भर्खरै :

डेँगुको महामारी देशमा स्वास्थ्यमन्त्री विदेश भ्रमणमा !

काठमाडौँ, १ असोज । नेपालमा डेँगुको सङ्क्रमण भइरहेको बेला स्वास्थ्य मन्त्री आजै विदेश जाँदै छन् । नेपालमा डेँगुको महामारी नै छ । यस्तो सङ्कटको बेला स्वास्थ्यमन्त्री विदेश जानु उपयुक्त होला र ?
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवम् सांसद प्रेम सुवालले प्रतिनिधिसभामा बुधबार उपप्रधानमन्त्री उपेन्द्र यादवसँग उक्त प्रश्न राख्नुभएको हो ।
असोज १ गतेसम्म पनि मन्त्रीको वक्तव्यमा डँेगु रोग सङ्क्रमित र मृतक नेपालीको सङ्ख्या भदौ २३ गतेसम्मको मात्र सार्वजनिक भएको उल्लेख गर्दै सांसद सुवालले गनले विषादी छरेर डेँगु नियन्त्रण नहुने विज्ञहरूले बताए पनि सरकारकै निकायबाट गनले विषादी छरेर बजेट दुरूपयोग भइरहेकोमा मन्त्रीसँग जिज्ञासा राख्नुभएको थियो ।
मन्त्री यादवले गनले धुवाँ फालेर डेँगु नियन्त्रणमा लाग्नेहरूको राजनीतिक प्रचारमात्र भएको उल्लेख गर्दै धुवाँले डेँगु लामखुट्टेको लार्भा नष्ट नहुने बताउनुभयो ।
मन्त्री यादवले डेँगुका कारण मृत्यु भएका ६ जनाको विस्तृत अनुसन्धान भइरहेको उल्लेख गर्दै कुनै रोग लागेकालाई डेँगु लागेर पनि मृत्यु हुने बताउनुभयो ।
हप्तायता डेँगुबाट मृत्युको खबर नभएको उल्लेख गर्दै मन्त्री यादवले स्वास्थ्य सङ्कट नभएको स्पष्ट पार्नुभयो ।
वक्तव्यमा मन्त्री यादवले १५ वर्षअघि चितवनमा देखिएको डेँगु यस वर्ष ५६ जिल्लासम्म फैलिएर ५०९५ जना प्रभावित भएको उल्लेख गर्नुभयोे ।
सांसदहरूले मन्त्री यादवलाई डेँगु महामारी फैलिएको बेला विदेश भ्रमणमा नजान सचेत गराउनुभएको थियो । मन्त्री यादव संयुक्त राष्ट्र सङ्घको ७४ औँ महासभामा भाग लिन बुधबार राति अमेरिका उड्नुभएको थियो । मन्त्री बन्ने यता मन्त्री यादव पटक–पटक विदेश गएको हुँदा ‘डुलुवामन्त्री’ भनी सिंहदरबारमा चर्चा भइरहेका छन् । केही प्रदेशमन्त्रीसँग मन्त्री यादवले आफूले विदेश भ्रमणको टीएडीए भत्ता नै डेढ करोड कुम्ल्याएको बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *