सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – २
- असार १४, २०८३
तान्जानिया
तान्जानिया भर्खर बेलायती उपनिवेशबाट मुक्त भएको थियो । त्यहाँ जुलिसय न्येरेरेको प्रगतिशील सरकार स्थापना भएको थियो । दक्षिण अफ्रिकी स्वाधीनता आन्दोलनका सयौँ योद्धाहरू त्यहाँ राजनीतिक शरण लिई बसेका थिए ।
१९६४ नोभेम्बरमा ३० जना तालिम प्राप्त कार्यकर्ताहरू दार–ए–स्लाम फर्के । त्यो वर्ष अमेरिकी नागरिक अधिकारका नेता मार्टिन लुथर किङले नोबेल शान्ति पुरस्कार पाएका थिए । तान्जानियामा ताङ्गानिका र जन्जिबार जुलियस न्येरेरेको नेतृत्वमा सामेल भइसकेका थिए । यी घटनाले दक्षिण अफ्रिकी योद्धाहरूलाई आफ्नो सङ्घर्षमा थप उत्साहित बनाएको थियो ।
सोभियत सङ्घमा वर्षदिनको बसाइँपछि सन् १९६४ नोभेम्बरमा हानीले अफ्रिका महादेश फर्कने निर्णय गरे । हानीसँगै उनका सहयोद्धाहरूले माक्र्सवाद सिकेका थिए, द्वन्द्वात्मक भौतिकवाद बुझेका थिए र सँगै एके ४७ राइफल चलाउन पनि पोख्त भइसकेका थिए । मस्कोबाट उनीहरू तान्जानिया जाँदै थिए ।
क्रिस हानी न्येरेरेको अफ्रिकी समाजवाद र उजामा (Ujamaa) परम्परागत वर्गविहीन सामूहिक बस्तीको सिद्धान्तबाट प्रभावित थिए । न्येरेरेले एमकेलाई प्रयोग गर्न दार–ए–सलामभन्दा ४ सय किमि दक्षिणमा पर्ने कोङवा (Kongwa) मा सानो टुक्रा जग्गा प्रदान गरेका थिए । हानी, एम्ब्रोस माकिवाना र लिन्नोक्स लाघुलाई कोड्वामा खटाइयो ।
कोवाको जीवन सहज थिएन । त्यहाँ बस्ने योद्धाहरूलाई औलो र आँखाको सङ्क्रमणको खतरा थियो । चर्पीको लागि खाल्डो खन्नुपथ्र्याे । पानी आपूर्तिको समस्या थियो । कार्यकर्ताहरूलाई तीन समूहमा विभाजन गरिएको थियो र उनीहरू पालैपालो खाना पकाउने, घरटहरा बनाउने, पानी बोक्ने काम गर्थे । पढ्ने सामग्री पाउन निकै मुस्किल थियो । एकातिर हानीलगायत तालिम प्राप्त कार्यकर्ताहरूमा आफ्नो देश फर्किने र आन्दोलन निर्णायक तहमा पु¥याउने हतारो थियो भने अर्कोतिर उनीहरू त्यस्तो असहज अवस्थामा बस्न बाध्य थिए ।
त्यस्तो प्रतिकूल परिस्थितिमा हानीले लेखपढको काम भने छोडेनन् । उपयुक्त समय मिल्नेबित्तिकै उनी पढ्न बसिहाल्थे । उनी प्रायशः जङ्गलमा गएर किताब पढ्थे । उनका सहकर्मीहरू सर्पको डर भएकोले जङ्गलमा एक्लै गएर नपढ्न सुझाइरहन्थे । हानी हाँसोठट्टा मन पराउँथे । उनी लिबियादेखि फिडेल क्यास्ट्रोको क्युवाबारे चर्चा गरिरहन्थे । त्यतिबेला उनको उमेर मात्र २३ वर्ष थियो ।
कोङवामा उनीहरूले चाँडै विभिन्न रचनात्मक गतिविधि गर्न थाले । पहाडको खाँचबाट पाइप बिछ्याएर पानी ल्याउने बन्दोबस्त गरे । त्यही पानी उपयोग गरेर खेतीपातीको काम गर्न थाले । भलिबल, टेबुलटेनिसलगायत खेलकुद गतिविधि गर्ने ठाउँ बनाए । बस्न उपयुक्त घरटहराहरू बनाए । भर्खर विश्वविद्यालयबाट निस्केका हानीजस्ता नवयुवकहरूका निम्ति ती निर्माण कार्य गर्न सजिलो थिएन । यद्यपि, त्यहाँको समय सम्झँदै हानीले भने, “… त्यो हाम्रो लागि अर्को शिक्षालय बन्यो । हाम्रो बौद्धिक ज्ञानलाई शारीरिक श्रमसँग एकाकार गर्ने राम्रो विद्यालय थियो त्यो ।”
सन् १९६४ को क्रिसमससम्म आइपुग्दा एमकेका सबै तालिम प्राप्त योद्धाहरू आफ्नो देश फर्केर स्वाधीनताको निम्ति सङ्घर्ष चर्काउन आतुर भइसकेका थिए । सोभियत सङ्घमा आफूले सिकेका ज्ञानको व्यावहारिक उपयोग गर्न उनीहरू व्यग्र थिए । तथापि पार्टीको नेतृत्व तहमा झाङ्गिँदो सुविधाभोगी चरित्र उनीहरूलाई चित्त बुझेको थिएन । दार–ए–सलाम र मोरक्कोमा बसेको पार्टी नेतृत्वले सङ्घर्षलाई भन्दा आफ्नो निजी सुखलाई प्राथमिकता दिइरहेका थिए । सशस्त्र सङ्घर्षप्रति समर्पणभावको अभाव र निष्क्रियताले हानी असन्तुष्ट थिए । जाम्बियाबाट फर्केको टोलीले केनेथ काउन्डाजस्ता नेता पूर्णतः सुख–सुविधामा डुबेको खबर ल्यायो ।
सन् १९६५ सम्ममा कोङवामा मस्को र ओडिसाबाट फर्केका कार्यकर्ताहरूको सङ्ख्या झन्डै ५ सय पुगिसकेको थियो । उनीहरूले भूमिगत गतिविधि गर्न तालिम पाएका थिए । दक्षिण अफ्रिकाको स्वतन्त्रताको लागि लड्न चाहने १२ वर्षका किशोरहरूसमेत त्यहाँ थिए । उनीहरूको शैक्षिक अवस्था कमजोर थियो । हानीले उनीहरूलाई शिक्षित बनाउन कक्षा सञ्चालन गर्ने कार्यमा जोड दिए ।
हानी प्रतिकूल परिस्थितिमा पनि ‘झिसमिसे’ (The Dawn) पत्रिकाका लागि विश्लेषणात्मक लेख लेख्थे । उनी प्रकाशनलाई स्वतन्त्रताको सन्देश फैलाउने र रङ्गभेदको आतङ्क उजागर गर्ने माध्यमको रूपमा उपयोग गर्न चाहन्थे । कार्यकर्तामा बेलाबेलामा आउने निराशा पन्छाउन कोङवामा मनोरञ्जनात्मक कार्यक्रम पनि आयोजना गरिन्थ्यो । त्यहाँको जीवनलाई कालान्तरमा एकजना कार्यकर्ताल ‘जीवनको विश्वविद्यालय’ को संज्ञा दिए । वास्तवमा त्यो शिविर बाँच्नको लागि आवश्यक क्षमताको परीक्षाजस्तो थियो ।
कोङवामा दक्षिण–पश्चिम जनसङ्गठन
