जारशाही संसद्मा बोल्शेभिक सांसद–३
- कार्तिक २१, २०८२
–प्रकाश
नेपालको राजनीतिले जनताले अपेक्षा गरेको जस्तो परिणाम कहिल्यै नदिए पनि शासक दलका नेताहरूले बरोबर रोचक नाटक मञ्चन गरेर जनतालाई मनोरञ्जन दिइरहेका छन् । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको सम्भावना बढ्दै गएको समयमा नेपालको सत्तासीन पार्टी नेकपाले चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूको आतिथ्यमा सि जिनपिङ विचारधाराबारे छलफल कार्यक्रमको नाटक मञ्चन गरे । माओ विचारधारा र चिनियाँ विशेषतासहितको समाजवादमा रुचि नै नभएको पार्टीले सि जिनपिङ विचारधाराबारे छलफल चलाउनुलाई नाटकबाहेक अरू के नै भन्न सकिन्छ र ? नेकपाका केही नेताहरूले सि विचारधाराबाट सिकेर नेपालको सन्दर्भमा लागू गर्ने भनी व्यक्त भनाइ सिद्धान्तनिष्ठताको स्वाङबाहेक अर्थोक मान्न सकिन्न । ‘चिनियाँ राष्ट्रपति सिको भ्रमणलाई थप सान्दर्भिक बनाउन’ भनी छलफलपछि नेकपाका नेताहरूले व्यक्त गरेका भनाइले पनि सि जिनपिङ विचारधारा रुचि नै भएर छलफल गरेको होइन बरु आसन्न चिनियाँ राष्ट्रपतिको भ्रमणमा सहयोगका नाममा बढीभन्दा बढी रकम झार्ने अभ्यास हो भन्ने स्पष्ट हुन्छ ।
यस्तैमा नेपाली काङ्ग्रेसका नेताहरूले नेपाली जनताले कम्युनिस्ट शासन ल्याउन भोट नहालेको बताउँदै नेकपाले सि जिनपिङ विचारधारा लागू गर्न खोजेको आरोप लगाए । नेपालको संविधानमा बहुल पार्टी हुने उल्लेख भएको भन्दै उनले चीनमा जनताले मतदान गर्न नपाउने भनी आफ्नो अज्ञानता प्रदर्शन गरे । चीनमा नेतृत्व जनताबीच अत्यन्त लोकप्रिय चिनियाँ कम्युनिस्ट पार्टीले गर्ने भए पनि जनताकै मतले चिकपा र अरू ७ वटा राजनीतिक पार्टीका उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरूसमेत चिनियाँ राष्ट्रिय जनकाङ्ग्रेसको सदस्यमा निर्वाचित हुन्छन् । जहाँसम्म शासन चलाउने वा सरकार बनाउने कुरा छ, सदनमा अत्यधिक बहुमत प्राप्त गर्ने पार्टीले गर्ने प्रचलन निर्विवाद नै हो । चीनको सरकारमा अरू सहयोगी राजनीतिक पार्टीका नेताहरू पनि मन्त्री बन्ने गर्छन् । सरकारमा सहभागी नहुने दलले भने आलोचना र सुझावका आधारमा सरकारलाई सहयोग गर्ने गर्छन् । चीनको समाजवादको विरोध गरेर नेपाली काङग्रेसले आफ्नो वर्गीय धर्म निर्वाह गर्न खोजेको देखिए पनि चीनबारे सही जानकारी नराखी गरिएको विरोध सिद्धान्तनिष्ठताको स्वाङ बढी झल्किन्छ ।
Leave a Reply