अमेरिकाको छद्म सैन्य बजेट
- असार १२, २०८३
सरोजकुमार साह, नेमकिपा वै. केन्द्रीय सदस्य
माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ्ग विचारधारा जिन्दावाद ! समाजवादी प्रचार अभियानमा सहभागी बनौँ ! भन्ने मूल नाराका साथ सम्पन्न हुन लागिरहेको नेमकिपाको सातौँ महाधिवेशनको पूर्ण सफलताको कामना गर्दछु ।
नेमकिपा माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ्ग विचारधारालाई अङ्गीकार गरी स्थापनाकालदेखि नै देश र जनताको पक्षमा काम गरिरहेको घामजत्तिकै छर्लङ्ग छ ।
तराईमा जमिनदारहरूले किसानहरूलाई विभिन्न नाममा शोषण गर्थे । जमिनदारहरूको शोषण र अपमान सहन नसकेर तराईका विभिन्न जिल्लामा वि.सं. २००८ देखि २०१२—१४ सालसम्म आन्दोलन भएको थियो । प्रतिक्रियावादीहरूको कारण किसान आन्दोलन सफल हुनसकेन । परिणामस्वरुप यहाँका वास्तविक किसानहरूले पुस्तौँ पुस्तादेखि खनजोत गर्दै आएको जमिनमा आफ्नो नाम लेखाउन सकेनन् । नेमकिपाको जनवर्गीय सङ्गठन नेपाल क्रान्तिकारी किसान सङ्घले नेपाली, भोजपुरी र मैथली भाषामा ‘ऐतिहासिक किसान आन्दोलन’ पुस्तक प्रकाशन गरी जनतालाई सचेत पार्ने काम गरिरहेको छ ।
तराईका बहुमत किसानहरूको समस्या समाधानको लागि तराईमा पुनः किसान आन्दोलन उठ्नु आवश्यक छ । नेमकिपाले जमिन जोत्नेको सिद्धान्तअनुसार क्रान्तिकारी भूमिसुधारको पक्षमा आवाज उठाइरहेको छ । यो कुरा यहाँका शासक दल र मधेसी दलहरूलाई अपाच्य भएको छ । यिनीहरूले नेमकिपालाई मधेसविरोधी, भारतविरोधी भनी भ्रामक कुराहरू फैलाइरहेका छन् । तराईमा उपयुक्त सिँचाइको व्यवस्था, पर्याप्त गुणस्तरीय मलखाद् र बिउबिजनको व्यवस्था गराउन नेमकिपाले सडक र सदनमा आफ्ना आवाज बुलन्द गर्दै आइरहेको छ । तर, यो ‘बहिरो’ सरकारले सुनिरहेको छैन । शासक दल र मधेसी दलहरूले यो विषयमा गम्भीरता देखाएका छैनन् । नेमकिपाले बहुमत जनताको पक्षमा आवाज उठाउँदा कसरी मधेसविरोधी हुन्छ ? व्यवहारले नेमकिपा होइन, तराईका शासक दलहरू र मधेसी दल नै मधेसविरोधी रहेको पुष्टि हुन्छ किनभने हरेक मन्त्रिमण्डलमा मधेसका नेताहरूको उपस्थिति हुँदै आएको छ । यिनीहरू पदमा रहुञ्जेलसम्म बहुमत मधेसी जनताको पक्षमा सिन्को भाँच्दैनन् । सरकारबाट बाहिरिएपछि जनताको कुरा गर्ने गर्छन् ।
भारतले नेपालको ठाउँ—ठाउँमा सिमाना अतिक्रमण गर्नुका साथै तराईका विभिन्न स्थान डुबान हुने गरी तटबन्धहरू निर्माण गरेको छ । यसबारेमा मधेसी दल र शासक दलहरूले एक शब्द बोल्न सकेका छैनन् । यसबाट स्पष्ट हुन्छ, यिनीहरू भारतीय विस्तारवादका दलाल हुन् ।
तराईमा अन्धविश्वास, बोक्सा—बोक्सी, दहेज प्रथा, छुवाछूतलगायतको नाममा यहाँका गरिब जनता शोषित पीडित हुनुका साथै अनाहकमा धेरैले ज्यान पनि गुमाएका छन् । यस्ता विकृति र बिसङ्गतिहरू दिन प्रतिदिन मौलाउँदै गइरहेको छ । अन्धविश्वासको विरुद्धमा वर्तमान नेकपा सरकारले कुनै ठोस कदम चालेको देखिंदैन ।
मधेसमा अहिले जातीय र क्षेत्रीयजस्ता साम्प्रदायिक राजनीति भइरहेको छ । जातीय र क्षेत्रीय राजनीतिले भोलिको दिनमा नराम्रो परिणाम आउनसक्ने भएकोले नेमकिपाले वर्ग सङ्घर्षमार्फत जनतालाई सचेत पार्ने काम गरिरहेको छ । नेकपा नेतृत्वको सरकारले कम्युनिस्टहरूको नाममा जनतालाई ठग्ने र धोका दिने काम गरिरहेको छ । यी धोकेबाजहरूबाट हामी सचेत रहनुपर्छ । नेमकिपाको अभियानमा यहाँहरूको सक्रिय सहयोग, साथ र समर्थनको अपेक्षा गर्दछु ।
Leave a Reply