(Swapo), फ्रिलिमो (FRELIMO), एमपीएलए (MPLA) र एमकेका शिविरबिच हरेक शुक्रबार कुनै न कुनै प्रतियोगिता आयोजना गरिन्थ्यो । त्यहाँ जिम्बाब्वे अफ्रिकी जनसङ्घ (ZAPU) र जिम्बाब्वे अफ्रिकी राष्ट्रिय सङ्घ (ZANU) का शिविर पनि थिए ।
कार्यकर्ताहरूले कठिन समय व्यतीत गरिरहेको समयमा अफ्रिकी राष्ट्रिय काङ्ग्रेसका नेताहरूको जीवन भने भिन्न थियो । नेताहरू तलब पाउँथे भने कार्यकर्ताहरू आफ्ना आधारभूत आवश्यकता पूरा गर्न पनि आफ्नो लुगा बेच्न बाध्य थिए । सन् १९६६ सम्ममा कार्यकर्ता तहको असन्तोष झाङ्गिसकेको थियो भने केही कार्यकर्ताहरू घर जानको लागि ट्रक चोरेर भागे । तर, मोरोगोरोमा उनीहरू गिरफ्तारीमा परे ।
त्यतिबेला स्वतन्त्रता आन्दोलन राजनीतिक रसरङ्गको उच्चतम चरणमा पुगेको थियो । पार्टीमा भर्ती बढेकोमा खुसी हुँदै केही नेताहरू एउटा परिस्थितिमा स्वतन्त्रता आफैँ आउँछ भन्ने सोच्थे । त्यसकारण, उनीहरू भित्रभित्रै सल्किरहेको असन्तोषको आगोप्रति बेवास्ता गर्थे । त्यस्तो परिस्थितिमा हानीले नेतृत्वप्रति असन्तोष पोख्दै एउटा पत्र लेखे र सन् १९६९ को मोरोगोरो सम्मेलनमा त्यो पत्र पेस गरे ।
सन् १९६७ मा शिविरका धेरै कामरेडहरू केन्या पुगिसकेका थिए । केही कार्यकर्ताले हानीलाई आफ्ना असन्तोष बुझ्न नसकेको भन्दै आलोचना गरे तापनि धेरैले उनको सुन्ने धैर्य, समस्या समाधानको लागि अग्रसर हुने बानीको प्रशंसा पनि गरे । पार्टीका नेताहरूबिच नातावादी प्रवृत्ति, कोहीमा धेरै रक्सी सेवन गर्ने दुव्र्यसनी फैलिएको थियो । त्यहीबेला क्रिस हानी जाम्बिया गए । कोङवामा उनको आलोचना पनि भयो । जोसाह जैलेको नेतृत्वमा रहेकी एउटा सानो समूह पनि लुसाका हुँदै मोजाम्बिक जान कोङवाबाट हिँड्यो । सन् १९६७ को सुरुमा प्राज्ञ वेन मुगबानेले जाम्बिया विश्वविद्यालय क्याम्पस नजिकै सुनिनदालेस्थित एउटा घरमा क्रिस हानीको बस्ने बन्दोबस्त मिलाए । प्राज्ञ मुगबाने एक वर्षअघि मात्र संरा अमेरिकाबाट त्यहाँ आएका थिए । उनको घरमा प्रशस्त पुस्तकहरू थिए । उनी अफ्रिकी राष्ट्रिय काङ्ग्रेसका समर्थक थिए । उनले काङ्ग्रेसका टाम्बोलाई पनि बस्ने बन्दोबस्त मिलाएका थिए ।
मुगबाने परिवारका निम्ति हानी जेठो छोरोसरह थिए । प्रायशः आइतबार हुने भेटघाटमा हानीका विचार, शैली र उनले किट्सका कविताहरू कण्ठस्थ गरेर धाराप्रवाह वाचन गर्दा सहभागीहरू चाँडै प्रभावित हुन्थे । कुनै पार्टी वा भोज हुँदा हानी पार्टीबाट छिट्टै निस्कन्थे र कोठामा गएर किताब पढेर बस्थे ।
लुसामा हुने अफ्रिकी भूमिगत बैठकहरूका सहभागीका लागि हानी एउटा नयाँ आविष्कारजस्तै थिए ।
सन् १९६१ डिसेम्बर महिनामा जोहान्सबर्गको एउटा गोप्य ठाउँमा अफ्रिकी राष्ट्रिय काङ्ग्रेसको बैठक भयो । त्यो बैठकले वर्णभेदी शासन सत्ताविरुद्ध युद्धको औपचारिक घोषणा गर्यो । सन् १९६० मा सार्पभिल्ले र लाङगामा भएका नरसंहारपछि अफ्रिकी राष्ट्रिय काङ्ग्रेसले शान्तिपूर्ण सङ्घर्षको बाटो त्यागिसकेको थियो । त्यसपछि सन् १९६१ मा भएको जोहान्सबर्ग बैठकबाट काङ्ग्रेसले अन्य मुक्ति सङ्गठनहरूसँग नयाँ उचाइमा सम्बन्ध स्थापित गर्ने तय गरेको थियो ।
जोहान्सबर्गमा गोप्य बैठक बसेको बखत रोडेसियाको हरारे सहरको हाइफिल्ड्समा एउटा अर्को बैठक पनि बसेको थियो । त्यो बैठकबाट जापु (ZAPU) स्थापनाको औपचारिक निर्णय भयो र मजदुर नेता जोशुआ कोमो (Joshua Nkomo) त्यसको सभापतिमा निर्वाचित भए । पछि जोशुआलाई रोडेसियाली (हालको जिम्बाब्वे) प्रहरीले गिरफ्तार गर्यो र क्रान्तिकारी नेता रोबर्ट मुगाबेसँगै जेलमा थुन्यो । मुगाबे जिम्बाब्वेली अफ्रिकी राष्ट्रिय सङ्घ जानु (Zanu) का सभापति र लामो समयसम्म जिम्बाब्वेका राष्ट्रपति बने ।
त्यही वर्ष पीएसीको सैनिक सङ्गठन पोको, अजानियाली जनमुक्ति सेना (एपीएलए) र अङ्गोला जनमुक्ति आन्दोलन (एमपीएलए – MPLA) पनि गठन भए ।
यतिञ्जेल जापु र अफ्रिकी राष्ट्रिय काङ्ग्रेस दुवै कसरी अगाडि बढ्ने विषयमा अस्पष्ट थिए । तथापि एक वर्षकै अन्तरालमा सोभियत सङ्घबाट सैनिक तालिम प्राप्त दुवै सङ्गठनसम्बद्ध लडाकुहरूको तान्जानिया जाने ‘महान् पूर्वी मार्ग’ नामले चर्चित स्थानमा भेट भयो । जापु, मोजाम्बिकको फ्रिलिमो, नामिबियाको स्वापो, एमपीएलए र अफ्रिकी राष्ट्रिय काङ्ग्रेसका युवा नेता तथा लडाकुहरू दार–ए–सलाममा भेला भए । दार–ए–सलाममा जापु र काङ्ग्रेसले आफ्ना कार्यालय स्थापना गरे । अरू दुई वर्षमा पार्टीमा भर्ती हुनेको सङ्ख्या बढ्यो । तर, सन् १९६३ मा मात्र तान्जानियामा उनीहरूका शिविर स्थापना भए ।
क्रिस हानीका मित्र आकी सिबेकोले ट्युनिसियाबाट जिम्बाब्वे, जाम्बिया आदि बाटोमा पर्ने देशका सुरक्षाकर्मीलाई छकाउँदै लडाकुलाई आवश्यक पर्ने हातहतियार आपूर्ति गर्थे ।
वान्के कारबाही
सन् १९६६ को अन्त्यसम्ममा लडाकुको पूर्वतयारी लगभग भइसकेको थियो । हानी, टाम्बो, जेबी माक्र्स, मोजेस कोटानी र थोमस कोबीलगायतले रोडेसियामा संयुक्त सेना पठाउने विषयमा जापुसँग वार्ता गरिसकेका थिए । यी दुई सङ्गठनबिचको सम्बन्ध त्यतिबेला प्रगाढ बनिसकेको थियो । कुनै पनि अन्तर्राष्ट्रिय सम्मेलनमा उनीहरू एकअर्कोलाई आपसी सहयोग गर्ने गर्थे । लुसाकामा अफ्रिकी राष्ट्रिय काङ्ग्रेसको मुख्यालय स्थापना गर्न जापुले महत्वपूर्ण सहयोग गरेको थियो । उच्च तहको सैनिक नेतृत्व काङ्ग्रेसका टाम्बो र जापुका उपसभापति जेम्स चिकेरेमाराले गरेका थिए । लुसाका बसाइँकै क्रममा हानी र जिप्राका कमान्डर जोन डुबेले ‘वान्के कारबाही’ को योजना बनाएका थिए ।
दक्षिण अफ्रिकाभित्र स्वतन्त्रता आन्दोलन कमजोर देखिँदा जनता र स्वतन्त्रता सेनानीहरूमा एक प्रकारको निराशा छाएको थियो । त्यो निराशा तोड्न हानीलगायतका नेताहरू चाँडोभन्दा चाँडो आफ्नो देशभित्र पसी भूमिगत गतिविधि गर्न लालायित थिए । तर, उनीहरूसामु एउटा गम्भीर प्रश्न थियो– दक्षिण अफ्रिका पस्ने कसरी ? आफूसँग सेना भएकाले कुनै उपयुक्त समयको प्रतीक्षा गरिरहनु नपर्ने विचार चर्कोसँग उठेको थियो । जस्तै कठिन भूगोल, प्रतिकूल राजनीतिक अवरोध छिचोलेर पनि देशभित्र पस्नुपर्ने भावनाले काम भइरहेको थियो । तर, दक्षिण अफ्रिका वरपरका देशहरू अङ्गोला, मोजाम्बिक र रोडेसिया सबै साम्राज्यवाद अधिनस्थ थिए । भाषागत समस्या, दुरूह जङ्गली भूगोल, कमजोर राजनीतिक एवम् सैनिक प्रभावका कारण त्यतिबेला हानीलगायतका सैनिक नेताहरूले बनाएको योजना साहसिक भए तापनि अव्यावहारिक सिद्ध हुन पुग्यो ।
रोडेसिया पार गर्ने कठिनाइ छिचोल्न हानीले भियतनाम युद्धको समयमा प्रचलित ‘हो चि–मिन्ह पदमार्ग’ को अनुभव उपयोग गर्ने प्रयत्न गरे । लडाकुलाई आवश्यक सरसामग्री आपूर्ति गर्न भियतनामी अनुभवको सिको गर्दै काठे पुलहरूको निर्माणमा जोड दिइयो ।
सन् १९६० को मध्यावधिसम्म दक्षिण अफ्रिकी सरकारको चर्को दमनका कारण त्यहाँभित्रका मुक्तिकामी शक्तिहरूको हौसला मरिसकेको थियो । प्रम भेर्वर्डको सन् १९६६ सेप्टेम्बरमा संसद् भवनभित्रै हत्या भएपछि जोन भोस्र्टर दक्षिण अफ्रिकाको प्रधानमन्त्री बनेका थिए । भोस्र्टर र रोडेसियाका प्रधानमन्त्री इयान स्मिथ स्वतन्त्रता आन्दोलन दबाउन दृढ निश्चयी थिए ।
स्रोत : स्वतन्त्रता आन्दोलनका अफ्रिकी अगुवा
Leave a Reply