भर्खरै :

हल्ला गरेर सच्चाइ खोज्ने ?

– मेरिना शाक्य
नेकपाका नेताहरूमा ठूला दलको अभिभानीको पारो चढेको चढेकै छ । कामभन्दा गफको हल्ला गरेर सच्चाइ खोज्ने नेकपाका नेताहरूको नानीदेखिको बानी भइसकेको छ । त्यो दल धाक–धम्की दिने, यथार्थलाई बढाइ–चढाइ गर्ने, लोभलालच देखाउने र अरू दलको विचार र सल्लाहलाई बेवास्ता गर्ने सामन्ती चिन्तन रहेको दलको रूपमा देखिएको छ ।
यस्तो अभिमानी अभिव्यक्ति केपी ओलीको मात्र होइन पुष्पकमल दाहालमा पनि देखिएको छ । नेपालमा नेकपा एउटामात्र रहने नेकपाका एक अध्यक्ष दाहालको अभिव्यक्ति अभिमानीको पछिल्लो दृष्टान्त हो । उनले एक समयमा नेकपा संसारकै सबभन्दा ठूलो र शक्तिशाली पार्टी भएको दाबी गरे । नेकपाको सिद्धान्त र विचारअनुसार एउटा सिन्को नभाँच्ने नेकपाका नेताहरू नेकपा संसारकै लागि उदाहरणीय दल हुने कुरा भन्न पछि परेनन् ।
नेकपाले कम्युनिस्ट पार्टीको सिद्धान्त र विचारअनुसार बहुमत जनताको हित या पक्षमा काम गर्नुपथ्र्यो भन्ने आवाज शोषित–पीडित जनताको हो । पार्टीको सिद्धान्त र विचारअनुसार काम कुनै नगर्ने तर हल्ला गर्न पछि नपर्ने नेकपाको चरित्रजस्तै भएको छ । दुईतिहाइ मत प्राप्त गरेको नेकपाका नेताहरूको धाक–धम्कीले त नेकपाले कम्युनिस्टको सिद्धान्त र विचारअनुसार काम गरेर देखाउनुपर्ने हो । तर त्यो लक्षण हालसम्म देखिएको छैन । कम्युनिस्टको खोल ओढेर कम्युनिस्टविरोधी अर्थात् पुँजीपति वर्गकै पृष्ठपोषण गर्ने नेकपा जति ठूलो र बलियो भए पनि त्यति बदनाम भइरहेको छ, त्यो दल नक्कली कम्युनिस्ट पार्टी रहेको अनुभूति जनतामाझ भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *