(नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) एवम् साहित्यकार हरिबहादुर श्रेष्ठसँग एभिन्यूज टेलिभिजनको स्रष्टा र साहित्य कार्यक्रमका लागि भगवती बस्नेतले असोज १० गते लिनुभएको अन्तर्वार्ता सान्दर्भिक भएकोले सम्पादनसहित प्रस्तुत गरेका छौँ । अन्तर्वार्तामा ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिकका संवाददाता पनि उपस्थित हुनुहुन्थ्यो –सं.)

– तपार्इँ केही न केही गरेर बस्न रुचाउनुहुन्छ । साहित्यबारे थप केही नयाँ पुस्तक आउँदै छन् कि ?
शिक्षक साथीहरूको जानकारीअनुसार ‘नाति–नातिनालाई हजुरबुबाको चिठी’ प्रकाशनको निम्ति विद्यालयहरूको एक संस्था ‘इसान’ ले तयारी गर्दैछ ।

– यहाँले हरिबहादुर श्रेष्ठकै नाउँमा साहित्य लेखन अघि सार्नुभयो । यसको कारण के होला ?
भूमिगत कालमा मेरो नामको लेख–रचना प्रकाशित गर्न नसकिने हुँदा ‘हरिबहादुर श्रेष्ठ’ को नामबाट लेखिएको हो । ठाउँ–ठाउँमा ‘हरि दाइ’ को नामबाट पनि काम गर्थेँ । कहीँकहीँ ‘मामा’ को नामबाट पनि काम गर्थेँ ।

– यहाँको लेखन यात्रा कहिलेबाट सुरु भयो ?
२०१५–१६ सालमा भक्तपुरका युवा–विद्यार्थीहरूको माझमा साहित्यिक गतिविधि सुरु भएको थियो । त्यसमा प्रगतिशील साहित्य गोष्ठी नाउँमा एउटा समिति पनि सक्रिय थियो । त्यस बेलाका स–साना पुस्तकालय र साहित्यिक समूहहरू –मलेर बनेको संस्था थियो त्यो ।
जनअध्ययन मण्डल भन्ने एक संस्थाले पनि हरेक शनिबार र बीचबीचका बिदामा समेत साहित्य गोष्ठी, वाद–विवाद, स्वतन्त्र भाषण, निबन्ध प्रतियोगिता आदि कार्यक्रम गथ्र्याे । ती कार्यक्रमहरूमा कहिलेकाहीँ आनन्ददेव भट्ट र अन्य लेखक, कवि एवम् कलाकारहरू पनि आउनुहुन्थ्यो । सुरुमा म ती संस्थाहरूमा सामेल थिएँ र चोछेँ टोलको बौद्धिक विकास मण्डल भन्ने एक पुस्तकालयमा पनि सदस्य थिएँ ।
विद्यार्थी कालदेखि नै साहित्यको पठन–पाठनमा चाख राख्थेँ ।

– यहाँको चीन भ्रमण र भियतनाम परिचय नामका दुई पुस्तकहरू पञ्चायती व्यवस्थाको समयमा छापाखानाबाटै जफत भएको थियो । पछि त्यसलाई फेरि कसरी छाप्नुभयो ?
प्रेसले प्रुफ हेर्न दिएको एउटा प्रति एकजना साथीले जोगाउनुभएको रहेछ । यसैलाई पछि प्रकाशित गरिएको थियो । ‘भियतनाम परिचय’ को एक प्रति जोगिएको पाएँ । त्यस पुस्तिकाबारे पनि फुर्सदमा साथीहरूसँग छलफल गरी प्रकाशित गर्नुपर्ला !

– कार्ल माक्र्स, लेनिन, स्तालिन, माओ त्सेतुङको प्रभाव यहाँको लेखनीमा पाइन्छ । तपाईँ कसरी उहाँहरूबाट प्रभावित हुनुभयो ?
पार्टीको कक्षा सञ्चालन, जनअध्ययन मण्डल र बौद्धिक विकास मण्डलको गतिविधिकै सिलसिलामा माक्र्स–एँगेल्सका सरल जीवनी र लेख–रचनाबाट शिक्षित भयौँ । बिस्तारै हामीले लेनिन र स्तालिनका सरल जीवनी र पुस्तकहरूको अध्ययनबाट रुसी बोल्सेविक क्रान्ति र सोभियत सङ्घको समाजवादी व्यवस्थाका विविध विषयमा जानकारी पायौँ । हाम्रो सामूहिक अध्ययनले हामीलाई अगाडि बढ्न सहयोग पुगेको सम्झन्छु ।
माओ त्सेतुङ र चिनियाँ क्रान्तिबारे पनि नेपाली भाषाकै सरल पुस्तकबाट हामीले आफ्नो अध्ययन सुरु ग¥यौँ । पछि नेपाल–चीन मैत्री सङ्घबाट प्रकाशित चीनबारेको पुस्तकहरू नै हाम्रा पढ्ने सामग्रीहरू थिए । पुस्तकालयहरूबाट पनि पुस्तक प्राप्त गथ्र्र्यौँ ।

– यहाँले विभिन्न देशहरूमा भ्रमण पनि गर्नुभएको छ, ती देशको साहित्य र नेपालको साहित्यमा के–कस्तो समानता र भिन्नता अनुभव गर्नुभएको छ ?
भारत, चीन, प्रजग कोरिया, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, जर्मनी, फ्रान्स, संरा अमेरिका, ल्याटिन अमेरिकाको कोलम्बिया आदि देशहरूमा प्रतिनिधिमण्डलको सदस्यको रूपमा भ्रमण ग¥यौँ । ती देशका साहित्यको अध्ययन पनि स्वाभाविक थियो । नेपाल र भारतमै ती देशहरूका साहित्य पाइन्थे र साथीहरूले नेपाल भाषामा पनि ती साहित्यहरूको अनुवाद गर्नुहुन्थ्यो ।
भियतनामी मुक्ति आन्दोलनको बेलाको साहित्यबाट पनि हामी प्रभावित भयौँ । गुयन ट्वाई, अजम्मरी गाउँजस्ता वीर कथा, उपन्यास र होचि मिन्हको जीवनी र रचनाहरूबाट शिक्षित भयौँ ।
हरेक देशका सम–सामयिक परिवेशमा लेखिएका साहित्यहरू तत्–तत् देशको राजनीतिक, सामाजिक र सांस्कृतिक स्तरबारे जानकारी पाउने गर्छौँ । भिन्न –भिन्न देशको राजनैतिक, सामाजिक र सांस्कृतिक स्तर फरक–फरक हुँदा ती देशका साहित्य पनि स्वाभाविकरूपले फरक हुने नै गर्छ । बेलायतको विरोधमा आइरेली जनताको सङ्घर्ष हुँदा त्यहाँका युवा–विद्यार्थी, ज्येष्ठ नागरिक र महिलाहरूको उत्साह एवम् मनोदशा त्यहाँका साहित्यमा प्रस्ट चित्रण गरिएको पाउँछौँ । रुसी क्रान्तिको सिलसिलामा लेखिएका साहित्यमा त्यहाँको समाजको चित्रण हुनु स्वाभाविक हो । उदाहरण गोर्कीको ‘आमा’ उपन्यास हो । सोभियत सङ्घको देशभक्तिपूर्ण मुक्तियुद्धमा ओष्ट्रोबक्तिको ‘अग्नीदिक्षा’ मा तत्कालीन समाजको दर्शन हुन्छ । कोरियाली र भियतनामी जनताको साम्राज्यवादविरोधी सङ्घर्षको बेलाका साहित्यमा पनि कोरियाली र भियतनामी जनताको देशभक्ति र जनताप्रतिको समर्पणको दर्शन हुन्छ ।

– साहित्य लेखेर नेपालमा बाँच्ने दिन आउँछ भन्ठान्नुहुन्छ ?
हो, त्यो दिन पनि आउनेछ । त्यसबेला नेपाली जनताको सांस्कृतिक स्तर तुलनात्मकरूपले माथि उठिसकेको हुनेछ । साक्षरता अभियानले सफलता पाइसकेको हुनेछ । तर, तामाङ, मिथिला, भोजपुरी, नेपालभाषा, थारु, राई–लिम्बू र गुरुङ–मगराती आदि भाषा तथा साहित्यको पनि विस्तार भइसक्नेछ ।

– राजनेता भएर पनि साहित्यबारे यहाँ विश्वकोश जस्तै मानिनुहुन्छ । अहिलेसम्म कति किताब पढ्नुभयो ? यहाँलाई मन पर्ने राष्ट्रिय र अन्तर्राष्ट्रिय लेखक कुन–कुन हुन् ?
विभिन्न देशका २–४ वटा, २–४ वटा साहित्यिक पुस्तकहरू पढ्ने अवसर पाएँ, केही देशहरूको इतिहास, राजनीतिक र आर्थिक विषयका पुस्तकहरू पनि पढ्ने अवसर मिल्यो । देवकोटा, सम र सिद्धिचरण श्रेष्ठका काव्य रचना, हृदयचन्द्रसिं प्रधानको ‘समालोचना र नाटक, रमेश विकलका कथाहरू र गोविन्दप्रसाद लोहनी एवम् ईश्वर बरालका साहित्यबारेका आलोचना र प्रत्यालोचनाहरू मन पर्छ ।
हिन्दी साहित्यमा राहुल सांकृत्यायन, यशपाल, कृष्णचन्दर आदिका विविध विधाका साहित्य पढ्ने गर्थँे । निबन्धमा नम्बुदरीपादको ‘गान्धी र उसको वाद’, यशपालको ‘गान्धीवादको शव परीक्षा’, दिल साहनीको ‘तमस’, अब्दुल कलाम आजादको ‘भारतको स्वतन्त्रता’, भारतीय स्वतन्त्रता र हिन्दूस्तान र पाकिस्तानको विभाजनबारे दुई फ्रान्सेली लेखकका ‘मध्यरातको स्वतन्त्रता’ मन प¥यो ।
चिनियाँ साहित्यमा को मोरोको ‘चूयाँ’, अन्य कथा र नाटकहरू, प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित केही ग्रिसेली नाटकका अनुवाद आदि मन प¥यो । गल्सवर्थि, सिनो केशीजस्ता लेखकहरूका केही रचना पनि पढेको थिएँ ।

– यहाँले साहित्यको विभिन्न विधामा कलम चलाउनुभएको छ । कविता, कथा, निबन्धमध्ये यहाँलाई मन पर्ने विधा कुन हो ?
मलाई कथा र निबन्ध विधा मन पर्छ । नेपाली भाषामा व्यक्तिचित्र वा स्केचको लेखनलाई पनि उत्साहित गर्नु आवश्यक देख्छु ।

– नेपाली साहित्यको कमजोर पक्ष के–के देख्नुहुन्छ ?
नेपाली साहित्यमा अहिले समालोचना साहित्यको कमी देख्छु । समालोचनाले लेखक, कवि र कलाकारहरूको लुकेको पाटोलाई उजिल्याउँछ र कमजोरी पक्षलाई केलाएर सहयोग गर्छ । अङ्ग्रेजी, उर्दू र हिन्दी मिसाइएका लेख र रचना पढ्दा नेपाली भाषाका शब्दहरूलाई गिज्याएजस्तो अनुभव गर्छु ।

– नेपालमा राम्रोसँग अघि बढेको साहित्यिक विधा र भविष्यसमेत आशा गर्न लायकका विधाहरू के–के देख्नुभएको छ र त्यसको आधार केलाई मान्नुहुन्छ ?
कथा, उपन्यास र निबन्ध नै हुन् । बुझ्न सजिलो, स–साना कथा, परिच्छेद र शीर्षक हेरेर पढ्न मिल्ने हुन्छ ।

– नेपाली साहित्यको विकासक्रमलाई यहाँले कसरी हेर्नुभएको छ ?
२००७ सालभन्दा पहिलेका छायावादी युग, २००७ देखि २०१७ सालसम्मको स्वतन्त्र अभिव्यक्ति र पञ्चायतकालीन असन्तुष्ट एवम् आक्रोश अनि प्रजातन्त्र एवम् गणतन्त्रपछिका दिशाहीन र अराजक साहित्यको भेल बग्यो ।

– साहित्य र राजनीतिमा कस्तो सम्बन्ध हुन्छ ?
एउटै सिक्काको दुई पाटाजस्तो । उत्कृष्ट साहित्य भएको देशको राजनीतिक भाषा पनि प्रस्ट र परिमार्जित भएको देखिन्छ । अङ्ग्रेजी साहित्यले बेलायती राजनीति र पुँजीवादी क्रान्तिलाई अगाडि बढ्नमा मद्दत गरेको देखिन्छ ।
माक्र्स र एँगेल्सको कम्युनिस्ट घोषणापत्रमा समेत जर्मनी साहित्यकार गेटेको ‘फाउस्ट’ को प्रस्ट प्रभाव देखिन्छ । माक्र्सको रचना, शेक्सपियर र अन्य विदेशी लेखक तथा कविहरूको उद्धरणहरूले उनको अभिव्यक्तिलाई सा¥है राम्रो र सशक्त बनाएको देखिन्छ ।
टल्स्टाय र अन्य रुसी साहित्यकारका र साहित्यकै कारण लेनिनजस्ता सशक्त लेखक र पत्रकार देखिए । फ्रान्सेली राजनैतिक साहित्यको ‘साहस, साहस र फेरि साहस’ वाक्यांश रुसको परिवेशमा ‘हतियार, हतियार र फेरि हतियार’ भयो ।
चिनियाँ भाषा र साहित्यले माओ त्सेतुङका राजनैतिक लेखाइ अत्यन्त प्रस्ट र बुझिने छ भने चिनियाँ काव्यको प्रभावले माओ त्सेतुङलाई पनि एक कल्पनाशील कविमा रूपान्तरण ग¥यो ।
अन्य देशका क्रान्तिकारी नेताहरूलाई क्रान्तिकारी साहित्यले पे्ररित गरेको पाइन्छ । तिनीहरूका राजनीतिक लेखहरूका पढ्न मन लाग्ने सुस्पष्ट, श्रुति मधुर शब्द र अलङ्कारहरूमा साहित्यले पर्याप्त प्रभाव पारेको देखापर्छ ।

– साहित्यको विकासकै कुरा गर्दा राज्यको भूमिका के–कस्तो देख्नुहुन्छ ?
साहित्यले राजनीतिलाई सुन्दर अभिव्यक्ति प्रदान गर्छ भने राज्यले साहित्यको विकासमा मल–जल दिएर समाजलाई सुसंस्कृत बनाउन आवश्यक छ । सुस्पष्ट र उत्कृष्ट साहित्यले समाजलाई नै सभ्य र सुसंस्कृत बनाउन योगदान गर्छ । साहित्यविनाको राजनीति खाली बन्दूक र गोला–बारुदको धुवाँ र ध्वनिमात्र हुनेछ । गीत, सङ्गीत, आशा र भविष्यको प्रकाश छरेको अनुभव हुँदैन । साहित्यबाटै राजनीतिलाई आत्मसात् गर्न जनतालाई सहयोग पु¥याउँछ ।

– प्रज्ञा प्रतिष्ठान दलका कार्यकर्ता थन्काउने ‘गोठ’ हो भन्ने हल्ला सुनिन्छ नि ? यसबारे यहाँको मत कस्तो छ ?
सुवास नभएको फूल र गुण नभएको व्यक्तिको महत्व कम हुनु स्वाभाविक हो । राजनीतिक कार्यकर्ता र साहित्यिक कार्यकर्ता फरक हुन्छन् । प्रेमचन्द, गोर्की र ल्यू सूनले बन्दूकले होइन । कलमले क्रान्ति र साम्राज्यवादविरोधी सङ्घर्षलाई ऊर्जा दिए । साहित्यको लडाइँमा तिखारिएका लेखक, कवि र कलाकारहरू नै उपयुक्त हुन्छन् ।

– साहित्य, राजनीति, सामाजिक क्षेत्रमा यहाँको उत्तिकै योगदान छ । सबै क्षेत्रहरूमा सफल हुनुको कारण के होला ?
राजनीतिक गतिविधिबाट फुर्सत पाएपछि म साहित्य हेर्छु र लेख्छु । सामाजिक कार्यमा पनि मेरो साधारण योगदान छ । मेरा साहित्यका पात्रहरू सबै जीवित छन्  काल्पनिक कम । यस अर्थमा समाजले साहित्यलाई योगदान ग¥यो । राजनीतिक र सामाजिक क्षेत्रमा जनताको सहभागिता नै बढी महत्वपूर्ण छ । यसर्थ मेरो योगदान जनतासँगैको साथमात्रै हो भन्दा उचित हुन्छ ।

– यहाँको नेतृत्व अथवा भनौँ निर्देशनबाट काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा हर साल साहित्य सम्मेलन हुनेगर्छ । साथै ती सम्मेलनमा इतर पक्ष अथवा भर्नौँ यहाँको राजनीति सिद्धान्तका विरोधी स्रष्टाको पनि घुँइचो लाग्ने गर्छ । यसको कारण के होला ?
दसैँ–तिहारजस्तो चाड–पर्वमा झिलिमिलि गर्ने, जाँड–रक्सीमा पैसा खर्च गर्ने र जुवा तासले समय र सम्पत्तिलाई नै क्षति पु¥याएको सबैको अनुभव छ । यसकारण ती अवसरमार्फत साहित्यिक र सांस्कृतिक गतिविधिले समाजलाई थोरै भए पनि चिन्तनशील बनाउने आँकलन गरियो ।
समाजको व्यापक हितको निम्ति आफै पूर्ण होइन । हाम्रा इतर साथीहरू वा विविध विषयका जानकार विशेषज्ञहरू समाजमा हुनु स्वाभाविक छ । उहाँहरूको ज्ञान र जानकारीले समाजलाई सुसूचित बनाउनु उपयुक्त नै हुनेछ भने उहाँहरूको सहयोगलाई नयाँ समाजको निर्माणमा स्वतः योगदानको रूपमा परिभाषित गरिनेछ ।
साथै इतर पक्षका साथीहरूबाट हुने आलोचनाले हाम्रो गतिविधि र साहित्यलाई परिमार्जन गर्न सहयोग मिल्ने हाम्रो ठम्याइ छ । विभिन्न भाषा, गीत र सांस्कृतिक कार्यक्रमले विविध जात–जातिलाई समेत एक मञ्चमा ल्याउँदा जनताको समझदारी र सांस्कृतिक परिचयलाई एकाकार गर्नेछ ।

– यहाँको विचारमा कला–साहित्य र जीवन के हो ?
कला र साहित्य मानव जीवनको सुन्दर पक्ष हो । फूलको सुवासझँै कला र साहित्यले समाजलाई सुनमा सुगन्ध थपेजस्तै मानिसलाई सुखी बनाउँछ र आनन्द दिन्छ । मानिस स्वयम् सुन्दर छ । साहित्य र कलाले उसमा श्रृङ्गार थपिदिन्छ । मैनबत्तिलाई धपक्क बालेजस्तै !

–अन्त्यमा कार्यक्रम स्रष्टा र साहित्य हेरेर बस्नुहुने हाम्रा आदरणीय दर्शकहरूलाई के भन्न चाहनुहुन्छ ?
कला र साहित्य श्रष्टा स्वयम्लाई होइन बरु, समाज र जनताको सेवा गर्नको लागि हो । डकर्मी, सिकर्मी र कलाकारहरूले अरूको निम्ति आवास निर्माण गर्छन् । कपडा बुन्ने जुलाहाले सबै जनताका छोरा–छोरीलाई नाना बनाउँछन्, किसानले आफ्नै निम्ति मात्रै होइन सबैको निम्ति अन्न उमार्न खनजोत गर्छन् र बिउ छर्छन् । लेखक, कवि र कलाकारले समाजकै निम्ति गीत गाउँछन् । काममा उत्साह थप्छन् र जनताकै जीवनलाई कलात्मक प्रदर्शन गरी छरिएका फूलहरूलाई एक मालामा गाँस्छन् अनि उपहारको निम्ति फूलको गुच्छा बनाउँछन् । आफ्नो निम्ति होइन सबैका निम्ति हो, सबैमा आफू पनि एक सुखी अंश बन्नु हाम्रो उद्देश्य हो ।