नेपालीहरू भारतविरोधी होइनन् – १
- कार्तिक ११, २०८३
भक्तपुर, १७ असोज । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा ख्वप कलेज तथा शारदा क्याम्पसको आयोजनामा शुक्रबार शुभकामना कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा अध्यक्ष रोहितले नेमकिपाले जनतालाई राजनीतिकरूपले शिक्षित गर्न माक्र्सवादी साहित्य र विभिन्न अन्तर्राष्ट्रवादी कम्युनिस्ट नेताहरूको जीवनीलाई प्रकाशन गर्दै आएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “क्रान्तिकारी प्रचार सामग्री कागजको खोस्टामात्र नभई क्रान्तिको बीउ हो । यसले समयकालपछि बेथिति र निरङ्कुशताविरूद्ध बम–बारूद बनेर क्रान्तिको ज्वारभाटा उठाउन सहयोग गर्नेछ ।”
“समाजमा आमूल क्रान्तिको लागि अगाडि बढ्ने असल मान्छेको उद्देश्यलाई विफल बनाउन प्रतिक्रियावादीहरूले अन्तिम हदसम्म बाधा–व्यवधान खडा गर्नेप्रति सचेत भई क्रान्तिकारीहरू उद्देश्य प्राप्तिमा अविचलित भई अगाडि बढ्नु आवश्यक छ”, अध्यक्ष रोहितले भन्नुभयो ।
‘रातो झण्डा खसाल्न रातो झण्डा उचाल्ने’ काम सत्तामा गएका पार्टीहरूले गरिरहेको स्पष्ट पार्दै अध्यक्ष रोहितले नेमकिपाका कार्यकर्ताहरूलाई विभिन्न लोभलालच देखाई पथभ्रष्ट गर्ने काम नेकपाले गरिरहेको छ भन्नुभयो ।
“जन्मको आधारमा र आमाको नाममा नागरिकता दिएकै कारण तराईको जनसङ्ख्या २७ प्रतिशतबाट बढेर ५२ प्रतिशत पुगिसकेको छ । यो भारतीय विस्तारवादको योजनाअनुसार नै भएको हो”, उहाँले भन्नुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख एवम् ख्वप कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले असोज २३ र २४ गते हुने राष्ट्रिय स्तरको साहित्य सम्मेलन (तःमुँज्या) मा सहभागी हुन सबैमा अनुरोध गर्नुभयो ।
उहाँले भन्नुभयो, “हाम्रा शैक्षिक संस्थानहरूले प्रमाणपत्र वितरण गर्ने हिसाबले अध्यापन गराउनेमात्र होइन । राम्रोमध्येमा पनि सबभन्दा राम्रो शिक्षा दिने उद्देश्यले सबैले मेहनत गर्नु आवश्यक छ ।”
राज्यको हरेक क्षेत्रमा भ्रष्टाचार व्याप्त रहेको र भ्रष्टाचारमा जनप्रतिनिधिहरू मुछिएका समाचारहरू सङ्घीयताप्रति व्यङ्ग्य भएको उल्लेख गर्र्दै प्रमुख प्रजापतिले सरकार भ्रष्टाचार, ठेकेदार र माफियाको अगाडि लाचार भएको छ भन्नुभयो ।
नेमकिपाले देश र जनताको निःस्वार्थपूर्वक काम गर्न सिकाएअनुसार भनपाका जनप्रतिनिधिहरूले काम गरिरहेको चर्चा गर्दै उहाँले पैसाले मानिसलाई आत्मसन्तुष्टि नदिने बरु समाज सेवाले आत्मसन्तुष्टि दिन सकिने स्पष्ट पार्नुभयो ।
भनपाका उपप्रमुख एवम् कलेज सञ्चालक समितिका उपाध्यक्ष रजनी जोशीले स्वस्थ जनताले नै देशको सेवा गर्न सकिने भएकोले सबभन्दा पहिला हामी स्वस्थ रहन जरूरी छ भन्नुभयो ।
संस्कृति र संस्कारलाई जोगाउनुपर्नेमा जोड दिँदै उहाँले नेमकिपाको घोषणापत्रअनुसार नै नगरपालिकामा विकास निर्माणका काम भइरहेको बताउनुभयो ।
प्राध्यापक समाज नेपालका अध्यक्ष एवम् नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले राजनीतिको नेतृत्व ‘रोल मोडल’ हुनुपर्छ भन्नुभयो ।
कार्यक्रममा ख्वप कलेजका प्राचार्य रूपक जोशी, उपप्राचार्य डा. राजेशकुमार श्रेष्ठ र इन्चार्ज कमिनिका न्याइच्याईले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो ।
नेमकिपाको सातौँ महाधिवेशनबाट चुनिनुभएका केन्द्रीय पदाधिकारीहरूलाई प्राचार्य जोशीले कार्यक्रममा सम्मान गर्नुभएको थियो ।
Leave a Reply