भर्खरै :

विश्वासघात गर्ने दल पतन हुन्छ

– मेरिना शाक्य
नेताहरूको बोली वचन ठेगान नभएको कुरा नयाँ विषय होइन । उनीहरू कुरा सही या गलतको कुनै मतलब राख्दैनन् । बोलेपछि ताली पाए पुग्छ नेताहरूलाई । उनीहरूले ठूलठूला सपना बाँडेपछि कति जनता पनि उफ्रन्छन् । सिद्धान्त र विचार नै नबुझिकन लहैलहैमा जाने सर्वसाधारणको आनीबानीले पनि सत्तासीन दलका नेता र मन्त्रीहरूले फाइदा उठाएका छन् । मन्त्रिमण्डलको हेरफेरको हल्ला हो कि यथार्थ हो ? सरकारले विश्वास दिलाउनुपर्छ ।
मन्त्रिपरिषद् पुनर्गठन या हेरफेरको हौवा फेरि फैलिएको छ । यस्तो हौवा यसअघि पनि फैलेको थियो । तर, मन्त्रिपरिषद् हेरफेरमा को मन्त्री हटाउने र कुन सांसदलाई मन्त्री बनाउने भन्नेबारेको चर्चा सेलाउन नपाउँदै सत्तारुढ मन्त्रीहरू मन्त्रिपरिषद हेरफेर हुने छैन भनी स्पष्टीकरण दिन पनि पछि पर्दैनन् । एक समय प्रधानमन्त्री केपी ओलीले त पाँच वर्षसम्म कुनै हालतमा मन्त्रिमण्डल हेरफेर नहुने कसम खाएका थिए । प्रम ओली आफैले केही मन्त्रीको कार्य सम्पादन चित्त नबुझेको या मन्त्री निस्क्रिय भएकाले हेरफेर हुने बताएको यथार्थ हो । एक समय त मन्त्रीहरूको कार्य मूल्याङ्कन भनी श्रेणी विभाजनसमेत गरिएको थियो ।
मन्त्रिमण्डल हेरफेर भए पनि नभए पनि त्यो जनसरोकारसित सम्बन्धित विषय होइन । मन्त्रिमण्डल हेरफेर भयो भनेर जनताले कुनै थप राहत पाउने होइन । मन्त्रिमण्डल हेरफेरको प्रसङ्ग कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएपछि नै किन नआएको होस् । सभामुखको राजीनामापछि कसलाई सभामुख बनाउने भन्ने अभ्यास नेकपाभित्र हुनु स्वाभाविक हो । सभामुख पद विपक्षी दलले पाउने हल्ला बढेपछि सभामुख र उपसभामुख पद दुवै नेकपाले पाउने व्यवस्था मिलाउन मन्त्रिमण्डलको हेरफेर हुनसक्ने सम्भावना भएको राजनीतिक विश्लेषक बताउँछन् । तर, मन्त्रिमण्डल हेरफेर अरू दलको निम्ति टाउको दुखाइको विषय होइन ।
जनताले नेकपालाई पाँच वर्ष सरकारको नेतृत्व गर्न जिम्मा दिएका हुन् । सरकारको नेतृत्व नेकपा नेताहरूले पालैपालो गरुन् या ओलीले मात्र गरुन् त्यो पार्टीको आन्तरिक मामिला हो । तर, सत्तासीन दलले निर्वाचनमा वाचा गरेअनुसार या पार्टीको घोषणापत्रअनुसार काम गर्नुपर्छ भन्ने जनताको चाहना हो । निर्वाचनमा एउटा कुरा र सरकारमा गएपछि अर्काे कुरा गर्नुहुँदैन । जनतालाई विश्वासघात गर्नुहुँदैन । विश्वासघात गर्ने दल अन्ततः पतन हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *