भर्खरै :

शैलुङलाई ठेक्का होइन, कारबाही गर

गृहमन्त्रालयले बदमासी गर्ने ठेकेदार कम्पनीको सूचीमा राखेको शैलुङ कन्स्ट्रक्सन प्रालिले डेढ करोड रुपैयाँ बराबरको नयाँ ठेक्का पाएको छ । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालका घरबेटी शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सन यसअघि पनि धेरै आयोजनामा गरेको ढिलासुस्ती, कमसल निर्माणका कारण बदनाम कम्पनी हो । दाहालकी बुहारी बिना थापामगर खानेपानीमन्त्री रहेको बेला अधिकारीले मेलम्ची खानेपानी आयोजनाअन्तर्गत बुढानीलकण्ठ नगरपालिका क्षेत्रमा पाइपलाइन विस्तार तथा ओभरहेड ट्याङ्की निर्माणको ठेक्का पाएका हुन् । ६ वर्षअघि भक्तपुरको नगरकोट जाने बाटो बनाउने ठेक्का पाएको शैलुङ कन्स्ट्रक्सन प्रालिले अहिलेसम्म पनि बाटो निर्माण पूरा गर्न सकेको छैन । तोकिएको समयमा बाटो बनाउनु त कता हो कता, कम्पनीलाई सो बाटो निर्माण गर्न थप छ महिना थपिएको छ । बदनाम पप्पु कन्स्ट्रक्सन कम्पनीकै कोटीको शैलुङ कन्स्ट्रक्सनले भने अझै सरकारी आयोजनाको ठेक्का पाइरहेको छ ।
देशको ढुकुटीमाथि लुटपाट मच्चाउने ठेकेदार अधिकारीले फेरि पनि सरकारी ठेक्का पाउनुको एउटै कारण उनले सत्तारुढ दलबाट पाएको राजनीतिक संरक्षण हो । नेकपा अध्यक्ष दाहालका ‘घरबेटी ठेकेदार’ भनेर पनि चिनिएका अधिकारीले बदमासी गर्दा पनि सजाय नपाउने बरु अरु थप ठेक्का पाउँदै जानुको मूल कारण दाहालकै संरक्षण हो । राजनीतिक नेतृत्वले देशहितविपरीतका बदनाम ठेकेदारहरूलाई यसरी पोस्ने काम गर्दा दाहालको बदनाममात्र भएको छैन, बरु जनताले दुःख पनि भोगिरहेका छन् । नगरकोट सडक समयमै नबन्दा स्थानीय जनताले आधा दसकभन्दा लामो समयदेखि कष्टप्रद दैनिकी बिताउन बाध्य छन् । साथै काठमाडौँकै प्रमुख पर्यटकीय स्थल नगरकोटको बाटो गएगुज्रेको हुँदा पर्यटन क्षेत्रमा समेत नकारात्मक प्रभाव पारेको छ । नगरकोटको सडक समयमै नबनाउने ठेकेदारलाई नै अर्को ठेक्का दिनु देश दण्डहीनताको भासमा फसेको प्रस्ट हुन्छ ।
केही दिनअघि नेता दाहालले ‘सगरमाथामा समाजवादको झन्डा फहराउने’ आफ्नो सपनाबारे लामै भाषण गरेका थिए । कुरा समाजवादको गर्ने अनि व्यवहारले बदनाम ठेकेदार पोस्ने काम गर्नुले उनको नैतिकतामाथि प्रश्न उठेको छ । राजनीतिक कार्यकर्तामा नैतिकता र अनुशासन ¥हास भएकोमा ‘दुःखी’ दाहाल आफू स्वयम् अनैतिकताको स्रोत भएको बुझ्न सकिरहेका छैनन् । वास्तवमा दाहालले चाहेको समाजवाद बदमास ठेकेदारहरूको आडभरोसामा चल्ने ‘समाजवाद’ हो । उनीजस्ता व्यक्तिले आफूलाई कम्युनिस्ट भनेर वास्तवमा कम्युनिस्ट आन्दोलन र कम्युनिस्ट शब्दलाई नै प्रदूषित बनाइरहेका छन् । कम्युनिस्टको नाममा बदमासी र बेइमानीलाई पोस्नु र त्यस्ता बदमासहरूलाई काँधमा बोकेर हिँड्नुले दाहाल नेपाली राजनीतिमा विकृतिको प्रमुख केन्द्र बनिरहेको बुझ्न नेपाली जनतालाई गाह«ो छैन । उनको पछाडि लागेका कार्यकर्ताहरूका लागि पनि उनको यस्तो फोहोरी चालबाजी लाजमर्दो हुनुपर्छ ।
सरकारले जेलमा थुन्नुपर्ने बदमासलाई फेरि पनि थप पुरस्कार दिन्छ भने यो व्यवस्था जनताको कल्याण गर्ने व्यवस्था हुनसक्दैन । जसले जनतालाई धुलो र हिलोको शिकार बनायो, तिनै व्यक्तिलाई सम्मानको तक्मा लगाउने राजनीतिक नेतृत्व जनताको हितमा हुनसक्दैनन् । उनीहरू नै देशको अधोगतिको मूल कारण हो । कानुनको दुरुपयोग गरी जनताको भावना लत्याउनु कुनै पनि कोणबाट इमानदार राजनीतिको द्योतक हुनसक्दैन । शैलुङ कन्स्ट्रक्सनलाई बुढानीलकण्ठमा पाइप बिछ्याउने ठेक्का दिने टेन्डर तत्काल खारेज गरी शारदाप्रसाद अधिकारीलाई आयोजना समयमै नसकाएवापत सजायस्वरूप कानुनबमोजिम कारबाही गर्नुपर्छ । नयाँपुस्ताका भनिएका मन्त्री बिना मगर पनि यस्तो घिनलाग्दो भ्रष्टाचारकै चङ्गुलमा फस्दै जानु दुःखको कुरा हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *