भर्खरै :

विदेशमा उच्च शिक्षा अध्ययनमा जानेलाई सहुलियत ऋण किन नदिने ?

– नवीन ह्यौँमिखा
देशकै नमुना नगरपालिकाको रूपमा सञ्चालन भइआएको भक्तपुर नगरपालिकाले अझै अरु महानगरपालिका, उप–महानगरपालिका, नगरपालिकालगायत गाउँपालिकाभन्दा पृथक र हरेक कार्यमा अघि बढ्न विभिन्न योजनाहरू कार्यान्वयन गर्दै आएको कुरामा एकाधको मात्रै विमति होला । तर, वास्तविकतालाई एकाधले नकार्दैमा नकार्न सकिंदैन ।
सरसफाइ, स्वास्थ्य, शिक्षालाई प्राथमिकता दिदै भक्तपुर नगरलाई एक फोहर सहरको सूचीबाट विश्वकै सफा सहरको सूचीमा सूचिकृत गर्न भनपा सफल छ । नगरपालिकाले ३ जनस्वास्थ्य र ७ शैक्षिक संस्थाहरू स्थापना गरी देशको कुनाकाप्चाका जनतालाई गुणस्तरीय सेवा सर्वसुलभ मूल्यमा प्रदान गर्दै आएको छ । भक्तपुर नगरको मौलिकता जोगाउन भक्तपुर नगरपालिकाले पहल गरिरहेको छ ।
२०७४ को स्थानीय तहको निर्वाचनमा नेपाल मजदुर किसान पार्टीको निर्वाचन घोषणा पत्रलाई आधार बनाएर निर्वाचनको मैदानमा उत्रेका उम्मेदवारहरूले नगरपालिकामा निर्वाचित भएपछि घोषणापत्रलाई नै आधार बनाएर काम गर्दै आएका छन् । नेपाल मजदुर किसान पार्टीले अघि सारेको ‘ज्ञान विज्ञानको सहर’ र निर्वाचन घोषणापत्रमा उल्लेख गरेको समाजलाई बुद्धिजीवीकरण गर्ने आजु प्राप्त गर्न नगरपालिकाले शैक्षिक क्षेत्रमा आ. व. २०७५÷७६ बाट भक्तपुर नगरका गरिब तथा जेहेनदार विद्यार्थीहरूलाई केही विषयहरू (इतिहास, भूगोल, राजनीतिशास्त्र, नेपालभाषा र संस्कृत) मा छात्रवृत्ति र अन्य विषयहरू स्वदेशमै उच्च शिक्षा हासिल गर्न चाहने योग्य र आर्थिक स्थिति कमजोर भएका विद्यार्थीहरूका लागि न्यूनतम व्याजदरमा शैक्षिक प्रमाणपत्र धितो राखी रु.५,००,००० सम्मको शैक्षिक ऋणको व्यवस्था ग¥यो । शैक्षिक क्षेत्रमा भक्तपुर नगरका गरिब तथा जेहेनदार विद्यार्थीहरूको लागि यो एक राम्रो अवसर हो ।
नेपालमा कतिपय विषयहरूको पठनपाठन हुने गरेको छैन । ती विषयहरू आजको परिवर्तनशील विश्वमा आफ्नो स्थान ओगट्नको लागि अत्यावश्यक हुन थालेको छ । तर, भक्तपुर नगरपालिकाको शैक्षिक ऋण सम्बन्धको राजपत्रअनुसार नेपालमा अध्ययन अध्यापन गर्ने र गराउने विषयको लागि मात्र शैक्षिक ऋण प्रदान गरिने उल्लेख छ ।
इन्जिनियर, डाक्टर, अर्थशास्त्र, व्यवस्थापनशास्त्र, राजनीतिशास्त्र आदि नेपालभित्र पढाइ हुने विषयले मात्र नेमकिपाले अघि सारेको ‘ज्ञान विज्ञानको सहर’ र ‘समाजलाई बुद्धिजीवीकरण गर्ने’ आजु प्राप्त गर्नसक्ला र ?
विश्वमा अहिले विशेषज्ञता हासिल गर्न कैयौँ विषयको पठनपाठन हुन थालेको छ । भक्तपुर नगरपालिकाको गरिब तथा जेहेनदार विद्यार्थीहरूले यस्ता विशेषता हासिल गर्न कि उच्च व्याज दरमा बैङ्क तथा बित्तीय संस्थाबाट ऋण लिएर वा घर जग्गा बेचेर अध्ययन गर्नुपर्छ या आफ्नो क्षमता र इच्छा त्याग्नुपर्ने बाध्यता छ । क्षमता भएरै पनि भक्तपुर नगरका गरिब तथा जेहेनदार विद्यार्थीहरूले नेपालमा पठनपाठन नहुने विषयको पढाइबाट वञ्चित हुनुपर्ने देखिन्छ । नेपालमा पठनपाठन नहुने विषयहरूको सम्बन्धमा भक्तपुर नगरपालिका कार्यपालिकाले कानुन बनाउन मिल्दैन र ?
नेपालमा पठनपाठन नहुने विषय विदेशमा गई अध्ययन गर्न चाहने भक्तपुर नगरका गरिब तथा जेहेनदार विद्यार्थी वर्गको सम्बन्धमा भक्तपुर नगरपालिकाले केही सहयोग गरिदिएको खण्डमा आफ्नो आजु चाँडै हासिल गर्न सहयोग पुग्ला कि !

Leave a Reply

Your email address will not be published. Required fields are marked *