सुमन

मन्त्रीज्यूलाई बधाई ! पाँच वर्षको लागि बनेको ओली सरकारमा तपाईं नै मात्र त्यस्तो पात्र हुनुहुन्छ जो बीचमा यो मन्त्रिमण्डलको सदस्य बन्नुभएको छ । समयको खेल । पूर्व पर्यटनमन्त्रीको दुर्घटनामा निधन हुनु र तपाईंलाई मन्त्री बन्ने हतारो हुनु काकताली परेछ । चुनावको बेलामा ताप्लेजुङ पुगेर कुन मुडमा प्रधानमन्त्री ओलीले जनसभामा बोल्नुभएको थियो, “तपाईंहरू योगेशलाई चुनाव जिताउनुस्, मन्त्री बनाउने जिम्मा मेरो !” जनताले पनि लौ त नि भनेर चुनाव जिताइदिए । पछि मन्त्रिमण्डल गठन हुँदा तपाईंको नाम नआएपछि तपाईंका समर्थकहरूले सामाजिक सञ्जालमा उत्पातै मच्चाए–ओलीको त्यो भाषणको हल्ला गरेर । मन्त्री नै नभए पनि शक्तिशाली संसदीय समितिको अध्यक्ष बनाइनुभयो । मन्त्री रवीन्द्र अधिकारीको निधनपछि तपाईंको मन्त्री बन्ने ढोका खुल्यो । निधारमा त तपाईंको लेखिएकै रहेछ !
मन्त्री, केही दिनअघि तपाईंले विदेशिका केही नेपाली युवाहरूले ‘भिजिट नेपाल २०२०’ को लोगो अड्ढित टीसर्ट लगाएको तस्वीर ट्वीटरमा पोस्ट गरेर प्रशंसाका शब्द ट्वीट गर्नुभयो । विद्यार्थी राजनीतिबाट आउनुभएकोले हुनुपर्छ–युवालाई कसरी उत्साहित बनाउने कुराको तपाईंलाई राम्रो ज्ञान हुने नै भयो । तर, भिजिट नेपाल २०२० को तयारी टी सर्ट छापेर गर्ने हो वा राजधानीका बिग्रे भत्केका सडक पुनर्निर्माण गरेर गर्ने हो । नेपाल भ्रमण वर्षको लागि हामीले गर्नुपर्ने मूल तयारीलाई भन्दा अन्य क्षेत्रमा तपाईंको विशेष ध्यानले ‘भिजिट नेपाल’ देशको बेइज्जती हुनेछ । अधिकांश विदेशी पाहुना बस्ने राजधानीको ठमेलको बाटोमा तपाईं पछिल्लो समय पुग्नुभएको छ वा छैन ? उपत्यकाकै प्रमुख पर्यटकीय केन्द्र नगरकोटको बाटोबारे तपाईंलाई जानकारी छ वा छैन ? ती सडकले देशको भएको थोरै बचेखुचेको छवि पनि धुलिसात बनाइदिन्छ ।
पशुपात क्षेत्रमा हरेक साँझ आरतीअघि राष्ट्रिय गान गाउने नयाँ नियम बसाल्नुभएको छ । राष्ट्रिय गान गाउनु राम्रै कुरा हो । तर, पशुपति क्षेत्रको बागमती क्षेत्रको दुर्गन्धित अवस्थाले के राष्ट्रिय गानको इज्जत गर्ला ? आजभोलि वर्षायाम छ । बागमतीमा प्रवाह छ । तर, पानी पर्ने समयमा बागमतीको दुरवस्था के तपाईंलाई थाहा छैन ? २०२० को जनवरीबाट भिजिट नेपाल सुरु हुनेछ । पर्यटकहरू राष्ट्रिय गानबाट सुरु हुने पशुपतिको आरती पनि हेर्न जालान् । तब बागमतीको हरकले के पाहुनाले राष्ट्रिय गानको मर्म बुझ्न सक्लान् ?
पर्यटकहरू काठमाडौँ आउने यहाँका ट्राफिक जाम झेल्न, फोहोर हेर्न वा जथाभावी बनेको बस्ती हेर्न पक्कै होइन । यहाँका मूर्त र अमूर्त सम्पदा हेर्न नै उनीहरू आउने हुन् । विशेषतः काठमाडौँ, ललितपुर र भक्तपुरका मूर्त–अमूर्त कला संस्कृति र सम्पदा हेर्न उनीहरू आउने हुन् । तर, के अब ती सम्पदा क्षेत्रहरू पाहुनालाई देखाउन लायक भइसके ? अहँ, भएका छैनन् । भूकम्पले जीर्ण मठमन्दिर, पाटी पौवा र सत्तलले अझै पनि नयाँजीवन पाएका छैनन् । सम्पदा क्षेत्रको मुहार अझै उज्यालो भइसकेको छैन । अमूर्त सम्पदाहरू अझै पनि उठ्न सकेका छैनन् । गुठी संस्थाले चलाउँदै आएका जात्रा पर्व बजेटको अभावमा गुठीयारहरूले क्रमशः साँघुरो बनाउँदै गएका छन् ।
कति ठाउँमा बनेका भौतिक निर्माणले अमूर्त सम्पदालाई समेत असर पारिरहेको छ । यसको एउटा उपयुक्त उदाहरण त छायाँदेवी कम्प्लेक्स हो । तपाईंले छायाँदेवी कम्प्लेक्स त पक्कै भुल्नु भएको छैन होला किनभने त्यो तपाईंले नै उद्घाटन गर्नुभएको हो । छायाँदेवी कम्प्लेक्स उद्घाटन गरेको व्यक्ति भएकैले तपाईंले नेवारहरूको सङ्गठन नेवा देय् दबुको रजत जयन्ती उद्घाटन गर्न पाउनुभएन । ऐतिहासिक धरहरा भूकम्पले भत्कायो । अहिले धरहरा पुनःनिर्माणको नाममा परम्परागत इन्द्रजात्राको लापाकु जाने बाटो नै अवरोध गर्ने गरी ‘झिल्के टावर’ बनाउने काम भइरहेको छ । यस्ता क्रियाकलापले कसरी हाम्रा अमूर्त सम्पदाको संरक्षण हुन सक्छ, मन्त्री ?
त्रिभुवन विमानस्थललाई बुटिक एयरपोर्ट बनाउने प्रचारबाजी केही समयअघि देखि नै सुरु गरियो । विदेशी पाहुनाले सबभन्दा पहिलो र अन्तिम प्रभाव बोकेर जाने भनेको विमानस्थल नै हो । त्यसकारण विमानस्थलमा सुधारको प्रयास प्रशंसनीय काम हो । तर, मन्त्री भत्केका पर्खाल छोप्न केही थान फ्लेक्स झुण्ड्याएर कसरी हाम्रो विमानस्थल बुटिक एयरपोर्ट हुनसक्छ ? विमानस्थलका कर्मचारीहरूको जुम्सोपना हटाउन र प्रविधिमैत्री बनाउन अझै विचार गर्नुपर्ने काम धेरै छन् ।
विदेशी पाहुना नेपाल आउने प्रमुख कारण भनेको हिमाल हेर्न हो । तर हिमाली क्षेत्रमा फैलिएको प्रदूषण नियन्त्रणको लागि सरकारले अझै मूर्त काम गर्न सकेको छैन । प्लास्टिक र तयारी खाजाका खोल, प्लास्टिकका बोटल आदि फोहोरले हिमालको सौन्दर्यमा क्षति पुगेको छ । यसको लागि सरकारले किन केही गरिरहेको छैन ?
मन्त्री, संस्कृति तथा पर्यटन मन्त्रालयमा पदासीन भएसँगै केही परिवर्तन गर्ने तपाईंको प्रयासलाई कसरी नराम्रो भन्न मिल्ला र ? राष्ट्रपति विद्यादेवी भण्डारी कहीं निस्कँदा सवारीजामका कारण जनताले पाउने दुःखको कारण सरकारको चर्को आलोचनाबाट सिकेर तपाईंले पोखरामा स्वयं सवारी जाममा बसेको, साइरन बजाएर नहिंडेको समाचार सुनियो । राम्रो लाग्यो । कम्तीमा राष्ट्रपतिले खाएको हण्डरबाट तपाईंले केही सिक्नुभएछ ।
अरू मन्त्रीले प्रतिपक्षलाई जरैसम्म उखेल्ने वाणी बोलेर तपाईंले प्रमुख प्रतिपक्ष दलका नेतालाई भेटेर सल्लाह लिनुभएको समाचार पनि आयो । यसलाई पोलिटिक कल्चरको रूपमा पनि कतिले अथ्र्याए । तर, सरकारको सञ्चालन कोही एक जना मन्त्रिको प्रस्तुतिले अब्बल हुने होइन । सिङ्गो मन्त्रीमण्डलको प्रस्तुतले नै सरकारको सफलता–असफलता तय हुने हो । व्यक्तिगतरूपमा कसैले राम्रो गर्दा व्यक्तिले वाहवाही पाउन सक्छ, सिङ्गो सरकारको असफलतालाई कसैले छेक्न सक्दैन ।
मन्त्री, पर्यटनको विकासको लागि आवश्यक पुर्वाधारको लागि विदेशी दातासँग गुहार्नुभन्दा नेपाली जनताको साथ आवश्यक छ । विदेशीको पैसाले नेपाली संस्कृतिको संरक्षण गर्न प्रस्ताव नै लज्जास्पद विषय हो । हिजो पुर्खाले जोगाएको सम्पदा आज संरक्षणको लागि विदेशीलाई गुहार्नु लाजमर्दो कुरा हो । त्यसकारण मन्त्री संस्कृति र पर्यटन क्षेत्रमा केही गर्नुछ भने विदेशीसामु भीक्षापात्र फैलाएर होइन, नेपाली जनतासँग भएको सीप, कला कौशलको अधिकतम प्रयोग र अनुसन्धानमा जोड दिनुपर्छ ।