भर्खरै :

टर्कीमाथि अमेरिकी प्रतिबन्ध घोषणा, माइक पेन्स टर्की जाने

वासिङटन, २८ असोज (एएफपी) । सिरियाली कुर्द लडाकू विरुद्धको आफ्नो घातक आक्रमणलाई अन्त्य गर्न माग गर्दै संयुक्त राज्य अमेरिकाले मङ्गलबार टर्कीमाथि आर्थिक प्रतिबन्ध लगाएको छ ।
उत्तरपूर्वी सिरियाबाट अमेरिकी सेना फर्काउने संयुक्त राज्य अमेरिकी निर्णयपछि टर्कीले हवाई र स्थलगत आक्रमण सुरु गरेको थियो । उत्तरपूर्वी सिरियाको कुर्दिश लडाकूको नियन्त्रणमा रहेको यस इलाकाबाट राष्ट्रपति डोनाल्ड ट्रम्पले आधिकारिकरूपमा अमेरिकी सहयोग रोकेर असाधारण कदम चालेको चर्चा भइरहेको छ ।
राष्ट्रपति ट्रम्पका रिपब्लिकन सांसदसमेतले इस्लामिक स्टेट समूहविरुद्ध लड्न अग्रसर भएका कुर्दलाई मझधारमा छाडेको आरोप लगाएका छन् । यसैबीच टर्कीसँग छलफल गर्न अमेरिकी उपराष्ट्रपति माइक पेन्स अंकारा जान लागेका छन् ।
अमेरिकाले टर्कीका दुईवटा मन्त्रालय र तीन वरिष्ठ अधिकारीमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकाले स्टीलमा कर बढाउने र व्यापार सम्झौतासम्बन्धी वार्तासमेत रोकेको जनाएको छ ।
टर्कीले केही यताबाट उत्तर र उत्तरपूर्वी सिरियामा गरेको आक्रमणपछि करिब एक लाख मानिस विस्थापित भएका छन् ।
टर्कीको आक्रमणपछि पूर्वीसिरियामा कुर्दिस विद्रोहीसँगको सम्झौतापछि सिरियाली सेना सीमा क्षेत्रमा पुगेको छ । सेनाको प्रवेशपछि टर्की र सिरियाली सेनाबीच सङ्घर्ष हुनसक्ने आशङ्का गरिएको छ ।
सिरियाली सेनाले मेन्बिज सहरमा प्रवेश गरिसकेको सिरियाली सरकारी सञ्चारमाध्यमले जनाएका छन् । टर्कीका राष्ट्रपति एर्डोगानले जस्तोसुकै परिणाम आए पनि आफू लक्ष्य पूरा नभएसम्म पछि नहट्ने बताएका छन् । यसअघि सिरियाको उत्तरी सीमामा टर्कीले गरेको आक्रमणको प्रतिकार गर्न राष्ट्रपति बसर अल असदको सरकार सेना परिचालन गर्न सहमत भएको सिरियाली कुर्दहरूले बताएका थिए ।
अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तरी सिरियाबाट एक हजार अमेरिकी सैनिक फिर्ता गर्ने निर्णय गरेको केही दिनपछि नै टर्कीले आक्रमण थालेको थियो ।
मानवअधिकारका लागि सिरियाली अब्जरभेटरीले टर्कीको आक्रमणबाट आइतबारमात्र कम्तीमा २६ जना सर्वसाधारणको मृत्यु भएको बताएको छ । हालसम्म टर्कीको कारबाहीबाट ६० जनाभन्दा बढीको मृत्यु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *