भर्खरै :

संरा अमेरिकामा जनरल मोटर्सका ४६ हजार मजदुर हड्तालमा

डेट्रोएट, ३० भदौ  (एएफपी) । संरा अमेरिकास्थित युनाइटेड अटो वर्कर्स युनियनले जनरल मोटर्स (जीएम) विरुद्ध सोमबार राष्ट्रव्यापी हडताल सुरु गरेको छ । मजदुरसँगको सम्झौताका विषयमा विवाद उत्पन्न भएपछि अमेरिकाभरका करिब ४६ हजार मजदुर हडतालमा उत्रिएका हुन् ।
वालस्ट्रिट जर्नलका अनुसार एक दसकमा पहिलोपटक जीएमविरुद्ध देशव्यापी यति ठूलो हडताल भएको हो । जीएमसँग मजदुरहरूको चारवर्षे करार समाप्त भएको, र नयाँ करार गर्न आनाकानी गरेपछि मजदुरहरू आन्दोलित भएका हुन् ।
डिट्रोइटमा आइतबार राति स्थानीय युनियन नेताहरूको बैठकले हडतालमा जानैपर्ने निर्णय गरेको युनाइटेड अटो वर्कर्स युनियनले ट्वीटमार्फत जानकारी दिएको थियो । ‘यो अन्तिम विकल्प हो,’ जीएमसँग युनियनका मुख्य वार्ताकार टेरी डिटेसले बताउनुभयो । ‘हामी यस मुलुकका श्रमजीवी मजदुरको आधारभूत अधिकारका पक्षमा अडिग छौं ।’
युएडब्लुका अधिकारीहरूले दुवै पक्षबीचको छलफल विनानिष्कर्ष टुङ्गिएको बताएका छन् । दुवै पक्षबीच ज्याला, स्वास्थ्य सेवा, अस्थायी कामदारको स्थिति र रोजगारीको सुरक्षाका विषयमा विमति रहेको थियो ।
‘हाम्रा साथीहरूले कुरा राख्नुभयो, हामीले यस विषयलाई हल्का रूपमा लिने कुरै छैन,’ युएडब्लुका राष्ट्रिय मध्यस्थता समितिका अध्यक्ष टेड क्रुमले बताउनुभयो ।
हडताल सुरु केही घण्टाअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै भन्नुभएको छः ‘जनरल मोटर्स र युनाइटेड अटो वर्कर्सले मिलेर कुनै सम्झौतामा पुग्नुको विकल्प छैन ।’
वालस्ट्रिट जर्नलका अनुसार जिएममा सन् २००७ मा पछिल्लो पटक हडताल भएको थियो । त्यसबखत देशभर रहेका ८९ भन्दा बढी कारखानाका करिब ७३ हजार मजदुरले दुई दिनसम्म काम बन्द गरेर हडतालमा उत्रिएका थिए ।
जिएमले एक वक्तव्य प्रकाशन गरी युएडब्लुले हडतालमा उत्रिने निर्णय गर्नु दुर्भाग्यपूर्ण रहेको जनाएको छ । जिएमले मजदुरका लागि निकै आकर्षक प्रस्ताव अघि सारेको स्पष्ट गरेको छ । ‘हामीले असल मनसायका साथ वार्तामा सहभागी भएका थियौं । हाम्रो एक मात्र लक्ष्य हाम्रा कर्मचारी र हाम्रो व्यवसायको राम्रो भविष्य सुनिश्चित गर्नु हो ।’
फोर्ड र फिएट क्रिस्लरमा कार्यरत मजदुरले भने आफ्नो करार नवीकरण गर्न सहमति जनाइसकेका छन् तर जिएमको व्यवस्थापनले शनिबार मजदुरको करार नवीकरण तत्काल नगर्ने जनाएको थियो ।
जिएमको बजार तुलनात्मक रूपमा निकै बलियो मानिन्छ । गत वर्ष कम्पनीले करिब ११ अर्ब ८० करोड अमेरिकी डलर सञ्चालन मुनाफा कमाएको थियो । तर, अमेरिका र अरु मुलुकबीचको व्यापार तनावले जीएम पनि मन्दीको शिकार हुने अनुमान गरिएको छ । त्यही जोखिमका कारण कम्पनीले आफ्ना मजदुरको सङ्ख्यामा निरन्तर कटौती गरिरहेको छ ।
जीएमले गत नोभेम्बरमा उत्तर अमेरिकाका पाँच वटा कार निर्माण कारखाना बन्द गर्ने घोषणा गरेको थियो जसमा अमेरिकाका मिसिगन र ओहायोका कारखाना पनि समावेश छन् ।
जिएमको व्यवस्थापनले अमेरिकी कार निर्माण कारखानाको स्तरोन्नतिका लागि ७ अर्ब अमेरिकी डलर लगानी गर्ने प्रतिबद्धता जनाएको छ । यसबाट करिब ५ हजार ४०० को रोजगारी सुनिश्चित हुनेछ । साथै अमेरिकी प्लान्टबाटै पूर्ण विद्युतीय ट्रक निर्माण गर्ने योजना पनि समावेश गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *