समा

सिद्धान्त र विचारको आधारमा शोषक र शोषित वर्गबीचको लडाइँ विश्व राजनीतिक इतिहासमा चल्दै आइरहेको छ । विश्व राजनीतिक इतिहासमा कम्युनिस्ट विचार र सर्वहारावर्ग दबाउन राज्यस्तरबाट थुप्रै ठूला–ठूला षड्यन्त्रहरू भए । जर्मनीको ‘राइखस्टाग आगलागी मुद्दा सन् १९३३–२००८’ पनि त्यस्ता षड्यन्त्रहरूमध्ये एउटा हो । आजभन्दा करिब ८६ वर्ष अगाडि अर्थात् सन् १९३३ तिर जर्मनीमा नाजीवादी हिटलरको उदय भयो । सन् १९२९–१९३० को विश्वव्यापी आर्थिक मन्दीले कमजोर बनाएको जर्मनीमा हिटलरको फासीवाद मौलाउन थाल्यो । सन् १९२० को संसदीय चुनावमा ६ प्रतिशत मत ल्याएका नाजीहरूले करिब १२ वर्षपछाडि एकतिहाइ मत ल्याए ।
फासीवादी शक्तिविरुद्ध कम्युनिस्टहरू निरन्तर सङ्घर्ष गर्दै थिए । तत्कालीन समयमा संसद्मा ८१ जना कम्युनिस्टहरू निर्वाचित हुनु नाजीहरूका निम्ति ठूलो टाउको दुखाइको विषय बन्यो । यसै परिवेशमा सन् १९३३ फेब्रुअरी ७ को राती ९ः३० बजे संसद् भवन (राइखस्टाग) मा आगलागी भयो । आगलागी कसरी, किन, कसले र के कारण भयो ? त्यो आगलागीको परिणामबारे प्रस्ट बताउने पुस्तक ‘राइखस्टाग आगलागी मुद्दा’ बारे चर्चा गर्नु उपयुक्त होला ।
नेपालको राजनीतिक इतिहासको एउटा कालो दिनको रूपमा भत्र्सना गरिने २०४५ भाद्र ९ को सेरोफेरोमा यस पुस्तकबारे थप छलफल गर्नु सान्दर्भिक र सामयिक नै होला । राइखस्टाग आगलागी मुद्दा सन् १९३३–२००८ कानुन र इतिहासको निर्माण र भक्तपुर–काण्डबीच तुलनात्मक अध्ययनले इतिहास फरक ढङ्गले दोहोरिन सक्छ भन्ने शिक्षा दिन्छ । पञ्चायती राज्यस्तरबाट नेमकिपाको समूल नष्ट गर्न रचिएको भक्तपुर काण्डलाई राइखस्टाग आगलागी मुद्दाको आँखाबाट हेर्दा र अध्ययन गर्दा सच्चाइ सामुन्य आउनेछ । त्यसकारण इतिहासको सूक्ष्म अध्ययनबाट भविष्यमा जस्तै परिस्थितिसँग पनि सामना गर्ने ऊर्जा मिल्छ ।
माइकल ई. टिगार र जोन मागी लिखित यस लेखलाई नेपाली भाषामा अनुवाद गरी सुवेगजीले नेपाली साहित्य जगतमा एउटा महत्वपूर्ण राजनीतिक तथा ऐतिहासिक दस्तावेज सुम्पनुभएको छ ।
यस पुस्तकमा राइखस्टाग आगलागी मुद्दाका क्रममा नाजीहरूको षड्यन्त्र, अदालतमा भएका बेइमानी, फसाइएका कम्युनिस्ट अभियुक्तहरूको तर्कपूर्ण बयानलगायत अध्ययन र अनुसन्धानमूलक तथ्यहरूबारे वर्णन गरिएको छ ।
जर्मनमा नाजी बर्बरता, सङ्कीर्ण तथा अन्धराष्ट्रवाद हुर्काउने हिटलरको शासनको सुरुतिर भएको आगलागीको घटनाले न्यायालयमा पनि नाजी प्रभावले छोप्यो ।
वामपन्थी समाजवादी नेतृ रोजा लक्जेम्वर्ग र कार्ल लिब्नेख्तको हत्या गरी अति दक्षिणपन्थी राष्ट्रवादीहरूकै उपजको रूपमा उदाएका नाजीहरूले सुरुमै दुई वटा मन्त्री पद हात पारे । राज्य प्रहरी गेस्तापोलाई गोयरिङको मातहत लगियो । ५० हजार नाजी युवा स·ठन ‘आँधीबेहरी दस्ता’ खडा गरियो । जसलाई अर्धसैनिक बलको रूपमा लिइयो । आगलागीको घटनापश्चात् तुरुन्तै धरपकड सुरु गरियो । पहिले नै तयार गरिएको सूचीअनुरूप कम्युनिस्ट सांसद र नेताहरू, वामपन्थी बुद्धिजीवी, मजदुर नेताहरू गरी पहिलो रात नै ४०० भन्दा बढीलाई पक्राउ गरी ‘आँधीबेहरी दस्ता’ को ब्यारेकमा लगी यातना दिइएको यथार्थ विवरण पुस्तकमा छ । ८१ जना कम्युनिस्ट सांसदहरूको पद खारेज गरियो । कानुनी प्रक्रिया सुरु गरियो ।
आगलागीको अभियोग लगाइएकाहरूमध्ये घटनास्थलमा पक्राउ परेका डच अराजकतावादी मारिनस भान डेर लुब, कम्युनिस्ट पार्टीका संसदीय दलका नेता अर्नस्ट टोर्गलर र बर्लिन भ्रमणमा आएका तीन बुल्गेरियाली कम्युनिस्टहरू जर्जी डिमिट्रोभ, सिमोन पोपोभ र भासिल्ली टानेभ थिए भन्ने जानकारी पुस्तकबाट मिल्छ ।
भान डेर लुबबाहेक कसैको पनि संलग्नताको प्रमाण भेटिएन । लुबको कमिजको प्रयोगले मात्र सबैतिर आगो लगाउन नसकिने विषयमा अनुसन्धान जारी थियो । यसैबीच जर्मन फासीवाद पीडितहरूको उद्धारार्थ विश्व समितिबाट ‘हिटलरको आतङ्कको खैरो किताब र राइखस्टागको आगलागी’ प्रकाशित गरियो । जसले नाजीहरूले नै आगलागी गरेको यथेष्ट प्रमाण पेश ग¥यो । छानबिनका क्रममा आगलागीमा प्रज्ज्वलनशील पदार्थ प्रयोग गरिएको प्रमाण भेटियो । संसद् भवन बाहिरबाट बन्द भएको अवस्थामा संसद् भवनमा पस्ने एउटा सुरुङ मार्गको प्रयोग गरिएको प्रस्ट भयो । घटनास्थलबाट ११२ पाउन्ड लाइटर (झण्डै ५० किलो) बरामद गरिएको र त्यसलाई बोक्न ६÷७ जना आवश्यक पर्ने जिकिर भयो । त्यसकारण लुब एक्लैले सो आगलागी नगरेको ठहर गरियो । भान डेर लुबलाई नाजीहरूले कम्युनिस्ट दबाउने हतियारको रूपमा प्रयोग गरेको यथार्थ पुस्तकले पेश गर्छ । हिटलर, गोयबल्स र गोयरिङले कुनै प्रमाणविना आगलागीको आरोप कम्युनिस्टमाथि लगाउनु, लुबलाई कम्युनिस्ट आन्दोलनसँग सम्बन्धित देखाउन नाटक रच्नुले कम्युनिस्टहरूप्रति नाजीहरूको पूर्वाग्रह प्रस्टिन्छ । त्यसकारण यस मुद्दालाई राजनीतिक मुद्दाको रूपमा पुस्तकमा वर्णन गरिएको छ ।
गोयरिङको निवासबाट भूमिगत बाटो भई संसद् भवनमा पसेको ‘आँधीबेरी दस्ता’ को टोलीले नै अत्यन्त प्रज्ज्वलनशील तरल पदार्थमार्फत आगलागी गरेको तथ्य पुस्तकले उजागर गर्दछ साथै नाजी संलग्नतालाई बिना आधार ठाडै अस्वीकार गर्ने न्यायाधीशको फैसलालाई पनि पुस्तकले गलत ठह¥याएको छ । राइखस्टाग आगलागीको अनुसन्धानसँगै थुप्रै पुस्तकहरू पनि प्रकाशित गरिए, थुप्रै बुद्धिजीवी, कानुनविद् र इतिहासविद्हरूले सत्यको पक्ष लिए र मुद्दा टुङ्गोमा पुग्यो ।
राइखस्टाग आगलागी मुद्दामा फसाइएका महान् अन्तर्राष्ट्रवादी जर्जी डिमिट्रोभको सङ्क्षिप्त जीवन चर्चा पुस्तकमा समेटिएकोले पुस्तक अझ सङ्ग्रहणीय बनेको छ । बुल्गेरियामा कम्युनिस्ट विचार फैलाउने डिमिट्रोभ सङ्घर्षमा विश्वास राख्ने एक जुझारु व्यक्तित्वका धनी थिए । आगलागीको मुद्दामा फसाउँदा हिटलरको नाजीवादी, फासीवादी नीतिविरुद्ध प्रतिकार एवम् प्रतिवादमा निडर भई उत्रेका थिए । उनको नागरिकता खोसियो । उनी राज्यविहीन भएपनि विचलित भएनन् । सोभियत सङ्घ गई कम्युनिस्ट आन्दोलनमार्फत नाजी बर्बरता र फासीवादको विरोधमा लागिरहे । आजीवन सर्वहारा वर्गको पक्षमा लडिरहे । समाजवाद र साम्यवादतिरको यात्राका लागि विश्वलाई उत्साहित बनाउन प्रयत्न गरिरहे । माक्र्सवाद र लेनिनवाद नै समाज विकासको विज्ञान बताउने उनको विवेक, दृढता र नेतृत्वबाट पाठकले धेरै कुरा जरुर सिक्नेछन् । कामदार वर्गका एक योद्धा डिमिट्रोभ भन्छन् – “मैले विश्वविद्यालयबाट स्नातक उपाधि प्राप्त गरेको होइन, बरु मेरो जीवनबाट प्राप्त गरेको हुँ । म सधैँ जहाँ पनि सिक्छु । जेलमा बसेको बेलामा पनि सिकेँ र लिपजिग कठघरामा उभिरहेको बेलामा पनि मैले सिकेँ ।” पाठकले उनको व्यक्तित्वबाट प्रेरणा पाउनेछन् ।
षड्यन्त्रकारी नाजीहरूले आफ्नो हैकम र प्रभुत्व स्थापित गर्न आफैले आगो लगाएर कम्युनिस्टहरूमाथि दोषारोपन गर्न के कस्ता असफल प्रयास गरेका थिए भन्नेबारे केस्राकेस्रा केलाइएको यस पुस्तकको अध्ययन कम्युनिस्टहरूले मात्र होइन राजनीतिमा रुचि राख्ने जो कोहीका निम्ति उपयोगी हुनेमा सन्देह नहोला ।
राजनीतिक मुद्दाकै रूपमा विश्लेषण गरिएको यस मुद्दाको अध्ययन हर समय सामयिक नै हुनेछ । अत्यन्त पठनीय यस पुस्तकको गाता जानकारीमूलक, मुद्रण आकर्षक, मूल्य पाठकमैत्री छ । विचारणीय अभिव्यक्तिले भरिएको यस महत्वपूर्ण पुस्तकका प्रकाशक र अनुवादकप्रति साधुवाद । भविष्यमा हुनसक्ने राजनीतिक षड्यन्त्र र दोहोरिन सक्ने इतिहासबारे नयाँ पुस्तालाई सजग र तयार राख्न पुस्तक अध्ययनले निःसन्देह सघाउनेछ ।