नरेश खत्री
२०१९ अगस्ट ९
हिजो बेलुकी नै हामीलाई बिहानको चिया नास्ता सकाएर ८ बजे अगाडि नै आईपीआरसीसीको भुँइ तल्लामा भेला हुन भनिएको थियो । हामी बिहान ७ बजे नै तयारी भयौँ । ७ः३० बजेमात्रै बिहानको नास्ता सुरु हुने भएकाले प्रतिक्षा ग¥यौँ । एक जना साथीले अन्तर्राष्ट्रिय गरिबी निवारण केन्द्र चीन लेखिएको बोर्ड अगाडि एउटा फोटो खिच्ने प्रस्ताव राखे । हामी आधा घन्टा समयलाई उपयोग गर्ने हेतुले फोटो खिच्न गयौँ । ढुङ्गामा इन्टरनेशल पोवर्टी रिडक्सन सेन्टर इन चाइना (आइपीआरसीसी) कुँदिएको आकर्षक साइन बोर्ड पृष्ठभूमिका निकालेर हामी सबैले एक अर्काको फोटो आ–आफ्नो मोबाइलमा कैद ग¥यौँ र चिया नास्ताको लागि गयौँ । नास्ता सुरु भइसकेको थियो । ८ बजे अगाडि नै भेला हुन भनिएकोले हामीले छिटोछिटो नास्ता खायौँ ।
अगस्ट ६ देखि सुरु भएको ग्रामीण विकास र गरिबी निवारणसम्बन्धी विकासोन्मुख देशका राजनीतिक पार्टीहरूको सम्मेलनलाई तीनवटा चरणमा दुई चरण सकाएर तेस्रो चरण अवलोकन भ्रमणको लागि हामी क्वाङतोङ प्रदेशमा गयौँ । क्वाङतोङ प्रदेशमा अन्यन्त विकसित सहर र अविकसित गाउँहरू भएकोले हाम्रो अध्ययन भ्रमणको लागि उपयुक्त रहेको चिनियाँ साथी कुवो तोङ तोङले जानकारी गराए । चिनियाँ सहजकर्ता साथीहरूमध्ये कुवो तोङ तोङ र वाङ सन हामीसँगै आएका थिए । हिजो बेलुका नै ली र याङले आज हामीसँग आउन नसक्ने बताएका थिए । बिदावारी भएको बेला हामीले उनीहरूलाई भक्तपुुरको कालो टोपी उपहार दियौँ । हामीले त्यति अनौपचारिक कुराकानी त गर्न पाएनौँ । ली पेट्रोलियम इन्जिनियरिङका विद्यार्थी रहेछन् । उनी हुनान प्रान्तका हुन् । ग्रेटवाल घुमेको दिन उनीसँग धेरै कुराकानी भयो । याङ चिलिन प्रान्तको छाङछुङका हुन् । हामीसँगको बिदाइपछि हामीलाई धन्यवाद दिँदै वीच्याटमा याङले लेखका थिए – इतिहासमा पहिलोपटक मैले यति धेरै अङ्गे्रजी बोलेँ ।

क्वाङतोङ प्रदेशको ग्रामीण विकासबारे प्रबद्र्धनात्मक वृत्तचित्र प्रदर्शन र गोष्ठी
सहभागीहरूमध्ये हामी नै सबैभन्दा युवा उमेरका थियौँ । संयोगले चिनियाँ साथीहरू पनि हाम्रै उमेर समूहका थिए र हामी एकआपसमा विभिन्न विषयका कुराकानी गर्न उत्साहित पनि थियौँ ।
हामीले आइपीआरसीसीमा कार्यरत केटी साथीहरूलाई पनि भक्तपुरको मौलिक थैली उपहार दियौँ । हामीले थैली खोल्ने र बन्द गर्ने तरिका सिकाउँदा त्यहाँ हाँसोको फोहरा छुटेको थियो ।
एउटा अर्को प्रसङ्ग – बिहानको करिब ८ बजे आइपीआरसीसीको परिसरबाहिर हामीलाई विमानस्थल पु¥याउनको लागि बस आइसकेको थियो । सबैजना आ–आफ्नो सुटकेस गुडाएर बसतर्फ लागे । चिनियाँ साथीहरू पनि आफ्नो बन्दोबस्ती सामान बोकेर बसतर्फ लाग्दै थिए । आपीआरसीसीको परिसरबाट बसको दूरी करिव ५० मिटर जति थियो होला । एकजना भारतीय सहभागीले चिनियाँ साथीहरूलाई रुखो व्यवहार गरे । उद्घाटन कार्यक्रममा त्यसैलाई आयोजकले सम्पूर्ण सहभागीहरूको प्रतिनिधि बनाएर अगाडि राखेको थियो । हामी राजनीतिक पार्टीका नेता हौँ, नेताहरूलाई सुटकेश बोकाउन लगाउने ? “डिस इज नट फेयर” भन्दै उनी चिनियाँ साथीहरूसँग कड्के । हामीलाई यो ठीक लागेन । नेताहरूले आफ्नो सामान बोक्नुहुन्न भन्ने सोच सामन्ती सोच भएको र हामी आफ्नो सामान आफै बोक्न कुनै अप्ठ्यारो मान्नु हुन्न भन्ने कुरा गर्दै भारतीय सहभागीहरूलाई पछाडि पारेर अगाडि बढ्यौँ ।
पेइचिङबाट करिब ११ बजे उडेको जहाज करिब २ बजेतिर क्वाङचाउको विमानस्थलमा उत्रियो । क्वाङचाउ विमानस्थलमा पनि भारतका साथीहरूले आफ्नो सुटकेश चिनियाँ साथीहरूले बोकिदिनुपर्ने भन्दै केही अलमल गरे । तर चिनियाँ साथीहरूसँग पनि आ–आफ्नै सामान थिए । थोरै सामान भएका चिनियाँ केटा साथीहरूले भारतीय साथीहरूको सामान बोकेर सहयोग गरे । विमानस्थलको सबै औपचारिकता सकाएर करिब ३ बजे क्वाङचाउ विमानस्थलबाट बसमा हामी छिङयुयान सहरमा गयौँ । क्वाङचाउबाट छिङयुयान सहर करिब ३÷४ घण्टा बसको द्ररीमा थियो । पिकुइयुयान भोकेशनल कलेजको गेष्टहाउसमा हामीलाई बस्ने व्यवस्था गरिएको थियो ।
साँझ ६ बजे नै खाना खाएर करिब २ घण्टा कलेज परिसरको भ्रमण ग¥यौँ । कलेज निकै ठूलो छ । यो अन्तर्राष्ट्रिय स्तरको कलेज रहेछ । हाम्रो दशरथ रङ्गशाला जत्तिकै ठूलो खेलमैदान, मैदानको चारैतिर एथलेटिक्सको लागि रङ्गरोगन गरी बनाएको धावन मार्ग, ३०–४० वटा बास्केट बल कोर्ट, स्वीमिङ पुल, हरियाली, शान्त वातावरण, ठूला–ठूला भवनहरू आदि साँझ २ घण्टा जतिको इभिनिङ वाकमा हामीले देख्यौँ ।
२०१९ अगस्त १०
कार्यक्रमअनुसार Guangdong Biguiyuan Vocational College / Qingyuan Rural Reform Exhibition Hall मा अध्ययन भ्रमण ग¥यौँ । छिङयुयनमा गरिबी निवारणको लागि चिनियाँ कम्युनिस्ट पार्टीको सङ्गठन विषयक विचार गोष्ठीमा पनि सहभागी भयौँ ।
कलेजका प्रमुखले हामीलाई कलेजको भम्रण गराउनुभयो । हामीलाई कलेजको बारेमा जानकारी गराउनु हुने कलेजको पार्टी सचिव भएको परिचय दिनुभयो । उहाँले कलेजको बारेमा एउटा वृत्तचित्र देखाउनुभयो । कलेजमा सात विषयमा प्राविधिकहरूको पढाइ हुने रहेछ । रोबोट निर्माण र आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी पढाइ पनि थप भएको रहेछ । हामी रोबोटिक्सको प्रयोगशाला र रोबोट निर्माणको प्रयोगशाला पनि अवलोकन ग¥यौँ । तीन महिनामा रोबोटले सेवा दिने रेष्टुरेन्टको तयारी भइरहेको जानकारी पायौँ ।

चीनको पिकुयुआन व्यावसायिक कलेजमा रोबोट निर्माण प्रयोगशालामा अध्ययन भ्रमण
रोबोटिक्सबारे रुचि भएको इलेक्ट्रोनिक्सको विद्यार्थी भएकोले मैले चीनको यो रोबोटिक्स निर्माणलाई अभिरुचिपूर्वक अवलोकन गरेँ । चिनियाँ साथीहरूले रोबोटिक्सको विकासले गरिबी निवारणमा महत्वपूर्ण भूमिका खेल्नेमा आशावादी रहेको बताए । केही सहभागी साथीहरूले रेष्टुरेन्टमा रोबोटले सेवा दिएपछि बेरोजगारी बढ्ने र गरिबी निवारण, ग्रामिण विकासमा समस्या हुने प्रश्न गरेका थिए । चिनियाँ साथीहरूले रोबोटको विकासबाट झन् नयाँ रोजगारीका अवसरहरू सृजना हुने बताए । एक जना मानिसले सेवा दिँदा एक जनाले मात्र रोजगारी पाउने र एउटा रोबोटले काम गर्दा त्यसलाई नियन्त्रण गर्न १० जना मानिसले रोजगारी पाउने चिनियाँ साथीहरूले रमाइलोसँग व्याख्या गरे ।
हामीलाई देखाइएको वृत्तचित्रमा विद्यार्थीहरू कम्प्युटर सिकिरहेको, आल्मुनियम र काठको काम गरिरहेको, होटल म्यानेज्मेन्ट, खेलकुद सिकिरहेको, ठूला–ठूला घर निर्माण र पछिल्लो प्रविधिको प्रयोग गरिएको, रोबोट निर्माणमा विद्यार्थीहरूको संलग्नता देखाइएको थियो । कलेजमा काम गरेर सिक्ने तरिका अपनाइएको बताए । कलेजबाट करिब ४० हजार जनताले प्रत्यक्ष लाभ लिइरहेको छ । राज्यअन्तर्गत रहेको पिकुयुआन समूहले लगानी गरेको यो कलेज क्वाङतोङ प्रदेश सरकारको शिक्षा मन्त्रालयअन्तर्गत सञ्चालित रहेछ ।
शिक्षाको माध्यमबाट गरिबी निवारणको लागि गर्न सकिने एउटा राम्रो उदाहरण यो कलेज हो । यहाँ अधिकांश गरिब परिवारबाट पढाइको लागि आउने गर्दछन् । यहाँबाट होटेल म्यानेज्मेन्टको तालिम लिएका विद्यार्थीहरू अधिकांश मलेसियालगायतका देशका तारे होटेलहरूमा कार्यरत छन् ।
भ्रमणको क्रममा हामी छिङयुआन ग्रामीण विकास प्रदर्शनी केन्द्रमा गयौँ । त्यहाँ विभिन्न स्थानीय कृषि उत्पादनलाई व्यवस्थितरूपले प्रदर्शनीमा राखिएको थियो । किसानहरूले उत्पादन गरेका विभिन्न खाद्य वस्तुहरू, पेय पदार्थहरू, मसला, जडिबुटीहरूलगायत विभिन्न स्थानीय प्रविधि र स्थानीय जनताद्वारा उत्पादित वस्तुहरू बजारको लागि प्रदर्शनी गरिएको थियो । किसानहरूको उत्पादनलाई आवश्यक प्रशोधन गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउनको लागि अनलाइन पसलहरू पनि सञ्चालन गरिएको छ । कृषि उत्पादनहरू ग्रामीण क्षेत्रबाट आउँछन् । कुखुराको अण्डा, मासु, विभिन्न थरीका चिया आदि स्थानीय किसानहरूसँग किनेर गुणस्तर प्रमाणित गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा पु¥याई ग्रामीण विकास र गरिब निवारणमा काम गर्ने यो केन्द्रको मुख्य कार्यक्रम हो ।
छिङयुआनका करिब यस्ता ३०० वटा पसलहरू छन् । स्थानीय कृषि उत्पादनको बिक्री बढाई किसानहरूलाई प्रोत्साहन गर्न क्वाङचाउमा धेरै अनलाइन पसलहरू छन् । करिब ४०० भन्दा बढी सेवा प्रदायकहरू सञ्चालनमा रहेका छन् । छिङयुआन क्वाङतोङ प्रदेशको उत्तरी भागमा रहेको सहर हो ।
यहाँ सरकारले गरिबी निवारण र ग्रामिण विकासको लागि तीन किसिमको सहुलियतको बन्दोबस्त गरेको छ । पहिलो, जमिन जोत्नेलाई एकसयदेखि दुई सय युआन, दोस्रो, उद्योगको लागि एक लाखदेखि दुई लाख युआन र तेस्रो, नयाँ आयोजना सञ्चालनको लागि आवश्यक भौतिक पूर्वाधारहरू सरकारले बनाइदिने । किसानलाई उत्पादनको लागि उत्साहित गर्ने र किसानको उत्पादन बजारसम्म पु¥याउन यहाँ सरकारले योजनाबद्ध कार्यक्रमहरू सञ्चालन गरिरहेको पाइन्छ ।
यसैबीच भारतका एक सहभागीले भारतमा किसानले उत्पादन गरेको कफी ८० रुपैयाँ प्रतिकिलोमा व्यापारीले किनेर प्रशोधन गरी करिब एक हजार रुपैयाँ प्रतिकिलोमा बेच्ने गरेको अनुभव साटे ।
चीनका ६२२ को सिद्धान्तअनुसार काम हुने रहेछ । जसअनुसार सहुलियतबाहेक कुनै पनि कृषि उत्पादनको नाफामा ६० प्रतिशत कम्पनीलाई, २० प्रतिशत किसानले पाउने र बाँकी २० प्रतिशत अन्य सहभागीहरूको लागि छुट्याइने रहेछ । नाफामा पुँजीपति वर्गको मात्र हक नलाग्ने, सरकारले किसानहरूलाई सहुलियत दिने चिनियाँ सरकारको नीति हो ।

क्वाङतोङ प्रदेशको छिङयुआन सहरस्थित ग्रामीण क्षेत्र भ्रमणको क्रममा स्थानीय कम्युनिस्ट पार्टी इन्चार्जसँग नेपाली प्रतिनिधिमण्डल
त्यसपछि हाम्रो टोली यिङत जिल्ला (Yingde city) को च्यउलङ सहर (Jiulong Town) स्थित हथउ गाउँ (Hetou Village) मा पुग्यो । यो अत्यन्त सुन्दर गाउँ एउटा प्रसिद्ध पर्यटकीय गन्तव्य स्थल रहेछ । यहाँ तातोपानीका स–साना सुन्दर तलाउहरू बनाएका छन् । थुप्रै युवा युवतीहरू, बालबालिकाहरू र पाका उमेरका मानिसहरू पनि यहाँ तातोपानीका तलाउहरूमा डुबेर आनन्द लिइरहेका थिए । शनिबारको दिन भएकोले होला यहाँ थुप्रै मानिसहरू देखिन्थे । सानो ठाउँलाई कसरी व्यवस्थित बनाउने त्यहाँबाट सिक्न सकिन्छ । त्यहाँको पानी सबै मूलको पानी रहेछ । पिकुयुयान समूहकै लगानीमा सञ्चालन भइरहेको यो आकर्षक पर्यटकीय स्थलमा तीनथरी उद्योग सञ्चालन भइरहेको हामीलाई त्यहाँका प्रमुखले जानकारी दिनुभयो । पहिलो पर्यटन उद्योग, दोस्रो विशेष तरकारी उत्पादन र तेस्रो वनजङ्गल र आकर्षक दृश्यहरू । यी तीनैवटा उद्योगमा सबै गाउँहरूको पनि स्वामित्व रहेको र यहाँबाट भएको उल्लेख्य आम्दानीले गाउँलेहरूको जीवनस्तरमाथि उठेको बताउनुभयो । पिकुयुयान समूह अर्थात् कन्ट्री गार्डन समूहले सीपीसी र चीन सरकारको नितिअनुसार काम गरिहरेको स्थानीय पार्टी नेताले हामीलाई बताउनुभयो । बाटाहरू फराकिला छैनन् तर सफा, राम्रा, हरियालीयुक्त र व्यवस्थित छन् । करिब सय एकड क्षेत्रफलमा करिब नौ खर्ब लगानी गरी त्यो सुन्दर गाउँ निर्माण गरिएको बताउनुभयो । पुराना घरहरूलाई पुनःनिर्माण गरी सुन्दर अतिथि गृहहरू बनाइएका छन् । गाउँकै उत्पादनहरूबाट निर्मित घरहरू चित्ताकर्षक छन् । स्थानीयहरू स्थानीय उत्पादनहरू बेचिरहेका पाउँछौँ । प्राकृतिक सौन्दर्यको अनुपम नमुना हामी देख्न सक्छौँ । दैनिक एक हजार आन्तरिक र बाह्य पर्यटकहरू त्यहाँ आउने तथ्याङ्क रहेछ । उक्त गाउँ गाउँलेहरू आफैले बनाएका रहेछन् ।
त्यहाँ हामीलाई एउटा वृत्तचित्र पनि देखाइयो । कसरी त्यो सुन्दर गाउँको निर्माण भयो र सहरभन्दा धेरै टाढाको एउटा सानो गरिब गाउँ कसरी एउटा धनी र पर्यटकीय स्थल बन्न सक्यो भन्ने कुरा वृत्तचित्रमा देखाइएको थियो । पर्यटकहरूको बास र स्थानीय उत्पादनहरूको बिक्रीले गाउँहरूको आम्दानी ६ हजारबाट सो¥ह हजार पुगेको र गरिबी निवारणमा टेवा पुगेको बताउनुभयो ।
त्यसपछि हामी छिङसिङ जिल्ला (Qingxing District), चिनथान सहर (Jintan City) स्थित सियाचिङ गाउँ (Xiajing Village) मा गरिबी निवारणको लागि सीपीसीको सङ्गठन परिचालन र गाउँलेहरूको स्वयम्सेवी भावना र सहभागिताको बारेमा अध्ययन ग¥यौँ । त्यहाँ स्थानीय निकाय नगरपालिका र पार्टी कमिटीहरूले जनस्तरमा गएर काम गरिहेको जानकारी लियौँ ।
पार्टी कमिटी र स्थानीय तहको सहयोगमा गाउँले जनता स्वयम्ले गाउँलाई विकास गरेको पायौँ । स्थानीय स्वशासन समिति (Self Governance Committee) को माध्यमबाट जमीन एकीकरण गरी सामूहिक खेती र उत्पादनमा क्रान्ति गरेको रहेछ । जनस्तरको पार्टी सङ्गठन र ग्रामिण परिचालन प्रणाली (Rural Operation System) बाट यो उपलब्धि सम्भव भएको रहेछ । ग्रामीण विकासका कार्यक्रमहरू सञ्चालनको लागि गाउँ तहको पार्टी सङ्गठनलाई जिम्मेवारी दिने सीपीसीको नीति रहेको थाहा पायौँ ।
Leave a Reply