भर्खरै :

नेकपामा अनुशासनको रित्तो भाषण

सत्तारुढ नेकपाका एक अध्यक्ष पुष्पकमल दाहालले हालै काठमाडौँमा आयोजित केही कार्यक्रममा पार्टी कार्यकर्तामा अनुशासनको कमी भएकोमा चिन्ता व्यक्त गरे । तर, उनको यो चिन्ताले अब नेकपाका कार्यकर्तालाई अनुशासित बनाउन भने सम्भव छैन । नेकपा आज जुन वर्गीय धरातलमा उभिएको छ, त्यो धरातलबाट अनुशासनको अपेक्षा गर्नु र गोरु ब्याउँछ भन्नु उस्तै हुन्छ । खासमा नेकपाको माथिल्लो तहदेखि तल्लो तहका नेतासम्म आज व्यक्तिगत स्वार्थ र स्वार्थबीच सहमतिका कुराबाहेक केही हुँदैन । अहिलेको सरकार जोगिँदा आफ्नो स्वार्थ पूरा हुने भएकाले उनीहरू सरकारको समर्थन गर्छन् । नेकपाको सरकारले नेपालमा समाजवादी वा जनवादी क्रान्ति गर्छ भन्ने आशाले ती कार्यकर्ता पार्टीको पछाडि लागेका होइनन् । यस्तो अवस्थाबारे नेतृत्वले प्रश्न पनि उठाउन सक्दैन किनभने नेतृत्व स्वयम् यस्तै स्वार्थको दलदलमा फसेको छ । अनि कार्यकर्ताबाट नेतृत्वबीच स्वार्थको खेल लुकेको पनि छैन ।
दाहालले नेकपाका कार्यकर्तालाई अहिले अनुशासनको पाठ सिकाउन खोज्नु सिस्नु रोपेर तुलसीको आशा गर्नु हो । कुनै बेला माओवादी विद्रोहमा भावनाले लागेका इमानदार कार्यकर्तासमेत यहाँसम्म आइपुग्दा एमालेको पुँजीवादी रोगबाट सङ्क्रमित भएका छन् । आज ती कार्यकर्ता पनि सरकारलाई उपयोग गरेर सकेसम्म कमाउने धन्दामा लागेका छन् । उनीहरू सकेसम्म हिजोका भावुक दिन सम्झेर आफ्नो दिन खराब गर्ने पक्षमा छैनन् । पञ्चहरू जसरी पञ्चायतकालमा राजाको भक्ति गर्दै आफ्नो दुनो सोझ्याउँथे, आज नेकपाका कार्यकर्ता सकेसम्म सरकारको कुवाबाट पानी उभाउने व्यापारमा लागेका छन् । सिद्धान्त र अनुशासन नक्कली सुनको गहनामा लगाएको जलपजस्तै मात्र भएको छ । त्यसले खासमा न पार्टीलाई अनुशासित बनाउन सक्छ न सिद्धान्तनिष्ठ नै ।
नेकपा आज न असल कम्युनिस्ट पार्टी बन्न सक्यो, न पूर्णतः पुँजीवादी पार्टी नै । उसको आजको वास्तविकता पुँजीवादी राजनीति भए पनि नेता र कार्यकर्तालाई हिजोका दिनको स्मृतिले डस्न भने छोडेको छैन । त्यस्तो पार्टीमा अनुशासन भनेको सत्ताको बुई चढेर सकेसम्म बढी आफ्नो दुनो सोझाउनेबाहेक के नै हुनसक्छ ! नेताहरू स्वयम् नै तस्कर र भ्रष्टाचारीको चङ्गुलमा फसेका छन् । नेताहरूको उठबस नै सत्ताको आडमा देशको ढुकुटीबाट लुट मच्चाउने मानिससँग हुने गरेको छ भने कार्यकर्तालाई अनुशासनको पाठ सिकाउनु अर्को धुर्तता हो ।
अनुशासन र विचार माथिबाट तल प्रवाह हुने गर्छ । नेतृत्व अनुशासित छ बने, कार्यकर्ता अनुशासित बन्ने हो । नेतृत्वअनुसारका उपनेता र कार्यकर्ता हुन्छन् । नेकपाका नेताहरू नै अनुशासनमा बस्दैनन् भने कार्यकर्तालाई अनुशासनको बखान गर्नु पाखण्ड हो । दाहालले आज आफ्ना कार्यकर्तालाई अनुशासनको पाठ पढाउनु त्यस्तै पाखण्डमात्र हो । कार्यकर्ताको अनुशासन पार्टीको सिद्धान्तसँग जोडिएको विषय हो । सिद्धान्त प्रदूषित छ भने कार्यकर्ताबीच अनुशासनको बखान रित्तो भाषणमात्र हुने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *