भर्खरै :

बारामा महाधिवेशनको सन्देश

बारा, २९ असोज । नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशनको सन्देशबारे जानकारी दिने उद्देश्यले नेमकिपा बारा जिल्ला समितिको आयोजनामा बुधबार कार्यकर्ता भेला भयो ।
भेलामा नेमकिपाका केन्द्रीय सदस्य एवम् प्रदेश नं. ३ का प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले नेमकिपाको सातौँ महाधिवेशनमा हिमाल, पहाड र तराईका कामदार जनताको उत्साहपूर्ण सहभागिता रहेको चर्चा गर्दै नेमकिपाको बारेमा भ्रामक प्रचार गर्नेहरूले महाधिवेशनको ¥यालीले गतिलो जवाफ दिएको बताउनुभयो ।
शासक दलहरूले झूटा आश्वासन दिएर जनतालाई ठगिरहेको छ भन्दै उहाँले जनतालाई वर्गीयरूपमा सचेत बनाउन नेमकिपाका नेता–कार्यकर्ताहरू क्रियाशील रहेको बताउनुभयो ।
केन्द्रीय सदस्य गोसाईंले भन्नुभयो, “भ्रष्टाचारी–अपराधीहरूले गर्दा देश विकास हुन सकिरहेको छैन । शासक दलहरूले झूटा कुरा गरेर शासन गरिरहेका छन् । देशमा भइरहेको भ्रष्टाचारलाई उद्ङ्गाउँदै जनतालाई सचेत बनाउने काम नेमकिपाले गरिरहेको छ ।”
हिजोका दिनमा राजतन्त्र जसरी फालियो, त्यस्तैगरी जनताको भावनाविपरीत काम गर्ने पार्टीहरूलाई पनि एक दिन जनताले जरूर फालिने छ भन्दै उहाँले सत्तामा गएका पार्टीहरूले जस्तै नेमकिपाले पैसा बाँडेर भोट लिने काम कहिल्यै नगरेको जानकारी दिनुभयो ।
नेमकिपाका अर्का केन्द्रीय सदस्य एवम् प्रदेश नं. ३ का सदस्य सृजना सैँजूले नेमकिपा देशको सार्वभौमिकता र भू–अखण्डता रक्षाको लागि सङ्घर्षरत रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “वर्तमान सरकार कम्युनिस्ट पार्टीको सरकार भनिए पनि यथार्थमा कम्युनिस्टविरोधी पार्टी हो ।”
“सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था भनेको पुँजीवादी व्यवस्था नै हो । यो व्यवस्थामा पुँजीपतिहरू नाफाको लागि आफै फाँसीमा झुण्डिन तयार हुन्छन् । कामदार जनताका समस्या समाधान गर्न समाजवादी व्यवस्था स्थापना गर्नु अपरिहार्य छ”, केन्द्रीय सदस्य सैंजूले भन्नुभयो ।
नेमकिपा पर्साका संयोजक सरोज साहले किसानहरू सङ्गठित भई विगतमा जस्तै तराईमा किसान आन्दोलन अगाडि बढाउनु आवश्यक रहेको बताउनुभयो ।
नेमकिपा बाराका अध्यक्ष मुक्ति यादवको सभापतित्वमा भएको कार्यक्रममा रेञ्जुदेवी शाह, सरल मियाँ, विजय यादवलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *