भर्खरै :

यस्ता त हाम्रा उच्चपदस्थ कर्मचारी !

– प्रकाश
हाम्रो देशका उच्चपदस्थ कर्मचारीहरू कति असंवेदनशील र बेहोशियार छन् भन्ने कुरा फेरि एकपल्ट उदाङ्गो भएको छ । केन्द्र वा सङ्घीय सरकारको स्वास्थ्य सेवा विभागले बनाएको स्वस्थ मासुको प्रचारमा गाईको तस्वीर राखेपछि सरकारकै समेत चर्को आलोचना भयो । ‘बधशालादेखि भान्छासम्म स्वच्छ र स्वस्थ मासु’ शीर्षकको पोष्टरमा गाई मात्र नभएर पाठोलाई दूध खुवाउँदै गरेको बाख्रीको फोटोसमेत राखिएको थियो । राष्ट्रिय जनावरलाई मासुजन्य पदार्थका रूपमा प्रचार गरेको भन्दै सामाजिक सञ्जालमा पशु सेवा विभागको चर्को आलोचना र विरोध भइरहेको छ । आलोचना र विरोधपछि विभागले गल्ती स्वीकार गरेर माफी त मागिसकेको छ तर यसबाट विभागका महानिर्देशक, निर्देशकलगायत उच्चपदस्थ कर्मचारीहरूको असंवेदनशीलता र गैरजिम्मेवार चरित्र छर्लङ्ग भएको छ ।
राष्ट्रिय जनावर गाईलाई मासुजन्य पदार्थका रुपमा प्रचारित गर्नु विभागको गम्भीर गल्ती थियो । तर, उसले एक वर्षसम्म आफूले गरेको गल्ती थाहा पाएन । भ्यानमा टाँसिएको पोस्टरको कसैले फोटो खिचेर सामाजिक सञ्जालमा हालिदिएपछि भाइरल बन्यो । सञ्चारमाध्यमहरूले पनि प्रश्न उठाएपछि विभागले हतारहतार माफी माग्यो । विभागका प्रवक्ताले नै पोष्टर छापिएर आएपछि आफूहरूको पनि ध्यान नपुगेको स्वीकार गरेका छन् । अहिले दसँैंका लागि यो पोष्टर डिजाइन नभएको र अन्यत्र प्रयोग पनि नभएको विभागले दाबी गरेको छ । तर, उक्त पोष्टर कति थान छापिएको थियो र यसका लागि कति खर्च भएको छ भन्ने चाहिँ विभागले खुलाएको छैन । विभागका कर्मचारीहरूको असंवेदनशीलता र गैरजिम्मेवारीताका कारण उक्त पोस्टर छपाइ खेर गएको हुनाले त्यसमा लागेको लागत खर्च संलग्न र जिम्मेवार हुनुपर्ने कर्मचारीहरूको तलब–भत्ता, सञ्चय कोष वा घर–घरानाबाट असुलउपर गरिनुपर्छ । यस्तो सजाय गरिएमामात्र अन्य विभाग, मन्त्रालय वा कार्यालयहरूले बनाउने प्रचार सामग्रीहरूमा पनि गलत सूचना वा चित्र पर्नबाट जोगिन उच्चपदस्थ कर्मचारीहरूले पर्याप्त ध्यान दिनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *