भर्खरै :

प्रधानमन्त्री कार्यालयमा डेँगुबारे बैठक

काठमाडौँ, २४ भदौ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले डेँगु रोगका कारण भक्तपुरमा रोगीहरूको सङ्ख्या बढ्न थालेको बताउँदै भक्तपुर नगरभित्र ३६ जना र भक्तपुर जिल्लाभित्र ४९ जना बिरामीहरू देखिएको बताउनुभयो ।
नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आयोजनामा मङ्गलबार डेँगु रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले भक्तपुर नपाले डेँगु रोग नियन्त्रणसम्बन्धी वडा र विद्यालयमा अभिमुखीकरण, खाल्टाखुल्टी पुर्ने र चुन तथा फिनेल छर्ने कार्यहरू गर्दै आएको र घरदैलो नर्सिङ सेवामार्फत डेँगु रोगबारे सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो ।
उहाँले डेँगु रोगको त्रासले गर्दा जनता सामान्य ज्वरो आउँदा पनि अस्पतालमा उपचारको निम्ति आउने गरेको बताउँदै डेँगु रोगको त्रासभन्दा पनि सचेतना कार्यक्रम सञ्चालनको लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।
काठमाडौँ महानपाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँ महानगरपालिकाले डेँगु रोगको बारेमा घरदैलो कार्यक्रम गरी सूचनामूलक पर्चाहरू बाँड्ने अभियान सञ्चालन गरेको र जोखिम भएका ठाउँहरूमा मट्टितेल र फिनेल छर्ने कार्यलाई अगाडि सारेको बताउनुभयो । डेँगु रोगका विज्ञको अभाव भएका कारण आवश्यक जनशक्ति भएर पनि यस रोग नियन्त्रणको लागि केही गर्न नसकेको बताउँदै उहाँले डेँगु रोग नियन्त्रण गर्न सरकारले नै नसक्ने भनी आत्मसमर्पण गर्नु उचित भएको बताउनुभयो ।
स्वास्थ्य मन्त्रालयका स्वास्थ्य सचिव पुष्पा चौधरीले डेँगुको शङ्का लागेमा तुरुन्त रगत जाँच गर्नुपर्ने र टोल–टोलमा यस रोगबारे सचेतना अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले सकेसम्म फगिङ (किटनाशक विषादी प्रयोग) नगर्न आग्रह गर्नुभयो ।
कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले डेँगु रोगसम्बन्धी सञ्चारमाध्यमले आवश्यकताभन्दा बढी नकारात्मक प्रचार गरेको भन्दै जनमानसमा यस रोगसम्बन्धी फैलिएको त्रास हटाउन श्रव्यदृश्य र अनलाइन मिडियामार्फत सचेतना कार्यक्रमहरू गर्नु आवश्यक भएको बताउनुभयो ।
कार्यक्रममा काठमाडाँैं उपत्यकाका विभिन्न नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरूले उपत्यकाको जलवायु परिवर्तनका कारण जोसुकै पनि डेँगुबाट प्रभावित हुन सक्नेतर्फ सचेत हुनुपर्ने बताउँदै डेँगु नियन्त्रणको लागि खाल्डाखुल्डी पुर्ने, डेँगुको लार्भा खोजी नष्ट गर्ने, फगिङ
(किट्नाशक औषधिको प्रयोग) गर्नु हानिकारक हुनेलगायतका धारणाहरू व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *