भर्खरै :

स्वास्थ्य मन्त्रालयमा ‘निरो’

– आसलाल
स्वास्थ्यमन्त्री उपेन्द्र यादवको सदनदेखि सर्वसाधारण जनतासम्मको चर्को आलोचना भएको छ । देशमा डेँगु र स्क्रबटाइफसको महामारी फैलिएको बेला मन्त्री भने एक पछि अर्को विदेश भ्रमणमा छन् । जनस्वास्थ्यमा एकपछि अर्को समस्या आइरहेको बेला आफ्नो दायित्वबाट विमुख हुँदा मन्त्रीको विदेश भ्रमणको आलोचना भएको हो । तर, आलोचनाको पर्वाह नगरी उनी भने न्यूयोर्क उडिसकेका छन् ।
सङ्घीय समाजवादी फोरमका अध्यक्षको हैसियतमा स्वास्थ्यमन्त्री बनेका यादवले नयाँ शक्ति पार्टीसँग एकीकरण गरी समाजवादी पार्टी गठन गरेका थिए । समाजवादी पार्टीको तर्फबाट यादव सरकारमा सामेल छन् । त्यसकारण समाजवादी पार्टी अहिले सत्तारूढ गठबन्धनकै सदस्य हो । तर, समाजवादी पार्टीका नेताहरू स्वयम् भने सरकारको विरोध गरिरहेको सुनिन्छ । यो समाजवादी पार्टीको दोहोरो चरित्रको अभिव्यक्ति हो । मन्त्रीमण्डलका बहुमत सदस्य नेकपा सम्बद्ध हुँदा यादवले मन्त्रीमण्डलको निर्णयमा खासै प्रभाव पार्न पनि सकेको देखिन्न । न सत्तापक्ष न प्रतिपक्षको अन्योलपूर्ण अवस्थाका कारण उनी सरकारलाई सफल बनाउने उत्साहका साथ काम गर्न पनि सकिरहेका छैनन् । सत्तामा टाँसिएर बस्ने प्रवृत्तिका कारण यादव र समाजवादी पार्टी सैद्धान्तिक रूपमा सरकारसँग सहमत हुन नसक्दा पनि त्यसैमा टाँसिएर बसेको अवस्था छ । राजनीतिमा सिद्धान्तको विषय गौण बन्दै जाँदा यस्ता घटना हुने गर्दछ ।
यादव स्वास्थ्यमन्त्री भए यता नेपाली जनताले स्वास्थ्य क्षेत्रमा के–कस्ता उपलब्धि हासिल गरे ? पद ओगेटेर बस्नकै लागि मन्त्री बन्ने नेताहरूले नेपाली जनताले अपेक्षा गरेजस्तो परिवर्तन गरेर देखाउन सक्दैनन् । डेँगुको महामारी झन्डै देशैभरि फैलिसकेको अवस्थामा कतिपय जिल्लामा परीक्षण गर्ने किट्स समेत नहुँदा जनताले समस्या भोग्नुप¥यो । तर, स्वास्थ्यमन्त्रीलाई भने त्यस्ता जनताका समस्याले कतै पनि छोएको देखिएन । डेँगुबारे सदनमा पटक–पटक धेरै सांसदहरूले जिज्ञासा राख्दा पनि स्वास्थ्यमन्त्रीले त्यसको उचित जवाफ दिएन । बरू पञ्छिएर हिँडे । जनता रोगको महामारी सामना गरिरहँदा यादव भने विदेश भ्रमणमा रमाइरहेका छन् । रोममा एक जना राजा थियो – निरो । उनी सङ्गीतका सौखिन थिए । एक दिन रोममा आगलागी भयो । पूरै रोम खरानी भयो । तर, राजा निरो भने दरबारको तलाउ छेउ बसेर बाँसुरी बजाइरहेका थिए । हाम्रो स्वास्थ्य मन्त्रालयभित्र पनि आज हामी ‘निरो’ देखिरहेका छौँ । टेकु अस्पताललगायत देशभरका अधिकांश अस्पतालमा डेँगुको उपचारको लागि आएका बिरामीलाई राख्ने ठाउँ पुगेको छैन । बाहिर सडकमै उपचार गर्न चिकित्सकहरू बाध्य छन् । तर, मन्त्रीले त्यस्ता समस्या समाधान गर्न तत्काल कदम चाल्न सकेका छैनन् ।
समाजवादी पार्टीको नीतिगत अन्योलका कारण पनि आज यस्तो समस्या झेल्न जनता बाध्य छन् । समाजवादी पार्टी सत्तापक्ष हो भने त्यसैअनुसारको भूमिका खेलिनु आवश्यक छ । प्रतिपक्ष भए मन्त्री छोड्नु उपयुक्त हुन्छ । प्रतिपक्ष विचार राख्ने अनि मन्त्री पद भने नत्याग्नु अवसरवादी राजनीतिको उत्कर्ष हो । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा गैरजिम्मेवार मन्त्रीलाई राख्नु जनताको स्वास्थ्यमाथि नै खेलवाड हो । प्रधानमन्त्री प्रणालीअन्तर्गत देश चलेको हुँदा प्रधानमन्त्री नै सरकारका तमाम कामको लागि जिम्मेवार हुन्छन् । स्वास्थ्यमन्त्रीलाई गति छाडा गरी छोड्नु र त्यसबाट नेपाली जनताले समस्या भोग्नुको दोष प्रधानमन्त्रीले नै बहन गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *