भर्खरै :

संरा अमेरिकाले सम्झन नचाहेको अर्काे एउटा ‘सेप्टेम्बर –११’ – ८

फासीवादी सत्ताकब्जाको दिन र त्यसपछि
भिक्टर जारा
११ सेप्टेम्बर, १९७३
सदाको बिहानभैmँ त्यो बिहान पनि म सखारै ब्युँझे । भिक्टर अझै निदाएकै थियो । म चुपचाप उठँे र चाँडै विद्यालय जाने तयारी गर्न मान्युलालाई उठाउनतिर लागेँ । चमेना सकाएर मान्युला र म विद्यालय जान तयार भयौँ । कारबाट जाँदा विद्यालय त्यति टाढा होइन तर आकलझुकलमात्र भेटिने सार्वजनिक यातायातका साधनमा जान गाह्रो थियो । सौभाग्यवश हामीसँग थोरै पेट्रोल बचेको थियो । बाटो सुनसान प्रायः थियो, बाहिर निस्कने हामीमात्र हौँ कि भन्ने भान भइरहेको थियो । किराना पसलमा पाउरोटी किन्न बिहानै बाहिर निस्कने घरमा काम गर्ने महिलाहरू (मेड) बाहेक सबैले घरभित्रै बस्ने निर्णय गरेजस्तो महसुस गर्दै थियौँ । एलेण्डेको कार आफ्नो नियमित सुरक्षा व्यवस्थासहित अभेनिदा कोलोनतर्फ हुँइकिएको खबर लिएर मोनिका घर फर्किन् । राष्ट्रपतिको आगमन सामान्य समयभन्दा चाँडो थियो । पाउरोटीका लागि लाइन बसेका र पत्रिका पसलमा अखबार पढिरहेका मानिसहरू त्यो बिहानको अवस्था देखेर लख काट्दै थिए – आज पक्कै केही हुँदैछ ।
मान्युएल डि सालास विद्यार्थीहरूले भरिभराउ थियो । त्यहाँ बन्दको कुनै सङ्केत थिएन । त्यहाँका विद्यार्थीहरूमध्ये थोरैका परिवारमात्र पपुलर युनिटी पार्टीका समर्थक थिएनन् । घर फर्किदै गर्दा बाटोमा मैले कारको रेडियो खोलेँ र भाल्पारायसो क्षेत्रमा आवतजावत गर्न रोक लगाइएको समाचार सुनेँ । सिपाहींहरूको सक्रियता अस्वभाविकरूपमा बढिरहेको थियो । मजदुर सङ्गठनहरूले सबै मजदुरहरूलाई आ–आफ्ना कार्यस्थलमा भेला हुन आकस्मिक उर्दी जारी गरेका थिए ।
भिक्टरलाई सबै खबर सुनाउन म हतारमा घर पुगेँ । ऊ उठिसकेको थियो र पपुलर युनिटी पार्टीलाई समर्थन गर्ने रेडियो मागालेन्सलगायतका रेडियो सुन्न फ्रिक्वेन्सी बटारिरहेको थियो । ‘त्यो क्षण आए जस्तो छ । साँच्चै सुरु भएछ ।’ हामीले एक–अर्कालाई भन्यौँ ।
त्यो बिहान प्राविधिक विश्वविद्यालयमा गृहयुद्ध र फासिवादको त्रासदीसम्बन्धी विशेष प्रदर्शनी आरम्भ हुँदै थियो । प्रदर्शनीको उद्घाटन समारोहमा भिक्टरले गीत गाउने कार्यक्रम पनि निर्धारित थियो । समारोहमा एलेण्डेले सम्बोधन गर्ने कार्यक्रम पनि थियो । मैले भनेँ ‘त्यो कार्यक्रम पनि हुँदैन होला ।’ ‘तर म त्यहाँ जान्छु । तिमी गएर विद्यालयबाट मान्युलालाई लिएर आउनु । यस्तो बेला तिमीहरू सबै घरमा हुनु जाती हुनेछ । म खासमा के भइरहेको छ बुझ्न केही टेलिफोन कल गर्छु ।’ भिक्टरले भन्यो ।
म आँगनमा निस्किँदा हाम्रा छिमेकीहरू पनि आ–आफ्ना आँगनमा जम्मा भइरहेका थिए । उनीहरू उत्साहित भएर ठूल्ठूलो स्वरमा बोलिरहेका थिए । भनौँ उनीहरूले उत्सव मनाउन थालिसकेका थिए । मैले उनीहरूलाई हेर्दै नहेरी खुरुखुरु बाहिर निस्केँ तर कारको ऐनामा त्यहाँ भेला भएका महिलाहरूमध्ये एउटीले बसेर चिलियाली साङ्केतिक भङ्गिमामा मलाई धारे हातले सरापिन् ।
विद्यालय पुग्दा सबै स–साना केटाकेटीलाई घर फर्किने सूचना दिएको जानकारी पाएँ । शिक्षक–शिक्षिका र माथिल्ला कक्षाका विद्यार्थीहरूलाई विद्यालयमै रहने सूचना थियो । म मान्युलालाई लिएर घर फर्केँ । फर्किदै गर्दा बाटोमा मैले रेडियोमा एलेण्डेको सम्बोधन सुनेँ । उनको आवाज त्यति प्रस्ट भने सुनिएको थिएन । मोनेडा दरबारबाट एलेण्डेको आवाज सुन्दा मन अलि ढुक्क पनि भयो ……तर उनको वक्तव्य बिदाई मन्तव्य जस्तो थियो ।
भिक्टर रेडियो सुनिरहेको थियो । पपुलर युनिटी समर्थित सबैजसो रेडियो बन्द भएकाले एकप्रकारको अन्योल पनि व्याप्त थियो । ती रेडियो स्टेसनका एरियल या त बमले ध्वस्त भइसकेका थिए नभए सेनाले त्यहाँ कब्जा जमाइसकेको थियो । एलेण्डेको आवाजलाई सैनिक धुनले विस्थापित गरिसकेको थियो । एलेण्डे भन्दै थिए ‘…… तपाईँहरूलाई सम्बोधन गर्ने पक्कै पनि यो मेरो अन्तिम मौका हो … म कदापि राजीनामा गर्दिन ¤ …. जनताको वफादारिताप्रति म मेरो जीवन अर्पण गर्नेछु ….. हजारौँ–हजार चिलीका जनताको आत्मसम्मानपूर्ण स्वविवेकमा हामीले छरेको बीज त्यति सजिलै नष्ट गर्न नसकिनेमा म विश्वस्त छु…. न त आपाराधिकता न दमनले नै इतिहासको गति रोक्न सकिनेछ । इतिहास हाम्रो हो र जनताले इतिहास निर्माण गर्नेछन् ।….’
आफ्नो मृत्युबारे जानेको एक जना वीर मानिसको भाषण थियो त्यो तर त्यतिबेला हामीले त्यो भाषण टुक्रा–टुक्रामा मात्र सुन्न सक्यौँ । बीचमा भिक्टरको फोन आयो…. मलाई एलेण्डेको भाषण सुन्न गा¥हो भइरहेको थियो ।
भिक्टर घरमा मलाई नै कुरिरहेको थियो ताकि ऊ बाहिर निस्किन सकोस् । मजदुर महासङ्घ(CUT) को उर्दी बमोजिम उसले आफ्नो कार्यस्थल प्राविधिक विश्वविद्यालयमा जाने निर्णय ग¥यो । उसले चुपचाप हामीसँग बचेको पेट्रोलको अन्तिम भाँडो कारमा खन्यायो । कुनै आकस्मिक समयको लागि त्यो पेट्रोल जोगाएका थियौँ । उसले पेट्रोल खन्याइरहँदा हाम्रो एक जना छिमेकी नेशनल एयरलाइन्सका विमानचालकले आफ्नो घरको बालकोनीबाट हेपेर भिक्टरलाई केही भन्यो । जवाफमा भिक्टर मुसुक्क मुस्कुरायो मात्र ।
त्यतिबेला राम्ररी बिदा गर्न पनि असम्भव थियो । यदि त्यसो गरेको भए म उसलाई छोड्ने थिइनँ र कहिल्यै जान दिने थिइनँ । त्यसकारण हामी संयमित थियौँ । ‘ममिता, म सकेसम्म चाँडो फर्किनेछु… तिमीलाई थाहा छ मलाई जानुछ …. धैर्य गर ।’
‘काओ…. ’ भिक्टरलाई बोलाउँदै बाहिर हेर्दा ऊ गइसकेको थियो ।
एउटा सैनिक परेडपछि अर्को परेडको आवाजबीच म रेडियो सुन्दै थिएँ । त्यही बेला मैले सुनेँ, ‘Bando Numero Uno…… Bando Numero Vwo…….’ जनरल अगस्टो पिनोचे नेतृत्वका कमाण्डरहरूले आत्मसमर्पण गर्न एलेण्डेलाई अल्टिमेटम दिईंदै थियो …..मध्य दिनसम्म आत्मसमर्पण नगरे मोनेडा दरबारमा बमबारी गर्ने चेतावनी दिइँदै थियो । ….
जेट विमान बेतोड उडेको गर्जन र विस्फोटनका डरलाग्दो आवाज सुनिँदा बच्चाहरू आँगनमा खेलिरहेका थिए । यस्तो लाग्दै थियो– युद्ध अझ सुरु हुँदैछ …. म हतार–हतार बाहिर निस्केर छोरीहरूलाई घरभित्र ल्याएँ, सबै झ्याल–ढोका ढ्याम्म बन्द गरेँ र बच्चाहरूलाई बाहिर कुनै खेल अभ्यास भइरहेको भनी सम्झाएँ । तर जेट विमानहरू उड्न बन्द भएको थिएन । यस्तो लाग्यो, रकेटहरू हाम्रै माथि नजिकको पहाडमा खस्दै छन् । त्यतिबेला मसँग भएका सबै भ्रमहरू मभित्रै ओइलाएर गएको भान भयो मलाई । हाम्रो अवस्था त्यस्तो थियो भने हामी के नै पो आशा गर्न सक्थ्यौँ र ¤
त्यसपश्चात् हेलिकप्टरहरू आँगनको रूखको टुप्पा छोइएलाझैँ गरी उडाइए । मेरो शयनकक्षबाट मैले ती हेलिकप्टरहरू कुनै स–साना किराहरू उडिरहेजस्तो देखेँ । तिनीहरू एलेण्डेको घरमा मेसिन गन चलाइरहेका थिए । तिनको माथि एउटा विमान घुमिरहेको थियो । हामीले घण्टौँसम्म त्यो विमानको घुमिरहेको पङ्खाको आवाज सुनिरहेका थियौँ । त्यो पक्कै पनि सबै हमला अनुगमन र नियन्त्रण गरिरहेको विमान हुनुपर्छ ।
केही बेरमा टेलिफोनको घण्टी बज्यो । म फोन उठाउन हुत्तिएँ र रिसिभर उठाएँ । भिक्टर बोलिरहेको थियो, ‘ममिता, तिमीहरूलाई कस्तो छ ? मैले फोन नै भेटाइरहेको थिइनँ ….. म यहाँ प्राविधिक विश्वविद्यालयमा छु । …. के भइरहेको छ, तिमीलाई थाहा छ नि ?’ मैले उसलाई बम हमलाबारे भनेँ अनि हामी सकुशल भएको खबर पनि दिएँ । ‘तिमी कहिले घर फर्किन्छौ ?’ मैले सोधेँ । ‘म तिमीलाई पछि फोन गर्छु । यहाँ फोनको काम प¥यो ।’ भिक्टरले भने ।
त्यसपछि रेडियोमा कान जोत्नेबाहेक अरू काम भएन । एउटा सैनिक परेडपछि अर्को परेडबीच लगातारको सैनिक घोषणाहरू । छिमेकीहरू आँगनमा ज्यादै उत्साहित भाकामा कराइरहेका थिए । कोही–कोही एलेण्डेको घरमाथि भइरहेको हमला अझ राम्ररी हेर्न बालकोनीमा थिए । …. उनीहरू बाहिर बसेर पेय पदार्थ घुट्काउँदै थिए …. एउटा घरले त बाहिर झण्डा फहराइहाल्यो ।
हामी मोनेडा दरबारमा बमबारी र आगजनी भएको समाचार सुनिरह्यौँ । …. एलेण्डे बाँचेका छन् कि छैनन् भन्ने विषयमा पीर प¥यो । त्यसबारे केही जानकारी फुकिरहेको थिएन । कफ्र्यु आदेश थोपरियो । हाम्रो हालचाल बुझ्न क्वेनाले फोन गरिन् । मैले भिक्टर घरमा नरहेको, विश्वविद्यालय गएको बताएँ । ‘हे भगवान् ¤’ उनी चिच्याइन् र फोन राखिन् ।
त्यतिञ्जेल सबै फोन कल टेप गरिरहेको अनुमान गरियो तर साँझ ४ः३० बजे भिक्टरले फेरि फोन ग¥यो । ‘मलाई यहीं रहनुपर्ने भयो…. कफ्र्युका कारण फर्किन गा¥हो हुने भयो । म कफ्र्यु खुल्नासाथ भोलि बिहानै घर फर्किन्छु …. ममिता म तिमीलाई प्रेम गर्छु ।’
‘म पनि ¤’ मैले सुक्सुकाउँदै भनेँ तर फोन राखिसकिएको थियो ।
त्यो रात म सुत्न खाटमा त पल्टेँ तर रातभरि आँखा ओभानो रहे । वरपर चारैतिर चुक घोप्टेसरि अँध्यारो थियो, अचानक बन्दुक पड्केको मात्र सुनिन्थ्यो । रातभर भिक्टर सुत्यो कि सुतेन, उसलाई जाडो लाग्यो कि, ऊ जहाँ भए पनि उसले एउटा न्यानो ज्याकेट भेटाओस् भनी कामना गर्दा–गर्दै बिहान भयो । कफ्र्यु फेरि साँझसम्म लम्बिने घोषणा गरियो । भिक्टर विश्वविद्यालय छोडेर कतै कसैको घरमा पुगेको होस् भनी कामना गरिरहेँ ।
अर्को बिहानमात्र कफ्र्यु अन्त्य भयो र घरमा काम गर्ने महिलाहरू पाउरोटी किन्न किराना पसलहरूमा लाइन बस्न गए । तर आज त्यस्ता पङ्क्ति सेनाहरूले मिलाइरहेका थिए । ती सिपाहींहरू जनतालाई बन्दुकको कुन्दाले हान्दै थिए र तर्साउँदै थिए । म भिक्टर घर फर्किने बाटो हेरिरहेँ । उसको कारको आवाज सुन्न मेरा कान व्यग्र थिए । विश्वविद्यालयबाट घर आइपुग्न भिक्टरलाई लाग्ने समयको म लेखाजोखा गर्न थालेँ । प्रतिक्षा गर्दै गर्दा मलाई घरमा सुको पैसा बाँकी नरहेको याद आयो । त्यही भएर म केही घर परको अल्बार्टोको पसलमा गएँ । उसले मसँगको चेक साटिदिने आशा बोकेर त्यहाँ गएकी थिएँ ।
बाटोमा दुई वटा ट्रकले मलाई घुरेर हे¥यो । ट्रक राइफल र मेसिन गन बोकेका सैनिक पोशाक नलगाएका सिपाहीँले खचाखच भरिएको थियो । मलाई लाग्यो– उनीहरू स्थानीय फासिवादीहरू हुन् । जो दिनको उज्यालोमा आफ्ना अँध्यारा गुफामा लुक्न जाँदैछन् ।
अल्बर्टो नराम्ररी डरायो र त्यसको कारण थियो । साता दिन अघिमात्र उनको पसल अघि दुई–चार बम विस्फोट भएको थियो । तर उनी मेरो चेक साटिदिन राजी भए र भिक्टरबारे सोधे । म हतारमा घर फर्कें । बाटोमा पर्ने चिली लोकगीत समूह (Inti-Illi mani) को एक सदस्यकी श्रीमती, मेरी सङ्गीलाई भेट्न गएँ । उनी पनि चिन्ताग्निमा जलिरहेकी थिइन् । श्रीमान युरोपमा गएकाले उनी एक्लै थिइन् । आपसी सल्लाहपश्चात उनी मेरो घरमा मसँगै आइन् र केही दिनसम्म हामीसँगै बस्यौँ । अघिल्लो दिन बिरामी परेकीले उनी काम गर्ने सरकारी विभागमा गएकी थिइनन् । आफू काम गर्ने कार्यालय र सहकर्मीहरूको पीरले उनलाई सताएको थियो ।
सँगै हामीले प्रतिक्षा गरिरह्यौँ तर भिक्टर आएन । चिलीबाट ‘माक्र्सवादी क्यान्सरका जीवाणु उन्मूलन गर्ने’ ढ्वाङ फुकिरहेका सैनिक जनरलका अनुहार टीभीमा हेर्दै गर्दा भाउन्न होला जस्तो भयो । टीभीमा एलेण्डेको निधनको औपचारिक घोषणा फुकिरहेको थियो । मोनेडा दरबार र एलेण्डेको घरका भग्नावशेष बारम्बार देखाइरहेको थियो । एलेण्डेको शयनकक्ष, स्नानकक्ष, अरू बचेखुचेका सबैका रुग्ण अवस्था पटक–पटक प्रशारण गरिंदै थियो । एलेण्डेलाई आतड्ढवादी हमलाबाट जोगाउन उनका अङ्गरक्षकहरूले प्रयोग गरेका हात–हतियारभन्दा फासिवादीहरूले प्रयोग गरेका हतियार ज्यादै विशाल र अत्याधुनिक थिए । त्यो साँझ ढिलामात्र प्राविधिक विश्वविद्यालय कब्जा गरिएको खबर सुनेँ । विश्वविद्यालय परिसरमा सैनिक ट्याड्ढहरू पसेर ठूलो सङ्ख्यामा ‘अतिवादी’ हरूलाई गिरफ्तार गरिएको खबर फैलियो ।
जसोतसो चलेको भए तापनि मेरो जीवन्त हुनुको प्रमाण थियो– टेलिफोन । क्वेनाले भिक्टरबारे सोधखोज गरिरहेको जानकारी पाएँ । मैलेभन्दा उनले सावधानीपूर्वक सूचना पाउन सक्थिन् । सैनिक प्रशासनले भिक्टरलाई चिन्ने डरले म केही गरिहाल्न अनकनाइरहेको थिएँ । म उसप्रति ध्यानाकर्षण गर्न चाहन्नथेँ…. विश्वविद्यालयमा हमला हुनु पूर्व नै भिक्टर त्यहाँबाट निस्किसकेको होस्, म त्यही आशामा थिएँ ।
बुधबारको रात बित्यो, अर्को चिसो रात आयो, सेप्टेम्बर महिनाको ठिहि¥याउने चिसो रात । खाट ठूलो थियो तर रित्तो–रित्तो थियो । मेरो छेउ एउटा पीडादायी शून्यताले राज गरेको थियो । म बेला–बेलामा झसङ्ग ब्युँझन्थेँ । सपनामा मेलै भिक्टरको स्पर्श महसुस गरेँ, उसका न्याना खुट्टा मेरा खुट्टासँग बटारिएका थिए । म झसङ्ग ब्युँझेँमात्र रित्तो अन्धकार र त्रासद पीडामात्र …. मैले भिक्टरसँगका रात सम्झेँ ।
अर्को बिहान, अझ पनि कुनै खबर आएन । प्राविधिक विश्वविद्यालयमा के भएको थाहा हुनसक्ने केही मानिसहरूलाई मैले फोन गरेँ । कसैलाई केही थाहा थिएन …. फेरि क्वेना–उनले विश्वविद्यालयबाट गिरफ्तार गरिएका सबैलाई इस्टेडियो चिलीमा लगिएको पत्ता लगाइन् । त्यो बक्सिङ खेलिने ठूलो हलमा भिक्टरले धेरै पटक गीत गाएको थियो र त्यहीँ गीत मेलाहरू हुने गथ्र्यो । तर क्वेना भिक्टरलाई त्यहाँ लगिएको–नलगिएको विषयमा निश्चित थिइनन् । विश्वविद्यालयबाट गिरफ्तार गरिएका महिला (जसमध्ये अधिकांशलाई रिहा गरिसकिएको थियो) हरूले उनलाई त्यो खबर दिएका थिए …. ती महिलाहरूलाई पुरुष कैदीहरूबाट अलग पारिएकाले भिक्टरलाई अन्य पुरुषहरूसँग लगियो वा लगिएन, निश्चित हुन सकेको थिएन ।
Chile : The Other September 11′ बाट
अनुवादक ः पद्म वान्तवा राई
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *