भर्खरै :

नक्कली विकास

चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको क्रममा बाटो पर्ने काठमाडौँको क्षेत्रलाई सरकारले हेर्नलायक बनाएको थियो । सडक चिल्लो र सफा बनाइएको थियो । सडक छेउछाउ कहीँकतै बिग्रेभत्केको टालटुल पारिएको थियो । रातारात सुन्दर बगैंचा बनाइएको थियो । सडक छेउछाउ सुन्दर पुष्प फुलेका गमला सजाइएको थियो । दिनहुँ धुलो धुवाँले भरिएको काठमाडौँ देख्दै आएका नेपाली जनताका लागि त्यस्ता दृश्य साँच्चै लोभलाग्दो बनेको थियो । तर, सीको पेइचिङ अवतरण पनि हुन नपाउँदै राजधानी सजाउन राखिएका सबै सजावट एक एक गर्दै फिर्ता गरिएपछि भने जनताको मन खिस्स भएको छ । सीलाई देखाउन सहरलाई लोभलाग्दो बनाए पनि उनको फिर्तापछि सहर उही पुरानोरूपमा फर्किंदा जनताले नमीठो मानेका छन् ।
विकास देखावटी विषय होइन । कोही पाहुनालाई देखाउनमात्र विकास गर्नु पाखण्ड हो । सीलाई देखाउनमात्र यस्तो सजावट गर्नु अनि पछि फेरि सबै सजावट फिर्ता गर्नुले नेपाल सरकारले एकचोटि चिनियाँ पाहुनालाई र अर्को चोटी नेपाली जनतालाई धोखा दिएको छ । नेपालको राजधानीलाई सीले जसरी देखेका थिए, त्यो सत्य होइन । सरकारले सीको आँखामा छारो हाल्यो । अर्कोतिर काठमाडौँजस्तो थियो, एकाध दिनको लागि बेग्लै देखाएर सरकारले नेपाली जनताको आँखामा पनि छारो हाल्यो ।
पाहुना आउँदा सहरलाई सकेसम्म राम्रो देखाउन खोज्नुमा सरकारको सदाशयता होला । तर, त्यही अवसरमा सुन्दर बनाइएको सहरलाई फेरि पनि पुरानो स्वरुपमा फर्काउनु उपयुक्त होइन । सरकारी लगानीमा बनेको सहरको सौन्दर्यलाई सरकारले निरन्तरता दिनुपर्छ । बनेका पूर्वाधारलाई केही कर्मचारी परिचालन गरेर त्यसलाई निरन्तरता दिंदा सरकारी लगानी खेर जाँदैन । नेपाली जनताको भावनाप्रतिको अपमान पनि हुँदैन र पाहुनाको आँखामा छारो फालेको पनि हुँदैन । बाटो र नाली सफा गर्न सरकारले रोजगारी कार्यक्रम सरकारले चलाएको नेपाली जनताले भुलेका छैनन् । सरकारको त्यो कार्यक्रम केही दिनको रहर पूरा गर्ने नाटक साबित भयो । तर, रोजगारी कार्यक्रममा सहभागी बनेका बेरोजगार युवाहरूमध्ये केहीलाई सहरको सौन्दर्य बढाउन सरकारले काम दिन सके केही नेपालीले रोजगारी पाउँथे, सहरको सौन्दर्य पनि कायम रहने थियो ।
सरकार दिगो विकासको कुरा गर्न थाक्दैन । तर, सस्तो लोकप्रियता बटुल्ने र नक्कली विकासलाई नै सरकारले जोड दिने गरेको छ । बागमती सरसफाइको नाममा अहिलेसम्म दसौँ करोड पैसा खर्च गरिसकेको छ । बागमतीको रूपमा कुनै परिवर्तन देखिएन । किन ? सरकारले सस्तो लोकप्रियताको भोकमा समस्याको मूलमा पुग्नुभन्दा सतही काममै खुसी भयो । फलतः पैसा सकियो, समस्या ज्यूँका त्यूँ रह्यो । यस्तै नक्कली कार्यक्रम थियो–प्रधानमन्त्री रोजगारी कार्यक्रम ।
पाहुना आउँदा सहर सिगार्ने सरकारको काम यस्तै सस्तो लोकप्रियता कमाउने कामको निरन्तरता हो । यस्ता कामले सरकारलाई केही दिन लोकप्रिय बनाए पनि अन्ततः जनताको नजरमा सरकार बदनाम हुनेछ । सरकारप्रति बचेखुचेको केही विश्वास पनि यस्ता कामले छिन्नभिन्न बनाउने छ । नक्कली काम नक्कली सरकारले मात्र गर्नसक्छ । सरकारले सक्कली विकास गरेर सक्कली सरकार पुष्टि गरोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *