भर्खरै :

सत्तारूढ दललाई सीको सन्देश

सत्तारूढ दलका नेताहरूसँग चीनका राष्ट्रपति तथा चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सी चिनफिङले ‘सरकार र पार्टी सञ्चालन गर्दा सुशासन र स्वच्छतालाई प्राथमिकतामा राखेर काम गर्न’ सुझाव दिनुभयो । सुझावको रूपमा सीले भन्नुभयो, “सरकार सञ्चालन सन्दर्भमा मात्रै होइन, पार्टी सञ्चालनको सन्दर्भमा समेत सुशासन कायम गर्ने र स्वच्छता प्रदर्शन गर्नुपर्छ ।” महासचिव सीका यस्ता सुझावले नेपालको सत्तारूढ दलका कमी–कमजोरीबारे उहाँ जानकारी हुनुभएको बुझिन्छ । नेकपाले देशमा बहुमतको सरकार त गठन ग¥यो । तर नेकपा सरकारले देशमा सुशासन कायम गर्न सकेन । सरकार र सरकार चलाइरहेको दल दुवै भ्रष्टाचारमा लिप्त छन् । विभिन्न दलभित्रका भ्रष्टहरू आज नेकपाको सत्ता शक्तिपछि लागेका छन् । नेकपाले उनीहरूलाई संरक्षण गरिरहेको छ । पार्टीभित्र भ्रष्टहरू थुपारेर कसरी कुनै दलले देशमा सुशासन कायम राख्न सक्छ र ? फोहोर पानीमा डुबेर चोखो बन्ने चाहना मूर्खतामात्र हो । नेकपा आज भ्रष्टलाई संरक्षण गरेर देशलाई भ्रष्टाचारमुक्त बनाउने हाँस्यास्पद कुरा गरिरहेको छ ।
सी चिनफिङले सत्तारूढ दलको यो कमजोरी राम्ररी बुझ्नुभएको छ सायद । त्यसकारण उहाँले नेकपा नेताहरूलाई त्यही कमजोरीतर्फ सड्ढेत गर्दै सुशासनको सुझाव दिनुभयो । नेकपाका नेताहरूको निम्ति यो सुझाव त्यत्ति रूचिकर नहोला किनभने उनीहरूको आधार नै भ्रष्टाचारीहरू छन् । भ्रष्टाचारले दिएको चन्दाको भरमा उनीहरूले चुनावमा बहुमत ल्याएका हुन् । मतदाताको मत खरिद आफैँमा भ्रष्टाचार भएकोले वास्तवमा सत्तारूढ दल स्वयम् नै भ्रष्टाचारी दल हो । भ्रष्टाचार गरेर नै सत्तारोहण गरेको दलबाट भ्रष्टाचारको विरोधमा लड्ने कुरा या त जनता रिझाउने शब्दजाल हो अथवा झूठ हो ।
चिनियाँ समाज जति विशाल छ, त्यत्ति नै जटिल पनि छ । चीनमा पनि भ्रष्टाचारका समस्या अझै हटिसकेका छैनन् । तर, चिनियाँ कम्युनिस्ट पार्टीको बलियो नेतृत्वले भ्रष्टाचारविरूद्ध कडा नीति लागू गरेको छ । सी नेतृत्वको सरकार बनेपछि सरकारले पार्टीभित्र र बाहिरका भ्रष्टाचारीविरूद्ध निकै असहिष्णु नीति लागू ग¥यो । केन्द्रीय सरकारका मन्त्रीदेखि लाखौँको सङ्ख्यामा सरकारी कर्मचारी र पार्टी कार्यकर्ताहरुलाई भ्रष्टाचार प्रमाणित भएपछि फाँसीसम्म दिइयो । भ्रष्टाचारविरूद्धको यो कडा अभियान अझै पनि चालू छ । नेतृत्व स्वयम् उच्च नैतिक मूल्यमा अडेको छ भने यस्ता अभियान चलाउन गा¥हो पर्दैन । नेताहरूको नैतिकताले भ्रष्टलाई कारबाही गर्न साहस गर्छ । नेपालको हकमा स्वयम् नेताहरू भ्रष्टाचारमा लिप्त हुँदा भ्रष्टाचारीलाई कारबाही होइन, भ्रष्टाचारलाई संरक्षण दिइएको छ । सत्ता र भ्रष्टाचारको श्वास नली एउटै भएजस्तै नेपालका सत्तासीन नेता र भ्रष्टाचारीहरूबीच मिलेमतो भएको देखिन्छ ।
सी चिनफिङले जे भनेर जानुभयो, त्यो चीनको अनुभव हो । चीनले एकै रात यो अनुभव हासिल गरेको थिएन । त्यसको निम्ति चीनले पनि इतिहासका अनेकन हण्डर खाँदै आजको उचाइ हासिल गरेको हो । सीले नेपालको सत्तारूढ दलका नेताहरूलाई जाँदाजाँदै मीठो व्यङ्ग्य गएर जानुभयो । आफै भ्रष्टाचारी भएर देशमा सुशासन लागू गर्न सकिन्न, त्यसकारण पहिले भ्रष्टाचारको कुलत र सङ्गत त्याग्न सीले नेपालका शासकहरूलाई सुझाव दिएर जानुभएको छ । यो सुझाव हाम्रा नेताहरूलाई ‘भालुलाई पुराण’ जस्तो हुने हो वा उनीहरू यो विषयमा गम्भीर हुने हो, हेर्दै जाऔँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *