भर्खरै :

झ्य फल्चा (पाटी) उद्घाटन

भक्तपुर, २३ भदौ । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले सोमबार बिहान भक्तपुर नगरपालिका वडा नं. २ ठूलो ब्यासीस्थित झ्य भएको फल्चा (पाटी) र ध्वाका बाहिरको फल्चा (पाटी) उद्घाटन गर्नुभयो ।
कार्यक्रममा प्रमुख प्रजापतिले भक्तपुरका सांस्कृतिक एवम् पुरातात्विक सम्पदाहरू सुरक्षित रहेको र भक्तपुर सम्पदा संरक्षित क्षेत्र भएको बताउनुभयो । भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सरसफाइ र विकास निर्माणका कार्यहरूलाई प्राथमिकतामा राख्दै आएको बताउँदै पोखरी र पाटीको महत्वबारे प्रस्ट पार्नुभयो ।
भक्तपुर नपाले व्यवस्थित योजनाका साथ सम्पदा पुनःनिर्माणमा जोड दिइरहेको चर्चा गर्दै देशभरिको सम्पदा पुनःनिर्माणमा भक्तपुरवासीहरूको योगदान रहेको र भक्तपुर वडा नं. १ स्थित रानीपोखरी पुनःनिर्माण कार्य अगाडि बढिरहेको बताउनुभयो । नजिकिँदै गरेको नेमकिपाको सातौँ महाधिवेशन भव्यरूपमा सम्पन्न गर्न आ–आफ्नो क्षमताअनुसारको भौतिक र आर्थिक सहयोग गर्न आह्वान गर्नुभयो ।
भक्तपुर नपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले भक्तपुर नगरपालिकाले नगरको विकास निर्माण नगरवासीहरूको राय–सुझाव सङ्कलन गरी प्राथमिकताका आधारमा गरिरहेको उल्लेख गर्दै नगरबासीहरूलाई स्वस्थ बनाउने उद्देश्यले शारीरिक व्यायाम सामग्री एक सेट थप जडान गर्न लागेको बताउनुभयो ।
झ्य दगु फल्चा (पाटी) उपभोक्ता समितिका अध्यक्ष विक्रम सुलुको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा ध्वाका बाहिरको पाटी उपभोक्ता समितिका अध्यक्ष नरेश बासुकलाले समाजको गतिविधिलाई अगाडि बढाउन स्थानीय जनताको सहयोग र जनसहभागिता अति महत्वपूर्ण भएको बताउनुभयो ।
नेमकिपा २ वडा एकाइ समितिका संयोजक गणेशप्रसाद सुवालले सम्पदा पुनःनिर्माण ठेक्कापट्टामा दिँदा त्यसको मौलिकता हराउने सम्भावना भएको बताउँदै नेमकिपाको ७ औँ महाधिवेशन सल्लाघारीस्थित १०८ रोपनी जग्गामा हुने र जनसहभागिताको लागि अपिल गर्नुभयो । पाटी उद्घाटन कार्यक्रममा स्थानीय राजकुमार लघुले पनि बोल्नुभएको थियो ।
नगरपालिकाको १६ लाख ५० हजार रुपैयाँ लागत इष्टिमेट तयार गरी नगरस्तरीय योजनाअन्तर्गत पुनःनिर्माण गरिएको ध्वाका बाहिरको पाटीको खुद खर्च भने रु. १४ लाख ३७ हजार ३ सय ५७ रहेको थियो । साथै झ्य भएको पाटीको लगत इस्टिमेट रु.२९ लाख ९२ हजार ७ सय ५६ थियो भने कुल खर्च रु. १४ लाख ९० हजार ६ सय ५६ रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *