काठमाडौँ, ८ असोज । नेपाल राष्ट्र बैङ्कले नयाँ साज–सज्जासहित सय रुपैयाँको नयाँ नोट आजदेखि प्रयोगमा ल्याएको छ । केन्द्रीय बैङ्कले चलनचल्तीमा ल्याएको नयाँ नोटमा फरक विशेषता समावेश गरिएको छ । उक्त नयाँ नोटको बायाँतर्फ सगरमाथाको चित्र रहेको छ ।
यस्तै मध्य भागमा नेपालको नक्सा, अशोकस्तम्भको चित्रका साथै, ‘लुुम्बिनी भगवान गौतमबुद्धको जन्मस्थल’ लेखिएको छ ।
यस्तै अशोकस्तम्भसँगै दृष्टिविहीनका लागि नोट पहिचानका लागि छामेर थाहा पाउने कालो थोप्लासमेत समावेश गरिएको छ । बैङ्कका अनुसार अशोकस्तम्भको बायाँतर्फ अण्डाकारभित्र सिल्भर मेटालिकमा मायादेवीको चित्र राखिएको छ ।
दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ । कुल दुई मिलिमिटर चौडा भएको रङ परिवर्तन हुने नोटलाई सीधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो रङको देखिने सुरक्षण धागो राखिएको छ । नोटको मध्य भागमा एकसिङ्गे गैँडाको माऊ र बच्चाको चित्र पनि राखिएको छ ।
चालू आवको पहिलो महिनामै पौने खर्ब विप्रेषण भित्रियो
चालू आर्थिक वर्षको पहिलो महिनामा विप्रेषण आप्रवाह रु. ७५ अर्ब ४० करोड पुगेको छ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ नामक प्रतिवेदनमा विप्रेषण आप्रवाह दुई प्रतिशतले वृद्धि भएको उल्लेख गरेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३३.१ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ०.७ प्रतिशतले वृद्धि भएको छ । बैङ्कका अनुसार अघिल्लो वर्ष यस्तो आप्रवाह २४ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा खुद ‘ट्रान्सफर’ प्राप्ति ०.२ प्रतिशतले वृद्धि भई रु. ८४ अर्ब ९३ करोड पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा त्यस्तो प्राप्ति ३५.३ प्रतिशतले बढेको थियो । अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या समीक्षा अवधिमा १९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा त्यस्तो सङ्ख्या ३०.८ प्रतिशतले घटेको थियो ।

मुलुक शोधनान्तर बचतमा
विगत लामो समयदेखि ऋणात्मक रहेको देशको शोधनान्तर अवस्था चालू आवको पहिलो महिनामा बचतमा पुगेको छ । केन्द्रीय बैङ्कका अनुसार शोधनान्तर स्थिति रु. ६ अर्ब पाँच करोडले बचतमा रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु. २४ अर्ब ७७ करोडले घाटामा थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको पहिलो महिनामा रु. २२ करोड ५० लाखले घाटामा रहेको थियो ।
चालू आवको पहिलो महिनामा पँुजीगत ट्रान्सफर रु. एक अर्ब तीन करोड र प्रत्यक्ष वैदेशिक लगानी रु. एक अर्ब ४४ करोड रहेको छ । अघिल्लो आवको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु. एक अर्ब ७० करोड र प्रत्यक्ष वैदेशिक लगानी रु. २९ करोड ५७ लाख रहेको थियो ।

उपत्यकामा मूल्यवृद्धि
केन्द्रीय बैङ्कका अनुसार उपभोक्ता मुद्रास्फीति काठमाडाँै उपत्यकामा बढी रहेको पाइएको छ । उपत्यकामा ८.६३ प्रतिशतले उपभोक्ता मुद्रास्फीति रहेको पाइएको हो ।
यस्तै तराईमा ६.४६ प्रतिशत, पहाडमा ५.९२ र हिमालमा ५.५७ प्रतिशत मुद्रास्फीति रहेको छ । अघिल्लो साउनमा काठमाडौँ उपत्यकामा ३.४९, तराईमा ४.१४, पहाडमा ५.२६ र हिमालमा २.७४ प्रतिशतले मुद्रास्फीति रहेको थियो ।

७३७ स्थानीय तहमा बैङ्क
राष्ट्र बैङ्कका अनुसार कुल ७५३ स्थानीय तहमध्ये ७३७ स्थानीय तहमा वाणिज्य बैङ्कका शाखा विस्तार भएका छन् । प्रदेश नं १ मा कूल १३७ स्थानीय तहमध्ये १३६ मा बैङ्कका शाखा खुलेका छन् । प्रदेश नं २ का १३६ स्थानीय तहमध्ये १३४, प्रदेश नं ३ का ११९ स्थानीय तहमध्ये ११७, गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ८४ मा ‘क’ वर्गका वाणिज्य बैङ्कको उपस्थिति देखिएको छ ।
यस्तै प्रदेश नं ५ का सबै स्थानीय तहमा वाणिज्य बैङ्कका शाखा खुलेका छन् । कर्णाली प्रदेशको ७९ स्थानीय तहमध्ये ७५ र सुदूरपश्चिम प्रदेशको कुल ८८ स्थानीय तहमध्ये ८२ मा बैङ्कको शाखा खुलेको केन्द्रीय बैङ्कले जनाएको छ ।
राष्ट्र बैङ्कबाट इजाजत प्राप्त बैङ्क तथा वित्तीय संस्थाको सङ्ख्या गत साउन मसान्तसम्ममा १७१ रहेको छ । २८ वाणिज्य बैङ्क, २९ विकास बैङ्क, २३ वित्त कम्पनी, ९० लघुवित्त वित्तीय संस्था र एक पूर्वाधार विकास बैङ्क सञ्चालनमा छन् ।
बैङ्क तथा वित्तीय संस्थाको शाखाका सङ्ख्या गत असार मसान्तमा आठ हजार ६८६ रहेकामा गत साउन मसान्तमा बढेर आठ हजार ८०५ पुगेको छ ।