भर्खरै :

सुर्खेत र दैलेखमा महाधिवेशनको तयारी

सुर्खेत, ३० भदौ । नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशनको सिलसिलामा सोमबार विरेन्द्रनगरमा पार्टी कार्यकर्ता भेला सम्पन्न भयो ।
भेलामा नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईँले नेमकिपाले निर्वाचनलाई लक्ष्य नबनाएको बरू उपयोगमात्र गरेको विचार राख्नुभयो । उहाँले निर्वाचनको माध्यमबाट समाजवादी क्रान्ति नहुनेबारे नेमकिपा स्पष्ट भएको बताउनुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष सविन ख्याजूले काश्मीरमाथि भारतले हस्तक्षेप गरेझैँ नेपाल कब्जा गर्ने खतरा रहेको भन्दै सचेत हुनुपर्ने विचार राख्नुभयो ।
नेमकिपा सुर्खेतका अध्यक्ष हरिबहादुर बोहराले नेमकिपालाई जनताले माया गरेको र महाधिवेशनको सफलताको कामना गरेको बताउनुभयो ।
यसैबीच दैलेखमा नेमकिपाका कार्यकर्ताहरूको भेला आइतबार पालतडा र घोडेबासमा भयो । भेलामा नेमकिपाका केन्द्रीय सदस्य जग्यबहादुर शाहीले नेमकिपाको सातौँ महाधिवेशनले कार्यकर्तामा नयाँ उत्साह सञ्चार भएको बताउनुभयो ।
नेमकिपाका अर्का केन्द्रीय सदस्य नन्दबहादुर शाहीले शासक पार्टीहरूका अनेकन भ्रमपूर्ण प्रचारको खण्डन गर्दै नेमकिपा अघि बढिरहेको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईंले देशभक्त जनता सबै एक भई भारतीय विस्तारवाद र एकाधिकार पुँजीविरुद्ध सङ्घर्ष जारी राख्नुपर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *