भर्खरै :

देशको लागि नेमकिपा आवश्यक

– हर्षबहादुर केसी
असोज १४ को नागरिक दैनिकमा अनन्तराज लुइँटेलको ‘राजधानी सार्ने हो कि ?’ शीर्षकको एक लेख छाप्यो । हजारौँ नागरिक गाडीमा कोचिएर उपत्यकाकै सिंहदरबार पसिरहनुपर्ने बाध्यता, काठमाडौँ यात्रा दिनदिनै समस्याग्रस्त बन्दै गइरहेको, घण्टौँ जामका कारण राजधानी छिर्ने मुख्य नाकामा सधैँजसो सर्वसाधारण यात्रुले सास्ती भोग्नुपरेको, अव्यवस्थित जनजीवन, आपराधिक गतिविधि, दुर्गन्ध र खानेपानी समस्या आदि कारण राजधानी अन्यत्र सार्नुपर्ने लेखक लुइँटेलको तर्क हो । योजनाबद्ध बस्ती, विकास र बाटोको सहज पहुँच तथा राजधानी छिर्ने विभिन्न नाकालाई चालूू अवस्थामा नराख्ने, वातावरणीय सन्तुलनलाई ध्यान नदिने, उपत्यका आवागमन सहज नबनाउने हो भने यो सहर आधुनिक राजधानी बन्न सुहाउँदैन भन्ने उनको ठम्याइ हो ।
काठमाडौँको यस्तै अव्यवस्थित स्थिति, जनसङ्ख्या वृद्धि, खानेपानी अभाव, आपराधिक क्रियाकलाप आदि बढेको देखेरै नेमकिपाले एक दसकभन्दा पहिले नै राजधानी अन्यत्र सार्नुपर्ने आवाज उठाएको थियो । काठमाडौँलाई सांस्कृतिक र राजनीतिक केन्द्र बनाउनुपर्ने नेमकिपाको माग थियो । तर, सरकारले राजधानी पनि सारेन र देशको केन्द्रको रूपमा रहेको काठमाडौँलाई व्यवस्थापन पनि गर्नसकेन । दूरगामी असर पर्ने सम्भावना भएरै नेमकिपाले राजधानी अन्त सार्नुपर्ने कुरा उठाएको हो । त्यसतर्फ सरकारको ध्यान नै गएन ।
नेमकिपाले सम्पदा भएका क्षेत्रलाई सांस्कृतिक नगर, गाउँ या इलाकाको पनि घोषणा गर्न सरकारको ध्यानाकर्षण गरेको हो । प्रदेश विभाजनमा पनि हिमाल, पहाड र तराईको भू–भाग मिलाउनुपर्ने कुरा नेमकिपाले उठाएकै हो । त्यस्तै नेपाल–भारत खुला सीमा नियम गर्नुपर्ने, सीमा अतिक्रमण रोक्नुपर्ने र अतिक्रमित जग्गा फिर्ता गर्नुपर्ने आदि माग नेमकिपाकै हो । नेमकिपाले उठाएको सबै विषय देश र जनतासित सम्बन्धित छ । नेमकिपाले उठाएको विषयमा नेमकिपाको कुनै दलगत र व्यक्तिगत स्वार्थ छैन । नेमकिपाले देश र जनताप्रति समर्पित भएरै सङ्घर्ष गरिरहेको हो । त्यही भएर अन्य दलका नेता र कार्यकर्ताहरूले नेमकिपाले उठाएको आवाजप्रति ऐक्यबद्धता जनाएका हुन् । देशको लागि नेमकिपा आवश्यक भएको बताइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *