भर्खरै :

सीलाई स्वागत

चीनका राष्ट्रपति तथा चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सी चिनफिङ शनिबार नेपाल आउँदै हुुनुहुन्छ । २३ वर्षपछि चीनका राष्ट्रपति नेपाल आउन लाग्नुभएको हो । नेपाली जनताले लामो समयदेखि अपेक्षा गरेको सीको नेपाल भ्रमणले दुई छिमेकी देशबीचको सम्बन्धलाई अझ उचाइमा पु¥याउने आशा गर्न सकिन्छ ।
इतिहासदेखि नै चीन नेपालको असल छिमेकी रहँदै आएको छ । नेपालको दाँजोमा चीन भौगोलिक, आर्थिक, जनसङ्ख्याको आधारमा निकै विशाल देश भएर पनि दुई देशबीचको सम्बन्ध सधैँ मैत्रीपूर्ण रह्यो । दुवै देशले आपसमा एकअर्काको हितको लागि सहयोग गर्दै आएका छन् । चीनको असल छिमेकीको व्यवहारकै कारण नेपाली जनताले चीनप्रति सकारात्मक भावना राख्दै आएका छन् ।
चीन आज संसारकै उदयमान शक्ति बनेको छ । आगामी केही दसकमा चीन संसारकै महाशक्ति मानिएको संरा अमेरिकाभन्दा आर्थिकरूपमा अझ अघि बढ्नेछ । तर, चीनले यो सफलता एकै दिन सहज रुपमा हासिल गरेको होइन । एक शताब्दी लामो सम्झौताहीन सङ्घर्षले चीनलाई अहिलेको उचाइमा पु¥याएको हो । चिनियाँ जनताले आफ्नो देश बनाउन गरेको मिहिनेत र सङ्घर्ष संसारका कुनै पनि देशका जनताको लागि अनुकरणीय छ । हाम्रो छिमेकका जनताको सङ्घर्ष र मिहिनेतबाट नेपाली जनताले पनि सिक्न आवश्यक छ ।
चीनले कहिल्यै पनि अरुको खुट्टामा उभिएर आफ्नो आँगनमा फूल फुलाउन चाहेन । आफ्नो आँगनमा फूल फुलाउन विदेशीसँग पानी पैँचो माग्दा आँगन नै गुमाउनुपरेको पीडा चिनियाँ जनताले अनुभव गरेका छन् । त्यसकारण आफ्नै मिहिनेतमा देश बनाउने चिनियाँ जनताको अनुभवबाट नेपाली शासक र जनताले सिक्न जरुरी छ । साम्राज्यवादी उत्पीडनबाट थिलथिलो देशदेखि संसारकै शक्तिशाली देशसम्मको चीनको यात्राबाट सिक्नु नै चीनबाट सिक्नु हो । तर, चीन जतिसुकै शक्तिशाली भए पनि उसले साम्राज्यवादी थिचोमिचोको नीति कहिल्यै लिएन । आफ्नो अनुभव अरुसँग बाँड्ने र अरुको अनुभवबाट आफूले सिक्ने भाइचारा नीतिकै कारण आज संसारमा चीनको लोकप्रियता अझ बढिरहेको छ ।
सी चिनफिङको नेपाल भ्रमणले नेपाल र चीनबीचको ऐतिहासिक मैत्री सम्बन्धलाई सामयिक परिभाषित गर्नेछ । नेपालको उत्तरी सिमानामा रहेका विकट हिमालहरू नेपाल र चीनबीचको सम्बन्धका कुनै बेलाका तगारा थिए । तर, विज्ञान र प्रविधिले हिमालको विकटता आज अवसरमा परिणत गर्दै छ । अन्तरहिमालय सम्बन्धले नेपालको भूपरिवेष्ठित वास्तविकता अवसरमा बदलिने सम्भावना बढ्दो छ । आर्थिक बन्द व्यापारको लागि एकै देशमा बढी निर्भर रहनुपर्ने र त्यसै कारण सधैँ झन्डै उपनिवेशजस्तो व्यवहार सामना गर्नुपर्ने नेपालको अवस्थाको अन्त्य गर्न चीनसँगको सम्बन्धलाई अझ प्रगाढ बनाउनु नेपाली जनताको लागि लाभदायी हुनेछ ।
संसारको शक्ति राष्ट्रको रुपमा उदाइरहेको चीनको लागि आफ्नो सिमाना जोडिएको छिमेकी देशको रणनीतिक महत्व उँचो हुनु स्वाभाविक हो । छिमेकीसँगको एकताले नै कुनै पनि देशलाई उचाइमा पुग्न मद्दत गर्छ । चीनको तीव्र आर्थिक विकास रोक्न पश्चिमा देशहरूले अनेकन तिकडम गरिरहेको सर्वविदित छ । त्यस्ता जालझेलविरुद्ध लड्न चीनलाई नेपालजस्तो छिमेकीको साथ र समर्थनको आवश्यकता सधैँ रहनेछ । चीनको विकासबाट नेपालको विकासमा पनि केही लाभ लिने नेपाली जनताको चाहना स्वाभाविक हो । तर त्यस्तो चाहना साकार बनाउने आधार सित्तैमा लिएर होइन, आपसमा लाभको आदानप्रदान हुनसक्छ । दुवै पक्षको हित हुने सम्बन्ध नै दिगो सम्बन्ध हुनेछ ।
सीको नेपाल भ्रमणले चीनसँगको सम्बन्ध विस्तारमा नेपाली जनतालाई अझ उत्साहित बनाउनेछ । नेपाली जनताको तर्फबाट छिमेकी मित्र देश चीनका राष्ट्रपति एवं चिनियाँ जनताका नेता सी चिनफिङप्रति हार्दिक स्वागतम ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *