भर्खरै :

आधारभूत विद्यालयको नृत्य प्रतियोगिता

भक्तपुर । आधारभूत विद्यालय समिति भक्तपुरको शैक्षिक कार्यतालिकाअनुसार सिद्धि शारदा आधारभूत विद्यालयको संयोजनमा विद्यालयस्तरीय नृत्य प्रतियोगिता बुधबार सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगर शिक्षा समितिका कृष्णप्रसाद कर्माचार्यले विद्यार्थीहरूको शारीरिक, मानसिक र बौद्धिक विकासका लागि अतिरिक्त क्रियाकलाप महत्वपूर्ण हुने बताउनुभयो । उहाँले भक्तपुर नगरपालिकाअन्तर्गतका विद्यालयहरूको शैक्षिक क्रियाकलापलाई एकरूपता ल्याउन नगरपालिकाले सामूहिक शैक्षिक कार्यतालिका निर्माण गरी लागू गर्दै आएको जानकारी दिनुभयो ।
आधारभूत विद्यालय समितिका अध्यक्ष दीपक माकले सभापतिको आसनबाट गीत, सङ्गीत तथा नृत्यको माध्यमबाट विद्यार्थीहरूमा देशभक्ति, राष्ट्रियता र नागरिक भावनाको अभिवृद्धि गर्न तथा विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि समितिले विविध गतिविधिहरू गर्दै आएको बताउनुभयो ।
प्रतियोगिताको निर्णायकमण्डलका करुणा राजोपाध्यायले नृत्यका आधारभूत विषयवस्तुहरूबारे जानकारी दिनुभएको सो कार्यक्रममा सिद्धि शारदाका प्रअ धनेशराज राजोपाध्याय, समितिका सचिव सूर्यबहादुर फोजूले पनि बोल्नुभएको थियो ।
प्रतियोगितामा भीम आदर्श आधारभूत विद्यालय प्रथम, दत्तात्रय आवि द्वितीय र ब्रह्मायणी आवि तृतीय भए । त्यसैगरी ज्ञानविजय आवि र चण्डेश्वरी आवि सान्त्वना भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *