भर्खरै :

दसैँ आयो

दसैँ नजिकिंदै छ । परदेशिएका नेपालीहरू स्वदेश फर्किने क्रम क्रमशः बाक्ंिलदै छ । काठमाडौँ उपत्यकाबाट मात्र बीसौँ लाख मानिस आ–आफ्नो घर फर्किने तरखरमा छन् । बजारमा ग्राहकको चहलपहल बढ्दै छ ।
तर, दसैँको मुखमा बजारको भाउ आकाशिएको देख्दा नेपाली जनता भने दसैँ ‘आकाशको फल आँखा तरी मर’ बन्नेमा भयाक्रान्त छन् । जनताले दैनिकरूपमा खाने तरकारीदेखि हरेक कुरामा बजार भाउ अचाक्ली बढिरहेको छ । ७० लाखभन्दा बढी नेपाली युवाहरू विदेशिएपछि नेपाली खेत र बारी बाझा छन् । कृषि उत्पादन घट्दा देशको परनिर्भरता बढ्दो छ । सबै कुरा विदेशबाट ल्याउनुपर्ने बाध्यताका कारण नेपाली जनता आकाशिंदो मूल्यमा सबै सामान उपभोग गर्न बाध्य छन् ।
सरकार रेमिट्यान्सको भरमा देशको अर्थतन्त्र थामिएकोमा खुसी पोख्दै छ । नेपाली युवालाई विदेश पठाउन उत्साहित गर्नुको सट्टा सरकारले नेपालमै रोजगारीको अवसर सिर्जना गरी देशलाई आत्मनिर्भरताको बाटोमा डो¥याउन सकेको भए देशले आजको यस्तो परनिर्भरता भोगिरहनुपर्ने थिएन । दसैँमा आकाशिंदो बजार देखेर आत्तिनुपर्ने थिएन ।
दसैँमा नेपालका बाटाघाटा निकै सक्रिय हुन्छन् । लाखौँ लाख मानिस देशका विभिन्न क्षेत्रमा ओहोरदोहोर गर्छन् । तर, अझै पनि बाटाघाटाको दुरवस्थाका कारण टार्न सकिने दुर्घटनामा परेर मानिसले अनाहकमा ज्यान गुमाउने गर्छन् । राजमार्ग खाल्टाखुल्टीका कारण दुर्घटना बढिरहेको समाचार बाहिरिएका छन् । दसैँमा कुनै अशुभ समाचार सुन्न नपरोस् । सरकारले सवारी दुर्घटनाका कारणहरू रोकथाम गर्न अहिले नै सावधानी अपनाउन जरुरी छ । सवारी चाप व्यवस्थापन गर्नेदेखि सवारीसाधनको प्राविधिक चुस्तताका लागि सरकारले पूर्वतयारी गर्न जरुरी छ । छोराछोरी, आफन्तको बाटो कुरेर बस्ने परिवारजनलाई आँसु उपहार दिन नपरोस्, सरकारले सावधानी अपनाउन जरुरी छ ।
दसैँअघि चोरी र डकैतीका घटना बढ्ने गरेको विगतको अनुभवले बताउँछ । शान्ति सुरक्षामा प्रहरी प्रशासनले विशेष ध्यान दिन जरुरी छ । विमानस्थल, बसपार्क, भारतीय सीमा क्षेत्र, होटेलमा विभिन्न लुटपाट र चोरीका घटना हुने गर्छन् । वर्षौं मिहिनेत गरी जम्मा गरेको धन ठग र चोरको हातमा पर्दा सोझा नेपालीहरू धुरुधुरु रुँदै घर फर्केको कारुणिक दृश्य देख्न नपरोस् । प्रहरीले यस्ता विषयमा विशेष ध्यान दिन आवश्यक छ ।
मादक पदार्थको अत्याधिक सेवनलाई नै दसैँको उत्सवको रुपमा लिने सोचाइ अझै नेपाली समाजमा व्याप्त छ । तर, मादक पदार्थको अत्याधिक सेवन विभिन्न दुर्घटनाका कारण बन्ने गरेको छ । मादक पदार्थको अत्याधिक सेवनलाई नियन्त्रण गरी समाजमा सुव्यवस्था कायम राख्न सरकार जिम्मेवार छ ।
देशका अति दुर्गम क्षेत्रमा अझै खाद्यान्न अभावका समाचार आइरहेका छन् । वर्षभरि आधा पेट खाएर बाँच्न बाध्य त्यहाँका जनताको कम्तीमा दसैँमा पेटभरि खाने चाहना खाद्यान्न अभावका कारण नतुहियोस् । दसैँ कसैको लागि उत्सव त कसैको लागि दसा नबनोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *