भर्खरै :

सामुदायिक बीउ बैङ्क–एक प्रकृतिमैत्री अवधारणा

सविन ख्याजू
पृष्ठभूमि
मानव समाजको विकास भइरहँदा नदीको किनारको सभ्यतालाई महत्वका साथ लिइन्छ । नदीको किनारमा बीउ छर्दा, केही समयपछि उम्रनुका साथै बीउ उम्रन पानी, मल, घाम आदि चाहिने किसानले बुझ्न थाले । धानको बीउ छर्दा धानको बोट उम्रने, मकैको बीउ छर्दा मकैको बोट नै उम्रनेजस्ता कुरा बुझ्न थाले । सुरुमा फिरन्ते जीवन शैली थियो । जहाँ जे भेटायो त्यही खाने प्रचलन थियो । तर, उनीहरूको जीविकोपार्जन हुन अझै मुस्किल नै हुन्थ्यो । नदी किनारभन्दा पर जमिनमा पनि खेती गर्न थालियो । तर, आफूले लगाएको बालीले सोचेजस्तो फसल दिन्थेन । कि रोग–कीरा लाग्थ्यो, कि पानी कम वा बढी हुन्थ्यो, मलको मात्रा मिल्थेन, बीउमा खराबी हुन्थ्यो आदि समस्याले किसान पिरोलिएका हुन्थे ।
हरेक बालीभित्र अनेक जात हुन्छन् । हरेक जातको आफ्नै विशेषता हुन्छन् । कुनै जातले विभिन्न रोगसँग फरक–फरक प्रतिक्रिया जनाउँछ । रोगको कारक तत्वसँग कुनै जातले प्रतिरोध गर्नसक्छ, कुनैले प्रतिरोध गर्नसक्दैन भने कुनैले रोग लागे पनि उत्पादनमा कुनै असर नदेखाउने गर्दछन् । बालीमा शत्रु कीराको हकमा पनि यो लागू हुन्छ । कुनै जातको बालीले जमेको पानी सहन सक्छ, उत्पादनमा नकारात्मक असर गर्दैन । कुनै जात कम पानी वा सुख्खा सहनसक्छ । कुनै जातले मलको खपट बढी गर्छ भने कुनैले कम मात्र उपभोग गर्छ । किसानहरू बालीका विभिन्न जातको बीउले फरक–फरक उत्पादन दिनेबारे जानकार छन् । तर, के कुरा थाहा छैन भने जातअनुसार उत्पादन क्षमता (potentiality) बारे अनविज्ञ छन् । यी सबै विशेषताहरू त्यस बालीको वंशानुगत गुणले निर्धारण गरेको हुन्छ । त्यसलाई जिन (gene) भनिन्छ । त्यसभित्र पनि एलीली (allele) ले निर्धारण गर्दछ ।
किसानहरूले पहिलेदेखि नै परम्परागत बीउको खेती गर्दै आएका थिए र छोडेका छैनन् । व्यक्तिदेखि सामुदायिक तहसम्मका सबै बीउ संरक्षण बीउ बैङ्कको रुपमा लिइन्छ । यसका सबल पक्षहरू छन् । किसानलाई बीउको अभाव हुन्न । बीउ खरिद गरिरहन बाध्यता हुन्न । बीउ उत्पादन सीपको संरक्षण हुन्छ । खुलारूपमा परागसेचन हुने बालीको बीउ छान्ने अनि अर्काे वर्ष त्यही बीउको प्रयोग गरिन्छ । तर, हाइब्रिड बीउ यसरी प्रयोग गर्न सकिन्न । एक बाली लिइसकेपछि अर्काे बाली लिन नयाँ बीउ नै खरिद गर्नुपर्दछ । यसमा पनि जिनकै भूमिका हुन्छ । अन्नबालीलाई भन्दा बढी स्याहार र संरक्षणको जरुरी बीउलाई चाहिन्छ ।
सामान्यतया, सामुदायिक बीउ बैङ्क तीन प्रकारका छन्ः सामुदायिक बीउ बैङ्क, सामुदायिक जिन बैङ्क र सामुदायिक बीउ तथा जिन बैङ्क । सन् १९८० को दसकमा अफ्रिकाको इथियोपिया देशबाट भोकमरी र युद्धपछि बीउ बैङ्कको सुरुआत गरिएको हो । नेपालको भौगोलिक र प्राकृतिक विविधताले विरुवा÷वनस्पतिको विविधता हुनु स्वाभाविक हो । बीउ बैङ्क विकासमा नेपालको हिमाल, पहाड र तराईमा अलग्ग अलग्ग अथाह सम्भाव्यता छ । समुद्री सतहभन्दा ६० मिटरदेखि ४८०० मिटरसम्म फैलिएको भूगोलमा प्रत्येक १०० मिटर उचाइको फरकमा तापक्रम १ डिग्री सेल्सियसले फरक छ । समुद्र र मरुभूमिबाहेक सबै मौसस नेपालमा हुनु महत्वपूर्ण पक्ष हो ।
नेपालमा हाल सत्न्दा बढी सामुदायिक जिन तथा बीउ बैङ्कहरू स्थापित छन् । यिनीहरूको उत्पति कृृषिमा जैविक विविधता संरक्षण, प्राकृतिक प्रकोपबाट हुने विनाश, मौसम परिवर्तन, बीउको गुणस्तरमा कमी, र कृषकको सक्रियतामा वृद्धिले भएको मानिन्छ । खाद्य बाली र उपयोगी विरुवाहरूको संरक्षण सबैको निम्ति आवश्यक छ । हराएका बीउहरूलाई पुनः स्थापित गर्न यो अवधारणाको महत्व छ । यो काममा लाग्नेहरूको लागि रोजगारी पनि सिर्जना हुन्छ ।
सकारात्मक प्रभाव
– किसानको लागि बीउबारे आवश्यक सम्पूर्ण जानकारी प्रदान गर्न निकै सहज हुन्छ । स्थानीय र लोप हुन लागेका बीउ सङ्कलन, बीउको विशेषता पहिचान, दस्तावेजीकरण आदि ।
– बीउको स्रोतहरूबारे तथ्याङ्क तयार हुने भएका कारण बीउ÷जिन स्रोतकेन्द्रको रूपमा विकास हुन्छ । किसान र अनुसन्धानकर्ताबीच विचार आदान–प्रदान र तालिम गर्ने दबुको विकास हुन्छ ।
– प्राकृतिक प्रकोपबाट कुनै बीउ नोक्सानी भएमा त्यसको पुनर्जीवन वा समाधानस्वरुप यी केन्द्रहरू रहन्छन् ।
– बीउ उत्पादनकर्ता र अनुसन्धानकर्ताको लागि आवश्यक विभिन्न बाली र त्यसका जातहरूको उपलब्धता हुन्छ । पुराना जातको प्रयोग गरी नयाँ जातका बीउ उत्पादन गर्न सहयोग मिल्छ ।
– खाद्य सुरक्षाको लागि यी बीउ वा जिनको उपयोगिता सधैँ रहन्छ ।
– कृषकको खेतबारीमा सुरक्षित गरिएको बीउ÷जिनको शुद्धता कायम रहन्छ । यो सबैभन्दा राम्रो बीउ भण्डारणको हो ।
– स्थानीय समुदाय र केन्द्रीय जिन बैङ्कबीच पुलको काम गर्न ।
– किसानको आम्दानीको स्रोतको रुपमा विकास हुने ।
पुराना बीउ विस्थापन
विश्वमा नै पुराना जातका धेरै बीउहरू लोप भइसकेका छन् भने धेरै लोप हुने क्रममा छन् । नेपाल यसबाट अछुटो छैन । प्रकृतिको विकासक्रममा पुराना जातका वनस्पतिहरू लोप हुँदै जान्छन् । नयाँ जातका वनस्पतिहरूको उत्पत्ति भइरहन्छ । प्रयोगमा हुने बालीहरू विकसित हुन थाल्दछन् भने प्रयोगमा नभएका र वातावरण अनुकुल नभएका बालीहरू लोप हुन्छन् । यी जातका बीउ हराउनुमा धेरै कारण छन् ।
पहिलो, बढ्दो जनसङ्ख्याको माग पूर्ति गर्न यिनीहरूको उत्पादन र उत्पादकत्व नपुग्नु । ‘रोमा’ जातको गोलभेडा १२–१५ मेट्रिक टन प्रतिहेक्टर उत्पादन हुन्छ भने ‘सृजना’ जातको १०५–११० मेट्रिक टन प्रतिहेक्टर उत्पादन हुन्छ । ‘जीतपुर–१’ जातको उखुको उत्पादन क्षमता ७१ मेट्रिक टन प्रतिहेक्टर उत्पादन छ भने ‘जीतपुर–२’ जातको ९२ मेट्रिक टन प्रतिहेक्टर उत्पादन छ । कृषकले बढी उत्पादन दिने जात नै छान्छन् ।
दोस्रो, नयाँ रोग–कीराको प्रकोपको कारण क्षति धेरै हुनु । रोग प्रतिरोध क्षमता बढेमा उत्पादन बढी हुन्छ । रोग प्रतिरोध क्षमता भएका जातका बाली किसानको रोजाईमा पर्दछ । प्राकृतिक प्रकोपका कारण पनि धेरै बीउ नष्ट हुने गरेको छ ।
तेस्रो, विकसित प्रविधिअनुकुल विशेषताको अभावका हुनु । जस्तैः आधुनिक मेसिनहरूले होचो बोट हँुदा काम गर्न सहज हुन्छ । कपास, धान, गहँु आदिमा यो लागू हुन्छ ।
चौथो, बाली पाक्ने अवधि लामो हुनु । जस्तै ‘पोख्रेली जेठोबुढो’ धान पाक्न १८०–१८५ दिन लाग्छ, भने ‘मसुली’ लाई १५५ दिन भए पुग्छ । ‘पासाङल्हामु गहँु’ लाई १७८ दिन लाग्छ भने ‘बी.एल. ११३५’ जातलाई ११५ दिन भए पुग्छ । ‘देउती’ जातको मकैलाई १३०–१३५ दिन लाग्छ भने ‘रामपुर कम्पोजिट’ लाई ११०–११५ दिन भए पुग्छ । किसान एक वर्षमा धेरैभन्दा धेरै पटक बाली लिन सके आम्दानी बढ्ने सोच गर्छन् ।
पाँचौँ, ठिमाहा जातका बीउहरूको अत्यधिक प्रयोग हुनु । यसले खेतमा विरुवाको विविधतालाई पर धकेलेको कारण अन्य जातका बालीहरू हराउन थालेको हो ।
पुराना बीउको संरक्षण
पुराना जातका बीउहरूको संरक्षण अहिले धेरै ठाउँमा चल्न थालेको छ । समुदायको पहलमा स्थानीय ठाउँहरूमा उपलब्ध बालीहरू र तिनका जातहरूको संरक्षण हुन थालेका छन् । किसान वा त्यस कार्यमा संलग्न व्यक्तिहरूलाई बीउ सङ्कलन, प्रशोधन, भण्डारण, नामाकरणलगायतका बारेमा प्राविधिक ज्ञान प्रदान गर्न तालिमको व्यवस्था गरिनुपर्दछ । बीउमा पानीको मात्रा, सापेक्षित आद्रता, तापक्रम आदिको आवश्यक मात्रामा कायम गर्न सक्नुपर्दछ । नयाँ प्रविधिको प्रयोग गर्न सके धेरै लामो समयसम्म ती बीउ नबिग्रिने गरी भण्डारण गर्न सकिन्छ ।
विकासशील देशमा ८०–९० प्रतिशत बीउको स्रोत आफ्नै बारीको बीउ उत्पादन प्रणालीबाट चलिआएको छ । किसानहरूको आर्थिक विपन्नताका कारण बीउ भण्डारणको लागि आवश्यक स्थानकोे अभाव छ । सन् २०१० मा स्थापना भएयता राष्ट्रिय कृषि अनुसन्धान परिषदअन्तर्गतको नेपाल कृषि जिन स्रोत केन्द्रले तालिम तथा अन्य सहायता प्रदान गर्दै आएको छ । सन् २०१२ सम्ममा देशभरिबाट १०,७८१ थरीका बीउहरू सङ्कलन गरिसकेको छ ।
अनुसन्धानमा ती बीउको प्रयोग गर्न सकिन्छ । जातको विशेषताअनुसार त्यसमा रहेका राम्रा जिनहरूको निकालेर अरु बीउमा स्थानान्तरण गर्न सकिन्छ । जस्तै रोगसँग लड्न सक्ने विशेषता भएका बालीबाट त्यस जिन निकालेर रोगसँग लड्न नसक्ने बालीको बीउमा सार्न सकिन्छ । त्यसबाटै नयाँ प्रजातीको बीउ उत्पादन गर्न सकिन्छ । यस कार्यबाट निस्कने बीउलाई वंशानुगत परिवर्तन गरिएको बीउ भनिन्छ । रोग–कीराका कारण हुने क्षतीलाई न्यूनीकरण गर्दा उत्पादन र उत्पादकत्वमा वृद्धि हुन्छ ।
नेपालमा गैरसरकारी संस्थाहरूले यी काम गर्दै आएको छ । यसलाई प्रभावकारी बनाउन नेपालका राष्ट्रिय वनस्पति अनुसन्धान केन्द्र, राष्ट्रिय आविष्कार केन्द्र, राष्ट्रिय कृषि अनुसन्धान केन्द्र, स्थानीय निकायलगायतले सक्रिय भूमिका निभाएमा व्यवस्थित र उपलब्धिपूर्ण हुने देखिन्छ । अनुसन्धान केन्द्र र शैक्षिक संस्थाहरूबीच समन्वय भएमा सबल शैक्षिक जनशक्ति उत्पादन गर्नमा टेवा पुग्नेमा दुई मत छैन । प्राविधिक तालिम, गोष्ठी, छलफलहरूको आयोजनाले यी बैङ्कहरूको विकास गर्न मञ्च प्रदान गर्नेछ ।
खेतबारीमै बाली लगाएर बीउ संरक्षण गर्ने अवधारणा धेरै देशमा चर्चित र सफल भएका छन् । प्राकृतिक छनोट र मानिसको छनौट दुवै सँगसँगै चल्ने यो प्रणालीको विशेषता हो ।
बीउ÷जिन संरक्षणमा दिगोपनाको कृषकको जिविकोपार्जनसँग सम्बन्धित छ । बीउ उत्पादन र बजारीकरण बीचको न्यायिक सम्बन्धले बीउ संरक्षणमा असली टेवा पु¥याउँछ ।
सन्दर्भ सामग्रीः
– Gupta, Salik Ram, 2012. Crop Genetic Resources and Genebank Activities in Nepal. Journal of the Faculty of Agriculture SHINSHU UNIVERSITY Vol.48 No.12.
– Community Seed Banks in Nepal: Past, Present, future, LIBIRD, 2012.
– कृषि डायरी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *