भर्खरै :

के नेपाल सधैं पछौटे अवस्थामै रहन सक्छ ?

– प्रिती लामा, काभ्रे
जब जब नेपालको छिमेकी देशहरूसित यातायातको सञ्जालमा जोडिने कुरा उठ्छ तब तब एउटा प्रश्न उठाउने गरिन्छ नेपालले निर्यात गर्ने के के ? प्रश्न असान्दर्भिक होइन यसबारे व्यापक छलफल र योजना आवश्यक पनि छ । नेपालको भूगोल पूर्वाधार निर्माणको हिसाबले कठिन अवश्य नै हो तर प्राकृतिकरूपमा नेपाल सम्पन्न वा वरदानसरहको छ । नेपालमा उपलब्ध प्राकृतिक वनष्पतिहरूको मात्र पनि सदुपयोग गर्ने हो भने नेपालीले ठूलो आम्दानी गर्नसक्छ । यस्ता सम्भावनाहरूको बारेमा नेपालमा निकै कम मात्र छलफल भएको पाइन्छ । बिस्तारै नेपालका विभिन्न भागमा विभिन्न नगदेबालीहरूको व्यवसायिक खेती विस्तार हुँदै गएको छ । त्यसरी व्यावसायिक खेती भएका जिल्ला र स्थानका जनताको आर्थिक स्तर उठेको पाइन्छ । उदाहरणका लागि चिया, अलैँची र अदुवा खेती गरिने पूर्वी पहाडका जिल्लामा असमानरूपले नै सही तर आर्थिक स्तर उठेको तथ्याङ्क छ । सुन्तलाको व्यावसायिक खेती गरिएका जिल्लाहरूमा पनि तुलनात्मकरूपमा अन्य जिल्लाको भन्दा आर्थिक स्तर माथि छ । कर्णाली अञ्चललगायत हिमाली जिल्लाहरूमा जडिबुटीहरू र स्याउ खेतीको अपार सम्भाव्यता छ । तराईका सबै जिल्लाहरूमा धान, गहुँ, मकैलगायत अन्न दलहन, तोरी र आलु उत्पादनका लागि उपयुक्त भूमि छन् । यसरी सम्भाव्यता भएका विभिन्न क्षेत्रमा आवश्यक पूर्वाधार निर्माण गर्न नसक्नु र कम लागतमा उत्पादन वृद्धि गर्ने सरकारी योजना नहुनु नै आजसम्मको समस्या हो । यदि सरकारले इच्छाशक्ति राखेर योजना बनाउने हो र इमानदारीपूर्वक कार्यान्वयन गर्ने हो भने नेपालको आर्थिक विकास गर्न केही दसक मात्र लाग्ने छ ।
अन्य ठूलठूलो उत्पादन नै नभए तापनि पर्यटन उद्योगको क्षेत्रमा पनि नेपालको ठूलो सम्भाव्यता छ । नेपालको प्राकृतिक सुन्दरता र ऐतिहासिक र सांस्कृतिक सम्पदाहरूको जगेर्ना र प्रचारप्रसार गर्ने हो भने पर्यटकहरू भित्रिने र पर्यटन उद्योगमार्फत हुने आम्दानीमा ठूलो वृद्धि सम्भव छ । त्यसका लागि पर्यटकहरूलाई नेपाल ल्याउने, सुरक्षित रुपमा भ्रमण गराउने तथा सुविधायुक्त बसोबास गराउने बन्दोबस्त गर्न आवश्यक छ । पर्यटन उद्योगबाट निजी क्षेत्रलाई मात्र आम्दानी गर्न दिने होइन सरकारले समेत पूर्वाधारमा लगानी गरी रोजगारी सृजना र आम्दानीको वितरण गर्न आवश्यक छ । यसका लागि पनि यातायातको कनेक्टिभिटी बढाउन आवश्यक छ । नेपाल सधैं पछौटे अवस्थामा रहन सक्दैन । सुरक्षा र आफ्नो देशको हितको रक्षा भनेको आफैले समयानुकूल नीति निर्णयद्वारा गर्न सम्भव छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *