भर्खरै :

अर्बुद रोग निवारण संस्थाको कार्यक्रम बहुमतद्वारा बहिष्कार

काठमाडौँ, ३१ भदौ । कमिसनको रकमले काठमाडौँको दरबार मार्गस्थित पाँचतारे होटल अन्नपूर्णमा गरिएको नेपाल अर्बुद रोग निवारण संस्थाको ३७ औँ वार्षिकोत्सव कार्यक्रम संस्थाकै बहुमत पदाधिकारी सदस्यहरू र भक्तपुर क्यान्सर अस्पताल परिवारले बहिष्कार गरेका छन् ।
संस्थाका केन्द्रीय सल्लाहकार पूर्वअध्यक्षहरू कर्ण शाक्य, जीतबहादुर श्रेष्ठ, दिवाकर राजकर्णिकार, उपाध्यक्ष डा. राजेन्द्रप्रसाद बराल, कोषाध्यक्ष अनन्तप्रसाद धौभडेल, उपमहासचिव बद्रीनाथ पाखरेल र सदस्यहरू डा. प्रदीप वैद्य, दिनेश शङ्कर पालिखे र डा. पूर्णिमा राजकर्णिकार स्थापितले कार्यक्रम बहिष्कार गरेको संस्थाकै एक सदस्यले जानकारी दिए ।
त्यस्तै संस्थाको भक्तपुर, काठमाडौँ, ललितपुर, नुवाकोट, कास्कीलगायत बहुमत शाखाले पनि केन्द्रीय समितिको उक्त ३७ औँ वार्षिकोत्सव कार्यक्रम बहिष्कारस्वरुप अनुपस्थित भएका थिए । कार्यक्रम बहिष्कार गरेको कास्की शाखालाई यस वर्षको सर्वोत्कृष्ट जिल्ला शाखाको अवार्डसमेत वितरण हुँदै थियो । संस्थाका सदस्य अनुपस्थित भएपछि माथेमा समाजका सदस्यहरू र रोटरी क्लवका साधारण सदस्यहरूबाट हल भरिएको थियो ।
भ्रष्टाचार आरोपित अध्यक्ष श्रेष्ठ र महासचिव होडाले पदबाट राजिनामा दिएर संस्थाको ख्यातिलाई थप नोक्सान हुनबाट बचाउनुपर्ने बहिष्कार गरेका व्यक्तित्वहरूको माग रहेको बताइएको छ । तर संस्थाको अध्यक्ष पदलाई आफ्नो व्यक्तिगत र पारिवारिक स्वार्थमा प्रयोग गरिरहेका श्रेष्ठ पदबाट राजीनामा दिन तयार नरहेको र आफूले राजीनामा दिनैपरे आफ्ना भतिजा नाता पर्ने र संस्थाको उपाध्यक्ष पदमा जबरजस्ती ल्याइएका अनुभवविहीन महेश श्रेष्ठलाई कार्यवाहक अध्यक्ष बनाउनुपर्ने सर्त राखेका थिए । तर, श्रेष्ठको सर्तलाई पूर्वअध्यक्षहरू र संस्थाका उपाध्यक्षहरू डा. राजेन्द्रप्रसाद बराल र कृष्णबहादुर बस्नेतले स्वीकार नगरेको स्रोतले बतायो ।
संस्थाको वर्तमान अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठ र महासचिव विमल होडाले केही वर्षदेखि कमिसनको रकमले पाँचतारे होटल अन्नपूर्णमा फजुल खर्च गरेर विभिन्न कार्यक्रम गर्दै आएका थिए । त्यसरी पाँचतारे होटलमा गरेका कार्यक्रमको खर्चले देशका दर्जनौँ जिल्लामा क्यान्सर रोग पहिचान शिविर र सचेतना कार्यक्रम गर्न सकिने बताइएको छ ।
संस्थाका अध्यक्ष श्रेष्ठले भक्तपुर क्यान्सर अस्पतालको व्यवस्थापन समितिको अध्यक्ष पदमा रहेर अस्पतालमा विनाप्रतिस्पर्धा निकै न्यून रकममा ल्याव सञ्चालन गर्न दिएबापत सेरो ल्याव प्रालिका सञ्चालक किरण श्रेष्ठबाट कमिसनस्वरुप रकम लिँदै आएका थिए ।
नेपाल अर्बुद रोग निवारण संस्था केन्द्रीय समितिका वर्तमान अध्यक्ष श्रेष्ठ र महासचिव विमलकुमार होडालगायत केही पदाधिकारी र सदस्यहरू क्यान्सर अस्पतालमा सिटीस्क्यान सञ्चालक र फार्मेसी सञ्चालकहरूबाट रकम उठाउने गरेको र आफ्नो पैसा खर्च नगरी विदेश भ्रमण गर्ने गरेको तथ्य पहिले नै बाहिर आइसकेका छन् ।
‘‘नेपाल अर्बुद रोग निवारण संस्थाजस्तो सामाजिक संस्थाको कार्यक्रमलाई कसैले स्वच्छ र सहयोगी मनले सक्दो सहयोग गर्नु एउटा पक्ष हो तर कसैलाई अनियमित प्रक्रियाका आधारमा नाफा कमाउन दिई त्यसबापत कार्यक्रमको खर्च व्यहोर्न लगाउनु कमिसन नै हो । चाहे त्यो कमिसन व्यक्ति–व्यक्तिले लेओस् वा संस्थाले नै लेओस् । अर्बुद रोग निवारण संस्थाको कार्यक्रम कमिसनको रकमले चल्नु र संस्थाको नेतृत्व नै कमिसनको खेलमा चुर्लुम्म डुब्नु विडम्बना हो ।’’ – नाम उल्लेख नगर्ने सर्तमा संस्थाका ती सदस्यले बताए ।
व्यवस्थापन समितिका पदाधिकारीहरूको अनियमितता र भ्रष्टाचारले थिलथिलो बनी भताभुङ्ग बन्न लागेको अस्पताल जोगाउन भक्तपुर नगरपालिकाले व्यवस्थापनको जिम्मा लिई सुचारूरूपमा सञ्चालन गरिरहेकोलाई ‘भनपाद्वारा अस्पताल कब्जा’ र ‘बिरामीको बिचल्ली’ जस्ता आधारहीन हल्ला गरी भ्रष्टहरूले सत्तासीन नेकपा र प्रमुख प्रतिपक्ष नेकांका केही नेताहरूलाई भ्रष्टहरूले जालमा फसाएको चर्चा व्यापक छ । भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिको अध्यक्षतामा क्यान्सर अस्पतालमा नयाँ व्यवस्थापन समिति आएपछि अत्यन्त पारदर्शिता र सुदृढ व्यवस्थापनका साथ बिरामीको राम्रो उपचार सेवा भइरहेको भनी बिरामी र बिरामीका आफन्तले खुसी र सन्तोष व्यक्त गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *