भर्खरै :

संरा अमेरिकी राजदूतको गैरकूटनीतिक व्यवहार

चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणबारे चिनियाँपक्षले निकालेको वक्तव्यलाई लिएर संरा अमेरिकी राजदूतले देखाएको चासो गैरकूटनीतिक व्यवहारको उदाहरण हो । नेपाली उखान छ– ‘के निहुँ पाऊँ, कनिका बुकाऊँ’ । चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमण र राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको तयारी भारत र संरा अमेरिकी शासक वर्गलाई चित्त बुझेको छैन । भारतीय शासक वर्ग आज पनि नेपाललाई उपनिवेशवादी दृष्टिकोणबाट हेर्छन् । नेपाललाई आफ्नोबाहेक कुनै पनि देशको कुनै पनि खाले प्रभाव नपरोस् भन्ने उनीहरूको परम्परागत सोच अझै बाँकी छ । संरा अमेरिकी शासक वर्ग नेपालमा मात्र होइन, संसारको कुनै पनि कुनामा चीनको सम्बन्ध विस्तार भएको चाहँदैन । त्यसकारण चीन र नेपालबीचको सम्बन्धलाई अझ उचाइमा पु¥याउने कुनै पनि गतिविधिलाई संरा अमेरिकाले कुनै न कुनै बहानामा खोट देखाउनेछ ।
वाङ यीको नेपाल भ्रमणलाई बदनाम गर्ने हेतुले संरा अमेरिकी दूतावासले त्यस्तो चासो देखाएको हो । भविष्यमा हुने भनिएको सी चिनफिङको भ्रमणलाई रोक्न यस्ता चालबाजी गरिएको हुनसक्छ । संरा अमेरिकालाई नेपालजस्ता साना र विकासशील देशहरूको आन्तरिक मामलामा हस्तक्षेप गर्न कुनै कारण हुनुपर्दैन । त्यो उसको साम्राज्यवादी चरित्रकै विशेषता हो ।
विश्व आर्थिक शक्तिको रुपमा चीनको उदयलाई रोक्न संरा अमेरिकाले चौतर्फी हमला गर्ने प्रयास गरिरहेको छ । हङकङको उपद्रवदेखि आर्थिक युद्धसम्मको मूलमा यही उद्देश्य नीहित छ । सोभियत समाजवादलाई ध्वस्त बनाएर संसारमा एक्लो प्रभुत्व चलाउने बानी परेको संरा अमेरिका आज पनि त्यसैको निरन्तरता चाहन्छ । उसको त्यो चाहनाको अवरोध यतिबेला चीनको उदय बनिरहेको छ । नेपाललाई पनि चीनको विरोधमा उतार्न उसले लगातार कोसिस गर्दै आएको छ । संरा अमेरिकी सहायताको लागि तिब्बती शरणार्थीसम्बन्धी पूर्वशर्त यसको एउटा पछिल्लो उदाहरण हो ।
चीनले प्रस्ताव गरेको बेल्ट एन्ड रोड परियोजना सैनिक गठबन्धन होइन । चीनले विकास र समृद्धिमा हासिल गरेको अनुभव संसारका अरु देशलाई दिने र अन्य देशको विकास र समृद्धिको यात्राबाट चीनले सिक्ने आपसी आदानप्रदानको जगमै बेल्ट एन्ड रोड परियोजना आधारित छ । कुनै पनि देशलाई निगरानी वा नियन्त्रण गर्ने चीनको कुनै मनसाय देखिंदैन । सन् १९४९ मा नयाँ जनवादी व्यवस्था स्थापना भए यता चीन संसारका विकासशील देशहरूको पक्षमा उभिएको छ । संसारको समृद्धिमा नै चीनको समृद्धिको स्थायित्व अडिएको छ भन्ने मान्यतामा चीन आज अघि बढिरहेको छ ।
विडम्बना सम्पूर्ण मानव जातिको साझा हितको लागि अघि सारिएको बेल्ट एन्ड रोड परियोजनालाई खोट देखाएर संरा अमेरिकाले चीनको विस्तार रोक्न हिन्द–प्रशान्त गठबन्धन अघि सारेको छ । हिन्द–प्रशान्त गठबन्धनको मूल ध्येय चीन वरपर पूर्वी एसियाली र दक्षिण एसियाली देशहरूलाई चीनको विपक्षमा उभ्याउनु हो । हिन्द–प्रशान्त गठबन्धन कुनै पनि बेला पूर्ण सैनिक गठबन्धन बन्न सक्ने सम्भावनालाई नकार्न सकिन्न । हिन्द–प्रशान्त गठबन्धन एसियाको नाटो बन्न सक्छ ।
नेपालले आफ्ना छिमेकी देशसँग गहिरो बनाउने प्रयासलाई संरा अमेरिकाले आफ्नो रणनीतिक चालबाजीमा ढाल्न खोज्नु खेदजनक हो । चीनविरोधी आफ्नो रणनीतिलाई सार्थक बनाउन संरा अमेरिकाले नेपालजस्तो विकासशील सानो देशलाई हतियार बनाउन हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *