भर्खरै :

सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – २

सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – २

यहाँसम्म आइपुग्दा क्रिस हानीको सैद्धान्तिक दृष्टिकोण क्रमशः प्रस्ट हुँदै गयो । कामाटादेखि एलिससम्मको यात्राबाट उनले धेरै कुरा सिकेका थिए ।
हानीले भने, “अब मैले धेरै काला श्रमिक देखिसकेँ । शोषणको निर्मम रूप देखेँ । दासको जस्तो ज्याला, मजदुरको अधिकारविहीन अवस्था भोगेँ । यस परिस्थितिमा मलाई समाजवादप्रतिको अपिल ज्यादै व्यापक लाग्यो । श्रमिकले धन सिर्जना गर्छ तर अन्त्यमा उनीहरूको हातमा लाग्छ शून्य ! उनीहरूले खानका लागि चनाबाहेक केही पाउँदैनन् र आधा पेट खाएर पुँजीपतिका लागि काम गर्छन् ।
यो मेरो सामान्य बुझाइ थियो । मेरो आफ्नै भोगाइसँगै सिद्धान्त निःसृत सामान्य बुझाइ । मैले मजदुर आन्दोलनलाई सिद्धान्तकै रूपमा बुझेको थिइनँ ।”
फोर्ट हायरमा कानुनको पढाइ टुङ्ग्याएपछि क्रिस हानीले सेफर एन्ड सेफर (Schaeffer and Schaeffer) मा कानुनी अभ्यास गर्न थाले । पातलो कार्पेट बिछ्याइएका अँध्यारा काठे कोठाहरू र खात पारेर राखिएका छालाको गाता हालिएका बाक्लाबाक्ला पुस्तकहरूबिच उनले आफ्नो दीक्षा प्रयोग गर्दै गए । तर, त्यतिमा हानीले चित्त बुझाउन सकेनन् । २१ वर्षको उमेर (सन् १९६२) मा उनी आफ्ना पितासँग बस्न केपटाउन गए ।
त्यहाँ उनका बुबा निर्माण मजदुर थिए । उनका बुबा गिल्बर्ट स्थानीय लाङ्गाका बासिन्दाहरूको सङ्गठनका निर्वाचित अध्यक्ष थिए । उनको सक्रियता स्थानीय प्रशासनलाई मन परेको थिएन । त्यसकारण, गिल्बर्ट र उनका साथीहरू प्रशासनबाट बरोबर सताइन्थे ।
केपटाउनमा अफ्रिकी राष्ट्रिय काङ्ग्रेसको सङ्गठन बलियो थियो । अखिल अफ्रिकी काङ्ग्रेसको स्थापनापछि राष्ट्रिय काङ्ग्रेसले नयाँ चुनौतीहरू सामना गर्नुपर्यो । विशेषतः विद्यार्थीहरू अखिल काङ्ग्रेसलाई समर्थन गर्थे । कहिलेकाहीँ राष्ट्रिय काङ्ग्रेस र अखिल काङ्ग्रेसका समूहबिच झडपसमेत हुने गथ्र्याे ।
हानी राष्ट्रिय काङ्ग्रेसको केप प्रान्तका प्रमुख गोभान एम्बेकीको निर्देशनमा काम गर्थे । केपटाउनको राजनीतिक वातावरणमा उनलाई त्यहाँको मजदुर सङ्गठन एवम् राजनीतिक क्रियाकलापमा सक्रिय बन्न धेरै समय लागेन । प्लिइन सहरको तयारी खाना उत्पादन गर्ने मजदुर सङ्गठनका मजदुरहरूकहाँ उनी बरोबर गइरहन्थे । त्यसक्रममा हानीको ओस्कार एम्पिया (Oscar Mpetha), एलिजाबेथ माफिकेड (Elizabeth Mafikeng), रे अलेक्सान्द्र (Ray Alexander) र ज्याक सिमन्स (Ray Alexander) लगायत मजदुर आन्दोलनका अगुवाहरूसँग भेटघाट भयो ।
अध्ययनशील स्वभावका हानी ‘नयाँ युग’ पत्रिकाको कार्यालयमा पुगिरहन्थे । प्लिइन सहरमा पनि त्यसको कार्यालय थियो । ब्राइन बन्टिङ त्यसका सम्पादक थिए । कालान्तरमा वान्की अभियान (The Wankie Campaign) को क्रममा सहयोद्धा जेम्स अप्रिलसँग पनि केपटाउनमा नै हानीको पहिलो परिचय भएको थियो ।
सन् १९६२ मा सरकारी दमनचक्र अझ पेचिलो बन्यो । तथापि, त्यतिञ्जेल प्रतिबन्ध लगाई नसकेको दक्षिण अफ्रिकी मजदुर काङ्ग्रेस (SACTU) को नाममा हानी सक्रिय थिए । त्यही वर्ष नवगठित एमकेका कमान्डर–इन–चिफ नेल्सन मन्डेला देश दौडाहाको क्रममा केपटाउन पुगे । गायिका टिसावे (Gayika Tsawe) नामको वैद्यको घरमा भएको बैठकमा मन्डेलाको प्रभावशाली र गम्भीर भाषणबाट प्रभावित भएर सहभागीहरू सशस्त्र सङ्घर्षमा जानुपर्नेमा सहमत भए । त्यहीँबाट एम–योजना (The M-Plan) पारित गरियो । बैठकले एमकेको क्षेत्रीय समिति गठन गर्यो । त्यहीँ समितिले ११ ओटा प्रमुख स्थानहरूमा सङ्गठन विस्तार गर्यो ।
क्षेत्रीय समितिको आयोजनामा केपटाउनबाट ५० किमि पर एउटा गाउँको घर भाडामा लिई तालिम सञ्चालन हुन थाल्यो । त्यहाँ बारुद कसरी बनाउनेजस्ता तालिम दिइन्थ्यो । यस्ता तालिम सँगसँगै प्रशिक्षार्थीहरूले विभिन्न क्रान्तिकारी कृतिको अध्ययन पनि गर्थे । उनीहरू ज्याँ पल सात्रको ‘पर्खाल’ (Wall) र चे ग्वेभाराको ‘गुरिल्ला युद्ध’ (Guerilla Warfare) पढ्थे । एकदिन सुराकीको आधारमा प्रहरीले उनीहरूलाई गिरफ्तार गर्यो । प्रहरीलाई झुक्याएर उनीहरू घण्टाभरमै रिहा हुन सफल भए । तालिममा प्रशिक्षार्थीहरूलाई कसरी हमला गर्ने, टेलिफोनको लाइन कसरी विच्छेद गर्ने र पेट्रोल बम कसरी प्रहार गर्नेबारे प्रशिक्षण दिने क्रम चालु रह्यो ।
पश्चिम केपटाउनको क्षेत्रीय समितिको माथिल्लो गोप्य समितिमा सात सदस्य हुन्थे । त्यसको लागि हानी पनि निर्वाचित भए । घुसपैठ हुन नदिन र गोप्यता कायम राख्न यो समितिबारे तल्लो समितिलाई समेत जानकारी दिइँदैनथ्यो । हानीको रुचि क्रमशः कानुनी अभ्यासबाट राजनीतितर्फ केन्द्रित हुन थाल्यो । उनी फूटबल, रग्बी र क्रिकेटमा चाख राख्थे । युवाहरूबिच खेलकुद समूहहरू गठन गरी राष्ट्रिय काङ्ग्रेसको विचार प्रचार गर्थे ।
हानी दिउँसो सङ्गठन निर्माण र विस्तारमा लागिपर्थे भने राति प्रशासनलाई हायलकायल पार्न टेलिफोन लाइन काट्नेजस्ता भूमिगत गतिविधि गर्थे । राज्यस्तरको दमनविरुद्ध सशस्त्र हमलाको लागि आवश्यक बारुद र डाइनामाइट केपटाउनबाट २५ किमि पर पर्ने बेलभिल्ले क्वारीस्थित पार्टी एकाइले आपूर्ति गथ्र्याे । सरकारविरुद्ध आक्रोशित केपटाउनका जनताको रिस साम्य पार्न त्यहाँको काला जाति हेर्ने प्रशासनले लाङ्गामा सभाको आयोजना गर्यो । राष्ट्रिय काङ्ग्रेसका कार्यकर्ताले मातान्जिमा नामका प्रशासक बसेकै ठाउँमा अग्निउत्सर्जक राखेका रहेछन् । मातान्जिमाको ज्यान मुस्किलले जोगियो । प्रशासनले ९० दिने आपत्काल घोषणा गर्यो । शङ्काको भरमा जोकोहीलाई गिरफ्तार गर्ने अधिकार प्रहरीलाई दिइयो ।
सिबेको, हानी, फाल्दोन जोन्की र जेम्स ट्येकू आदि मिलेर गोप्यरूपमा हाते पर्चा छापे । सरकारले लागु गरेको दमनकारी कानुनको विरोध गर्दै पर्चामा राष्ट्रिय काङ्ग्रेसले सशस्त्र सङ्घर्ष गर्नुका कारणमाथि प्रकाश पारिएको थियो । पर्चा वितरणको क्रममा हानी र अरू साथीहरू पक्राउ परे । ३० दिनसम्म उनीहरू कारागारमा थुनिए । कारागारमा उनीहरूले आफू अपराधी नभई राजनीतिक बन्दी भएकाले त्यसैअनुसार व्यवहार गर्न माग राखी सङ्घर्ष गरे । फलतः उनीहरूलाई पुस्तक, पत्रपत्रिका र खानाको उचित व्यवस्था गरियो ।
दक्षिण अफ्रिकाभरि प्रहरीको निगरानी बढेको थियो । तर, हानी र उनका साथीहरूले प्रहरीको कम ध्यान जाने छिद्रहरूको उपयोग गर्थे । केपटाउनबाट जोहान्सबर्ग जाँदा उनीहरू प्रायशः दोस्रो दर्जाको रेलको डिब्बामा जान्थे । त्यहाँ प्रहरीको त्यति ध्यान पर्दैनथ्यो ।
सन् १९६० मा राष्ट्रिय काङ्ग्रेसमाथि प्रतिबन्ध लागेपछि १९६२ मा काङ्ग्रेसको पहिलो भूमिगत सम्मेलन भयो । लोबास्से भन्ने ठाउँको एउटा घरमा गोप्यरूपमा त्यो सम्मेलन भएको थियो । सम्मेलनले भूमिगत सञ्जाल विस्तार र सशस्त्र सङ्घर्षको रणनीति कार्यान्वयन गर्नेबारे व्यापक छलफल गर्यो । सम्मेलनले केपटाउनको गतिविधिलाई थप गति दियो । तर, केपटाउन पुग्दा नपुग्दै हानी र सिबेको माथि अर्को आपत् आइपर्यो । प्रहरीले उनीहरूको खोजी तीव्र पार्यो । हानीसहित चारजनाविरुद्ध मुद्दा लाग्यो । पार्टीले चारैजनालाई प्रवासमा पठाउने निर्णय गर्यो । यद्यपि, प्रवास जाने कार्यकर्ता अविवाहित हुनुपर्ने नियम थियो । तर, हानीबाहेक तीनजना विवाहित थिए । सन् १९६३ फेब्रुअरीमा उनीहरूविरुद्ध सजायको फैसला भयो । चारजना दुई समूहमा विभाजित भएर भूमिगत हुनुपर्यो । हानी र सिबेको एकै समूहमा भूमिगत भए ।
सोभियत सङ्घमा
अनेक दुःखकष्ट झेल्दै उनीहरू अरू झन्डै ४० जना सहयोद्धाहरूसँगै उत्तरी रोडेसिया (जाम्बिया) पुगे । जाम्बियामा उनीहरूलाई केनेथ काउन्डाको एकीकृत राष्ट्रिय स्वाधीनता पार्टी (UNIP) ले सहायता गर्यो ।
तान्जानियाको राजधानी दार–ए–सलाममा उनीहरूको जेमन हादेबे र ओर ताम्बोसँग भेट भयो । हानी र सिबेको जाम्बिया हिँडेपछि क्षेत्रीय समितिको नेतृत्व लुक्सस्मार्ट एनगुडल
(Looksmart Ngudle) ले लिए । तर, सबै भूमिगत सञ्जाल छताछुल्ल भयो । पछि लुक्सस्मार्ट गिरफ्तार भए । उनलाई कारागारमा निर्मम यातना दिइयो र धागोको सानो डोरोमा झुन्डिएर मरेको भनियो । गोभान एम्बेकी पनि पक्राउ परे ।
जाम्बियाबाट ३० जनाको टोलीसहित क्रिस हानी सोभियत सङ्घ पुगे । टोलीका अधिकांश सदस्यको निम्ति त्यो पहिलो विदेश यात्रा थियो । रङ्गभेदको चर्को मार खेपेका दक्षिण अफ्रिकी युवाहरू गोरा वर्णका रुसीहरूको स्वागत पाएर खुसी थिए । रुसीहरूको व्यवहारले उनीहरूलाई जातिभेद नभएको समाज निर्माण गर्नमा थप दृढ निश्चयी बनायो ।
जाम्बियाबाट सुडान हुँदै कायरोको छोटो बसाइँपछि उनीहरू मस्को पुगेका थिए । त्यतिबेला सन् १९६२ अक्टोबरको क्युवा मिसाइल सङ्कटमा वुस्साहस प्रदर्शन गरेको भन्दै ख्रुश्चेभ चर्को आलोचनाको तारो बनेका थिए । सन् १९६२ मा अन्नबाली सखाप भएपछि सन् १९६३ मा ख्रुश्चेभको स्थान लियोनिड ब्रेजनेभले लिएका थिए ।
कम्युनिस्ट पार्टीमा आबद्ध भएको भर्खर दुई वर्ष भए तापनि हानीले समाजवाद र माक्र्सवादबारे धेरै अध्ययन गरिसकेका थिए । सोभियत सङ्घ पुगेपछि समाजवाद र माक्र्सवादप्रति उनको निष्ठा अझ बलियो भयो । तत्कालीन सोभियत सङ्घ संसारका कम्युनिस्टहरूलाई जस्तै हानीलाई पनि मुसलमानहरूको मक्का र इसाईहरूको भ्याटिकन सिटीसरह थियो । लेनिनको देश पुग्नु गौरवको विषय थियो ।
चरम गरिबीको मार झेलिरहेका हानी र उनका कामरेडहरूको निम्ति मगन्ते र गरिबी नभएको सोभियत सङ्घ अत्यन्त नौलो थियो । त्यहाँ शिक्षा र स्वास्थ्योपचार निःशुल्क भएको थाहा पाउँदा उनीहरू चकित परेका थिए । ती सबै समाजवादी क्रान्तिका परिणाम थिए । सोभियत समाज आफ्नै आँखाले देखेपछि पश्चिमा साम्राज्यवादीहरूका प्रचारबाजी झूटा भएको उनीहरूले थाहा पाए ।
मस्को पुगेपछि उनीहरूको स्वास्थ्य परीक्षण गरियो । सबैलाई लुगा, जुत्ता, लामो कोट, झोला, सफा ओछ्यान, सिरानी र कोट–पाइन्ट दिइयो । उनीहरूको दैनिक भत्ता २५ रुबल थियो । उनीहरूको तालिम तुरुन्त सुरु भयो । राजनीति, समाजवादको सिद्धान्त, अर्थ–राजनीति र दक्षिण अफ्रिकाको राष्ट्रिय मुक्ति सङ्घर्षबारेमा कक्षाहरू हुन्थे । उनीहरूलाई छापामार युद्धकलाको तालिम दिइयो ।
प्रशिक्षणालयको नियम कडा थिए । विस्फोटक पदार्थसम्बन्धी तालिममा उनीहरूले आफूलाई सफासुग्घर राख्नुपथ्र्याे । भान्छाकोठाको चिनी र काठको धुलोले कस्ताकस्ता काम हुनसक्छन् भन्ने बुझ्न उनीहरूले ती वस्तुका नयाँनयाँ आयामहरू देखे । सानो गल्तीले पनि ठुलो क्षति हुन सक्थ्यो । उनीहरूलाई वाकीटाकीबाट गुरिल्ला टोलीबिच खबर आदानप्रदान गर्ने, रेडियो र हातहतियारको व्यवस्थापनबारे तालिम दिइयो । भौगोलिक अध्ययन उनीहरूले सिक्नुपर्ने अर्को विषय थियो । सुरुमा त्यस्ता तालिम ओडीसीमा चल्थे । तर, अफ्रिकाका अन्य देशहरूका मुक्ति योद्धाहरू बढ्न थालेपछि क्रिमियाको पेरेभाल्नोयेमा छुट्टै तालिम केन्द्र स्थापना भयो ।
न्यानो कोठामा प्रशिक्षार्थीहरू प्रशिक्षकका कुरा ध्यान दिएर सुन्थे । दक्षिण अफ्रिकामा सिकेका कुराले मात्र त्यहाँ काम चल्दैनथ्यो । विषयवस्तुको गहिराइमा पुग्नुपर्ने अथवा बुझ्नुपर्ने हुँदा कतिपय कार्यकर्तालाई धेरै कुरा ‘फलामको चिउरा’ जस्तै हुन्थ्यो । तर, हानीको बुझ्ने क्षमता बढी थियो । दिनभर सिकाइएका कुरा राति आफ्ना सहपाठीहरूलाई सरल भाषामा बुझाउँथे ।
तालिमको क्रममा कतिबेला उनीहरूलाई घना जङ्गल र मानव बस्ती नभएका उजाड ठाउँमा पु¥याइन्थ्यो । तालिम सैनिक विषयमा मात्र सीमित नभई सामाजिक तथा सांस्कृतिक विषयमा पनि हुन्थ्यो । उनीहरूलाई सोभियत सरकारद्वारा सञ्चालित कलकारखाना र ग्रामीण क्षेत्रको भ्रमणमा लगिन्थ्यो । यसले समाजवादका व्यावहारिक पक्षबारे बुझ्न उनीहरूलाई सहज हुन्थ्यो ।
तालिम केन्द्रमा एकदिन मोजेस कोटानी दुःखद समाचार लिएर आए । एमकेका अधिकांश कार्यकारी समिति सदस्यहरू १९६३ जुलाई ११ मा गिरफ्तारीमा परेको समाचार थियो । जोहान्सबर्ग, रिभोनियास्थित लिलिसलिफमा उनीहरूलाई छापामार युद्धको चाँजोपाँजो मिलाएको र साम्यवादी राजनीतिमा लागेको अभियोगमा गिरफ्तार गरिएको थियो ।

स्रोत : स्वतन्त्रता आन्दोलनका अफ्रिकी अगुवा

Leave a Reply

Your email address will not be published. Required fields are marked *