टी (स्थायित्व), बोनस, महँगी भत्ता, पेन्सन आदि मजदुरहरूका दैनिक समस्या र मागहरू हुन् । यी समस्याहरूलाई लिएर गरिने सङ्घर्षलाई दैनिक या तात्कालिक सङ्घर्ष भनिन्छ । त्यस्तै मोहियानी हक (जोताहा हक), बाली बुझ्दाको भर्पाइ, अधिया कुतको बन्दोबस्त, कुत कम गर्ने माग, व्याज कम गर्ने, कुलो र नहरको माग, बाँझो जग्गा आवाद गरेर बसोबास गर्न पाउने अधिकार, सुख्खा, असिना, बाढी र कीरा लाग्नेजस्ता प्राकृतिक प्रकोपको बेला कुत र मालपोत कम गर्ने वा मिनाहा लिने, सस्तो मल, सहकारी संस्था, जसको जोत उसको पोत गर्ने आदि कुराहरू किसानहरूका दैनिक समस्या हुन् ।
निःशुल्क र काम लाग्ने शिक्षा, गरिब विद्यार्थी पुस्तकालय, गरिब विद्यार्थीहरूलाई सहायता र भत्ताको बन्दोबस्त, स्कूल, कलेज र विश्वविद्यालयमा सबै विषयका कक्षा चालू गर्ने, योग्य र अनुभवी शिक्षक र प्राध्यापकहरूको पूर्ति, विज्ञान, भूगोल, कृषि र अरु व्यावसायिक र प्राविधिक विषयका प्रयोगशाला र सामानको बन्दोबस्त, विद्यार्थीहरूको मुफ्त स्वास्थ्य उपचार, छात्रावास र यातायातका साधनहरूमा सहुलियत र सुविधाको माग, शारीरिक र सांस्कृतिक गतिविधिको राम्रो बन्दोबस्त, स्कूल, कलेज र विश्वविद्यालयका विद्यार्थीहरूको युनियन (सङ्घ–संस्था) खोल्न पाउने र आफ्नो हितको निम्ति सांस्कृतिक, सामाजिक र राजनैतिक गतिविधि गर्न पाउने अधिकार आदि विद्यार्थीहरूका समस्या हुन् ।
जङ्गी वा निजामती कर्मचारी, शिक्षक, प्राध्यापक, डाक्टर, इन्जिनियर, लेखक, कवि, कलाकार आदि कम वा मध्यम दर्जाका तलब पाउने र सीमित आम्दानी भएका सबै कर्मचारी र बुद्धिजीवी कामदारहरूको समस्या कारखाना र योजनाका मजदुरहरूको समस्यासँग मिल्दाजुल्दा हुन्छन् । यसकारण शारीरिक र मानसिक श्रम गरेर खाने सबै वर्ग कामदार वर्गमा आउँछन् । बढ्दै गएको बजारको भाउ वा महँगी, करको बढ्दै गएको बोझ मजदुर, किसान र व्यापक जनताका समान दैनिक समस्या हुन् ।
जिल्ला–जिल्लाका हाम्रा साथीहरूले जनताका दैनिक समस्याहरूलाई लिएर मजदुर, किसान, युवक–विद्यार्थी, बुद्धिजीवी र स–साना पुँजीपति वर्गको माझमा गएर काम गरे । हिन्द–चीन, एसिया–अफ्रिका र लाटिन अमेरिकी देश र जनताको स्वतन्त्रता र मुक्ति आन्दोलनलाई समर्थन र प्रचार गरे । देश र विदेशमा भइरहेको साम्राज्यवादी आक्रमण, नयाँ र पुरानो उपनिवेशवादको थिचोमिचोको विरोधमा प्रचार–प्रसार गरे । विदेशी एकाधिकार पुँजी र थिचोमिचोको विरोध गरे । समाजवादी देशहरूको साम्राज्यवादविरोधी र समाजवादको निर्माणको सङ्घर्षलाई समर्थन गरे । चित्र प्रदर्शनी, साहित्य गोष्ठी, विभिन्न समारोह र सभाहरूको आयोजना, जुलुस र प्रदर्शनहरू गरेर जनताको मौलिक हक सुरक्षा गर्ने र फिर्ता लिने भावनालाई जगाइराख्ने काम गरे । ती गतिविधिहरूको पछाडि मजदुर, किसान र व्यापक जनताको भविष्यको हित र उद्देश्य पनि थियो र छ ।
तर, हाम्रा फलाकावादी र उत्ताउला साथीहरूले ती दैनिक वा तात्कालिक हित र उद्देश्यको निम्ति गरिएका सङ्घर्षहरूलाई ‘सुधारवादी’, ‘अर्थवादी’ र ‘संशोधनवादी’ गतिविधि भनेर फतुर लगाए । पञ्चायती व्यवस्थामा कुनै पनि गतिविधि गर्नु नै त्यस व्यवस्थालाई पूर्णतः स्वीकार गर्नु वा आत्मसमर्पण गर्नु हो भन्ने ठम्याइ अघि सारे । प्रश्न उठ्छ के तिनीहरूको फतुर ठीक हो ? के तिनीहरूको ठम्याइ माक्र्सवादी–लेनिनवादी सिद्धान्तसँग मेल खान्छ ? फलाकावादीहरूको फतुर र ठम्याइ खोटो छ भन्ने हाम्रो विचार छ । किनभने यसबारे एँगेल्सले २१ सेम्टेम्बर १८७१ को अन्तर्राष्ट्रिय मजदुर सङ्घर्षको लन्डन सम्मेलनमा ‘मजदुर वर्गको राजनैतिक गतिविधि’ बारेमा दिनुभएको भाषणमा भन्नुभएको थियो, “यदि हामीले कुनै राजनैतिक गतिविधि गर्छौं भने अहिलेको राज्य व्यवस्थालाई स्वीकार गरेको हुन्छ । यसको उल्टो, अहिलेको व्यवस्थाले हामीलाई त्यसको विरोध गर्न दिएसम्म ती विरोधका साधनहरूलाई प्रयोग गर्नुको अर्थ अहिले भइरहेको व्यवस्थालाई हामीले मान्यता दिएको हुन्न ।”
दैनिक वा तात्कालिक हित र उद्देश्यको सङ्घर्षबारे पनि कम्युनिस्ट घोषणापत्रमा माक्र्स र एँगेल्सले भन्नुभएको थियो .. “कम्युनिस्टहरू मजदुर वर्गको तात्कालिक उद्देश्यहरू र त्यसका सामयिक हितहरूको रक्षाको निम्ति लड्छन् तर वर्तमान आन्दोलनमा तिनीहरू त्यस आन्दोलनको भविष्यको प्रतिनिधित्व गर्छन् र त्यसमाथि ध्यान दिन्छन् ।”
हाम्रा फलाकावादी र उत्ताउला साथीहरू सङ्गठनको प्रारम्भिक बेलामा पनि ज्याला बढाउने, कामको समय घटाउने, कुत कम गर्ने, भर्पाइ लिने, जसको जोत उसको पोत गराउने, महँगी र असुविधाको विरोध गर्नेजस्ता तात्कालिक हित र उद्देश्यको निम्ति लड्ने कुरोलाई एकदमै विरोध गर्छन् । तिनीहरू कुनै पनि कानुनी गतिविधि गर्न तयार छैनन् । सबै कानुनी गतिविधिलाई तिनीहरू ‘अर्थवाद’ र ‘अवसरवाद’ नै सम्झन्छन् । २३ नोभेम्बर १८७१ मा एँगेल्स अमेरिकी मजदुर आन्दोलनका नेता फ्रेडरिक बोल्टलाई लेख्नुभएको चिट्ठीमा भन्नुहुन्छ –
“… मजदुर वर्गको राजनैतिक आन्दोलनको आफ्नो निश्चित आजु हो– मजदुर वर्गको निम्ति राजनैतिक सत्ता जित्नु । यसको निम्ति स्वाभाविकरूपले कुनै एक उद्देश्यको निम्ति विकास भएको र आर्थिक सङ्घर्षहरूबाट राम्रोसँग उठेको मजदुर वर्गको पहिलो सङ्गठन आवश्यक छ ।”
“यसो भए पनि, हरेक आन्दोलनमा, मजदुर वर्ग शासक वर्गहरूको विरोधमा एक वर्गको रूपमा बाहिर आउँछ र तिनीहरूलाई बाहिरबाट दबाब दिएर बाध्य गर्ने कोसिस गर्छ, त्यो बाहिरी दबाब राजनैतिक आन्दोलन हो । उदाहरणको निम्ति, कुनै एक कारखाना वा एक खास व्यवसायमै पनि काम गर्ने समय अझ छोट्याउनको निम्ति हडताल र अरु उपायहरूबाट भिन्दाभिन्दै पुँजीपतिहरूलाई दबाब दिनु आर्थिक आन्दोलन हो । ८ घण्टा कामको समय आदि ऐन बनाउन लगाउने आन्दोलन एक राजनैतिक आन्दोलन हो । यस प्रकारले, मजदुरहरूको अलग–अलग आर्थिक आन्दोलनहरूबाट जहाँतहाँ एक राजनैतिक आन्दोलन अघि बढ्छ भन्नुको अर्थ हो, त्यस वर्गको एक आन्दोलन, जो व्यापक आकारका आफ्ना हितहरू लागू हुने उद्देश्य भएको, आकारको हिसाबले सबै, सामाजिकरूपले सङ्गठित शक्ति हुर्केर आउँछ । जसरी यी आन्दोलनहरूको निम्ति पहिलेदेखिकै सङ्गठनको एक खास मात्राको आवश्यकता पहिले नै अनुमान हुन्छ, त्यस्तै यी आन्दोलनहरू पनि त्यस सङ्गठनलाई विकास गर्ने साधनमा फेरिने छन् ।
“जहाँ मजदुर वर्ग अहिले सामूहिक शक्तिको अथवा शासक वर्गहरूको राजनैतिक शक्तिको विरोधमा एक निर्णायक आन्दोलन चलाउन त्यसको त्यति राम्रो अगाडि बढेको सङ्गठन भइसकेको हुँदैन, त्यहाँ यसको निम्ति त्यस शक्तिको विरोधमा निरन्तर प्रचार युद्ध र शासक वर्गहरूको नीतिप्रति विरोधी भावना राखेर हरेक किसिमले प्रशिक्षित गर्नैपर्छ । नत्र यो शासक वर्गको हातको खेलौना हुनेछ … ।”
सबै कानुनी गतिविधि ‘अवसरवाद’ र न–कानुनी गतिविधिमात्रै क्रान्तिकारी सम्झने अनुभवहीन क्रान्तिकारीहरूलाई लेनिन भन्नुहुन्छ, “अनुभव नभएका क्रान्तिकारीहरू प्रायः के विचार्छन् भने सङ्घर्षको कानुनी तरिका अवसरवादी हुन्छन् किनभने यस क्षेत्रमा पुँजीपति वर्गले विशेष किसिमबाट (र खास गरेर ‘शान्तिमय’, न–क्रान्तिकारी समयमा) बारम्बार मजदुर वर्गलाई धोखा दिएका छन् र मूर्ख बनाएका छन् । यी अनुभव नभएका क्रान्तिकारीहरू न–कानुनी तरिकाहरूलाई क्रान्तिकारी सम्झन्छन् । तर, यो कुरो साँचो होइन । ती पार्टी र नेताहरू अवसरवादी र विश्वासघाती हुन्, जो यस्तो परिस्थितिमा समेत न–कानुनी तरिका प्रयोग गर्न तयार हुँदैनन् अथवा त्यस्तो योग्यता राख्दैनन् (तिमी यो नभन कि तिनीहरू प्रयोग गर्नसक्दैनन्, बरु यो भन कि प्रयोग गर्दैनन् !) .. तर, जो क्रान्तिकारी हरेक किसिमको कानुनी सङ्घर्ष सँगसँगै न–कानुनी तरिका मिलाउन जान्दैनन्, तिनीहरू सा¥है तल्लाखाले क्रान्तिकारीहरू हुन् ।”
