भर्खरै :

शैक्षिक सुधारका केही पक्ष

– धन बहादुर श्रेष्ठ
विद्यालय सबै समुदाय, वर्ग, समूह, धर्म, जातजाति, सम्प्रदायको एकमात्र निर्विवाद साझा मन्दिर हो । विद्यालय समुदायको आवश्यकता परिपूर्तिको लागि समुदायकै पहलमा समुदायमै स्थापना भएको पवित्र संस्था हो । नेपालमा औपचारिक शिक्षाको सुरुवाती चरणमा राणा शासकहरूले उनीहरूकै पहलमा स्थापना गरेका विद्यालयहरूबाहेक सरकारले समुदायमा गएर सिधै स्थापना गरिदिएका विद्यालयहरू सायदै कमै होलान् । कुनै पनि स्थानमा नयाँ विद्यालय स्थापना गर्नुपर्दा सोही स्थानका नागरिकले माग गरी आधारभूत न्यूनतम पूर्वाधारहरू पूरा गरेपछि मात्र सरकारी तवरबाट विद्यालय सञ्चालनको लागि अनुमति प्रदान गरिने कानुनी प्रावधान रहेको छ । यही कानुनी प्रावधानको जगमा अडेर जनताको पहलकदमीमा स्थापना भएका विद्यालयहरूको सच्चा सरोकारवाला भनेका सोही समुदायका जनता नै हुन् । यस मानेमा विद्यालयका सच्चा मालिक भनेको समुदाय नै हो र विद्यालयको गतिविधि, क्रियाकलाप तथा उन्नति अवनतिको सच्चा पहरेदारी गरी चासो राख्ने कार्य पनि समुदायबाटै हुनुपर्दछ ।
यतिबेला सार्वजनिक शिक्षा र सो शिक्षासँग सम्बन्धित शिक्षाकर्मीहरू सार्वजनिक शिक्षाको गुणस्तर खस्किएको भन्ने विषयले आलोचनाको शिकार बन्नुपरेको यथार्थ हाम्रो सामु छ । हामी शैक्षिक प्रशासनको व्यवस्थापन, विकास तथा सुधारको लागि सरकारी दाना पानी खाएर कार्यरत कर्मचारीहरू भनौ वा मनोनित पदाधिकारी वा जननिर्वाचित पदाधिकारी सबैले न यो आलोचनालाई पूर्ण स्वीकार गर्न सकेका छौ न अस्वीकार नै । आलोचनाभित्र केही सत्यता भने पक्कै छ । अब आलोचनालाई डिफेन्सिभ तवरले प्रतिरोधमात्र गर्नेभन्दा पनि त्यसभित्रका सही तथ्यहरूलाई पत्ता लगाई क्रमिक सुधारको बाटो अवलम्बन गरिनु अत्यावश्यक छ ।
विद्यालय शिक्षाको विकास तथा सुधारको लागि कुनै एक पक्षमात्र जिम्मेवार हुँदैन । एउटा विद्यालयमा आवश्यक हुने न्यूनतम पूर्वाधार पूरा भएरमात्र अपेक्षित शैक्षिक विकास हुनसक्दैन । यसमा विभिन्न पक्षहरूको प्रभाव रहन्छ ।
सचेत एवं जागरुक अभिभावक
कुनै पनि समुदाय विद्यालयको काम, कारबाहीमा चासो राख्दछ, विद्यालयलाई समुदायकै अभिन्न अङ्गको रुपमा लिन्छ, विद्यालयका हरेक क्रियाकलापमा सरिक हुन्छ तथा विद्यालयका असल कामको अनुसरण र प्रशंसा तथा खराब कामहरूको खबरदारी गर्दछ भने त्यस्तो विद्यालय तथा त्यसको शैक्षिक गतिविधिहरू कमसल हुनसक्दैनन् ।
अनुशासित एवं लगनशील विद्यार्थी
हरेक शिक्षा प्रणाली तथा विद्यालयका हरेक क्रियाकलापको केन्द्रविन्दुमा विद्यार्थी रहन्छ । विद्यार्थीमा अनुशासन, लगनशिलता तथा मेहनती प्रवृत्तिको विकास भएका तथा विकास गराउन सफल भएका विद्यालयहरूको शैक्षिक अवस्थामा कसैले खोट लगाउन सकेको अवस्था छैन र हुँदैन पनि । जिम्मेवार र समर्पित शिक्षक शैक्षिक सुधारको अर्को पक्ष हो । शिक्षा प्रणालीलाई गतिशील बनाई कार्यान्वयन गर्ने प्रमुखकर्ता शिक्षक आफ्नो पेशाप्रति बफादार तथा इमानदार भई जिम्मेवारी पूरा गरेमा मात्र विद्यालय शिक्षा प्रभावकारी र सफल हुन्छ । नियमित विद्यालयमा उपस्थित हुने, तोकिएको समय कक्षा क्रियाकलापमा सक्रिय रुपमा बिताउने, विद्यार्थीको सिकाई सुधारमा हरपल क्रियाशील रहने, शिक्षण पेशाप्रति सम्मान गर्ने समर्पित र जिम्मेवार शिक्षक भएका विद्यालयहरू समुदाय एवं विद्यार्थीको मन, मस्तिष्क तथा विश्वास जित्न सफल छन् र शैक्षिक उपलव्धि हासिल गरी विद्यालयको गरिमा कायम गर्न सफल रहेकै छन् ।
जवाफदेही र उत्तरदायी प्रधानाध्यापक
नेतृत्वले देखाउने सही बाटोले नै संस्थाको शैक्षिक दिशा निर्देश गर्दछ । विद्यालयको प्रशासनिक, शैक्षिक तथा व्यवस्थापकीय नेतृत्व विद्यालयको प्रधानाध्यापकले गर्ने गर्दछ । विद्यालयको प्रधानाध्यापक योग्य, सक्षम, शिक्षक तथा समुदायको विश्वासी हुनुपर्छ । विद्यालयको नेतृत्व गर्ने प्रधानाध्यापकसँग योजना बनाउने, सङ्गठन गर्ने, निर्देशन गर्ने, नियन्त्रण गर्ने, समन्वय गर्ने, सम्बन्ध निर्माण गर्ने, सुपरीवेक्षण गर्ने, स्रोतको खोजी र परिचालन गर्ने, निर्णय गर्नेजस्ता प्रशासनिक तथा व्यवस्थापकीय सक्षमताहरू हुनुपर्छ । विद्यालयले गरेका हरेक कार्यहरूको जिम्मेवारी लिने तथा उत्तरदायित्व वहन गर्ने, आवश्यक परेको खण्डमा जोखिम वहन गर्नसक्ने प्रधानाध्यापक विद्यालयमा आवश्यक छ । सक्षम, सक्रिय, क्रियाशील, आत्मविश्वासी र नैतिकवान प्रधानाध्यापक भएका विद्यालयहरू शैक्षिक हिसाबमा कहिल्यै पछि नपरेका उदाहरण आलोचनाका बीच पनि अहिले हाम्रो सामु प्रशस्तै छन् ।
सहयोगी, सदगुणी एवं न्यायप्रेमी कुशल प्रशासन तथा नियामक निकाय
शैक्षिक प्रशासन सञ्चालन गर्ने निकायले शैक्षिक सुधारमा क्रियाशील जुनसुकै पक्षलाई सधै सकारात्मक सहयोग गर्नुपर्छ । उसले गर्ने सुधारका क्रियाकलापमा सहभागिता जनाउनुपर्छ । कमी कमजोरी देखिएमा सुधारका लागि पृष्ठपोषण प्रदान गर्नुपर्छ । निकटता, सम्बन्ध तथा सम्पर्कका आधारमा कुनै पनि शैक्षिक संस्था, निकाय, शिक्षक, प्रधानाध्यापक आदिलाई काखा र पाखा गर्नुहुँदैन । कार्य सम्पादन तथा उपलब्धिको आधारमा पुरस्कार र दण्डको व्यवस्थापन गर्नुपर्छ । विद्यालयको शैक्षिक उन्नयनमा नै सदा समर्पित रहने सहयोगी, सदगुणी र न्यायप्रेमी कुशल प्रशासन सञ्चालन गर्नसक्ने खुबी भएका शैक्षिक प्रशासकहरूले शैक्षिक सुधारमा टेवा पु¥याएकै छन् ।
राम्रा र असल कार्यहरूको प्रचारप्रसार गर्ने सबल र सक्षम मेकानिजम
नराम्रा मानिने क्रियाकलापहरूको बढी प्रचारप्रसार गरी राम्रा कुराहरूलाई ओझेलमा पार्ने गरेको वर्तमान सन्दर्भमा विद्यालयले गरेका राम्रा अभ्यासहरूलाई बढीभन्दा बढी प्रचारप्रसार गरी अझ राम्रो गर्ने हौसला प्रदान गर्नुपर्दछ । यसको लागि मिडियाको भूमिका महत्वपूर्ण रहन्छ । असल अभ्यास तथा सफलताका कथाहरू प्रकाशन गर्ने कार्य पनि नियमित रुपमा गर्न सकिन्छ ।
निरन्तर सपोर्ट प्रणालीको सबलीकरण
विद्यार्थीको सिकाइ स्तरमा सुधार ल्याउन कक्षा क्रियाकलाप तथा विद्यालय सञ्चालन गतिविधिमा निरन्तर सहयोग गर्नको लागि स्थापित स्रोतकेन्द्र तथा विद्यालय निरीक्षण प्रणालीलाई सशक्त तथा प्रभावकारी बनाउन सकिएमा विद्यालयको शैक्षिक सुधारमा अपेक्षित परिवर्तन ल्याउन सकिन्छ ।
विद्यालयको शैक्षिक सुधारका पक्षहरूलाई यति नै हुन्छ भनी सीमाबद्ध गर्न नसकिए पनि माथि उल्लिखित सात पक्षहरू नेपालको सन्दर्भमा व्यवस्थित शैक्षिक प्रणाली निर्माणको दिशामा प्रमुख पक्षहरूको रुपमा लिन सकिन्छ । विद्यार्थी, शिक्षक, अभिभावक, विद्यालय, प्रधानाध्यापक, प्रशासन, सफल अभ्यास तथा सपोर्ट सिस्टम शैक्षिक सुधारका महत्वपूर्ण अवयवहरू हुन् । यी अवयवहरूमा सही र व्यवस्थित गर्न सकेमा शिक्षा प्रणाली सुधारमा कायापलट गर्न सकिन्छ ।
श्रेष्ठ शिक्षा विभागका उपनिर्देशक हुन् ।–सम्पादक

Leave a Reply

Your email address will not be published. Required fields are marked *