शान्ति स्थापना गर्न ‘ग्रेटर इजरायल’ लाई रोक !
- असार ११, २०८३
चिलीमा सन् १९७३ सेप्टेम्बर ११ को फासीवादी सत्ताकब्जा
फिडेल क्यास्ट्रो
(सन् १९७३ सेप्टेम्बर ११ मा चिलीका जननिर्वाचित राष्ट्रपति साल्भाडोर एलेन्डेको सरकारविरुद्ध संरा अमेरिकी साम्राज्यवादद्वारा निर्देशित चिली सेनाले विद्रोह ग¥यो । चुनाव जितेर सरकारमा पुगेको पपुलर युनिटी पार्टीमाथि सेनाले चर्को दमन ग¥यो । एलेन्डे स्वयम् फासीवादी सेनाविरुद्ध लड्दा–लड्दै राष्ट्रपति भवनमा मारिए । सेप्टेम्बर १३ मा अगस्टो पिनोचेको नेतृत्वमा नयाँ सरकार गठन भयो । सैनिक सरकारले तत्कालै संसद्लगायत सबै प्रजातान्त्रिक निकायहरू विघटन ग¥यो । पिनोचेले चुनाव गर्ने प्रावधान खारेज गरे, विरोध प्रदर्शन र हड्ताल गर्न पाउने प्रजातान्त्रिक अधिकार बर्खास्त गरे । साथै पुस्तक, पत्रपत्रिका र विद्यालयको पाठ्यपुस्तकमाथि कडा सेन्सर थोपरियो ।
संरा अमेरिकाका परराष्ट्र मामिला अधिकारी हेनरी किसिङ्गरले सेप्टेम्बर ११ अघि चिलीमा एलेन्डे सरकारको सन्दर्भमा भनेका थिए, “मलाई थाहा छैन, आफ्नै जनताको गैरजिम्मेवारीका कारण कुनै देश कम्युनिस्ट बन्दै गरेको हामी किन टुलुटुलु हेरिरहेका छौँ ?” उनको यो अभिव्यक्तिसँगै सैनिक विद्रोह अघि र पछि संरा अमेरिकी साम्राज्यवादले गरेका गतिविधिबाट त्यो विद्रोहपछाडि साम्राज्यवादी संलग्नता खुला आकाशसरि देखिन्छ ।
त्यसो त आज चिली पिनोचेको झन्डै तीस वर्षको शासनबाट मुक्त भइसकेको छ । तर चिली अझै पनि फासीवादी शासनबाट मुक्त भइसकेको छैन । चिलीका मजदुर, किसान र विद्यार्थीहरू अझै फासीवादी सरकारविरुद्ध लडिरहेका छन् । संसारले आज चिलीमा बढिरहेको क्रान्तिकारी उभार हेरिरहेको छ, केही सिकिरहेको छ । तर, सेप्टेम्बर ११ को त्यो पाशविक दमनको समय आज पनि धेरै चिलीका जनताको दिमागमा त्रासद विगतको रूपमा ताजा छ । चिलीमा एलेन्डे सरकारको अन्त्यलाई विश्व कम्युनिस्ट आन्दोलनमा शान्तिपूर्ण अथवा चुनावी प्रतिस्पर्धाबाट क्रान्ति अन्ततः असम्भव हुने प्रमाणको रूपमा छलफल हुने गरेको छ । नेपालकै वामपन्थी आन्दोलनमा बेला–मौकामा चिली र इन्डोनेसियाको इतिहास चर्चामा आउने गर्दछ । यो सैद्धान्तिक बहसमा अझ टेवा पु¥याउन चिलीमा सेप्टेम्बर ११ को सत्ता कब्जापश्चात् २८ सेप्टेम्बरका दिन क्युवाको राजधानी हवानामा तत्कालीन क्युवाली राष्ट्रपति एवं क्युवाली क्रान्तिका नेता फिडेल क्यास्ट्रोले दिनुभएको मन्तव्यको अङ्ग्रेजीबाट नेपालीमा भाषान्तर प्रस्तुत छ । लेफ्ट वल्र्ड र ओसिन प्रकाशनको सहकार्यमा प्रकाशित ‘चिलीःअर्को सेप्टेम्बर ११’ (Chile:The other September 11) पुस्तकबाट यो आलेख भाषान्तरण गरिएको हो । पुस्तकको सम्पादन पिलर अगुइलिरा (Pilar Aguilera) र रिकार्डो फ्रेडेस (Ricardo Fredes) ले गरेका छन् ।)
दश महिना पनि भएको छैन, सन् १९७२ को डिसेम्बर १३ का दिन यही खुलामञ्चमा हाम्रा (क्युवाली) जनताले राष्ट्रपति एलेन्डेसँग अन्तिम पटक भेटेका थिए । उनका ओजपूर्ण शब्द सुन्न र उनी अनि चिलीमा चालू क्रान्तिकारी प्रक्रियाप्रति हाम्रो विश्वास, सद्भाव र समर्थन व्यक्त गर्न लाखौँ क्युवाली जनताले उनलाई यहाँ भेटेका थिए । त्यो दिन चिलीको क्रान्तिमा सम्पूर्ण सहयोग गर्ने हाम्रो प्रतिबद्धता उनीसमक्ष व्यक्त गरेका थियौँ । चिलीका जनतालाई पठाउन सकियोस् भनेर आफ्नै छाक काट्ने हाम्रो निर्णयले राष्ट्रपति एलेन्डेको मन गहिरो गरी स्पर्श गरेको हामीले आभास गरेका थियौँ ।
केही दिनका लागि भ्रमणमा रहँदा राष्ट्रपति एलेन्डे कति खुसी भएका थिए, हामी अझै सम्झन्छौँ, उनले आफ्नै मित्रहरू, आफ्ना असल दाजुभाइ–दिदीबहिनी र आफ्नै परिवारको माझ भएको आभास गरेका थिए । … हो, हामी यही खुलामञ्चमा विश्वस्त भएका थियौं, कुनै पनि सङ्कटको घडीमा उनले एकजना क्रान्तिकारीको व्यवहार गर्नेछन् । अनि यही खुलामञ्चमा उनले हामीलाई भनेका थिए, “चिलीका जनताले प्रतिक्रान्तिकारी हिंसाको जवाफ क्रान्तिकारी हिंसाले दिनेछ ।”
राष्ट्रपति एलेन्डे र चिलीको क्रान्तिकारी प्रक्रियाले विश्वभर ठूलो अभिरुचि र ऐक्यबद्धताको सञ्चार गरेको थियो । इतिहासमै पहिलोपटक चिलीमा एउटा नयाँ अनुभवको विकास भयो ः शान्तिपूर्ण, कानुनी बाटोबाट क्रान्ति गर्ने प्रयत्न । उनको प्रयत्नप्रति अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको मात्र होइन, विश्वभरका भिन्न–भिन्न राजनीतिक दृष्टिकोणबाट समेत समर्थन र ऐक्यबद्धता प्राप्त थियो ।
हामीले हाम्रो क्रान्ति त्योभन्दा फरक तरिका (सशस्त्र सङ्घर्ष) बाट गरेको तथ्य हुँदाहुँदै हाम्रो पार्टी र जनता अनि विश्वभरका अन्य क्रान्तिकारी जनताले उनलाई समर्थन गरे । उनीप्रति हाम्रो समर्थनका कारण हामीलाई कति पनि पश्चाताप छैन किनभने साम्राज्यवाद र शासक वर्गका स्रोत–साधन, सबै प्रतिकुल परिस्थितिबीच पनि हामीले चिलीमा निर्वाचन जित्नसक्ने सम्भावना देखेका थियौँ । सन् १९७० को निर्वाचनमा चिलीका वामपन्थीहरूलाई जिताउन हामीले उनीहरूका प्रयत्नमा सहयोग र समर्थन गरेको कुरा सार्वजनिकरूपमा भन्न हामीलाई कुनै अप्ठ्यारो छैन ।
नभन्दै निर्वाचनमा वामपन्थीहरूलाई विजय प्राप्त भयो । वामपन्थी पपुलर युनिटी दल आफ्ना सामाजिक एवं राजनीतिक कार्यक्रमसहित निर्वाचन जित्न सफल भयो । निःसन्देह त्यसको अर्थ क्रान्तिको विजय थिएन, त्यसको अर्थ शान्तिपूर्ण, कानुनी तरिकाबाट शक्तिको अत्यन्त महत्वपूर्ण ठाउँमा पहुँचमात्र थियो ।
तथापि एलेन्डेले सामना गरेका समस्याहरू उति सहज भने थिएनन् । सुरुबाटै षड्यन्त्रका तानाबाना बुनिसकिएको थियो । निर्वाचनपछि उनलाई राष्ट्रपतिमा पदबहाली गर्नबाट वञ्चित गर्ने प्रयास भएको थियो । साम्राज्यवाद र उसका मतियारहरू संरा अमेरिकी केन्द्रीय गुप्तचर विभाग (सीआईए) एवं बहुराष्ट्रिय कम्पनीहरूले साल्भाडोर एलेन्डेलाई चिलीको राष्ट्रपति बन्नबाट रोक्न षड्यन्त्र गरेका थिए । त्यही षड्यन्त्रका क्रममा उनीहरूले चिली सेनाका सेनापतिको हत्या गरे । जनमतले निर्णय गरेअनुसार साल्भाडोर एलेण्डेलाई राष्ट्रपति पदमा बहाली गर्नु सट्टा आक्रामक एवं प्रष्ट प्रतिक्रियावादी खेमाका पूर्व राष्ट्रपति फ्रिई (Frei) ले राष्ट्रपति पदबाट हट्न आनाकानी गरिरहे ।
साम्राज्यवादी षड्यन्त्र र प्रयासबीच पनि अन्ततः पपुलर युनिटीको नाममा साल्भाडोर एलेण्डेले पदभार ग्रहण गरे ।
उनीसामु के–कस्ता समस्या आइपरे ? पुँजीवादी राज्य संयन्त्र ज्युँका त्युँ थियो । सेना आफूलाई अराजनीतिक संस्था भन्दै क्रान्तिकारी प्रक्रियामा निस्क्रिय प्रायः रह्यो । पुँजीवादी व्यवस्थापिकाका बहुमत सदस्यहरू शासक वर्गको तालमै नाच्थे । न्यायप्रणाली पूर्णरूपमा प्रतिक्रियावादीहरूको पक्ष लिन्थ्यो । चिलीको अर्थतन्त्र पनि पूर्णरूपमा टाट पल्टिसकेको थियो र चिली सरकारको ऋण ४ अर्ब अमेरिकी डलर थियो । त्यस्तो पृष्ठभूमिमा एलेन्डेले सरकारको लगाम हातमा लिएका थिए ।
यति धेरै ऋण साम्राज्यवादी नीति र संरा अमेरिकी योजनाको दुष्परिणाम थियो । चिलीमा चालू सामाजिक आन्दोलन अवरुद्ध गर्न र प्रतिरोध गर्न साम्राज्यवाद त्यहाँ क्रिश्चियन प्रजातान्त्रिक सरकारको नमुना बनाउन प्रयत्नरत थियो ।
फ्रिई राष्ट्रपति छँदा संरा अमेरिकाले चिलीलाई ठूलो धनराशी ऋण प्रदान ग¥यो । तर त्यो ऋणको लक्ष्य चिलीको विकास गर्नु थिएन, क्रिश्चियन प्रजातान्त्रिक सरकारको लागि प्रगति र समृद्धिको मानक मानिएका कार, टेलिभिजन, रेफ्रिजेरेटरजस्ता सबै प्रकारका अन्य सौखिनदार उपभोग्य सामग्रीका लागि थियो त्यो ऋण ।
राष्ट्रपति एलेन्डेको अघि ऋणमा चुर्लुम्म डुबेको देश थियो, त्यो देश जहाँ साम्राज्यवादले आफ्ना परम्परा एवं उपभोग्य बानी व्यवहारको जग बसालिसकेको थियो । त्यो देश जहाँ पत्र–पत्रिका, टेलिभिजन र रेडियोजस्ता आमसञ्चारका माध्यमहरू कुलीनतन्त्रको मुठीमा कैद थियो । त्यतिबेला तामाको मूल्य प्रतिपाउण्ड (१ पाउण्डमा ०.४५४ किलोग्राम अर्थात् ४५४ ग्राम हुन्छ) ७५ पैसाबाट ४८ पैसामा झरेको थियो ।
त्यस अतिरिक्त जनता बृहत्स्तरको बेरोजगारीजस्ता समस्या समाधानको माग गरिरहेका थिए, जसको समाधानका अतिरिक्त अरू कुनै विकल्प थिएन । जनताले आवश्यक ठानेका माग पूरा गर्नैपर्ने अवस्था तर ती आवश्यकता पूर्ति गर्न पपुलर युनिटी सरकारसामु बाटामा ठूलठूला आर्थिक अवरोधहरू आइपरेका थिए । जब भूमिसुधार कार्यक्रम कार्यान्वयनमा ल्याइयो, कृषि क्षेत्रका बुर्जुवा वर्गले तत्काल कृषि उत्पादनमा निषेध सुरु गरे । वितरण केन्द्र, सरसामान पसल र भण्डारहरूका मालिक पुँजीपति वर्गले पपुलर युनिटी सरकारलाई समस्यामा पार्न बजारमा कृत्रिम अभाव सृजना गरिदिए ।

सन् १९७३ सेप्टेम्बर ११ को दिन चिलीको सरकार भवनमा हमला गर्दै सीआईएको आड पाएको सेना
Leave a Reply