तब हाम्रो छलफलले प्रमाणित गर्छ कि हाम्रा फलाकावादी र उत्ताउला साथीहरूको ठम्याइ ठीक होइन र तिनीहरू आफै साह्रै तल्लाखाले क्रान्तिकारीहरू हुन् । हाम्रा ती ‘क्रान्तिकारीहरू’ चर्काचर्का नारा दिएर तुरुन्तै क्रान्ति गर्न चाहन्छन् । तर क्रान्ति हुनको निम्ति केही क्रान्तिकारीहरूको इच्छा पर्याप्त छ त ? यसबारे लेनिन भन्नुहुन्छ, “… जहिलेसम्म मजदुर वर्गको बहुमतको विचारमा परिवर्तन हुन्न तबसम्म क्रान्ति असम्भव छ र यो परिवर्तन खालि प्रचारबाटै कहिल्यै हुन्न, यो जनताको राजनैतिक अनुभवले मात्रै हुन्छ । … क्रान्तिको निम्ति यत्तिमात्रै पर्याप्त छैन कि शोषित र थिचिएका जनता पुरानो किसिमले बस्न असम्भव सम्झन लागेको होस् र परिवर्तनको माग गरिरहेको होस्, क्रान्तिको निम्ति के आवश्यक छ भने शोषकहरूको निम्ति पनि पुरानो ढङ्गबाट रहनु र शासन गर्नु असम्भव भएको होस् । जब ‘तल्लो वर्ग’ पुरानो ढङ्ग चाहेको हुन्न र जब ‘माथिल्लो वर्ग’ पुरानो ढङ्ग चलाउन सकेको हुन्न खालि त्यसबेला क्रान्तिको विजय हुनसक्छ ।”
त्यो परिस्थिति तयार गर्न के गर्नुपर्छ ? लेनिनले हामीलाई बाटो देखाउनुभएको छ, “सच्चा मजदुरहरू ठाउँठाउँमा फैलिनुपर्छ र असङ्गठित वा थिचिएका गरिबहरूको मद्दतले पर्चाहरू वितरण गर्नुपर्छ, तिनीहरू मजदुरहरूकहाँ, टाढा टाढा गाउँमा छरिएका गाउँले ज्यामी र किसानहरूको घर–घरमा प्रचार गर्नको निम्ति जानुपर्छ (सौभाग्यले युरोपमा टाढा–टाढा गाउँको सङ्ख्या रुसमा भन्दा धेरै गुणा कम छ र बेलायतमा त यस्ता गाउँहरू साह्रै कम छन् । तिनीहरू तल्लोभन्दा तल्लो दर्जाको चिया पसल र रोटी पसलहरूमा जानुपर्छ जहाँ साधारण जनता जम्मा हुन्छन् र जनतासँग कुराकानी गर्नुपर्छ तर पण्डित्याइँ भाषामा (अथवा साह्रै संसदीय भाषामा) होइन ।”
गाउँका गरिबहरूलाई कम्युनिस्टहरूको कर्तव्यबारे लेनिन सरल भाषामा बताउनुहुन्छ, “कम्युनिस्ट अप्रत्यक्ष कर बन्द गर्ने माग गर्छन् । गाउँका गरिबका केटाकेटीलाई निःशुल्क शिक्षा होस् भनेर माग गर्छन् ।… हरेक व्यक्तिलाई विनारोकटोक कुनै पनि धर्म या सम्प्रदाय मान्ने अधिकार होस् । कामको दिन ८ घन्टाभन्दा बढी हुनुहुन्न । हप्तामा एकदिन बिदा चाहिन्छ । बढी घन्टा काम गराउने र रातको काम पूरै बन्द गरिनुपर्छ । १६ वर्षभन्दा कम उमेरका केटाकेटीहरूलाई निःशुल्क पढाउनुपर्छ, यसकारण त्यस उमेरसम्म तिनीहरूलाई ज्यालादारी काममा लगाउन पाइन्न । शरीरलाई हानि हुने काम आइमाईबाट लिन पाइन्न । सबै मजदुरहरूलाई हप्ता–हप्तामा तलब पाउनुपर्छ ।… बूढा मजदुरहरूलाई राज्यबाट पेन्सन दिनुपर्छ ।… मालपोत कम गर्ने, जाडोमा ज्यालामा काम गर्नेहरूलाई ठीक दर तोक्नु र किसानहरूलाई पशुलाई जस्तै गरिने व्यवहार बन्द गर्नुपर्छ ।” आदि ।
यही हिसाबले हाम्रा साथीहरू पनि किसान, मजदुर र जनताका दैनिक समस्याहरूलाई लिएर अगाडि बढेका थिए । सङ्घर्षलाई आर्थिक आधारको राजनीतिमा मात्रै सीमित राखेनन्, बरु जनताको राजनैतिक स्तरलाई उठाउने सबै कोसिसहरू गरे । किनभने तिनीहरूले यस कुरालाई ध्यानमा राखेका थिए कि “जति आर्थिक उदाङ्ग्याउने कार्यहरू कारखानाका मालिकहरूको विरुद्ध युद्धको घोषणा हो, त्यतिकै राजनैतिक उदाङ्ग्याउने कार्यहरू सरकारको विरुद्ध युद्धको घोषणा हो ।”
राजनैतिक शिक्षा र राजनैतिक सङ्घर्ष अगाडि नबढाइकन पुरानो राजसत्तालाई ध्वस्त पार्न र नयाँ राजसत्ताको निर्माण गर्न सकिन्न ।
राजनैतिक सङ्घर्षलाई अगाडि बढाउन पेशेवर क्रान्तिकारीहरू, तिनीहरूको सङ्गठन र “निरन्तरता कायम गर्ने नेताहरूको स्थायी सङ्गठनविना कुनै पनि क्रान्तिकारी आन्दोलन टिकाउ हुनसक्दैन” भन्ने कुरोमा हाम्रा साथीहरूले ध्यान दिएका छन् ।
रुसी अर्थवादीहरू भन्थे, “राजनैतिक सङ्घर्ष चलाउनु उदारवादी पुँजीपति वर्गको काम हो । जहाँसम्म मजदुरहरूको सम्बन्ध छ, तिनीहरूको निम्ति मालिकहरूको विरोधमा आर्थिक सङ्घर्ष चलाउनु नै पर्याप्त छ ।” तर हाम्रा साथीहरू यसका ठीक उल्टा छन् । तिनीहरू राजनैतिक सङ्घर्षमा अगुवाइ लिन्छन् र तिनीहरूको सङ्घर्षको मुख्य तारो पुरानो राजसत्तालाई ध्वस्त गर्नु हो र नयाँलाई निर्माण गर्नु हो । यसकारण तिनीहरूमाथि लगाइएका फतुरहरू सही होइनन् ।
चीनको कम्युनिस्ट पार्टीको इतिहासमा पनि हामी यही कुरो देख्छौँ । १९२१ मा चिनियाँ कम्युनिस्ट पार्टीको स्थापना भयो । १४ सेप्टेम्बर १९२२ माओ त्सेतुङको नेतृत्वमा क्यांग्सी प्रान्तको आनयान कोइला खानी र रेलका मजदुरहरूले आन्दोलन र हडताल गरे । त्यस खानीमा १७ हजारभन्दा बढी मजदुरहरूले काम गर्थे । १९२२ अक्टोबरमा ५० हजारभन्दा बढी मजदुरहरू काम गर्ने कैलान कोइला खानीका मजदुरहरूको हडताल र आन्दोलन भयो । १९२२–१९२३ मा पार्टीकै नेतृत्वमा पेकिङ–ह्वाङको रेलमार्गका मजदुरहरूको ठूलो हडताल सुरु भयो ।
कम्युनिस्टहरूले चीनको हरेक कारखाना, खानी, यातायातको साधन र योजनाहरूमा मजदुरहरूलाई सङ्गठित गरे र पुँजीपति वर्गको विरोधमा सङ्घर्ष गरे । गाउँ–गाउँमा सामन्त र जमिनदारविरोधी सङ्घर्ष गरे । कुत कम गर्ने र ब्याजको दर घटाउने मोहियानी हक खोस्न नपाउनेजस्ता आर्थिक र राजनैतिक सङ्घर्र्षहरू गरे । यसको एक ज्वलन्त उदाहरण हुनान प्रान्तको किसान आन्दोलन हो । आन्दोलनले गाउँमा सामन्त र जमिनदार वर्गको राजनैतिक सत्ता माटोमा मिलाइदियो । पछि त्यही आन्दोलनका मजदुर र किसान क्रान्तिकारीहरूलाई नेतृत्व गरेर माओ त्सेतुङले चिङकाङसान् पहाडमा पहिलो राजनैतिक सत्ता कायम गर्नुभएको थियो ।
चीनमा क्रान्तिकारी राजनैतिक सत्ता किन टिक्नसक्छ ? भन्ने प्रश्नमा उहाँ त्यसको उदय र कायम रहन सक्ने दोस्रो कारण देखाउँदै भन्नुहुन्छ, “चीनको लाल राजनैतिक सत्ता त्यस इलाकाहरूमा पहिले उदय भएको थियो र धेरै लामो समयसम्म टिकिरहन सक्छ । १९२६ र १९२७ को पुँजीवादी–जनवादी क्रान्तिको सिलसिलामा मजदुर, किसान र सिपाहीँहरूको व्यापक जनता धेरै ठूलो आकारमा उठेका थिए । ती प्रान्तका धेरैजसो भागहरूमा मजदुर सङ्घ र किसान सभाहरूको सङ्गठन व्यापक आकारमा कायम भएको थियो । मजदुर वर्ग र किसान वर्गले जमिनदार वर्ग र स्थानीय निरङ्कुश तत्वहरू र खराब बाबुसाहेबहरूको वर्ग र पुँजीपति वर्गको विरोधमा धेरै किसिमका आर्थिक र राजनैतिक सङ्घर्ष गरेका थिए । यही कारण थियो–क्यान्टन सहरमा तीन दिनसम्म जनताको शासन कायम रह्यो र हैफग र लुफङमा, पूर्वी र दक्षिण हुनानमा, हुनान–क्याङसी सीमान्त क्षेत्रमा र हुपे प्रान्तको ह्वांगाङमा किसानहरूको स्वतन्त्र शासन व्यवस्थाहरू कायम हुनसक्यो ।”
यसले थाहा हुन्छ कि पुरानो राज्यसत्ता ध्वस्त पार्न र नयाँ राजनैतिक सत्ता निर्माण गर्न मजदुर, किसान, सिपाहीँहरू र व्यापक जनतालाई ठूलो आकारमा सङ्गठित गर्नुपर्छ र जमिनदार, जाली–फटाहा, सामन्त र शोषक वर्गको विरोधमा धेरै किसिमको आर्थिक र राजनैतिक सङ्घर्ष गर्नुपर्छ । हाम्रा साथीहरू, मजदुर, किसान, सिपाहीँहरू (भूतपूर्व) र व्यापक जनतालाई सङ्गठित गरेर सामन्त, जमिनदार, जालीफटाहा र शोषक वर्गको विरोधमा उठाउँदै छन् । तर हाम्रा फलाकावादी र उत्ताउला कम्युनिस्ट जनताको व्यापक सुङ्गठनमा ध्यान नदिई खालि चर्काचर्का नाराहरू फलाक्दै हिँड्नु नै क्रान्ति सम्झिरहेका छन् ।
चिनियाँ कम्युनिस्ट पार्टी पुँजीवादी देशका सर्वहारा पार्टीबारे भन्छ, पुँजीवादी देशका सर्वहारा पार्टीहरूले एकाधिकार पुँजीको विरोध गर्नुपर्छ, जनवादी अधिकारहरूको रक्षा गर्ने, रहनसहनको स्थितिमा सुधार गर्ने, साम्राज्यवादीहरूको सैनिक थिचोमिचो र युद्धको तयारीको विरोध गर्ने, विश्वशान्तिलाई रक्षा गर्ने र थिचिएका राष्ट्रहरूको क्रान्तिकारी सङ्घर्षहरूलाई जोडतोडले समर्थन गर्ने सङ्घर्षमा मजदुर वर्ग र कामदार जनताले सक्रियतापूर्वक नेतृत्व गर्नुपर्छ ।
संसारका सर्वहारा पार्टीहरूले जस्तै हाम्रा पार्टीका साथीहरूले त्यही काम गरिरहेका थिए र काम गर्दै छन् । माथिका सबै तथ्यहरूले सावित गरिसकेका छन् कि हाम्रा साथीहरूका गतिविधि माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ विचारधारासँग पूरा मेल खान्छ । यसकारण फलाकावादी र उत्ताउला साथीहरूले हाम्रा साथीहरूप्रति लगाएका फतुरहरू पूरै बेमनासिव छन् ।
लेनिनवादी ढङ्गले पञ्चायत, वर्गीय सङ्गठन र अरु प्रतिक्रियावादी सङ्गठनहरूमा गएर हाम्रा साथीहरूले क्रान्ति र जनताको सेवा गरेकोमा केही फलाकावादी र उत्ताउला कम्युनिस्टहरूले पेट दुखाएका थिए । लेनिनले भन्नुभएको थियो, “केही मानिसहरू संसदीय दबुलाई उपयोग गरेर, आफ्नो सरकारहरूको कृपा प्राप्त गरेर अथवा धेरैभन्दा धेरै पार्टीको हर किसिमका वस्तु गुमाउँछन् । अर्का किसिमका मानिसहरू संसदीय पद्धतिको प्रयोग गर्छन्–अन्तसम्म क्रान्तिकारी बनिरहनको निम्ति, साह्रैभन्दा साह्रै गाह्रो परिस्थितिहरूमा पनि समाजवादी र अन्तर्राष्ट्रवादीको हैसियतले आफ्नो कर्तव्य पूरा गर्नको निम्ति । केही मानिसहरूको संसदीय गतिविधिले तिनीहरूलाई मन्त्रिमण्डलको गद्दीमा पु¥याइदिन्छन्, अर्को किसिमका मानिसहरूको संसदीय गतिविधिहरूले तिनीहरूलाई जेल, देश निकाला, कडा थुनामा पु¥याउँछन् । केही मानिसहरू पुँजीपति वर्गको सेवा गर्छन् र अर्को किसिमका मानिसहरू सर्वहारा वर्गको । केही मानिसहरू सामाजिक–साम्राज्यवादी हुन् र अरु क्रान्तिकारी माक्र्सवादी ।”
ठीक त्यस्तै वर्गीय सङ्गठन र पञ्चायतमा भाग लिएका हाम्रा साथीहरू मजदुर, किसान र जनताको निम्ति जेल, विदेश र थुनामा पुगे । हाम्रा विरोधीहरू नयाँ नयाँ मोटरकार, बंगला–घर सरकारी पद र पञ्चायती गद्दीहरूमा बसे । हाम्रा साथीहरू सङ्गठनबारे पनि लेनिनको यस शिक्षालाई ध्यानमा राख्छन् , “जबसम्म एक गुप्त सङ्गठन बनाइन्न, तबसम्म क्रान्तितर्फ जनसमुदायलाई नेतृत्व गर्न असम्भव छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *