अर्थमन्त्रीको गलत दृष्टिकोण
- असार १४, २०८३
भक्तपुर, असार १२ । चाँगुनारायण नगरपालिका–९ ताथलीको ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक तथा सामाजिक जीवनका विविध आयामलाई समेटिएको अनुसन्धानमूलक कृति ‘ताथली : भूगोलदेखि लोकसंस्कृतिसम्म’ को विमोचन तथा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । स्थानीय इतिहास, भूगोल, लोकसंस्कृति, जात्रा–पर्व, मूर्त तथा अमूर्त सम्पदा, परम्परा, जनजीवन र मौलिक पहिचानलाई समेटेर तयार पारिएको उक्त पुस्तकलाई ताथलीको समग्र परिचय दिने महत्वपूर्ण दस्तावेजका रूपमा लिइएको छ ।
चाँगुनारायण नगरपालिका–९ वडा कार्यालयको आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत बजेट तथा कार्यक्रमअन्तर्गत प्रकाशित पुस्तकको विमोचन कार्यक्रम वडासदस्य रविन बासुकलाको सभापतित्वमा सम्पन्न भएको थियो ।
कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य तथा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईँले इतिहास र संस्कृतिबिनाको समाजको पहिचान कमजोर हुने भएकोले स्थानीय इतिहासको खोज, अध्ययन र अभिलेखीकरणलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । उहाँले स्थानीय तहले आफ्नै इतिहास, संस्कृति र सम्पदालाई पुस्तकका रूपमा प्रकाशन गर्नु अत्यन्तै सकारात्मक र अनुकरणीय कार्य भएको उल्लेख गर्दै यस्ता कृतिले नयाँ पुस्तामा आफ्नो गाउँप्रतिको अपनत्व र गौरवबोध विकास गर्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले कला संस्कृतिका साथै देशको सार्वभौमसत्ता नै देशको प्राण भएको उल्लेख गर्दै कला, संस्कृति र सभ्यतामाथि आक्रमण गर्ने तत्वहरूको पहिचान गरी नयाँ पुस्तालाई सङ्घर्षशील बनाउनुपर्नेमा जोड दिनुभयो ।
विशेष अतिथि साहित्यकार तथा संस्कृतिकर्मी सूर्यप्रसाद लाकोजुले ताथली ऐतिहासिक र सांस्कृतिक दृष्टिले निकै समृद्ध क्षेत्र भए पनि यससम्बन्धी सामग्री छरिएर रहेको अवस्थामा यस पुस्तकले ती विषयलाई एकीकृत रूपमा प्रस्तुत गरेको बताउनुभयो । उहाँले मौखिक परम्परामा सीमित हुँदै आएका धेरै विषयलाई पुस्तकले स्थायी अभिलेखका रूपमा सुरक्षित गरेको उल्लेख गर्नुभयो । उनले भक्तपुरको इतिहास लेखनमा ताथलीमा भेटिएका अभिलेखहरू अत्यन्तै महत्वपूर्ण भएको चर्चा गर्दै त्यसको संरक्षण र प्रवद्र्धनका लागि लेखकले खेलेको भूमिका उदाहरणीय भएको बताउनुभयो ।
अनुसन्धाता तथा लेखक केदारबहादुर थापाले स्थानीय इतिहास लेखन अत्यन्तै कठिन र धैर्यपूर्ण अनुसन्धानको विषय भएको बताउँदै लेखकले पुराना अभिलेख, स्थानीय जनश्रुति, धार्मिक परम्परा, पुरातात्विक प्रमाण तथा समुदायका अग्रज व्यक्तिहरूसँगको संवादका आधारमा सामग्री सङ्कलन गरेको चर्चा गर्नुभयो । उहाँका अनुसार यस्ता पुस्तक भविष्यका अनुसन्धानकर्ता, विद्यार्थी तथा इतिहास अध्ययन गर्नेहरूको लागि भरपर्दो सन्दर्भ सामग्री बन्नेछन् ।
आर्किटेक्ट एवं शोधार्थी सिर्जना प्रजापतिले ताथलीमा रहेका मठमन्दिर, पाटीपौवा, शिलालेख, मूर्तिकला, परम्परागत बस्ती र सांस्कृतिक सम्पदाको संरक्षणका लागि यस्ता अनुसन्धानमूलक प्रकाशन अपरिहार्य भएको बताउनुभयो । उहाँले विकास निर्माणको क्रममा सम्पदाको मौलिकता जोगाउन पनि यस्ता दस्तावेजले मार्गदर्शन गर्ने धारणा राख्नुभयो । उहाँले भक्तपुर र ताथलीबिचको सम्बन्धलाई ऐतिहासिक तथ्यका आधारमा पुस्तकले प्रस्ट्याएको भन्नुभयो ।
ताथली साकोसका अध्यक्ष एकबहादुर खत्रीले ताथलीको समग्र इतिहास समेटिएको पुस्तक प्रकाशन हुनु स्थानीय समुदायका लागि गर्वको विषय भएको बताउनुभयो । इतिहास र संस्कृतिबारे नयाँ पुस्तालाई जानकारी गराउने प्रभावकारी माध्यम पुस्तक नै भएको उहाँको भनाइ थियो ।
नेपाल मजदुर किसान पार्टी ताथलीका राजाराम छुकांले ताथलीको मौलिक पहिचान संरक्षणका लागि स्थानीय समुदाय स्वयं जागरुक हुनुपर्ने बताउँदै पुस्तकले त्यस अभियानलाई थप बल पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले पुस्तक हरेक घरमा पुग्नुपर्ने, सबैले पढ्नुपर्ने र आफ्ना छोराछोरीलाई पनि पढ्न दिनुपर्नेमा जोड दिनुभयो । उहाँले प्रकाशित पुस्तकले वर्तमान पुस्तालाई आफ्नो मौलिकता चिनाउनुका साथै भावी पुस्ताका लागि पनि महत्वपूर्ण सन्दर्भ सामग्रीका रूपमा काम गर्ने विश्वास लिएको जानकारी दिनुभयो ।
पुस्तकका लेखक तथा अनुसन्धानकर्ता हरिसुन्दर छुकांले आफ्नो लेखकीय मन्तव्यमा ताथली ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक दृष्टिले अत्यन्तै महत्वपूर्ण बस्ती भए पनि यसका विविध पक्ष समेटिएको समग्र दस्तावेजको अभाव रहेको बताउनुभयो । यही आवश्यकता महसुस गर्दै भूगोलदेखि लोकसंस्कृतिसम्मका विषयलाई एउटै कृतिमा समेट्ने प्रयास गरिएको उहाँले बताउनुभयो ।
लेखक छुकांले पुस्तक तयार पार्ने क्रममा स्थानीय अग्रजहरूसँगको संवाद, पुराना दस्तावेज, अभिलेख, शिलालेख, धार्मिक स्थल, पुरातात्विक अवशेष, जनश्रुति तथा विभिन्न प्रकाशित–अप्रकाशित सामग्रीको अध्ययन गरिएको जानकारी दिनुभयो ।
चाँगुनारायण नगरपालिकाकी कार्यपालिका सदस्य कमला गिरीले स्थानीय सरकारको दायित्व सडक, भवन र पूर्वाधार निर्माणमा मात्र सीमित नरही इतिहास, भाषा, संस्कृति र सम्पदाको संरक्षणमा पनि उत्तिकै महत्वपूर्ण भूमिका रहने बताउनुभयो । उहाँले वडा कार्यालयले स्थानीय सम्पदाको अभिलेखीकरण र संरक्षणलाई प्राथमिकतामा राखेर पुस्तक प्रकाशन गरेको जानकारी दिनुभयो ।
कार्यक्रमको सञ्चालन वडासचिव सपना श्रेष्ठले गर्नुभयो । कार्यक्रममा जनप्रतिनिधि, अनुसन्धानकर्ता, साहित्यकार, संस्कृतिकर्मी, शिक्षक, सञ्चारकर्मी, राष्ट्रसेवक कर्मचारी, समाजसेवी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि तथा स्थानीयवासीको उपस्थिति थियो ।
स्थानीय तहको पहलमा प्रकाशित ‘ताथली : भूगोलदेखि लोकसंस्कृतिसम्म’ पुस्तक ताथलीको ऐतिहासिक र सांस्कृतिक पहिचानलाई अभिलेखीकरण गर्ने महत्वपूर्ण कृतिका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ ।
Leave a Reply