भर्खरै :

दसैँ ः अन्धविश्वास र परनिर्भरता

राकस्था
दसैंको उमङ्ग सुरु भएको छ । मालश्री धुन बज्न थालेपछि दसैँ आएको सबैलाई महसुस हुन्छ । दसैँ धार्मिक एवम् सांस्कृतिक परम्पराअनुसार मनाइँदै आएको चाड हो । दसैँ असत्यमाथि सत्यको विजयको प्रतीकको रूपमा मनाइन्छ । समाजमा थिति एवम् पद्धति बसाल्न, समाजमा अनुशासन कायम गर्न र आफ्नो सत्ताको निरन्तरताको निम्ति धर्मको सुरूआत भयो । धर्मले तत्कालीन समाजको आवश्यकता पूरा गर्ने एक हदसम्म सहयोग पनि ग¥यो । मानिसलाई सुसंस्कृत बनाउन धर्मले पनि महत्वपूर्ण भूमिका खेलेकोमा कुनै शङ्का छैन । चोरी नगर्नु, अर्काको सम्पत्तिमा आँखा नगाड्नु, पराई महिलालाई राम्रो व्यवहार गर्नु आदि सन्देश दिई समाजमा सकारात्मक मूल्य र मान्यता स्थापना गर्न प्रयास धर्मले गरेको छ ।
तर, धर्मका सबै आधार वैज्ञानिक छन् भन्ने पनि होइन । विश्व, ब्रह्माण्डदेखि जीवको सृष्टिसमेत ‘ईश्वर’ले गरेको भन्ने बाइबल, कुरान वा पुराणका मान्यता वा प्रचारलाई आधुनिक विज्ञानले मिथ्या प्रमाणित गरेको छ । राजालाई ईश्वरको प्रतिनिधि भनी ईश्वरको नाममा शासन र शोषण गर्ने काम शासकहरूले गर्दै आएका हुन् । ईश्वरको पूजा गरेपछि पाप पनि पखालिन्छ, सारा अनिष्टबाट पार लागिन्छ वा रोगसमेत निको हुन्छ भन्ने कुरामा कुनै वैज्ञानिक आधार छैन । त्यसैले ढुङ्गाको पूजा गरी अमुक भगवान खुसी हुने र शक्ति प्राप्त हुने कुरामा मानिसको विश्वास क्रमशः घट्दै छ । धर्मको प्रयोग गरी शासन टिकाउने सामन्ती व्यवस्थाको जग भत्किँदै छ ।
सांस्कृतिक गतिविधिलाई अन्धविश्वासको धब्बाबाट मुक्त गर्नु आजको पुस्ताको जिम्मेवारी हो । कला, संस्कृति, गीत, सङ्गीत वा मनोरञ्जन मानव जीवनको निम्ति आवश्यक छन्, हिजोदेखि मनाइँदै आएको चाडपर्वका सकारात्मक पक्ष ती पनि हुन् । तर, हिजो जस्तो ढङ्गले मनोरञ्जनको परिभाषा गरियो, त्यस्तै रूपमा चाडपर्व मनाउनुपर्छ भन्ने होइन । आजको वस्तुस्थिति एवम् आवश्यकताअनुसार पनि संस्कृतिको स्वरूप बदलिनु स्वाभाविक हो तर समाजको परिवर्तन चाहने अगुवाहरूले समाजका अँध्यारा पाटाहरूलाई हटाएर अझ परिस्कृत समाज बनाउन अगुवाइ गर्नु जरुरी छ । जनताको चेतना परिवर्तन तत्काल हुन्न । जनतामा रहेको अन्धविश्वास एकैबाजी हट्दैन । साहित्य, कला, सङ्गीतलगायत अन्य सांस्कृतिक गतिविधिले सांस्कृतिक रूपान्तरणको प्रक्रियालाई सजिलो बनाइदिन्छन् ।
ढोङ्गी संस्कार
एउटा कलेजको विज्ञान प्रयोगशालामा ‘दसैँ पूजा’ गर्दा कसो होला ? नेपाल एयरलाइन्सले नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा नयाँ विमान ल्याउँदा पण्डित ल्याएर पूजा गरिएको समाचार सबैले पढेकै हुन् । कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीले सिंहदरबार प्रवेश गर्नुअगाडि कालो बोका बलि चढाएको बारे चर्को टिप्पणी भएको थियो । नेकपाका नेता प्रचण्डले भैँसी पूजा गरेको बारे पनि सामाजिक सञ्जालमा तीव्र आलोचना भएको थियो । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा जोखाना नहेराई कुनै महत्वपूर्ण काम नै गर्दैनन् भन्ने चर्चा छ । अनि दसैँको नाममा विभिन्न विद्यालय र कलेजले पनि बोका वा हाँसको बलि चढाएर आफ्ना गाडीको पूजापाठ गर्दा किन आश्चर्य मान्ने ? भनी सोच्ने मानिस पनि नभएका होइनन् ।
पशु बलि दुई कारणले दिइएको देखिन्छ । एक, मासु खान । अर्को, कलपुर्जायुक्त साधन वा वस्तुको पूजा गरी त्यसको प्रयोगको दौरानमा दुर्घटना नहोस् भन्ने कामना गर्न । पहिलो कारणमा तर्क र आधार छन् । दोस्रो कारणमा कुनै वैज्ञानिक आधार छैन । असल वा राम्रो कामना गर्दा राम्रो परिणाम आउँछ भन्ने मनोवैज्ञानिक कुरा त हुनसक्छ तर कसैको लापरबाही, असावधानी वा अन्य कुनै यान्त्रिक कमजोरीको कारणले सवारी दुर्घटना हुने कुरामा आँखा चिम्लनु उपयुक्त होइन । पूजा आराधना र कुनै प्राणीको बलि चढाउँदैमा कुनै दुर्घटना रोकिने भए नेपालमा कहिल्यै दुर्घटना नहुनुपर्र्ने हो ! किनभने, नेपालमा कुनै यस्तो गाडी वा ठूला औजार नहोलान् जसको पूजा नगरिएको होस् । बलि चढाएर दुर्घटना हुँदैनथ्यो भने दुर्घटनालाई नै कमाइ खाने भाँडो बनाउने लुटेरा निजी अस्पताल र बीमा कम्पनीले बलिप्रथाको धुवाँदार विरोध गर्थे होलान् । नक्कली भिक्षु बनेर प्राणीहिंसा बन्द गर्ने ‘अभियान’ चलाउँथे होलान् !
सामान्य मानिस वा संस्थाले यस्ता कर्म गर्दा त त्यति ठूलो चिन्ताको विषय हुँदैन । नास्टका वैज्ञानिकले साइत हेराएर आफ्नो अनुसन्धान थाले के होला ? अदृश्य शक्तिको आस र त्रासमा हुने यस्ता गतिविधिले समाजलाई अगाडि बढ्न दिएका छैनन् । ईश्वरको भजन गाएर रोग निको होला, सम्पन्न भइएला, दीर्घायु वा विद्वान – विदुषी होइएला भन्ने दृष्टिकोण अवैज्ञानिक र निराधार छ । समाजलाई बाटो देखाउने मान्छेसमेत यस्ता संस्कार र संस्कृतिमा लिप्त हुँदा समाजले चाँडो परिवर्तन गर्नसक्दैन ।
मासु ः यसको फाइदा र परनिर्भरताको प्रश्न
दसैँमा २०–२५ अर्ब रुपैयाँ मासुमा खर्च हुने गरेकोे छ । दसँै तिहारमा मात्र वर्षको २०–२५ प्रतिशत मासु खपत हुन्छ । यसको अर्थ नेपाली एक महिनामा धेरै र बाँकी ११ महिनामा थोरै मासु खान्छन् । यसले पाउँदा धेरै, नपाउँदा नखाने प्रचलन भएको देखाउँछ । दसैँमा नेपालीले बिहान, दिउँसो र बेलुकी तीन छाकै मासु खाने गरेको पाइन्छ । पाँच जनाको परिवारले पनि एउटा खसी वा बोका काट्ने, अनेक देवीको नाममा कुखुरा चढाउने आदि अभ्यासबाट मासु आवश्यकभन्दा बढी खपत हुनजान्छ ।
मासु मूलतः प्रोटिनको स्रोत हो । प्रोटिन शरीरका कोषहरूको निर्माणको निम्ति आवश्यक हुन्छ । बढ्दोे उमेरका केटाकेटीलाई यो तुलनात्मकरूपमा बढी चाहिन्छ । प्रोटिन धेरै खाँदैमा शरीरको निम्ति उपयोगी हुन्न । प्रोटिन शरीरले आवश्यक मात्रामा मात्र शोषित गर्छ । बढी खाएको प्रोटिन युरिया र युरिक एसिडको रूपमा पिसाबबाट निष्काशित हुन्छ । फेरि, प्रोटिनको स्रोत मासुमात्र होइन । गेडागुडी, दाल, भटमास आदि प्रोटिनको राम्रा स्रोत हुन् । विज्ञानअनुसार मासुभन्दा वनस्पतिको प्रोटिन स्वस्थकर हुन्छ । बजारमा तुलनात्मकरूपमा मासुभन्दा वनस्पतिजन्य प्रोटिन सस्तो पनि छ । सामान्य दालभात, तरकारी, दूध र एकथरी गेडागुडी खाँदा शरीरलाई चाहिने प्रोटिनको आवश्यकता पूर्ति गर्छ । वनस्पतिजन्य प्रोटिन सस्तो पनि पर्छ ।
सबभन्दा उदेकलाग्दो कुरा त नेपालमा खपत हुने कुल मासुको कम्तीमा २५ प्रतिशत भारतबाट आयात हुन्छ । नेपालजस्तो कृषिप्रधान भनिएको मुलुकको निम्ति यो तथ्य अप्रितिकर त छँदै छ, त्यसमा पनि अनावश्यक मासु खानको निम्ति विदेशी मासु आयात गर्दै छौंँ । देखावाको निम्ति पशुबलि दिइन्छ र नेपाली रुपैयाँ अनावश्यकरूपमा बाहिरिन दिइन्छ भने हाम्रो अर्थतन्त्र कसरी सबल हुन्छ ?
आयो दसैँ ढोल बजाई ….. !
नेपालीमा एक चर्चित भनाइ छ, आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई । यो पुरानो उखान आज पनि अधिकांश नेपालीको निम्ति सान्दर्भिक हुनु हाम्रो निम्ति विडम्बना हो । वर्षमा एकपटक आउने चाड पनि चैन र आरामपूर्वक वा निर्धक्क मान्न नपाउनु अत्यन्तै दुःखद छ ।
प्राकृतिक स्रोत साधनको हिसाबले अत्यन्तै समृद्ध भएर पनि नेपाली अत्यन्तै गरिब रहँदा दसैँजस्तो पर्व थप भार बनेको छ । कतिले ऋण लिई दसैंँको गर्जो टारेका हुन्छन् । सामान्य जनतालाई दसैँको रौनकले त्यति छुँदैन । कसरी पेट पाल्नेमै तिनको चिन्ता हुन्छ । तिनमा छोराछोरीलाई नयाँ लुगा किन्न नसकेको पिरलो हुन्छ । जनता आज पनि कष्टकर जीवन जिउन विवश छन् । जनताको भनाइ छ, राज्य आश्वासनमात्र दिन्छ, काम गर्दैन । कति जनताको सबै सम्पत्ति बाढीले बगायो । बेसहारा जनता राहतको चामलका भरमा छाक टार्दै छन् । सरकारले आश्वासन दिएको अनुदान रकम पाएका छैनन् । अपाङ्ग, ज्येष्ठ नागरिकको दैनिक जीवन झन् कष्टकर बनेको छ । बजार भाउमाथि कुनै नियन्त्रण छैन । दैनिक उपभोग्य वस्तुको मूल्य अकासिंदै छ । सर्वसाधारणको आम्दानी न्यून छ, श्रम शोषणको स्थिति विकराल छ । श्रमिकले उचित ज्याला पाउँदैनन् । कृषि उत्पादन बढेको छैन, भएको उत्पादनको मूल्य पनि किसानले पाउँदैनन् ।
नेपालीको गरिबीको कारण उत्पादनको समानुपातिक वितरण नहुनु नै हो । स्रोत र साधनमा मुठीभर शासक वर्गको हालिमुहाली छ । पुँजीपति वर्गले मजदुरको श्रमको भरमा पुँजी विस्तार गर्छ वा आफ्नो लागतभन्दा दुईतीन गुणा बढी मूल्य राख्छ, बढीभन्दा बढी नाफा कमाउँछ । यही नै पुँजीवादको सार हो । नेपाल भारतीय एकाधिकार पुँजीको पञ्जामा फसिसकेको छ । नेपाली राष्ट्रिय पुँजीपति वर्गसमेत उठ्न नसक्ने अवस्था सृजना भएको छ । देश परनिर्भरताको दलदलमा फसेको छ । नेपालीको निम्ति दुःखबाहेक केही नरहेको अवस्था छ । यस्तो अवस्थामा दसैँजस्तो सांस्कृतिक पर्व थप ऋण बोकाउन अभिशप्त हुने नै भयो । यो निकै संवेदनशील विषय हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *