भर्खरै :

चीन अध्ययन भ्रमण – ४

नरेश खत्री

२०१९ अगस्त ११
बिहान नास्ता सकिनेबित्तिकै हामीलाई एउटा ठूलो कृषिसम्बन्धी प्रदर्शनी केन्द्रमा लगियो । हँसिया हथौडा अङ्कित रातो झण्डा फहरिएको त्यो भव्य महल छिङयुयान सहरको पार्टी स्कूल भएको जानकारी पायौँ । त्यहाँ ग्रामिण विकासबारे शिक्षा दिने ५ वटा ठूला–ठूला प्रदर्शनी हलहरू थिए । त्यहाँबाट हामीले सीपीसीको नेतृत्वमा चीनमा गाउँहरूको विकासबारे जानकारी लियौँ । गाउँको विकासमा स्थानीय तह र स्थानीय पार्टीहरूका साथै विशेष समूहहरू परिचालन एकैसाथ भएको जानकारी पायौँ । गाउँवासी स्वयंद्वारा गाउँको सुधार र स्वशासन समितिहरूमार्फत भूमि एकीकरण र भूमिसूधार गरिएकोबारे त्यहाँ थ्री डी नक्सासहित प्रदर्शनी गरिएको थियो ।
प्रदर्शनीमा भूमिसुधार (ल्याण्ड रिफर्म), कृषि कोष (एग्रिकल्चर फण्ड) र कृषि उत्पादन सेवा केन्द्र (एग्रिकल्चर सर्भिस प्लेटफर्म) को एकीकरणबाट गाउँको विकास भएको देखाइएको थियो । गाउँले किसानहरूको लागि विद्युतीय बजारको व्यवस्था गरिएको थियो । स्थानीय कृषि उत्पादनको बजार व्यवस्थापनको लागि राज्यले ई–कमर्स केन्द्र (ई–कमर्श प्लेटफर्म) को व्यवस्था गरेको रहेछ ।
कृषिमा व्यापक सुधार, उत्पादनमा व्यापक वृद्धि र ईकमर्शको प्रयोगबाट गरिबी निवारणमा चीनले पाएको सफलताको विषयमा त्यहाँ विभिन्न श्रव्यदृश्यहरू प्रदर्शन गरिएका थिए । हामीलाई विशेष प्रकारको चश्मा लगाएर हेर्नुपर्ने थ्री–डी चलचित्र पनि देखाइयो । हामीलाई चीनका विभिन्न प्रकारका गाउँहरूको विषयमा जानकारी दिइयो – सुन्दर कृषि गाउँहरू, वातावरण मैत्री गाउँहरू, सफा गाउँ, नमुना गाउँ आदि ।
कहिलेकाही हामी कानेखुसी गथ्र्याैं – यहाँका गाउँ त हाम्रा सहरभन्दा राम्रा छन् ।
प्रदर्शनी अवलोकनपछि पार्टी स्कूलको सभाकक्षमा एउटा विचारगोष्ठी राखिएको थियो । हामी सबै कार्यक्रम हलमा प्रवेश ग¥यौँ । पार्टी स्कूलका प्रमुखले हामीलाई क्वाङतोङ प्रदेशको विभिन्न विषयमा जानकारी गराउनुभयो । क्वाङतोङ प्रदेशको राजधानी क्वाङचाउ हो । करिब १० करोड जनसङ्ख्या भएको क्वाङतोङ प्रदेशको क्षेत्रफल १ लाख ८० हजार वर्ग किमी छ । यो प्रदेशको कूल गार्हस्थ उत्पादन ११ खर्ब डलर रहेको छ र विगत २६ वर्षदेखि लगातार जीडीपीमा पहिलो स्थानमा रहेको छ । चीनले सुधार र खुलापनको पहिलो प्रयोग यही प्रदेशबाट सुरु गरेको थियो ।

 भौतिक विज्ञानको अत्याधुनिक अनुसन्धान केन्द्र चाइना स्पलेसन न्युट्रन सोर्समा परमाणुबाट न्युट्रन निकाल्ने प्रविधिबारे बताउँदै चिनियाँ वैज्ञानिक प्रा. सिङ थोङ (टोनी) ।


छिङयुयान सहर एउटा नमुना सहर हो । विचारगोष्ठीमा गरिबी निवारण केन्द्रका निर्देशकले पार्टी सङ्गठन र गरिबी निवारणको बारेमा मन्तव्य दिनुभयो । उहाँले गरिबी निवारणमा आफ्नो १० वर्ष अनुभव साट्दै भन्नुभयो, हामीले शिक्षाको माध्यमबाट गरिबी निवारण ग¥यौँ, व्यवसायिक समूहहरूलाई लगानीको लागि आकर्षण ग¥यौँ र गाउँमा तालिमहरू सञ्चालन ग¥यौँ । व्यवसायिक समूहहरूको माध्यमबाट गरिबी निवारणलाई अझ बढी जोड दियौँ । 

उहाँहरूले गाउँबासीहरू गरिबीको रेखामूनि फर्किने समस्याको विषयमा अनुसन्धान गरेको अनुभव सुनाउँदै भन्नुभयो, आफै मेहनत नगरी सरकारको सुविधामात्र लिने गाउँलेहरू गरिबीको रेखामुनि फर्किएको अनुसन्धानबाट पत्ता लाग्यो ।
उहाँले चीनको राजनीतिक प्रणालीको बारेमा पनि चर्चा गर्नुभयो । पहिलो, बहुदलीय सहकार्य र सीपीसीको नेतृत्वमा राजनीतिक परामर्श प्रणाली रहेको छ । दोस्रो, क्षेत्रीय स्वायत्त शासन प्रणाली र तेस्रो, गाउँमा स्थानीय स्वशासन प्रणाली । गरिबी निवारण र ग्रामिण विकासमा यी तीनैवटा प्रणाली र गाउँमा आधारभूत व्यवस्थापन एकाइ (बेसिक मेनेज्मेन्ट युनिट) रहेको बताउनुभयो ।
उहाँले ३५ दिनमा एउटा गाउँको पूरा जमीन अधिग्रहण गरी सूधार गरेको अनुभव सुनाउनुभयो । गाउँले किसानहरूको जमीन सामूहिक स्वामित्वमा लिने काम सरकारले नगरी स्थानीय पार्टी समितिले गर्ने र किसानहरूसँग सम्पर्क गर्ने जिम्मेवारी पार्टीको भएकोले यति छिटो सुधार सम्भव भएको बताउनुभयो ।

चीनको सबैभन्दा ठूलो ऊर्जा उत्पादक कम्पनी इस्टर गु्रप अफ इन्डस्ट्रिजमा आयोजित गोष्ठीमा सहभागी हुँदै

गाउँका किसानहरूको स्वामित्वमा रहेको जमीनलाई सामूहिकीकरण गरी सामूहिक स्वामित्व भएको गाउँ निर्माण गरियो । क्वाङतोङ प्रदेशमा कृषि व्यवसायमा कर हटाइयो, बहुराष्ट्रिय कम्पनीहरू र देशभित्रका निजी क्षेत्रलाई कृषिमा आधारित उद्योगमा प्रोत्साहन गरियो । सामूहिक स्वामित्वको जमीन किसानहरूलाई उत्पादनको निम्ति सम्झौता गरेर जिम्मा दिने गरिएको चर्चा गर्दै विचारगोष्ठी सम्पन्न भयो ।
त्यसपछि हाम्रो यात्रा छिङयुयान सहरबाट तोङक्वान सहरतर्फ सुरु भयो । पूर्वी तिमोरका एकजना सहभागीलाई उच्च रक्तचापका कारण अस्पताल लगिएकोले हामीले केही प्रतिक्षा गर्नुपर्ने भयो । उहाँ अस्पतालबाट फर्किसकेपछि करिब २ः०० बजेतिर हाम्रो बस तोङक्वान सहरतर्फ लाग्यो । बाटोभरि हामीले कहीँ धुलोधुँवा देखेनौँ, बाटो बिग्रेभत्केको देखेनौँ, बिरलै मान्छे हिँडेको देखिने बाटोमा हरियाली, फूलबारी व्यवस्थित बनाइएको पायौँ । बाटो सिधासिधा छन्, पहाडहरूमा सुरङ मार्गहरू बनाइएकाले घुम्तीहरू छैनन् ।
इदको दिन परेको हुनाले हामीलाई एउटा मुस्लिम रेस्टुराँमा डिनरको लागि लगियो । खाना खाएर पुनः यात्रा सुरु भयो र राति ८÷९ बजेतिर हामी गन्तव्यमा पुग्यौँ । हाम्रो बास रह्यो – ओरेन्टल गिन्जा इन्टरनेशनल होटल ।

२०१९ अगस्त १२
बिहानै हामीलाई एउटा विज्ञान पार्कमा लगियो । चाइना स्पलेसन न्युट्रन सोर्स । यो भौतिक विज्ञानको अत्याधुनिक अनुसन्धान केन्द्र हो ।
कुनैपनि पदार्थको सबैभन्दा सानो कण परमाणु हो । इलेक्ट्रोन, प्रोटोन र न्युट्रोन मिलेर परमाणु बनेको हुन्छ । न्युट्रनमा एक्सरेजस्तै वस्तुभित्र छिर्न सक्ने गुण हुन्छ । त्यसैले न्युट्रनलाई स्वास्थ्यलगायत मानव हितको लागि प्रयोग गर्न अनुसन्धान भइरहेको रहेछ । यो केन्द्र परमाणुबाट न्युट्रन निकाल्ने प्रविधि भएको केन्द्र हो । चाइना एकेडेमी अफ साइन्सअन्तर्गत सञ्चालित यो केन्द्रमा चीनलगायत संरा अमेरिका, बेलायत र जापानका वैज्ञानिकहरू अनुसन्धान गरिरहेका छन् । यो केन्द्र सञ्चालनको लागि दैनिक २ करोड अमेरिकी डलर खर्च हुने केन्द्रका वैज्ञानिक सिङ तोङले हामीलाई जानकारी दिनुभयो । विश्वका वैज्ञानिकहरूले त्यहाँ निःशुल्क अनुसन्धान गर्न सकिने पनि उहाँले बताउनुभयो । करिब १५५० एकड क्षेत्रमा फैलिएको त्यो वैज्ञानिक केन्द्र चीनले विज्ञानमा गरेको प्रगतिको एउटा उदाहरण हो ।
त्यसपछि हामी तालाङ टाउनको सियाङथउ समुदायमा गयौँ । त्यो पार्टीले व्यवस्थापन गरेको एउटा नमुना बस्ती रहेछ । ५४०० जनसङ्ख्या भएको करिब १० हजार जनाको बसोबास रहेको त्यो बस्ती २५० एकड क्षेत्रफलमा फैलिएको छ । हेर्दा भव्य देखिने चारैतिर ३७ वटा गगनचुम्बी भवनहरूको बीचमा ९ वटा बास्केट बल कोर्ट, पार्क, उत्सव र चाडपर्वको लागि खुला क्षेत्र, करिब २० हजार किताबहरू भएको पुस्तकालय, स्कूले केटाकेटीको लागि लेखपढ गर्ने कोठाहरू, सांस्कृतिक कार्यक्रम प्रदर्शनी स्थल आदि व्यवस्था भएको त्यो बस्तीमा हरेक परिवारलाई ३० वर्गमिटर क्षेत्र निःशुल्क उपलब्ध गराइएको पायौँ ।
हामीले त्यहाँस्थित एउटा भव्य प्रदर्शनी केन्द्र अध्ययन अवलोकन गर्ने मौका पायौँ, सियाङथउ कम्युनिटी इन्ट्यान्जिबल कल्चरल हेरिटेज । प्रदर्शनी केन्द्रमा हामीले सियाङथउ बगैँचा, सियाङथउ ऊन बुनाई प्रदर्शनी हल, सियाङथउ जनजीवन प्रदर्शनी हल, सियाङथउ ग्रामिण इतिहास प्रदर्शनी हल र सियाङथउ पुस्तकालयको अवलोकन ग¥यौँ । प्रदर्शनीबाट हामीले चीनको इतिहास, कला, संस्कृति, जनजीविका, कृषि, परम्परा आदिका विषयका जीवन्त अध्ययन गर्ने अवसर पायौँ । पुरानो चीनबाट नयाँ चीन, गरिब चीनबाट धनी चीन, परम्परागत शैलीबाट नयाँ शैली प्रदर्शनीबाट प्रस्ट झल्किरहेको थियो । प्रदर्शनीमा राखिएको अध्यक्ष माओ त्सेतुङको तस्वीर अगाडि सबैले फोटो खिचाए । हामीले पनि केहीबेर पर्खेर भए पनि माओ त्सेतुङको ठूलो तस्वीर अगाडि फोटो खिचायौँ ।
त्यसपछि हाम्रो टोली सोङशान लेक इको–सिटी साइन्स म्युजियमतिर लाग्यो । सोङशान लेक १०३ वर्ग किमिमा फैलिएको तोङक्वान सहरको केन्द्रमा रहेको उच्च प्रविधि औद्योगिक विकास क्षेत्र (हाइटेक इन्डस्ट्रियल डिभेलोपमेन्ट जोन) हो । उच्च आर्थिक वृद्धिदर कायम गरिरहेको सोङशान लेकमा हुवावेइ र कुलप्याडलगायत ६००० भन्दा बढी विश्वस्तरका कम्पनीहरू केन्द्रित छन् । नयाँ ऊर्जा उद्योग सम्बन्धी १०० भन्दा बढी कम्पनीहरू त्यहाँ केन्द्रित छन् , आधुनिक सेवा उद्योगसम्बन्धी १०२० बढी कम्पनीहरू आएका छन्, रोबोट र कृत्रिम बौद्धिकताको क्षेत्रमा ३४० बढी कम्पनीहरू सोङशान लेकमा केन्द्रित भएका छन् । ५४० बढी सूचनासञ्चार उद्योगहरू र २६० बढी बायो इन्डस्ट्रिज त्यहीँ रहेछन् ।
सोङशान लेक तोङक्वान सहरको भविष्य देखाउने नयाँ प्रतिविम्ब भनेर त्यहाँ लेखिएको थियो । त्यहाँको क्षेत्रीय जीडीपी ६४ अर्ब युवान रहेछ । २००१–२००६ सोङशान लेकको स्थापनाको अवधि थियो , २००६–२०१४ प्रवेगको अवधि र २०१४ देखि आजसम्म नविन आविष्कारद्वारा निर्देशित विकासनिर्माणको युगमा छ सोङशान लेक ।
सोङशान लेकबाट हामी चीनको सबैभन्दा ठूलो ऊर्जा उत्पादक कम्पनी इस्टर गु्रप अफ इन्डस्ट्रिजमा पुग्यौँ । करिब दुई अर्ब ३३ करोड युआन पुँजी भएको यो उद्योग विश्वको ५०० ऊर्जा उद्योगहरूको सूचीमा १८ औँ स्थानमा रहेछ । केन्द्रीय कार्यालयमा मात्र ६०० जना बढी इन्जिनियरहरू कार्यरत यो कम्पनीले १४० देशसँग सहकार्य गरी विश्वभर ऊर्जासम्बन्धी प्रविधिहरू निर्यात गरिरहेको पायौँ ।
हामीले चीनले विज्ञान तथा प्रविधि, कला र संस्कृतिमा तीव्र गतिमा गरिरहेको प्रगतिबारे गहिरो अध्ययन र अवलोकन गर्ने अवसर पायौँ र हामी तोङक्वान सहरलाई बिदा गरेर शनचन सहरतिर लाग्यौँ । बेलकाको खाना खाएर शनचन सहरतिर लागेको हाम्रो बस राति ९ बजेतिर पुग्यो र हामी चिङमिङता होटलमा बास बस्यौँ ।

२०१९ अगस्त १३
बिहानै केही भारतीय कामरेडहरूले युरो र डलर सतहीको लागि चिनियाँ कामरेडहरूलाई अनुरोध गर्न थाले । हाम्रो टोलीका केही सहभागीहरूलाई हरेक दिनजसो मुद्रा सतही गर्नुपथ्र्यो, किन थाहा छैन । हाम्रो त एक पैसा पनि खर्च भएको थिएन र खर्च गर्नको निम्ति फुर्सदको समय पनि थिएन । अत्यन्त व्यस्त कार्यक्रम तालिकाका बावजुद पनि केही भारतीय र पाकिस्तानी सहभागीहरू कार्यक्रममा सहभागी नभई आआफ्ना व्यक्तिगत काम गर्न भ्याउँथे । लगातार तीन दिनसम्म कार्यक्रममा सहभागी नभएका प्रतिनिधिहरू पनि हामीले देख्यौँ । एउटा अन्तर्राष्ट्रिय डेलिगेट भएर कस्तो व्यवहार गर्नुपर्छ भन्ने विषयमा हामीलाई पार्टीले पटक पटक कक्षा लिएको थियो ।

क्वाङतोङ प्रदेशको छिङयुयान सहरस्थित चिकपाको पार्टी स्कूल भवन ।

बिहान केही भारतीय सहभागीहरूलाई मुद्रा सतहीमा सहयोग गर्नुपर्ने भएर एकजना चिनियाँ साथी भारतीयहरूसँग लागे । हामी बाँकी सहभागीहरूलाई नजिकैको एउटा सुन्दर पार्कमा लगियो । तङ सियाओ फिङको ठूलो प्रतिमा राखिएको उक्त पार्कको नाम अङ्ग्रेजीमा लोटस पार्क थियो । भौगोलिक उचाइमा अवस्थित उक्त पार्कबाट शनचन सहर देखिन्थ्यो । सबैले तङ सियाओ फिङको बडेमाको प्रतिमा अगाडि फोटो खिचे÷खिचाए । म भने त्यहाँबाट देखिएको शनचन सहरको पानारोमिक भ्यूलाई आफ्नो मोबाइलमा कैद गर्न थाले । त्यहाँ भने मलाई एउटा डिएसएलआर क्यामेरा मिस भयो । सुन्दर दृश्य देखेपछि क्यामेराको याद आउने रहेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *