भर्खरै :

“चीनले विगतमा दिएको सहयोग कहाँ गए ?”

भरतपुर, २८ असोज । “चीनले दिएको सहयोग हामीले जोगाउन सकेनौँ, अब उप्रान्त हामीले त्यसो गर्ने छैनौँ भनी शासक दलका नेताहरूले नैतिकरूपमा माफी माग्नुपर्दछ ।” उक्त भनाइ नेमकिपाका सचिव प्रेम सुवालले भरतपुरस्थित कालिका एफएमको कार्यक्रम प्रस्तोता मुकुन्द भुषालसँग ‘कार्यक्रम आजका कुरा’ मा राख्नुभएको हो ।
चीनले दिएको ट्रली बस, हरिसिद्धि इँटा कारखाना, भक्तपुर इँटा कारखाना, भृकुटी कागज कारखानालगायत सबै बेचेर खाए । भएको बेचेर खानेले फेरि माग्न नैतिकताले दिँदैन, उहाँले थप्नुभयो ।
चिनियाँ राष्ट्रपति सी चिन फिङको दुईदिने राजकीय भ्रमणले कस्तो सम्बन्ध राख्दछ भन्ने प्रश्नमा सुवालले भन्नुभयो, “चीन र नेपाल घनिष्ठ सम्बन्ध भएको छिमेकी राष्ट्र हो । सी चिन फिङको भ्रमणले जनस्तरमा समेत सम्बन्ध विकास हुनेछ ।
अर्काे एक प्रश्नको जवाफमा केन्द्रीय सचिव सुवालले भन्नुभयो, “चीनको राजनैतिक विचारधारा, नीति र नेकपाको राजनैतिक विचारधारा फरक छ । एमाले, माओवादी भाइकाङ्ग्रेस उछिनेर दाइकाङ्ग्रेस भएको छ । चीनमा भ्रष्टाचारीलाई फासी दिन्छ, नेपालमा संरक्षण गर्दछ । राजनैतिक पार्टीभन्दा पनि चीनले नेपालसँगको सम्बन्धलाई थप प्रगाढ बनाउन चाहेको छ ।”
“चीन नेपाल आत्मनिर्भर, सार्वभौम र असंलग्न परराष्ट्र नीतिमा अडिग रहोस् भन्ने चाहन्छ । चीन नेपालको आन्तरिक मामिलामाथि हस्तक्षेप गर्न चाहन्न ।” उहाँले भन्नुभयो । सुवालले अर्काे प्रश्नमा जवाफ दिँदै भारतले ६ महिना नाकाबन्दी लगाउँदा चीनले लाखौँ लिटर तेल पठाएर सहयोग गरेको कुरा बिर्सन हुँदैन भन्नुभयो ।
चीनसँग निकटता बढ्दै जाँदा भारतसँगको सम्बन्धमा समस्या आउने हो कि भनी सोधिएको प्रश्नको सांसद सुवालले भन्नुभयो, “चीनतर्फ सीमा स्तम्भमा कुनै समस्या छैन । भारतले रातारात नेपाली भूमि मिचिरहेको छ । दुवै देशको सम्बन्ध एकै हुनुपर्ने हो । तर, भारतीय शासक वर्गको नेपालप्रतिको दृष्टिकोण नै खोटपूर्ण छ ।
“भारतले सिक्किम कब्जा ग¥यो र जम्मु र काश्मीरको विशेषाधिकार खोस्यो । नेपालमाथि पनि गिद्दे दृष्टि लगाइरहेको छ । शासक दलका नेताहरू यस्ता विषयमा संवेदनशील छैनन्”, उहाँले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *