नेपालीहरू भारतविरोधी होइनन् – २
- कार्तिक १२, २०८३
‘के निहुँ पाऊँ, कनिका बुकाऊँ’ भन्ने नेपाली उखान केही दिनदेखि देशको राजनीतिक दबुमा चर्चाको विषय बनेको छ । केही चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूद्वारा ‘सी चिनफिङको विचारधारा’ बारे ‘कक्षा सञ्चालन’ को विषयलाई लिएर संरा अमेरिकी राजदूतले नेपाली नेताहरूलाई भेट्न गएको वा चासो र चिन्ता प्रदर्शन गरेको समाचार जनताले पढे ।
२०४८ सालको पहिलो संसद्को बेला केही अमेरिकी स्नातक युवाहरू आई संसदीय समितिहरूका पदाधिकारीहरूलाई तालिम दिएका थिए । तिनीहरूले संरा अमेरिकी प्रतिनिधिसभा (कङ्ग्रेस) को ‘समितिको बन्दोबस्त’ (कमिटी सिस्टम) बारे जानकारी दिए । छलफलको सिलसिलामा नेपाली माननीयज्यूहरूले टिप्पणी गरे – नेपालको संसदीय बन्दोबस्त बेलायती शैलीको र पूर्ण बैठकमा लामो समय छलफल गर्ने बन्दोबस्त छ । तर, अमेरिकी समितिको बन्दोबस्तमा २०–२५ जना सांसदहरूको माझमा मात्रै छलफल र निर्णय गरी पूर्ण बैठकले पारित गर्ने चलन छ । यसकारण नेपालको संसदीय समितिको बन्दोबस्त अमेरिकी गणतन्त्रात्मक र सङ्घात्मक बन्दोबस्तसँग मूलतः फरक थियो ।
छलफलमा नेपालका राजनीतिशास्त्रका विद्यार्थीहरूले बेलायत, संरा अमेरिका, स्वीट्जरल्यान्ड, सोभियत सङ्घ, फ्रान्स, भारत आदि देशका संविधान र संसदीय कार्यशैलीको अध्ययन र अध्यापन गरिसकेकाले नेपालका ज्येष्ठ सांसद र नेताहरूलाई अमेरिकी युवा स्नातकहरूको कक्षा सञ्चालन उपयुक्त नहुने सम्झिइयो र कक्षा बन्द भयो ।
पछि संसदीय कार्यशैलीबारे अनेक अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) हरूले पनि तालिम सञ्चालन गरेका थिए । त्यसबारे खास राजनैतिक मञ्चमा चासो र चर्चा भएन बरु एक प्राज्ञिक छलफलको रूपमा लिइयो र सेलायो ।
तर, सी चिनफिङको विचारधाराबारे अमेरिकी चासो र चर्चा ‘तातोपानीले घर डढाउने’ एक नेपाली उखानसँग मिल्दो देखियो । त्यसबारे चिनियाँ राजदूतले ‘चीन मित्रराष्ट्रहरूको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने’ र ‘चीनले विचार निर्यात गर्दैन’ भन्ने आशयका वक्तव्य दिए ।
यसको अर्थ के संरा अमेरिकी पक्षले त्यस विषयबारे नेपालमा ठूलै हो–हल्ला गर्न खोज्दैछ (?) भन्ने प्रश्न उठ्दैछ । अमेरिकी राजदूतलाई थाहै होला, नेपालका पाठ्यक्रम र पाठ्य सामग्रीहरूमा ‘अमेरिकी स्वतन्त्रता आन्दोलन’ र ‘अमेरिकी संविधान’ अध्ययन गराइन्छ । तर, चीनको भूगोल, इतिहास र राजनीतिबारे सङ्क्षिप्त मात्रै अध्ययन गराइन्छ । नेपालको पाठ्यपुस्तकमा पहिले बेलायतको भूगोल र इतिहास, भारत र नेपालको भूगोल र इतिहास सँगसँगै पढाई हुन्थ्यो । तर, त्यसबारे कुनै पनि प्रकारको कोकोहोलो हुँदैनथ्यो ।
अर्को महत्वपूर्ण विषय हो – के कार्ल माक्र्स र एँगेल्सको ‘कम्युनिस्ट घोषणापत्र’, ‘पुँजी’ र अन्य रचनाहरू पढ्न र बुझ्न ‘जर्मन विद्वानहरू’ नै नेपाल बोलाउनुपर्ने हो र ? बरु, जर्मनीयाली भाषा र साहित्य अध्ययन गर्न जर्मन गुरूहरू ल्याउनु तुलनात्मकरूपले राम्रो मानिएला !
त्यस्तै, लेनिन र स्तालिनको रचना पढ्न नेपाली अध्येताहरूले रूसी भाषाबाटै अध्ययन नगरी नेपाली, हिन्दी र अङ्ग्रेजीको अनुवादबाट जानकारी लिएका थिए । अरू आश्चर्य त के हो भने माओ त्से तुङ विचारधाराबारे नेपाली युवा कम्युनिस्टहरू चिनियाँ भाषामा होइन बरु दिल्लीको ‘पिपुल्स पब्लिसिङ हाउस’ को रामविलास शर्माजीको हिन्दी अनुवादबाट दीक्षित भएका थिए । साथै, ‘माओ त्से तुङको जीवनी’ र चिनियाँ क्रान्तिको जानकारी नेपाली र संसारका जिज्ञासुहरूले अमेरिकी पत्रकार एड्गर स्नोको ‘चीनको आकाशमा रातो तारा’ बाट आफ्नो बौद्धिक तृष्णा मेटाएका थिए । त्यस्तै, रूसी अक्टोबर क्रान्तिबारे अमेरिकी पत्रकार जोन रिडको ‘संसारलाई हल्लाउने ती दस दिन’ बाटै संसारले जानकारी पाएको थियो । तर, सी चिनफिङको विचार पढ्न नेकपाका नेताहरूले चिनियाँ नेता र विद्वानहरूबाट जानकारी लिए पनि नेपाली भाषाकै पुस्तकबाट लाभान्वित भइरहेका छन् – नेपाली जिज्ञासुहरू । त्यस्तो ‘कक्षा’ स्वार्थी, भ्रष्टाचारी र पाखण्डीहरूको निम्ति ‘भालूलाई पुराण’ साबित हुनेछ ।
Leave a Reply