भर्खरै :

हङकङको अर्थतन्त्रमा खतराको घण्टी

शेन मिङहाओ
तीन महिना लामो आन्दोलन र बारम्बारको हिंसाले हङकङको अर्थतन्त्रमा गम्भीर आघात पुगेको छ । विशेषतः पर्यटन र खुद्रा व्यापारमा यसको असर देखिएको छ । पछिल्लो तथ्याङ्कअनुसार हङकङ भ्रमण गर्ने पर्यटकहरूको सङ्ख्या २४ लाखले घटेको छ । अर्थात् अघिल्लो वर्षको सोही अवधिको तुलनामा झन्डै ४० प्रतिशतले पर्यटकको सङ्ख्या घटेको छ । फलतः हङकङलाई १२ अर्ब चिनियाँयुआन (१ अर्ब ६९ करोड अमेरिकी डलर) बराबरको आर्थिक क्षति भएको छ ।
हङकङका अन्य क्षेत्र पनि नराम्ररी प्रभावित बनेका छन् । उदाहरणको लागि केही बन्दोबस्तीका सामान (लजिस्टिक) उत्पादन गर्ने कम्पनीको व्यापार पनि पछिल्ला महिनाहरूमा ५० प्रतिशतले ओरालो लागेको छ । अगस्ट महिनाको पहिलो पन्ध्र दिनमा हङकङ अन्तर्राष्ट्रिय विमानसेवामा यात्रु अघिल्लो वर्षको तुलनामा ११ प्रतिशतले र सामान ढुवानी १४ प्रतिशतले घटेको छ ।
बन्दोबस्तीका सामान, वित्त, पर्यटन, खुद्रा र विशेष सेवा नै हङकङ विशेष प्रशासकीय क्षेत्रका प्रमुख उद्योगहरू हुन् । त्यहाँको कूल गार्हस्थ उत्पादन (जीडीपी) को २१ प्रतिशत व्यापार र बन्दोबस्तका सामानले ओगटेको छ भने झन्डै २५ प्रतिशत मानिसले ती क्षेत्रमा रोजगारी पाएका छन् । चीनविरुद्ध संरा अमेरिकाले व्यापार युद्ध थोपरेदेखि नै हङकङको कूल गार्हस्थ उत्पादन ओरालो लागेको थियो । हङकङमा भएको आन्दोलनले अवस्था थप गएगुज्रेको बनाएको छ । धेरैले हङकङको अर्थतन्त्र प्राविधिक मन्दीमा जाने हो कि भनी चिन्ता पोखेका छन् ।
हङकङका प्रमुख उद्योगमा आन्दोलनले पारेको प्रत्यक्ष प्रभावले अन्यत्र क्षेत्रलाई पनि प्रभावित बनाउन सक्छ । छोटो अवधिमा हङकङको पर्यटन उद्योगले ठूलो क्षति बेहोर्नुप¥यो । पर्यटन उद्योग र त्यससँग सम्बन्धित अन्य उद्योगका २ लाख ५० हजारभन्दा बढी मजदुर र उनीहरूका परिवार प्रभावित भए । दीर्घकालीनरूपमा हङकङको अस्तव्यस्त समाज र सुस्त अर्थतन्त्रको वास्तविक सिकार भने तीन महिना लामो आन्दोलनमा सहभागी बनेका युवाहरू नै हुनेछन् ।
हङकङको असमान आन्तरिक अर्थतन्त्र विशेषतः धनी र गरिबबीच बढ्दो खाडलको कारण हिंसात्मक प्रदर्शन भएको हो । हङकङको धनी र गरिबबीचको धनको असमानताको नापो गर्ने सूचाङ्क गिनी कोफिसेन्ट सन् १९७१ मा ०.४३ थियो भने सन् २०१६ सम्ममा ०.५४ पुगेको छ । वास्तवमा हङकङको कूल जनसङ्ख्या ७० लाख छ । उनीहरूमध्ये दस लाख मानिस गरिब छन् ।
हङकङको दोस्रो प्रमुख उद्योग भएर पनि वित्तीय क्षेत्रले त्यहाँको कूल जनसङ्ख्याको ५.५ प्रतिशत मानिसलाई मात्र रोजगारी दिएको छ । जबकि वित्तीय क्षेत्रले त्यहाँको जीडीपीको झन्डै १७.७ प्रतिशत ओगटेको छ । हङकङका निकै कम मानिसले मात्र धेरै आम्दानी गर्ने वित्तीय क्षेत्रमा रोजगारी पाउने गर्छन् । त्यसकारण हङकङका अधिकांश युवाहरू आफ्नो जीवनवृत्ति र सामाजिक प्रगतिप्रति निराश छन् ।
निकै आम्दानी भएको क्षेत्रमा सीमित अवसर र हङकङको औद्योगिक संरचनाबीच केही सम्बन्ध छ । तेस्रो औद्योगिक क्रान्तिको समयमा हङकङले प्राविधिक उद्योगको विकासलाई बेवास्ता ग¥यो । घरजग्गा (रियल स्टेट) र वित्तीय क्षेत्रमा मात्र हङकङको ध्यानकेन्द्रित रह्यो । हङकङबासीले उच्चप्राविधिक उद्योग विकासलाई गति दिएको परियोजना मानेको साइबर पोर्ट परियोजना समेत अन्ततः घरजग्गा कारोबारमा परिणत भयो । विकासको बहुमूल्य अवसर छोप्न नसक्दा हङकङका युवाहरू उज्यालो भविष्यबाट बञ्चित बने ।
मूलभूमि चीनले हङकङलाई अन्तर्राष्ट्रिय व्यापारिक केन्द्र बनाउन निकै महत्वपूर्ण भूमिका निभाएको छ । हङकङको शेयर बजारको ७० प्रतिशतभन्दा बढी पँुजी चिनियाँ मूलभूमिको हो । हङकङका सूचीकृत ६० प्रतिशतभन्दा बढी कम्पनीहरूको स्वामित्व मूलभूमि चीनसँग छ । समुद्री किनाराका कुनै पनि आर्थिक केन्द्रको लागि गतिशीलता र सुरक्षा निकै महत्वपूर्ण हुन्छ । जसको अर्थ हङकङको वित्तीय क्षेत्रको लागि राजनीतिक र आर्थिक अस्थिरता निकै घातक हुनसक्छ ।
हिंसात्मक आन्दोलनले अन्तर्राष्ट्रिय वित्तीय केन्द्रको रुपमा हङकङको छविलाई अहिले नै धमिल्याइसकेको छ । त्यहाँको सामाजिक अस्थिरता अझ चालू रहे त्यहाँको पुँजी अन्य विश्व वित्तीय केन्द्रमा स्थानान्तरण हुनेछ । जसले अर्थतन्त्रमा ठूलो खती हुनेछ ।
हङकङ सरकारले केही कर छुट गरेर छोटो समयमा नै अर्थतन्त्रमा ठूलो प्रगति ग¥यो । अब दीर्घकालीनरूपमा हङकङ सरकारले विद्यालय र कलेजका पाठ्यक्रममा देशभक्तिपूर्ण विषयवस्तु समावेश गरी समाजलाई पुनः एकता गर्न आवश्यक थियो । साथै आफ्नो छवि अझ पुनः उँचो बनाउन औद्योगिक नीति–नियम र सामाजिक अनुगमनलाई बलियो बनाउन जरुरी छ ।
आर्थिक विकास र समृद्धिका लागि अरू अर्थतन्त्रको अघि बढेको प्रणाली र अनुभवबाट सिक्ने जरुरी छ । मूलभूमि चीनले त्यही ग¥यो र अभूतपूर्व गतिमा विकास गर्न सफल भयो । त्यसैगरी हङकङले मूलभूमि चीन र अन्य अर्थतन्त्रबाट पनि सिक्न जरुरी छ । त्यसो गरे हङकङले आर्थिक रुपमा मात्र होइन, सामाजिक विकासमा पनि गति लिनेछ ।
हङकङले ग्वाङदोङ–हङकङ–मकाउ बृहत् तटीय क्षेत्र निर्माणमा सक्रियतापूर्वक सहभागी बन्नुपर्छ । हङकङले आफ्नो अग्रगति पुनः हासिल गर्न मूलभूमि चीनको अर्थतन्त्रसँग एकाकार हुनुपर्छ ।
(लेखक ग्वाङदोङ अन्तर्राष्ट्रिय अध्ययन विश्वविद्यालयअन्तर्गत ग्वाङदोङ–हङकङ–मकाउ बृहत् तटीय क्षेत्र अध्ययन प्रतिष्ठानका निर्देशक हुनुहुन्छ ।)
स्रोतः चाइना डेली
नेपाली अनुवादः सुशिला

Leave a Reply

Your email address will not be published. Required fields are marked *